गुरुजी उवाच

गुरुजी उवाच १

१.

गुरुजी भन्ने गर्नुहुन्थ्यो —
गद्यमा कविता लेख्नु भनेको
ढोका खुला हुँदा हुँदै पनि
झ्यालबाट हाम फालेर कौसीमा झर्नु हो !

२.

गुरुजी छन्दमै सुझाउनुहुन्थ्यो सतत:
छन्दमै गाली गर्नुहुन्थ्यो कहिलेकाहिँ —
लयबद्ध छन्दमै हसुर्नुहुन्थ्यो दालभात
र बेला‍-कुबेला छन्दमै डकार्नुहुन्थ्यो अपच !

३.

गुरुजी भन्ने गर्नुहुन्थ्यो —
संस्कृतको ज्ञानविना नेपालीमा कविता लेख्नु भनेको
भुसिया कुकुरजस्तै लखरलखर
एक अनिर्वचनीय गन्तव्यका लागि निराधार कुद्नु हो !

~~~

तर यो के देख्छु आजकल —
गुरुजी सपाट-पत्रिके भाषामा
कनिकनी किन कोर्दै हुनुहुन्छ
फेसबुकका लागि लयविहीन गद्य कविता ?

by Pawel Kuczynski

by Pawel Kuczynski

गुरुजी उवाच २

१.

गुरुजी भन्ने गर्नुहुन्थ्यो —
कविता लेखेर यो देशमा
भातसम्म त हसुर्न पुग्ला
दाल-तरकारी कसरी हसुर्छस् हँ ?

२.

अबोध बालकले झैँ सोधेको थिएँ —
“दाल-तरकारी हसुर्न के गर्नुपर्छ त ?”
दाह्रा किट्दै गुरुजी कड्किनु-भएको थियो —
“त्यति पनि थाहा छैन तँलाई पाजी ?”

३.

यो पाजीले टुलुटुलु गुरुजीको
देदिप्यमान चेहरा हेरिरह्यो . . . अचानक —
हँसिया र हतौडाको नग्न-निर्लज्ज नाच
चलिरह्यो गुरुजीको प्रफुल्लित आँखाहरूमा ।

४.

जीवनभर मार्क्सको ब्रिफकेस बोकेर
सिंहदरबारवरिपरि बौलाहा साँढे जसरी फनफनी
रिँगेर न फिरेको हो गुरुजीको जीवनशैली —
तब न चाँजोपाँजो मिलेको हो दिनहुँ मिष्ठान्न भोजनको ।

~~~

तर यो के हुँदै छ आजकाल —
गुरुजी किन जबर्जस्ती उकेल्न खोज्दै हुनुहन्छ
राजदूतावासको माथिल्लो तलाबाट
छेउ न टुप्पोको नीरस गद्य कविता ?

Source-Pinterest

Source-Pinterest

गुरुजी उवाच ३

१.

गुरुजी भन्ने गर्नुहुन्थ्यो —
अङ्ग्रेजीमा नलेख्ने मान्छे विद्वान् हुनै सक्तैन ।
अङ्ग्रेजी कविता मुखाग्र नहुनु
र वर्डस्वर्थ-शेली नचिन्नु . . . उफ् ! कति लाजमर्दो ।

२.

प्रत्येक रात दुई थाल भात हसुरेपछि
गुरुजी नेपाली लवजमा कन्दै पढ्नुहुन्थ्यो —
माई हार्ट डान्सेस विथ ड्याफोडिलस्
र हेल टु दि ब्लाइद स्पिरिट !

३.

फेसबुकका भित्ताभरि टुटेफुटेको अङ्ग्रेजीमा
टाँस्नुहुन्थ्यो गुइठाजस्ता काव्यिक विवेचना
र भन्ने गर्नुहुन्थ्यो यो संसारमा मजस्तो सातवटा
विषयमा मास्टर्स डिग्री गरेको को नै होला र ?

४.

यदाकदा बब डिलन र जिमी हेंड्रिक्सका
अनौठा भाकाहरू सकिनसकी गुनगुनाउँदै
शौचालयमा सोच्ने गर्नुहुन्थ्यो ओजस्वी कविताका
महत्तेज बिम्ब र प्रतिबिम्बहरू ।

~~~

तर यो के आइलाग्यो आजकाल —
आफ्नै कविताका पानाहरू धुजाधुजा पारेर
किन गर्दै हुनुहुन्छ गुरुजी खुइलिएको तालुमाथि
कालजयी कविताहरूको अलौकिक पुष्पवर्षा ?

Source : Pinterest

Source : Pinterest

Facebook Comments

You may also like

error: Content is protected !!