आधा अनुहार | SATURDAYकलम | Kavyalaya - काव्यालय

आधा अनुहार

सुदूर विकट हिमालको एउटा गाउँमा एक गुमनाम युवती बस्थी । वर्णन गर्नुपर्ने खालको उसमा त्यस्तो कुनै खास विशेषता थिएन । तर उसको एउटा अदभुत् इच्छा थियो । ऊ आफ्नो अनुहार हेर्न चाहन्थी । आफू कस्तो छु भनेर हेर्ने उसमा तीव्र चाहना थियो । तर, त्यस गाउँमा एउटा पनि ऐना थिएन । आजभन्दा अघि त्यहाँ कसैले पनि आफ्नो अनुहार हेर्नुपर्ने आवश्यकता ठानेकै थिएनन् । ऐनाको आविष्कार अथवा अन्वेषण, त्यहाँ त्यसबेलासम्म भइसकेको थिएन ।

जति जति उमेर बढ्दै गयो उति उसको चाहनाले गहिराइ लिँदै गयो । ऊ हरेक दिन आफ्नो अनुहारको विभिन्न भाग छाम्दै त्यही अनुरूप अड्कल काट्थिन् । ‘मेरो नाक यस्तो होला । आँखा पक्कै पनि यस्तो देखिन्छ होला । अनि ओठको बनोट नमिलेको जस्तो लाग्छ ।’ यी सोचाइहरू उसको दिनचर्याको महत्त्वपूर्ण हिस्सा भइसकेका थिए । 

उसको अनुहार मोहका बारे कसैलाई जानकारी थिएन । नजिकैको छिमेकी गाउँ पुग्न पनि पाँच दिनको पैदल यात्रा गर्नुपर्ने त्यस सुन्दर विकट गाउँमा समय आफ्नै रफ्तारमा बगिरहन्थ्यो । त्यहाँ कुनै हतार थिएन । किनभने, त्यहाँका मान्छेहरूको सपना थिएन । सौन्दर्य चेत त झन् बिलकुल थिएन । जिन्दगी गुजार्नुको अर्को नाम खुशी थियो । रहरको उडान गाउँको परिधिभित्र सीमित हुन्थ्यो । यस्तोमा त्यस युवतीको सपना पूरा हुने सम्भावना बिलकुल शून्य थियो । युवतीलाई झनझन आफ्नो अनुहार हेर्न मन लाग्दै गयो । अरूहरूको अनुहार हेर्दै ऊ आफ्नो अनुहारको कल्पनामा डुब्थी । यस्तो गर्न उसलाई रमाइलो लाग्थ्यो ।

एकदिन भेडा गोठालो जादा उसले आफ्नो मिल्ने साथीलाई सोधी – ‘मेरो अनुहार कस्तो छ ?’

अनपेक्षित प्रश्न सुनेर साथी ट्वाल्ल परी । यो यस्तो प्रश्न थियो जुन आजसम्म त्यस गाउँमा कसैको दिमागमा आएको थिएन । साथीले युवतीको उत्तर दिने कुरै भएन । अनुहारको वर्णन कसरी गर्ने भन्ने ज्ञान नभएको मान्छेले अनुहारलाई फगत अनुहार सम्झिन्छ । त्यस गाउँका मानिसहरूलाई अनुहारको व्याख्याको बारेमा कुनै जानकारी थिएन । उनीहरूलाई अनुहार त थाहा थियो तर यस्तो अनुहार उस्तो अनुहार भन्नेतिर उनीहरूको न ध्यान थियो न त ज्ञान नै ।

युवती त्यसदिन अनुत्तरित घर फर्किई । उत्तरको लालसाले उसलाई भित्रभित्रै पीडा दिन्थ्यो । अनुहारमा विशेषण जोडेबिना उसलाई आफ्नो पहिचान अधुरो लाग्न थाल्यो । दिनहरू बित्दै गए । समयको गतिसँगै युवतीको अनुहार मोह उसको हृदयको कुनामा गढेर बस्यो । त्यसले, राम्रै जरा हाल्यो । 

यस्तैमा एकदिन गाउँमा एक चित्रकारको आगमन भयो । बाहिरको मान्छे बिरलै आउने त्यस ठाउँमा चित्रकारको आगमन आफैमा रहस्यात्मक थियो । पछि मात्र थाहा भयो कि उसले त्यस गाउँको बारेमा कतै सुनेको रहेछ । आफ्ना चित्रहरूका लागि विषयवस्तु खोज्ने लालसाको साथै जवानीको जोशले उसलाई त्यहाँ ल्याएछ । 

