अतितका गजलहरू | SATURDAYकलम | Kavyalaya - काव्यालय

अतितका गजलहरू

गजल १

आँखामा राखुँ या मनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !
यादमा राखुँ या जीवनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !

तिमी मुस्कुराएपछि न हाे, म मुस्कुराउने भनेकाे सधैँ 
खुसीमा या त राेदनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !

एउटा किताब काफी छैन, तिम्राे सुन्दरताकाे वर्णन गर्न 
जवानीमा कि बचपनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !

तिम्राे स्पर्शले नै मलाई, स्वर्गकाे अनुभूति दिलाउँछ,
ओठमा राखुँ या चुम्बनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !

भेटेपछि तिमीलाई, अर्कै माेड लियो यार यो जिन्दगीले !
आरम्भ या समापनमा राखुँ ! कहाँ राखुँ म तिमीलाई !

 गजल २

तिमीले कसम झुटाे खायाै, अनि प्रेम नक्कली दियाै !
ढाँट्याै छल्याै मलाई, पहिचान अरुलाई सक्कली दियाै !

आँखाबाट आँसुपनि, रित्तिन लागिसके प्रिय !
मनैदेखि दिमागसम्म, यादहरू झल्झली दियाै !

कति सक्छ्यौ दुःख दिन, साँचाे माया गर्ने मान्छेलाई
अथाह दियाै घृणा किन खै, प्रेम अलिअलि दियाै !

जुन प्रेमले आजसम्म, तिम्राे मुहारमा मुस्कान ल्याएथ्याे 
जानी जानी आज तिमीले, वाह् ! त्यही प्रेमकाे बलि दियाै !

याे कस्ताे संंयाेग हाे, बुझ्न सकिनँ अझैपनि मैले 
दिँदै थेँ  प्रेमलाई शुभेच्छा तिमीले श्रदाञ्जली दियाै !

गजल ३

यो श्वास रोकिन्छ अनि याे धडकन राेकिन्छ एकदिन !
माया गर्दा गर्दै  यो मेरो मन राेकिन्छ एकदिन !

पाउने आश गुमाउने त्रास केहीपनि नभएकाे
मात्र मुस्कानले टिलपिल यो बच्पन राेकिन्छ एकदिन !

लाग्थ्याे कहिल्यै हामीबिच कुराकानी सकिन्न 
अञ्जान थेँ यसरी बाेली वचन राेकिन्छ एकदिन !

 बनाउन चाहेर काही आफ्ना हुँदा रै’नछन् !
अञ्जानसँगकाे  यही आफ्नाेपन राेकिन्छ एकदिन !

मैले हतार हतारमा मृत्युलाई प्रेम गर्ने बेला !
ओढाउनै लागिएकाे त्याे कफन राेकिन्छ एकदिन!

साथ चाहिँदा कहाँ, हराए मेरा आफ्नाहरु ?
भिडभाड दुनियाँ बिचकाे एक्लाेपन राेकिन्छ एकदिन !

 

 

 
Facebook Comments

You may also like

error: Content is protected !!