गन्तव्य जिन्दगी
जिन्दगीको आगनीमा
साँझसम्म पुग्छु कि कतै
गोलार्ध जतिकै लामो बाटो हिँडीसकेँ मैले
हरेक बिसौनीलाई
गन्तव्य ठानेर झुक्किइरहेँ म, झुक्किइनै रहेँ
जिन्दगीलाई भेट्ने
मेरो उत्कण्ठाको हिमालमा
चुली थप्ने काममात्र गरिरहयो
बिसाउनीमा भेटिएका फूलका स्पर्शहरुले
काँडाका शालीन बिझाइहरुले
घुम्दै घुम्दै
कहिले कहाँ,कहिले कता पुगेजस्तो
जिन्दगीसम्म पुग्न सकिएको छैन अझै
सुन्दर देखिएर छुनचाहिँ नसकिने ईन्द्रेणीजस्तो
नजिकै लाग्ने त्यो टाढाको क्षितीजजस्तो
जिन्दगी !
मात्र एकपटक एकै झल्को देखाएर
सँधैभरीलाई कहिँ गायब भएको सुन्दर अनुहार जसरी
मलाई लोभ्याउदै आइरहेछ
आह ! कस्तरी कलेटी परेका छन मेरा ओठहरू
एक घुट्को जिन्दगी पिउन नपाएर
जान्छु फेरि निस्कन्छु यात्रामा
मेरो गन्तव्य कदापि होइन यो बिसाउनी
मलाई त जिन्दगीसम्मै पुग्नु छ
त्यहाँ,मलाई पर्खिरहेको प्रेम छ
मलाई नै पर्खिरहेको मेरो ईश्वर पनि त्यहीँ छ
साँझसम्म त पुग्छु कि कतै ….!!

Image Source: Painting by Bingo Arts from amazon.com
**********
यादको ऐनामा
तर्र~~र बगिरहेझैँ वर्षाको पानी
जहिल्यै बग्छ दर्द
यादको ऐनामा
यादको ऐनामा
देखिन्छ एउटा अनुहार
हाँस्दैहाँस्दै आइरहेको
र जादूझैँ स्वाट्ट पसेर ऐनामा
अचानक गायब भइदिन्छ
साँझको अन्तिम बस चढ्न
तँछाडमछाड गरिरहेका यात्रुझैँ
ठेलमठेल गरिरहेका देखिन्छन् यादहरुको घुँइचो
मैले कहिल्यै हेर्न सकिनँ यो यादको ऐना
ओभानो आँखाले।

Image Source: GoodFon
*******
हिम्मतको बाटो
जबजब म हिँड्छु हिम्मतको बाटो
समय अचेल झुकेर सलाम गर्छ मलाई
कुनै बखत
मेरो खल्तीमा लुकाइराखेका रहरका-ससाना गुच्चाहरू खोसेर
सिर्कुनाले हानिहाल्थ्यो छुच्चा त्यो -मास्टर समय
अभावको त झन बहाना मात्र-चाहिन्थ्यो उसलाई
झम्टिहाल्थ्यो डस्टर उचाल्दै मेरो -अस्तित्वमाथी
रहरहरूसँग खेल्ने रहर कहिल्यै गएन-यद्दापि मेरो….
म कमजोर भएर त्यो बलियो भएको रहेछ
म दबिएर पो त्यसले थिचेको रहेछ
म रूँदा त्यसको अट्टहास लाग्दो रहेछ
उदासी धुम्मिएको विचारको आकाशमा
एकदिन अचानक यसरी चम्किएको चट्याङ चेतनाले प्रहार गरेँ
त्यस खजुरो समयलाई
र परास्त गरेँ
मेरो ढाड सँगै कुप्रिँदै कुप्रिँदै बुढो हुँदो छ समय अब
चिरञ्जीवि रहरहरुको बरदान पाएर
झनझन यूवा बन्दैछु म
साहसको ओजले धपक्क बलेको मेरो अनुहारमा
मोहक मुस्कान देखेर डाहाले नमरुन कोहि
जबजब म हिँड्छु हिम्मतको बाटो
समय अचेल झुकेर सलाम गर्छ मलाई

Image Source: Dreamer Painting by En Chuen Soo