के तिमीले एउटै भेटेको छैनौ ? | SATURDAYकलम | Kavyalaya - काव्यालय

के तिमीले एउटै भेटेको छैनौ ?

जवाफमा भनिदिएँ मैले कि ‘अहिलेसम्म मलाई तीनवटा भूतहरूले भेटेका छन् ।’
तीन-तीनवटा ?

पहिलो भूत बर्निज हिमाली कुकुरको रूपमा आएको थियो । कुरा यस्तो थियो । क्रिसमसको छुट्टीमा म मेरो सासु-ससुराहरूसँग बैठक कोठामा बसिरेहकी थिएँ । एउटा बडेमानको कुकुर, लगभग १००/१२० केजीको थियो होला, ढोकामा आयो । नभुकी नै ढोकाको सिसाबाट एकनासले हेरिरह्यो, धैर्यले कुरिरह्यो । मेरा ससुरा बा’ले ढोका खोलिदिनुभयो । बच्चैदेखि वहाँ जनावरलाई माया गर्नुहुन्थ्यो । सानो छँदा घरमा हरिण र लोखर्केलाई बास दिनुभएको थियो अरे !

त्यो बडेमानको कुकुर सर्सर्ती कोठामा पस्यो र म भएको ठाउँसम्म आएर हल्का टाउकोले ठेलेर अभिवादन टक्रायो । त्यसले आफ्नो टाउको आगाडिपट्टीको खुट्टाको बीचमा राखेर मभन्दा तल झुक्यो र आफ्नो पुच्छर बिस्तारै हल्लायो । म उसको रोजाईमा परेछु । त्यस हप्ता ऊ हरेक दिन मलाई भेट्न आइरह्यो, एक या दुई घण्टा र बिहान पनि दिउँसो पनि । म जता जता जान्थेँ, ऊ मेरै पछि पछि आउँथ्यो । म कुकुरहरूसँग चाँडो मिल्थेँ तर यो भने केही भिन्न थियो । उसको नामट्यागमा “कुश” लेखिएको थियो । हामी एकअर्कालाई माया गर्थ्यौँ । बाँकी परिवारकासँग भने चाहिँ ‘कुश’ प्राय छुचो नै थियो । मलाई थाहा छैन कसरी बुझाऊँ, तर मेरो बुवाको आत्मा त्यो कुकुरमा थियो । हो, मेरो बुवा पनि त्यस्तै मोटोघाटो र त्यस्तै कोमल हुनुहुन्थ्यो । तर त्यो भन्दा अझै धेरै कुरा के हो भने बुवा मलाई भेट्न आइरहनुभएथ्यो जुन कुरा अनौठो हुँदाहुँदै पनि एकदम स्पष्ट पनि थियो । यो कुरा करिब पन्ध्र वर्ष अगाडिको हो । त्यस वर्ष र त्यस पछिका वर्षहरूमा मैले जताततै बर्निज हिमाली कुकुरहरू भेट्न लागेँ । तर मैले त्यो कुश, जो मेरो बुवा पनि हुनुहुन्थ्यो, उसलाई भेटिरहँदा उही नै मैले भेटेको पहिलो बर्निज हिमाली कुकुर थियो ।

आजकल ती कुकुरहरू कता गए होलान् ? त्यसलगतै बर्निज हिमाली कुकुरको लोकप्रियता ह्वात्तै बढेको थियो, र फेरि पूरै गायब नै भए । 

मैले अर्को भूत बोल्डर सार्वजनिक पुस्तकालयको बुक-क्लबको मिटिङमा भेटेको थिएँ । म बोल्डरको बासिन्दा त थिइनँ, तर त्यहीँबाट हुँदै जाँदै थिएँ । तर, पत्रिकामा एउटा सूचना पढेको थिएँ, त्यस बुक-क्लबको बारेमा । त्यसैले मेरा पति र म केही मज्जै होला भनेर त्यहाँ पस्यौँ । म युवा अवस्थामा एकदम सही थिएँ । निकै उदार पनि ! बुक-क्लबमा निकोलाइ गगोलको “दि ओभरकोट” वाचन हुँदै थियो । गरिब एके एकेभिचले आफ्नो सबै बचतले एउटा ओभरकोट किन्छ; त्यो ओभरकोट चोरी हुन्छ । त्यो कोट खोज्दा उसले पटक-पटक बेइजति सहनु पर्छ र अन्त्यमा ऊ ज्चरोले मर्छ । त्यसपश्चात सेन्टपिटर्सबर्गमा धेरै रिपोर्ट आएका छन्, कोट चोरी भएको ।