समयसँगै युवती र चित्रकार नजिकिँदै जान थाले । चित्रकारलाई युवतीको चाञ्चल्य एवं  हाउभाउले निकै नै लोभ्यायो । उता युवतीलाई भने चित्रकारको सामीप्यले कताकता काउकुती लाग्थ्यो । फगत शारीरिक आकर्षणभन्दा माथि उनमा चित्रकारबाट आफ्नो अनुहार बनाउन लगाउने लालसा पलायो । 

 एक साझ चित्रकारको भेट युवतीसँग भयो ।

चि: साँझको समयमा कता लाग्यौ ?
यु: परसम्म पुगेर आएको । 

युवतीको मनमा अचानक आफ्नो अनुहार हेर्ने चाहना जागृत भएर आउँछ । ऊ मौकाको सदुपयोग गर्छे । 

यु: तपाईंलाई एउटा कुरा भन्नु थियो ।

चित्रकारको अनुहारको भाव बदलिन्छ । उत्सुकताको रेखाहरू उसको अनुहारमा प्रष्ट देखिन्छ। केहीक्षणको मौनतापछि ऊ बोल्छ ।

चि: भन्नुस्  न । 
यु: तपाईं मेरो अनुहारको चित्र कोर्न सक्नुहुन्छ ?

अनपेक्षित प्रश्नले चित्रकारलाई अन्योलमा पार्छ । उसले कहिल्यै पनि मान्छेको चित्र बनाएको हुँदैन । झन् मान्छेको अनुहारको चित्र कोर्नेबारे त सोचेकै हुँदैन । उसलाई मान्छेको अनुहारमा क्यानभासमा उतारिहालूँझैं खास त्यस्तो केही लाग्दैन । केही चित्रकार थिए जो अनुहारहरू क्यानभासमा पोत्थे जुन देख्दा उसलाई एक किसिमको रिस उठ्थ्यो । समय र कौशलको बर्बादीभन्दा ज्यादा उसलाई त्यो केही लाग्दैन थियो । संसारमा कोरिन बाँकी कैयौं कुराहरू छन् । जाबो कुरूप अनुहारहरू कोरेर क्यानभास र समय दुवै किन नष्ट गरेको होला? ऊ यस्तै सोच्थ्यो । तर, आज त्यो नौलो ठाउँमा नौलो परिचय बन्दै गरेको त्यस चञ्चल युवतीको अनुरोध अस्विकार गर्न उसले उचित ठानेन ।

चि: सक्छु नि । तर, केही समय लाग्नेछ ।

युवतीको मुहारमा खुशीका आभाहरू प्रष्ट देखिन्छ । 

यु: जति समय लगाउनु भए पनि हुन्छ । यो ठाउँमा केही छ भने त्यो केवल समय हो । 

यति भनिसकेपछि उसलाई लाज लाग्छ । चित्रकारको अगाडि आफू जान्ने पल्टेकोमा अलिअलि आफैसँग रिस उठ्छ । बिदाइको अपौचारिकता पूरा गरेर दुवै फरक बाटो लाग्छन् । 

भोलिपल्ट चित्रकार नयाँ क्यानभासमा जीवनकै नयाँ अनुभव लिन तयार हुन्छ । ऊ सोच्छ- ‘यो नै मेरो पहिलो तथा अन्तिम मान्छेको चित्र हुनेछ । म संसारका सुन्दर कुराहरू कोर्न चाहन्छु । मानव इतरका विषयलाई जीवन्त बनाउनेछु ।’ उसलाई युवतीको मुहार कोर्न गाह्रो हुन्छ । जति प्रयास गर्दा पनि भने जसरी हात चल्दैन । त्यसदिन ऊ क्यानभास रित्तो छोडेर झ्यालबाट हिमालको दृश्य हेरेर बस्छ ।

अर्को दिनबाट उसले थोरैथोरै गर्दै युवतीको मुहारलाई आकार दिन थाल्छ । उसको गति निकै सुस्त हुन्छ । कैयौं दिन बितिसक्दा पनि उसले मुस्किलले केही प्रगति गरेको हुन्छ । झ्यालबाहिर मौसम बदलिन थालिसकेको हुन्छ । दिन प्रतिदिन हिमपातको गति बढ्छ । झ्यालभित्र चित्रकारको स्वास्थ्य बिग्रँदै जान्छ । बुढापाकाहरूले यस्तो हिउँ आफ्नो जीवनकालमा कहिल्यै नदेखेको बताउँछन् । उनीहरूको जिकिर हुन्छ कि उनीहरूले यस्तो भारी हिमपातको बारेमा केवल कथा सुनेका थिए । 

