लैङ्गिक असमानता

लास पोलेको हेर्न म घाटमा २ बजे पुगेको थिएँ ।

यो कथालाई म माथिको वाक्यबाट सुरु गर्न चाहन्थेँ । तर कथा एकतिर बग्यो र यो वाक्यको तात्पर्य अर्कोतिर । मन निमोठेर मैले अर्कै ठाँउबाट कथा सुरु गर्नुपर्यो । मैले भन्न चाहेको कुरा भनेँ । अर्को कुरा पनि भन्छु, यो कथा हो, काल्पनिक कथा जसको सुरुवातमा न्यारेटरले भन्छ;

लास पोलेको हेर्न म घाटमा २ बजे पुगेको थिएँ । र अहिले म पोखराको बसपार्कमा छु । म जहाँ जाँदैछु, त्यहाँ मलाई पर्खिरहेकी छे मेरी प्रेमिका, जोसँग छिटै नै विवाह बन्धनमा बाँधिने योजना तय भइसकेको छ । उसको अचम्मको एउटा माग यो छ कि, जिन्दगीमा केही न केही सम्झनलायक उट्पट्याङ गर्न पाइयोस् र वृद्द भइसकेपछि पनि सम्झिएर मुसुमुसु मुस्काइरहन पाइयोस् । त्यसैले, ऊसँग रतिरागको लागि मैले यो यात्रा तय गर्दैछु, उसैको निम्तोमा । तपाईंलाई आश्चर्य लाग्ला, ममाथि अनेक किसिमको भावना/विचारहरुहरु पलाउँलान् तर यो साँचो हो, उसको अनुरोधको दुई महिनापछि मात्र म यसको लागि तयार हुन सकेको हुँ । २ महिनासम्म भेट्न नजाँदा ऊ मसँग रिसाउनुपर्ने थियो तर परिस्थिति यस्तो भयो कि बरु मै रिसाएको थिएँ, रन्थनिएको थिएँ  ।

किन रिसाएको थिएँ ? किन रन्थनिएको थिएँ  ? यिनको कुनै ठोस कारण थिएन । थोरै आफैसँगको असन्तुष्टि, थोरै उसले गरेको प्रस्ताव, र केही हदसम्म मभित्रको पुरुष अहंले गर्दा सायद । हिजोबाट रिस सकिएको छ । हिजो राती नै मेलै २ हप्तापछि उसलाई फोन गरेँ । उसले सजिलैसँग लिई । म आँउछुभन्दा, म कुरेरै बसिरहेकी छु भन्दै थिई । र म अहिले पोखराको बसपार्कमा छु ।

गर्मी असाध्यै छ यहाँ । पसिनाले घाउ चहराई रहेको छ । किराना पसलबाट किनेर लगाएको ब्याण्डेज भिजेर झर्नै लागेको छ । म बेलाबेला पत्रिकाले तातो हावा हम्काइरहेको छु । तर पनि गर्मी कम भएको छैन । यो बसपार्कमा पंखाहरु छैनन् । च्यातिएका कार्टुन, छाता, पत्रिकाहरुले नै पंखाको काम गरिरहेका छन् ।

तर मैले हावा हम्काउनको लागि पत्रिका किनेको हैन । मलाई समवेदनाहरु पढ्नुछ ।

हिजो मात्रै हो मैले उसलाई चिनेको तर वषौँदेखि चिनेजस्तै लागिरहेको थियो । उसको आवाज, पहिलोपल्ट सुनेर पनि धेरै पल्ट सुनेको जस्तो थियो । हिजो घाटमा एक्कासि उसलाई चिन्नु र आज पत्रिकामा उसको मृत्युको खबर खोज्नु आफैमा आश्चर्यको कुरा हो । म हैन भन्दिनँ । बरु यत्ति भन्छु, उसलाई मैले हिजो घाटमा भेटेको थिएँ र भेट यसकारण भएको थियो कि, लास पोलेको हेर्न म घाटमा २ बजे पुगेको थिएँ ।

सबैभन्दा सजिलो काम हो मार्केटिङ्ग । मैले आजसम्म गरेको काम पनि यही हो । दिनको ५० वटा पसलसम्म पुग्यो । १०–१२ वटा अर्डर आएपछि अरु पसलमा कर नगरी सोध्यो । १–२ बजेसम्ममा अर्डर टिपिसकेर ५ बजे अफिस फर्क्यो । बिल बनायो, घर आयो । काम गाह्रो छैन । गाह्रो छ त समय बिताउन ।

