ह्याप्पी बर्थ डे

नितान्त एक्लो जुनेली रातलाई आँगनको बत्तीले थोरै उज्यालो थपेर साथ दिइरहेको छ । नजिकैको काठको कुर्सीमा बसेर म धेरै समयपश्चात हातमा कलम समाउँदै आकाशका ताराहरू गनिरहेछु अनि अड्कल काटिरहेको छु, “के, यी तारा हरू उनको शहरमा पनि चम्किरहेका होलान त ???” उनी मलाई सधैँ भन्ने गर्थिन्, “बरु मसँग कुनै दिन बोल्नै छाड्नुभयो भने पनि म खासै गुनासो गर्दिनँ होला, तर हजुरले लेख्न छाड्नुभयो भने त हजुर हजुर नै रहनुहुन्न । जब हजुर, हजुर नै रहनुहुन्न अनि म खुशी कसरी हुन सकौँला र ? जस्तोसुकै परिस्थिति आएपनि लेख्न नछाड्नु होला है ।” आज धेरैपछि सेता पानाहरूलाई कालो मसीले रंगाउने प्रयत्नमा डायरी साथैमा राखेँ तर न कलम अगाडि बढ्न मान्यो न त शब्दहरूले नै साथ दिन माने । केही कुरा छाडेपछि त्यसलाई निरन्तरता दिन कति गाह्रो हुनेरहेछ भन्ने कुरा मैले भर्खरै चाल पाएँ ।

हुन त कुनै पनि कुरा लेख्न सजिलो छ तर लेखिरहन अनि प्रत्येक लेख पहिलाको भन्दा अब्बल बनाउनु कठिन कार्य हो । मान्छे कल्पनामा कहाँ कहाँ पुग्छ है, म यहाँ बसेर उनको शहरको अनि उनको अवस्थाको कल्पना गरिरहेछु। हुन त हरेक मान्छे हिजोको कुरालाई बिर्सिएर भोलिको कुरामा अल्झिरहन्छ, चाहे उसले जति नै वर्तमानमा बाच्नुँपर्छ भनेर वकालत नै किन नगरोस् । “संसारमा सबैभन्दा शक्तिशाली चिज के हो ?” भनेर कसैले मलाई सोधे म सहजै भन्न सक्थेँ, “मान्छेको कल्पनाशक्ति ।” बस्, मेरो लागि मात्र किन नहोस्,आजको रात सधैँभन्दा फरक छ । ओहो ! घडिले त १२ बजाउनै आँटेछ, आज त मेरी उनको जन्मदिन पो हो । मेरै निम्ति, मेरो संसार सजाउन, अनि मलाई हरेक कुरामा साथ दिन धरतीमा जन्म लिएकी उनको जन्मदिन मेरो लागि विशेष नहुने त कुरै भएन, अझै त्यसैमाथि मेरो जिन्दगीमा आएपछिको उनको पहिलो जन्मदिन हो यो । मैले एउटा लामो शुभकामना लेखेर उनको फेसबुकको भित्तामा चप्काँए, एक फाँको हाँसे, मैले राखेको फोटोमा उनले लजाँउदै मलाई हेरिरहेकी थिइन् । उनलाई म शब्दमा बयान गर्न नै सक्दिनँ, उनलाई वर्णन गर्ने शब्द सायद शब्दकोषमा नै नहोलान् । हुन त सबैलाई आफ्नो प्रेमी\प्रेमिका विशेष अनि अरुभन्दा फरक लाग्ने नै गर्छ । मलाई भने उनी विशेष लाग्नुको एउटै कारण छ, म उनमा आफ्नो प्रतिबिम्ब देख्छु । मैले आफूलाई आफैँले खोज्न आफैँबाट केही पर जाने जमर्को गर्दा उनमा आफैँलाई भेटाएको थिएँ ।

साँच्चै, यो बर्थ डेको चलन कसले चलायो होला है ? किन मानिसहरू आफ्नो बर्थ डेको लागि यति विघ्न प्रतीक्षामा रहन्छ्न् ? यो संसारमा हरेक मिनेटमा मानिसहरू जन्मिरहेका हुन्छ्न् अनि हरेक मानिस आफू जन्मेको दिनको उत्सव मनाइरहेका पनि हुन्छ्न् । कति सजिलो छ है, खुशी ल्याउन अनि आफू रमाउन तर म बेला-बेला अचम्मित पनि हुन्छु; दिनानुदिन मानिसहरू डिप्रेसनको सिकार पनि भइरहेका छन् ।

