जेनेरेसन ग्याप

म जन्मिन ढिला गरेका कारण हजुरबा’को जीवनशैली मैले देख्न पाइनँ । हजुरबा’ छिटो जन्मिएर पनि हाम्रो जीवनशैली बुझ्नुहुन्न, देख्नुहुन्न ।

चाउरी परेका बा’को बुढी औंलो समातेर म बालाई  इविनिङ वाक  लान्थेँ । बाटो काट्दा बा’ च्याप्प मेरो जवान हात समाउनुहुन्थ्यो ।  म सोच्थेँ, ‘बा ‘डराउनु भयो ।’ हो रहेछ, बाउ/आमा डराउँदा रहेछन्- कहिले छोराछोरी टाढा जाने पिरले त कहिले छोराछोरी गुमाउने डरले  ।

घर फर्किँदा बाटोमा छोडुवा गाई देखेर बा’ भन्नुहुन्थ्यो, ”शिव शिव ! यी माली गाईलाई कसले यस्तो गर्यो ?” अनि ढोग्नुहुन्थ्यो, बडो श्रद्धापुर्वक । म कुद्थेँ, मोट्टो फलामको चेनले बाँधिएको क्युट पप्पि छोप्न ।

बा आफ्नो अनुभव सुनाउनुहुन्थ्यो । उहाँ आफ्नो जीवन भोगाइ बताउनुहुन्थ्यो ।  म पढेका कुराहरू सुनाउन खोज्थेँ, सम्झी सम्झी…..अक्मकाई अक्मकाई….।

बा भन्नुहुन्थ्यो, “कि पढेर जानिन्छ, कि परेर जानिन्छ ।”  म भन्थेँ, ”मैले दु:ख नपरोस् भनेरै हो नि पढेको ।” ..बा हाँस्नुहुन्थ्यो ।

बा टाउको दुख्दा मेरो टाउको मिचिदिनुहुन्थ्यो । म उहाँले टाउको दुख्यो भन्दा सिटामोल किनेर ल्याइदिन्थेँ ।
बा’ भन्नुहुन्थ्यो, “तिमीहरूलाई सजिलो छ ।”होस्टेलमा पातलो दाल दिन्छन्”,  म भन्थेँ ।

बा मलाई बुई बोक्नुहुन्थ्यो । म बा’लाई बाइक चढाउथेँ । बा मलाई कुवाको पानी खुवाउनुहुन्थ्यो हत्केला चुवाउँदै, म बा’लाई मिनिरल वाटर किनेर बिर्को उघारिदिन्थेँ ।

बा मलाई सुनाउनुहुन्थ्यो, “हाम्ले संघर्ष गर्यौँ, धेरै ।” म बा’लाई भन्थेँ, “लाइफ इज अल अबाउट स्ट्रगल ।”

हजुरबा मलाई श्लोक सुनाउन खोज्नुहुन्थ्यो, म उहाँको कुरा टार्दै डेस्पासिटो  गाइदिन्थेँ ।

मलाई धमिलो याद छ, पानी परिरहेको बेला हजुरबा र म बार्दलीमा बस्थ्यौँ । हजुरबा मलाई पानी पर्दा मेघ फर्काउने मन्त्र सुनाउनुहुन्थ्यो । म पढाउन खोज्थेँ, “लाइटनिङ एण्ड थण्डरिङ ! लाइट एण्ड स्पिड !” हजुरबा भन्नुहुन्थ्यो, “दैव जानुन..!” म गुगल खोल्दै “इः हेर्नुस्” भन्थेँ ।

म डिप्रेसन, एन्जाइटी, फियर, बा’लाई सोध्थेँ, “बा, यस्तो हुन्थेन ?” बा भन्नुहुन्थ्यो, ” के अरे ?” …म ट्वाल्ल पर्थेँ ।

बा’ले एक दुईपटक भन्नुभएको थियो, “चिन्ताले चितासम्म पुर्याँउछ ।” टोलाएको देखेकी थिएँ एक दुईपटक बा’लाई, कौसीमा बसेर । लाग्थ्यो, आमालाई सम्झिनुभयो ।

बा’ सोच्न सक्नुहुन्थ्यो मेरो भविष्य, म बा’को भविष्यबारे के सोचौँ ?

“बा के गर्नु भएको ?’, मैले सोध्दा बा भन्नुहुन्थ्यो, “के गर्नु बा, अब काल कुरेको !” अस्ति हेरेको मोटिभेसनल स्पिच को केही अंश सम्झन्छु । “डेथ इज न्याचुरल, लेट्स नट टेक टेन्सन अबाउट इट । . बि ग्रेटफूल, वि गट लाइफ ।”

आफू हुर्किएको पाखापखेरो बा’लाई नौलो लाग्दैन । ठूला महलतिर आँखा डुलाउनुहुन्छ बा । म रुचाउँछु, झरनाको पानीमा भिजेर क्यान्डिड सेल्फी हान्न । मलाई झलक्क याद आउँछ, ‘आफ्नो बगैंचाको फूलको माया लाग्छ, चाख हुँदैन ।’

बा’ले आमालाई पधेँरी जाँदा भेट्नु भएको रे ! मैले उसलाई क्लब जाँदा भेटेँ ।
आमा पानीको घुट्की हुनुहुन्थ्यो बा’को लागि । म उसको लागि प्यालाको नशा ।

८० वर्षका मेरा बा, काँचो अम्बा कडक्क टोक्नुहुन्छ, यता मलाई मेरा सेन्सिटिभिटी भएका दाँतले गिज्याउँछन् । म बा’लाई ट्वाल्ल परेर हेर्थेँ । बा मुसुक्क हाँस्नुहुन्थ्यो, अम्बाको दानो पहेँला दाँतका बिचमा अड्काएर ।

बा सबेरै उठेर शंख घण्ट बजाउनुहुन्थ्यो । मलाई आफैले राखेको अलार्मको घण्टीदेखि रिस उठ्छ । बा पूजा आराधना गर्नुहुन्थ्यो । म भन्थेँ, ‘मेडीटेसन गर्नुपर्छ ।’

बा भोकले रुनुहुन्थ्यो रे ! मैले ‘फूड पोइजनीङ भो’ भन्दा बा बुझ्नुहुन्न । बा’को भोकको कथा मलाई साँचो लाग्दैन ।

बा मलाई बुझ्नुहुन्न ।
म बा’लाई बुझ्दिनँ ।

हो, म ढिलो जन्मिएर बा’लाई बुझ्दिनँ ।
बा छिटो जन्मिएर मलाई बुझ्नुहुन्न ।

Facebook Comments

You may also like

error: Content is protected !!