अर्डर टिपिसकेबाट ५ नबज्दासम्मको समय, जतिबेला अफिसमा देखिनु काम ठगीको आरोप खेप्नु हो, त्यो समय कसरी बिताउने भन्ने पिरले मलाई सधैँ पिरोलिरहन्छ । हिजो पनि त्यही पिरले डोहोरिएर लाास पोलेको हेर्न म घाटमा २ बजे पुगेको थिएँ । अफिस धेरै टाढा छैन त्यहाँबाट । खोलामा खुट्टा भिजाउँदै बसिरहेँ ।

घाटमा कुनै लास थिएनन् त्यतिबेला । नमज्जा लाग्यो । बालुवा झिकिरहेका मजदुरहरु गिटीको थुप्रोजस्ता देखिन्थे । म इयरफोन जोडेर गित सुन्न थालेँ ।गायक सोधिरहेको थियो प्रश्न, कति माइल हिँडेपछि कोही मान्छे बन्छ, र आफै भन्दै थियो, उत्तर हावामै बहिरहेछ । तर हावामा उत्तर हैन, मलाई धुवाँ चाहिएको थियो । मान्छेको धुवाँ ।

झोलाबाट सिग्रेटको बट्टा झिकेँ । एक खिल्लि ओठमा च्यापेर सल्काएँ ।
उफ ! गर्मिमा किन यति नमिठो लाग्छ सुर्तिको धुवाँ ? झण्डै खोकिनँ ।
गर्मिमा हैन, घाटमा मात्र हो यस्तो ।

मेरो पछाडिबाट कोही बोलेको थियो । इयरफोन निकालेर फर्किएँ । मेरो ठिक पछाडि उभिएको थियो एउटा बुढो मान्छे । ऊ कतिबेला यहाँ आयो थाह पाइनँ ।

के भन्नुभयो ? अचानक पछाडि देखिएको बुढो मान्छेलाई सोधेँ ।
चुरोटको धुवाँ गर्मीमा हैन, घाटमा मात्र खल्लो लाग्छ ।

म आश्चर्यमा परेँ । ऊ मछेउ आयो । उसको सेतो छालामा पसिनाको कुनै अवशेष थिएन । मैले च्यापेको चुरोटको फिल्टर भने भिजिसकेको थियो । ऊ छेउको ढुङ्गामा अडिएर बस्यो । मैले जसरी नै खुट्टा भिजायो । उसका खुट्टा पनि सेतै थिए । उसका घुँडा पनि । उसले धोती लगाएको थियो र धोतीभित्र….

तिम्रो लिङ्ग कत्रो छ ? उसको प्रश्नले म झसङ्ग भएँ । धोती बाहिरको रुपरेखामा धेरै नै समय हेरेछु क्यारे । उसले फेरि सोध्यो, माइ बोइ ! हाउ बिग इज योर कक् ? पहिलोपटकमा नै प्रश्न बुझिसकेको थिएँ । तर उसले फेरि सोध्यो, भाले कत्रो छ भनेको ?

म अवाक ! भर्खर भेटेको मान्छेलाई, त्योपनि हजुरबुवाको उमेरको, म कसरी आफ्नो लिङ्गको बारेमा बताउन सक्थेँ ? तर मैले उसको लिङ्गको बारेमा सोधिनँ । सोध्ने जरुरत पनि थिएन । धोतीलाई अलि तन्काएर मतिर हेर्दै उसले भन्यो, मलाई थाह छ कत्रो छ भनेर ।

के !?
कुनै रहस्य जान्न उत्सुकझैं मैले सोधेँ । तर उसलाई थाह भएको कुरा मेरो लागि कुनै रहस्य थिएन । म अचानक आत्तिएको देखेर ऊ हाँस्न थाल्यो । म फेरि मौन बसेँ । उसको हाँसो होस गुमाएको मान्छेको जस्तो थियो । बालुवा चाल्नेहरु अलि पर नै थिए । असहज महसुस गरेर म त्यहाँबाट हिँड्न खोजेँ ।

ए ! कता जान लागेको ? उसको बोलीको भाव परिवर्तित भएको महसुस गर्न सकिन्थ्यो, म भन्दिनँभयो ?
के भन्दिनँ ? उसको फुस्रो हातले छोएको मलाई मनपरेको थिएन ।
तिम्रो भाले कत्रो छ भनेर भन्दिनँ ।
मलाई थाह छ भाले कत्रो छ । खै, हात छोड्नु ।
हाहा ! तर उनीहरुलाई त थाह छैन ।
उनीहरु ?
जो यो कथा पढिरहेकाछन् ।

