गजल १
हुनेलाई लाग्छ नहुनेलाई डर लाग्दैन
हुँदै नहुनेलाई कुनै चिज रहर लाग्दैन !
उनी मेरै भरमा मुस्कुराउन चाहन्छिन्
मलाई आफ्नै चप्पलको भर लाग्दैन !
जति दिनु धोका मलाई मायाले दियो
अब मलाई कुनै विषको असर लाग्दैन !
ऊ जस्तै हुन्छ अरूको घरबार निफन्ने
जसलाई आफ्नै घर पनि घर लाग्दैन !
नारीले यहाँ होचिनै पर्ने रहेछ तबसम्म
बच्चाको पछाडि आमाको थर लाग्दैन !

गजल २
यो समय यो जीवन आउँछ जान्छ पछ्याउन मिल्दैन
जसरी शत्रु देखेर चिताको लास मुस्कुराउन मिल्दैन !
भन्छौ विज्ञानले सोचेको सबै बनिन्छ यो दुनियाँमा
वैज्ञानिक साहब मलाई फेरी सानो बनाउन मिल्दैन ?
कोही सहरमा मर्दैछन् उता कोही गाउँमा नै मर्दैछन्
हे दैव सबै छाडेर भ्रष्टचारीलाई उठाउन मिल्दैन ?
मलाई बन्दै देख्नु छैन यो विजय अनि यो पराजय
भनिदिनुहोस् न यो मेरो मुन्टो उल्टो फर्काउन मिल्दैन ?
आँगनमा छोरी हुर्किन्छे बा’को मन निराश हुँदै जान्छ
समाज भन्छ हुर्केकी छोरीलाई घरमा अटाउन मिल्दैन !