हिउँदको एक चिसो बिहान चित्रकारले धर्तीलाई अलविदा भन्छ । यो खबरले युवती सबैभन्दा बढी दुःखी हुन्छे । उसको पीडाको मुख्य कारण चित्रकारले छोडेको आधी अनुहार हुन्छ । अपेक्षामा तुषारापात हुँदा उसको मनमा बज्रपात पर्छ । आधा नै भएपनि अनुहारको दर्शनले उसमा जुन खुशीको बहार आउनुपर्ने हो त्यो देखिँदैन । बरू उसमा पूर्ण मुहार हेर्ने चाहना झन् वेगले बढ्न थाल्छ ।
ऊ सोच्छे – ‘अनुहार अलिकति पनि नदेख्दा कम्तीमा म कल्पनामा रमाउँथे । अब त मेरो कल्पना पनि आधा-अधुरो हुने भयो । जुन कुरा प्राप्तिको लागि समयको यत्रो वेग सहे आज त्यही अधुरो हुँदा जीवन नै सुर नमिलेको बाँसुरीको धुन जस्तो भएको छ । ओहो ! यो पीडा  । यो छटपटी  । म कसरी सहनु ? आधा अनुहारको अस्तित्व ! चित्र अगाडि राखेर बाँकी आधा भाग हातका औलाहरूले महसुस गर्दैगर्दा यस्तो लाग्छ मानौँ म दुईभागको अनुहार लिएर बाँचिरहेछु । मेरा अनुहारका भागहरू फरकफरक छन् । कस्तो भयानक विवशता ।’
हिउँसँगै उसको अस्तित्व पनि चिसिन्छ । सेताम्मे हिमालले ऊभित्रको अन्धकार सपनालाई उज्यालो पार्न सक्दैन ।

हिउँद बित्दै जान्छ । युवती केवल युवती रहदिन । घर–गृहस्थ, बालबच्चासँगै उसमा बुढ्यौलीको संकेत देखिन थाल्छ । ऊ आफ्नो अनुहार छाम्छे । मुजाहरूलाई महसुस गर्छे । लामो सुस्केरा हाल्दै अग्लो हिमालतर्फ हेर्छे । 

समयको कालखण्डमा उसको कान्छो छोरोले हिमालपारि जाने निर्णय गर्छ । दिनहरू बित्दै जान्छ । यस्तैमा एकदिन युवतीको घरमा आगो लाग्छ । त्यसमा परेर युवतीको आधा अनुहार जल्छ । अनुहारसँगै चित्रकारले बनाएको आधा अनुहारको चित्र पनि जल्छ । चित्र र वास्तविकतामा एकैपट्टीको भाग जलेपछि अब उसको लागि आफ्नो आधा अस्तित्व मात्र बाँकी हुन्छ । ऊ आफूलाई लाचार ठान्छे । जीवन नै भारी लाग्न थाल्छ । मान्छेको जुनी बोझ सिवाय केही रहनेछ भन्ने बुझाइले उसलाई पिल्स्याइरहन्छ । यति हुँदा पनि मान्छेलाई आफ्नो मर्जी गर्ने छुट हुँदैन भन्ने निष्कर्षमा ऊ पुग्छे । 

केही समयपछि कान्छो छोरा आइपुग्छ । परिवारका अन्य सदस्यहरूलाई कोसेली बाँडेपछि युवतीको पालो आउँछ । उसले झोलाबाट एउटा सुन्दर ऐना झिकेर दिन्छ । युवतीलाई असह्य पीडा हुन्छ । समयको यो क्रूर मजाकप्रति घृणा जाग्छ । उ ऐना हेर्दिन । हेर्न पनि चाहन्न । ऐना हातमा परेसँगै उसको अनुहार हेर्ने वर्षौको तपस्या टुक्राटुक्रा हुन्छ । ऊ जोडले ऐना भुइँमा बजार्छे । टुक्राटुक्रा भएको ऐनाले बुझ्न सक्दैन यो रिस आखिर कोप्रति हो! 

युवती दुई हातले अनुहारको फरकफरक भाग छुन्छे । यस्तो लाग्छ कि दुई फरक मान्छेको आधा आधा अनुहार जोडेर उसको पूर्ण अनुहार रचना गरिएको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!