म स्तब्घ भएँ ।
तपाईं किन हाँस्नुभएको, नहाँस्नुहोस् । मेरो लिङ्ग ८ इन्चको छ ।
नढाँट !
के ? बुढोको आवाजले मैले फेरि आफूलाई घाट वरपर पाएँ ।
तिमी आफ्नो लिङ्गको गलत मापन सुनाइरहेका छौ ।
कसलाई ?
मैले नबुझेजस्तो गरेर सोधेँ । ऊ हाँस्यो मात्र । केहीबेर हामी दुवैजना बोलेनौँ ।

खोलापारि केही कमिलाजस्ता मान्छेहरु देखापर्दै थिए । त्यतैबाट सुनियो शंखको आवाज । बल्ल मलामीहरु आए । शंखको आवाजले अनौठो शान्ती दिँदै थियो । लामो सास फेरेँ र ढुङ्गामा बसेँ । बुढोले भने फेरेन । मलाई हेरेर मुस्कुरायो मात्रै ।
उः आए ! उसले मलामीलाई संकेत गर्दै बोल्यो ।
अँ ! उसलाई पनि मलाईजस्तै मलामीको प्रतिक्षा रहेछ भन्ने सोचेँ ।
हेर त ! आए उनीहरु ! उसले फेरी भन्यो । केही नबुझेजस्तो लागेर सोधेँ, को आए ?
मेरा मलामीहरु !

मैले आँखा उघारेँ, च्यातिनेगरी । पक्कै उसले मजाक गर्दै थियो । म अब ऊतिर फर्किनेछु र ऊ रङ्ग उडेको मेरो अनुहार देखेर मरीमरी हाँस्नेछ । उसलाई हेरेँ तर उसका आँखाहरु मलामीतिरै अडिएका थिए र तिनमा चमक देख्न सकिन्थ्यो । उसका ओठमा रहस्यमयी मुस्कान तैरिरहेको थियो । मलामीतिरै हेरेँ । ४ जनाको काँधमा बाँसको बिस्तारामा सुतेर आँउदै थियो एउटा लास । सायद बोक्नेहरु छोरा थिए मृतकका । मेरो छेउको बुढो सेतो र फुस्रो त देखिन्थ्यो तर ऊ त मेरै अगाडी बसिरहेको थियो । मसँग बोलिरहेको थियो । ऊ कसरी मरेको हुनसक्छ ? भ्रम ? तर उसले मलाई छोएको थियो । मैले पत्याइनँ ।

कति कुरा गरेको आफैसँग ? पढ्नेलाई पनि अल्छि लाग्ने जस्तो, ऊ मतिर हेर्दै मुस्कुराइरहेको थियो ।
अँ ! तिम्रो कुरा चाहिँ ठिक हो । उनीहरु मेरा छोराहरु हुन् । सबैजना । महेश चाहिँ आएनछ । कपालको कति माया लागेको त्यसलाई ? साँच्चै, तिमीलाई थाह छ ? उसको भाले तिम्रो जत्रै छ ।
मैले प्रतिकृया जनाइनँ ।

खोलाको पानी बगिरहेकै थियो । त्यो बहावमा भिजेको खुट्टा त्यहीँ नै अडिरह्यो । शंखको आवाज झनझन नजिक आइरहेको थियो । त्यही आवाजको पार्श्वध्वनीमा मेरा मनमा कुराहरु खेलिरहे । यसका कतिवटा बुढी रहेछन् । कम्तिमा पनि १० वटा त हुनैपर्छ । मलामी नै त्यति धेरै छन् । हुनपनि किन नहुन् ? बुढोको…
बोऽऽरिङ्ग !
के बोरिङ्ग लाग्यो तपाईंलाई ?
तिमी कति कुण्ठित छौ भन्ने कुरा ।
मतलब ?
अब म कथाको मूल आशय नै फररर बोलेर सुनाउँ ?