बुक-क्लबमा सबै खालका मानिसको राम्रै भिड थियो । के यो कथा नोकरशाहीबारे थियो ? मान्छेको आडम्बरबारे थियो ? दन्त्यकथा थियो ? व्यङ्ग्य वा एउटा वियोगको कथा ? त्यहाँ एउटा स्वभाविक बहस चलिरहेको थियो । तर कुनामा बसिरहेको सानो, लुरे मान्छेले हामीलाई करायो । उसका अनुसार हामी केही कुरामा चुकिरहेका थियौँ । उसले भन्यो, “भूतहरू साँच्चिकै हुन्छन् । कथा भूतको बारेमा हो, तर तिमीहरू कोहीले त्यो कुरै बुझेनौ ।” त्यो लुरे मान्छेले दाबी गर्यो कि उसलाई भूतहरूबारे थाहा छ, उसले आफूसँग ब्रुमफिल्डको बधशालामा वर्षौं काम गरेको अनुभव भएको पनि बतायो ।

त्यो मान्छेको टिप्पणीलाई रुचाइएकै थियो, तर कुन्नि किन ऊ निराश हुँदै त्यहाँबाट निस्कियो । यस्तो प्रतीत हुन्थ्यो कि मानौँ ब्रुमफिल्डको त्यही मान्छे नै त्यो भूत हो । कमसेकम उसले त्यसै भन्न खोजेको हो भन्ने हामी बुढाबुढीलाई चाहिँ लागेकै हो ।

अन्तिमपटक मैले जानेको भूत एउटी आमा थिई, मैले यौवनकालमै चिनेको थिएँ । उसको श्रीमान पेशगत रूपले तरही  बजाउथ्यो । कुनै समय मैले उसका दुई छोराहरूको हेरचाह गरेकी थिएँ । अन्तिम पटकमा बच्चाहरू निकै नै नियन्त्रण गर्न नसक्ने गरी चकचक गर्न थालेका थिए । त्यही बेला उनीहरूका बा-आमा आइपुगे, अनि मलाई अब देखि नआउन भने जुन मेरो सोचमा ठिकै हो जस्तो पनि लाग्यो । पछि, त्यो परिवारमा दुई निकै नराम्रा घटनाहरू घटे । एउटा बच्चा कार दुर्घटनामा परेर बित्यो र आमाचाहिँ त्यही रात मुर्छा परी । उपचार गर्दा थाहा भयो कि उसलाई ब्रेन ट्यूमर भएको रहेछ । त्यसबेलासम्म म हजारौँ कोस परको शहरमा बस्थेँ अनि त्यो परिवारलाई नदेखेको वर्षौँ भइसकेको थियो । तर, एक रात ! मैले ट्यूमरबारे थाहा पाएको वर्षभन्दा धेरै भइसकेको थियो, मैले सपनामा लियोनालाई प्रष्टसँग देखेँ । लियोना त्यही आमाको नाम थियो । हामीले एक अर्कालाई हाई-हेल्लो गर्यौँ र दुवै एकअर्कालाई देखेर निकै खुसी थियौँ । भोलिपल्ट बिहानै मेरो आमाले फोन गर्नुभयो र लियोना बितेको खबर सुनाउनुभयो । न मैले त्यस अघि लियोनालई सपनामा देखेको थिएँ, न त त्यसपछि नै देखेँ ।

मैले मेरो छोरीलाई भूतको बारेमा भने, किनकी म उनीसँग इमानदार हुन चाहन्थेँ । भूत भन्ने कुरा साँचो हुन्नन्, तर हुन्छन् पनि ? अथवा त्यस्तै केही । मलाई थाहा छैन म उनीलाई के भन्न खोज्दैछु । सम्भवतः म देखावटी गर्दै थिएँ । मैले तीन भूतहरू भनेँ । तर के त्यो भ्रामक थिएन ? मैले यत्तिका वर्षसम्म भूत, प्रेत, आत्मा, नभेटेका पूर्खाहरूको बारेमा चाख राख्दै आएँ, त्यो दुनियाँ मलाई साँच्चै वास्तविक लाग्थ्यो । तर, मैले गएको दस वर्षसम्म एउटै भूत देखेकी छैन । पर्ख, होइन, मैले हिसाब मिलाएँ । मैले एउटा पनि देखेकी छैन… कति वर्षदेखि भने… अँ… ठ्याक्कै मेरी छोरी जन्मिएदेखि नै हो । अचेल म आफ्नो धेरैजसो समय जीवितहरूमाझ बिताउँछु, त्यसैले पो हो कि ? कि त्यही हो, होइन भने अचेल म आफू नै भूत हुँ ।

Facebook Comments

You may also like

error: Content is protected !!