बासुपुष्पाका गजलहरू | प्रवास | काव्यालय-Kavyalaya

बासुपुष्पाका गजलहरू

गजल एक

जिन्दगानी लुकाउन बसेरा खोज्नु छ
यो शहरमा फेरि नयाँ डेरा खोज्नु छ

ब्याधा आएर आमालाई गुँडबाटै लग्यो
कहाँ गए होलान् कठै! बचेरा खोज्नु छ

ए! बादलहरू, कहाँ हुन्छ भन मलाई
बादल भित्र चाँदनीको घेरा खोज्नु छ

कसैले मेरो विरुद्ध किटान जाहेर गर्यो
कसको छ मेरो जस्तै चेहेरा खोज्नु छ

गजल दुई

गति सकियो जीवनको लय सकियो,
मेरो पनि बाँचेको अभिनय सकियो

खरानी बन्नु अघि लास मुस्कुराउँछ,
सोच्दो हो आजबाट पराजय सकियो

म हर परीक्षामा पास भएँ त्यसपछि ,
जब जिन्दगीमा ‘पिरती’ विषय सकियो

कैदी भेटे जस्तै रहेछ खुसी भेट्नु यहाँ,
आदेश आउँछ तपाईंको समय सकियो

आमा मात्र थिइन् गुमाउनु पर्ने, गुमाएँ
सबथोक सकियो, गुमाउने भय सकियो

गजल तीन

थाह छ त्यही दिन मलाई लिन काल आउँछ
जुन दिन अरु कसैले उसको सिउँदो सजाउँछ

हामी सँगै हुँदा यसरी कहिल्यै सताइन उसले
छुट्टियौँ उसको यादले अचेल बहुत सताउँछ

गाउँको खबरसम्म सोध्दैन कन्जुस शहरले
त्यही शहरलाई गाउँले सधैँ चामल पठाउँछ

आफ्नो ख्याल गर भनी सम्झायो परदेशीले
परदेश कहरमा छ उसलाई कसले सम्झाउँछ ?

मैसा’प मेरो माटोको सुगन्ध पचेन हजुरलाई
सुन्नुस् मलाई पनि हजुरको अत्तर गनाउँछ ।

Facebook Comments

You may also like

error: Content is protected !!