म केही बोलिनँ । उ जवाफको प्रतिक्षामा थियो सायद । मलाई ध्यान दिएर हेरिरहेको थियो ।
भयो, भन्नुपर्दैन । मैले बुझेँ ।
तिमीले त बुझ्यौ योङ्गम्यान तर तिम्रो पाठकले बुझ्लान् त ?
जो मान्छे यहाँ छँदै छैन त्यसको किन कुरा गर्नु ?
मैले अलि झिँझिएको आवाजमा भनेपछि ऊ झन मरीमरी हाँस्न थाल्यो । ऊ यति मरीमरी हाँस्यो कि हाँस्दा हाँस्दै बिलायो । मैले ऊ हाँस्नुको कारण बुझेँ र आफूपनि हाँस्न थालेँ तर म बिलाइनँ । कल्पनामा हराउन थालेँ । खोलापारि मलामीहरु लासलाई चितामा राख्न लागेका थिए ।

बुढो बिलाइसकेपछि मेरो मनमा उब्जिएका विचारहरु यसप्रकार छन् ।
१. लौ बिलायो । साँच्चै भ्रम पो रहेछ । हाहा, छ्या !
२. मैले यो कुरा कसैलाई भनेँ भने कसैले पत्याउँला ?
३. तर बुढो मरेछ चाहिँ कसरी ?
४. झण्डै लिङ्गको बारेमा केही बोलेन । एकछिन त तर्साइदिएको ।

केहीबेर टोलाइसकेपछि अर्को चुरोट झिकेर सल्काएँ । धुवाँ तान्दैगर्दा बुढोले भनेको सम्झेँ, गर्मीमा हैन घाटमा मात्र यस्तो हो, यस्तो अर्थात नमिठो । २–३ पटक फोक्सो भरेर फ्याँकिदिएँ खोलामा । अब म लास जल्ने क्षणको प्रतिक्षामा थिएँ । मलामीहरु लासलाई दागबत्ति दिन अगाडि बढे । यहि हेर्न म घाटमा २ बजे आइपुगेको थिएँ । त्यहिबेला फेरि बुढोको आवाज मेरो कानमा ठोक्कियो ।
योङ्गम्यान ! ओ योङ्गम्यान !
पछाडि फर्केर हेरेँ । कोही थिएन । बुढोलाई मेरा आँखाहरुले खोज्न थाले ।
त्यहाँ हैन, यता ! यता !
मैले खोलापारी हेरेँ । चितामा लास थियो, बुढोको लास । तर…लास चलिरहेको थियो । बोलिरहेको थियो । म केही सोच्न सक्ने स्थितिमा थिइनँ । केवल हेरिरहेँ । उसका छोराहरुले आगो झोसे । ऊ भने मुस्कुराँउदै मतिर हात हल्लाउँदै थियो ।

उ औंलाले आफ्नो लिङ्गतिर देखाँउदै जिस्क्याइरहेको थियो । र उसको लिङ्ग बिस्तारै बढ्दै बढ्दै गइरहेको थियो । ठूलो, ठूलो, अझै ठूलो, अझै, अझै ठूलो…

म मनमनै ईर्ष्या र क्रोधले विस्फोट हुन थालेँ । बुढोले आफ्नो लिङ्ग देखाउँदै जिस्काएको मलाई मनपरेन । उठेँ र खोला तर्न थालेँ । बगाएन झण्डै । हतारहतार खोलापारि  जलिरहेको चिताछेउ पुगेँ । मलामीहरुको आँखामा आश्चर्य पोतिएको थियो । बुढो आगोमा जल्दै थियो र ठडिएकै थियो उसको लिङ्ग । उसको अनुहार जलिरहेको थियो र जलिरहेको अनुहारमा देख्न सकिन्थ्यो त्यो हाँसो जसले मलाई गिज्याइरहेको थियो ।

वरपर हेरेँ । एउटा ठूलो ढुङ्गो उठाएँ र उसको लिङ्गमा हानेँ । अर्को टिपेँ र बजारेँ टाउकोमा । ऊ मुस्कुराई नै रहेको थियो र उसको लिङ्ग उसरी नै ठडिएको थियो । तेस्रो ढुङ्गा उचाल्दा पछाडिबाट कसैले मलाई धकाल्यो । म पछारिएँ भुइँमा । टाउको नमज्जाले ठोक्कियो । ओठमा काट्यो अलिकति । उठ्न लाग्दा ढाडमा कसैले लात्ती हान्यो । पेट ढुङ्गामा बेस्सरी ठोकियो । सास फेर्न गाह्रो भयो । बडो मिहिनेतले पछाडि फर्केँ र मलामीहरुलाई हेरेँ । उनीहरु सबैको आँखामा मप्रतिको आक्रोश देख्न सकिन्थ्यो । बुढोको लासलाई हेरेँ । अहँ ! अब त्यहाँ केही थिएन । न मुस्कान, न लिङ्ग ।