मलाई त लाग्छ, मानिसजस्तो असुरक्षित संसारमा कोही पनि छैन । मानिसहरू अरुबाट सधैँ आफ्नो ख्याल र हेरचाह होस् भन्ने चाहन्छ्न् जुन लगभग सम्भव नै हुँदैन, के यसैको कारण होइन र हरकोही आफ्नो बर्थ डेमा क-कसले उसलाई शुभकामना दिए अनि क-कसले उसलाई शुभेच्छा दिएनन् भनेर विचार गरिरहेको हुन्छ ।

उसले बर्थ डे भन्दा अगाडि नै यो-यो मान्छे हरूको शुभकामना त पक्कै आउँछ भनेर अपेक्षा राखेको हुन्छ, त्यसमध्यबाट झुक्किएर कसैको शुभकामना आएन भने ऊ एकदमै दुखी हुन्छ ( यसको शिकार म पनि भएको छु, कसैको बर्थ डेमा शुभकामना नदिएकै भरमा मान्छेहरू मबाट टाढा भएका पनि छ्न् )। के हजुरहरू आफैँ पनि विचार गर्नुहुन्न र बर्थ डेमा क-कसले शुभकामना दिए भनेर, म चाहिँ गर्छु है । फरक यति हो म कसैबाट अपेक्षा भने राख्दिनँ, राख्दथेँ भने आजसम्ममा म डिप्रेसनको सिकार भइसकेको हुन्थेँ होला । मान्छेहरू खुशी मनाउने क्रममा आफैँमा असुरक्षितपना थपिरहेका हुन्छन् ! संसारमा सबैभन्दा बढी प्रयोग हुने वाक्य नै ह्याप्पी बर्थ डे टु यू हो । नहोस पनि कसरी ? यहाँ बर्थ डे नमनाउने कम नै भेटिन्छ्न् ।

एकथरी जमात यस्तो पनि छ, जो यो दुख र कष्ट भरिएको संसारमा जन्मिनु परेकोमै दुखी छ । मैले यहाँ कैयन् व्यक्ति यस्तो पनि देखेको छु जो हरेक जन्मदिनमा खुशी हुनुको साटो दुखी भइरहेका हुन्छ्न्, त्यसको पछाडि उनीहरूको कारण हुन्छ, जति बर्थ डे आउँदै जान्छ, त्यति उनीहरू बूढो हुँदै जान्छ्न् । अर्कोथरी जमात भने यस्तो पनि छ, जो हरेक बर्थ डेमा एक कदम मृत्युको छेउमा पुगेकोले बाचुन्जेल रमाँउदै जिन्दगी चलाउनुपर्छ भनेर आफ्नो जन्मदिनमा चाहिँ सबैभन्दा बढी रमाउने प्रयत्न गर्छ । यो ब्रह्माण्डमा हामी सबै कुनै निश्चित समयको लागि मात्र छौँ । जो आज छ, त्यो भोलि नरहन सक्छ । जन्म लिएपश्चात मर्नु नै पर्छ त्यो सबैलाई अवगत नै छ तर यहाँ मर्न कोही चाँहदैन, त्यसैले पनि श्वास रहुन्जेल एक वर्ष अझै बढी यो संसारमा रमाउन पाइयो भनेर पनि बर्थ डे मनाउने एक जमात मानिसहरू भेटिन्छ्न् नै । ( हजुर कुन जमातमा पर्नुभयो आफैँ विचार गर्नुहोला ) आजभोलि यो जन्मदिन मनाउने कुरा कति खर्चिलो र भद्दा भएको हो के, बर्थ डेको नाममा पार्टी भन्दै हामी मदिरा यति सेवन गर्छौँ अनि धुवाँ यति उडाउछौँ कि मानौं हामीलाई धेरै जन्मदिन मनाउनु नै छैन ।

मानिस जीवित रहुन्जेल जन्मदिन मनाउँछ अनि मृत्युपछि उसको मरण दिन उसैको परिवारले मनाउने गर्छन्, यो सुन्दा कस्तो अनौठो लाग्छ है ? विशेषतः हिन्दु धर्ममा मानिसको मृत्यु पछाडि वर्षेनी त्यही दिन उसको श्राद्ध गरिन्छ जसलाई उसको मरण दिन अर्थात डेथ डे मनाएको भन्दा फरक नपर्ला ( अरु धर्ममा पनि मृत्युको दिनलाई आ-आफ्नै तरिकाले याद राख्ने चलन छँदै छ ) । जसरी मानिस जीवित रहुन्जेल बर्थ डेको महत्त्व छ, त्यसरी नै मान्छेको मरण पश्चात डेथ डेको छुट्टै महत्त्व छ । सायद, यो बर्थ डे मनाउने चलनले नै होला डेथ डे मनाउने चलनको पनि उत्पत्ति भएको । भलै जे होस, हामीलाई के मतलब !