बल्ल फेरेँ सन्तोषको सास र भरेँ फोक्सोमा धुवाँ । धुँवा खल्लो थिएन । आक्रोशित मलामीहरुको बिचबाट ज्यान जोगाउँदै भागेँ । मनमा भने अनौठो शान्ती र धैर्यता थियो । त्यसपछि हतारहतार अफिस पुगेँ । कसैसँग बोलिनँ । कसैले बोलाएनन् पनि । बिल बनाएँ, हाजिर गरेँ र लागेँ कोठातिर । राति ९ बजे फोन गरेँ आकांक्षालाई । पहिलो घण्टीमै उठाइ उसले ।

हेलो !
आकांक्षा ! उसको बोलीमा अझैपनि स्नेह थियो ।
हजुर, उसको आवाजले मनमा अनेक भावनाहरुको आँधि ल्याइदियो । उसलाई कसेर अँगाल्न, उसका हरेक चाहनाहरुलाई पूरा गर्न मन लाग्यो । उसलाई काखमा राखेर भन्न मन लाग्यो, म सम्भोगका लागि तयार छु आकांक्षा । तिमीलाई सम्पूर्ण माया दिन तयार छु । ऊ मेरो आवाज पर्खिरहेकी थिई । मैले भनेँ, लास पोलेको हेर्न म घाटमा २ बजे पुगेको थिएँ ।
ए !
के तिमी अझैपनि तयार छेउ ?
पहिलोपटक मैले प्रस्ताव राखेँ ।
म तिमीलाई भेटेको दिनदेखि थिएँ ।  उसले मेरो उत्साहलाई ओइलाउन दिइन । उसको उत्तरले मेरो शरीरमा केही हलचल भएको सत्य हो ।

ऊसँग त्यसपछि रातभर कुरा भयो । के कुरा भयो, सबै सुनाइरहनु जरुरी छैन तर कुराको मुल तात्पर्य यो हो कि अहिले म पोखराको बसपार्कमा बस कुरिरहेको छु ।

मसँग मनमा एक उत्साह छ । छ एउटा आत्मविश्वास पनि । र हातमा छन् मोबाइल र पत्रिका । पत्रिकामा हेर्नुपर्ने अब केही बाँकी छैन । कसैले बुढोको समवेदना छपाएका छैनन् । उसलाई मैले वास्तवमै देखेको थिएँ वा थियो मेरो कल्पनाको उपज, त्यो पनि मलाई थाह छैन । मलाई यत्ति थाह छ आजको दिन राम्रो हुनेवाला छ चाहे राशीफलले जे भनोस् ।

पत्रिका खोल्छु । यात्राको योग, पारिवारिक सुख तथा प्रेमसम्बन्धमा सुधार । मिलेकोमा मुस्कुराँउछु । बस अझै आइपुगेको छैन । राशीफल भन्दा माथि केही स-साना समाचारहरु छन् । त्यतै नजर डुलाँउछु । एउटामा यस्तो लेखिएको छ :

मिति २०७६ साउन ५ गतेका दिन पोखरा, ५, मालेपाटन बस्ने ६५ वर्षिय बिशाल केसीको रहस्यमयी निधन भएको छ । स्रोतका अनुसार केसीको निधन योनि निसास्सिएर भएको हो । हिजो नै उनका ६० सुपुत्रले सेती खोलामा उनको अन्तिम संस्कार गरेका छन् । केसीको परिवारले घटनाको बारेमा कुनै टिप्पणी गर्न नचाहेको बताए ।

यति पढिसक्दा म विचारशुन्य छु । यो समाचार त्यही बुढोको मृत्युको हो भन्नेमा कुनै शंका छैन । उसलाई चिन्नेहरुको लागि मृत्युको कारण पनि स्वभाभिक नै हुनुपर्छ । तर अस्वभाविक कुरा त के भने, पत्रिकाको समाचारमा मेरो…

मेरो हात थर्थरायो । फोनको आवाजले म तर्सिएँ । पत्रिकाको पानाबाट निस्किएर हेरेँ, आकांक्षाको मेसेज आएको छ । लेखेकी छ, बिशाल बस चढ्यौ ?

Facebook Comments

You may also like

error: Content is protected !!