हामी त आफ्नो जिन्दगीको हरेक पलमा रमाउने र खुशी हुने प्रयत्नमा हुन्छौँ, होइन र ? तर, किन हामी एकदिनलाई मात्र खास ठानिरहेका छौँ ? हरेक दिनलाई किन बर्थ डे भन्न सक्दैनौँ ? के हरेक दिन जीवितै उठ्नुपनि जन्म पाए बराबर होइन र ?

हरेक दिन बिहान उठेर अरु कसैले हजुरलाई शुभकामना दियोस् नदियोस्, आफैँले आफैँलाई ह्याप्पी बर्थ डे टु मी भन्न किन हिच्किचाउने ! पूरै ८४ लाख वर्षपछाडि मात्र मानिसको जुनि पाइन्छ रे । यसै हो भने, किन हामी त्यसलाई मदिरा र धुवाँमा मात्र बर्बाद गर्ने ? यो संसार कुरुप छ, नराम्रो छ, स्वार्थी छ भन्दै हिँड्नुको साटो हरेक जन्मदिनमा त्यसलाई सुन्दर बनाउने तर्फ किन अघि नबढ्ने ? पार्टिको नाममा खर्च गर्ने रकमले यदि हरेकले आफ्नो बर्थ डेको दिनमात्र गरीब, भोका, अनाथ अनि वृद्धलाई खाना या खाजा खुवाउने हो भने यो संसारमा कोही भोकै रहनै पर्दैन । किनकी यहाँ हरेक दिन कसै न कसैको जन्मदिन त अवश्य परेकै हुन्छ । एकपटक आफैँले आफैँलाई प्रश्न गरौँ त, आजसम्म कुनै जन्मदिनमा हजुरले कसैलाई सहयोग गर्नुभएको छ ? कुनै दुखी, गरीब, अनाथलाई खाना खुवाउनु भएको छ ? कुनै अनाथ आश्रममा या वृद्धा आश्रममा गएर आफ्नो जन्मदिन मनाउनु भएको छ ? होटल, रेस्टुरेन्ट, क्याफे अनि कुनै महंगो क्लबमा मनाउनुको साटो कुनै अनाथ आश्रममा या वृद्धाश्रममा गएर जन्मदिन मनाउनुहोस् न, त्यो झनै विशेष बर्थ डे हुनेछ । म भोलि बिहानै उठेर मेरी उनीलाई फोन गरेर कुनै वृद्धाश्रममा गएर बर्थ डे मनाऊँ है भनेर भन्ने छु । Happy Birthday To You टुकी !

ओहो ! म त कल्पना गर्दा गर्दै कहाँ पो पुगेछु । मैले सुरुमै भनेको थिएँ नि कल्पनाशक्ति कति भयानक हुन्छ भनेर, म मेरी उनीको कल्पनामा नराम्रोसँग डुबेछु । आज ज-जसको बर्थ डे छ, सबैलाई Happy Birthday है । मलाई त हरेक दिन मेरो जन्मदिन जस्तो लाग्छ । हजुरहरू पनि हरेक दिनलाई जन्मदिन जस्तै गरी मनाउँदै जिन्दगी बिताउनुहोस्, जिन्दगी हाँसीखुशी कटिजान्छ । स्वस्थ रहनुहोस, मस्त रहनुहोस, व्यस्त रहनुहोस, कोरोनाको प्रभाव बढ्दो छ, घरैमा बस्नुहोस्, सुरक्षित रहनुहोस्, जन्मदिन मनाउनुहोस् !!!

The Birthday Cake by Adriatik Balos

The Birthday Cake by Adriatik Balos

________________________________
(नोट: मेरो वास्तविक बर्थ डे दुई दिन पछाडि छ, अर्थात २६ गते । शुभकामना दिनुहोला है !)

Facebook Comments

You may also like

error: Content is protected !!