भविष्यात्रा

गोलो कालो चस्मा, सेतो सर्ट, कालो सस्पेन्डर पेन्ट निकै लामो कपाल र छातीसम्म पुग्ने दाह्री, ऊ कुनै खोजमा लागेको व्यक्ति जस्तो देखिन्छ। आज पनि ऊ सधैँझैं हातमा कफी लिँदै, आफ्नो घरको अन्डरग्राउण्ड कोठामा जानका लागि सिँढी झर्दै छ, कोठामा रातो बत्ती बलेको छ। टेबलमाथिको हाइ ग्लास कम्प्युटरमा घोरिइरहेको छ, ऊ। ग्रह र तिनका खोजमा लागेका कागजहरू कोठाभरि छरपष्ट छन् । छेउको भित्तामा कागजहरू छन् । कागजहरूमा ग्रहहरूको बिन्दु लगाई बिन्दुहरूलाई एक-अर्कोसँग जोडिएको छ र जसको बिचमा लेखिएको छ,‘द इन्ड’ । गोलो सिसाको एक्कुरियमभित्र एक्लोपन स्वीकारिरहेको माछालाई चारा दिँदै र त्यसलाई एकहोरो हेर्दै उसले आफ्नो लक्ष्यलाई अगाडि बढाइरहेको छ । ऊ दुनियाँको नजरमा अपरिचित बनेको छ, उसले आफ्नो जानकारी कसैलाई दिँदैन तर पनि उ आफ्नो निक नेम ‘अपरिचित’ बाट ‘परिचित’ छ।

High Glass Computer Work

High Glass Computer Work

धर्तीको अवस्था हेरेर वैज्ञानिकहरू अचम्ममा परिरहेका छन् । विभिन्न खोज गर्छन्, तर तिनले गरेका हरेक खोजहरू उसको ताजा खोजको अगाडि व्यर्थ छन् । त्यतिकैमा ऊ आफ्नो आई कोडले कम्प्युटर खोल्छ । दिमागले सोचेका कुरा कम्प्युटरमा आफै टाइप हुन्छन्, त्यस इन्फरमेसन उसले विश्वभरका वैज्ञानिकहरूलाई मेल गर्छ ।

भोलिपल्ट खैलाबैला मच्चिन्छ, समाचार, पत्र ,पत्रिका, सर्वत्र उसको चर्चाले शिखर चुम्छ । ‘धर्तीको अन्त्य हुँदै’ यही टपिकमा छापिएका समाचारहरूको ‘स्रोत:अपरिचित’ लेखिएको छ । उसलाई नचिन्ने मान्छेहरू औंला भाँचेरै एक दुई भन्दै गन्न सकिन्थ्यो सायद ।ऊ निकै उत्कृष्ट वैज्ञानिक भइसकेको छ तर उसलाई कसैले देखेको पनि छैनन् र कसैले भटेको पनि छैनन् । उसका कृतिहरू भने विश्वविद्यालयमा समेत पढाइन्छ किनकी उसले लेखेका हरेक किताब पढेर नै बाँकी वैज्ञानिकहरू नयाँ खोज तथा अनुसन्धानमा लागिरहेका छन् ।

Asteroids towards Earth

Asteroids towards Earth

 

स्पेसशीप ‘भोलेन्टियर्स’ अर्थात् ‘कृत्रिम आर्मीहरू’ स्पेसशीप चढ्न बसेका मानिसलाई क्रमबद्द बनाइरहेका छन् । विशाल रकेटहरूको तल्लो तलामा अति आवश्यक सामाग्री सञ्चित गरिएका छन्; बीउ बीजन तथा मेडिसिनका डिब्बाहरूलाई यन्त्रमानवहरूले व्यवस्थित गर्दै छन् । टिप्पर, लोरी बाटोभरि खचाखच छन्, ट्रफिक जाम भएको छ, जताततै गाडीका हर्न बिप-बिप गरिहेका छन् । मान्छेहरूका अनुहारमा अप्राणको संकोचमा छ, वृद्ध -वृद्धा, बच्चासहितकाआमा र अशक्त मान्छेहरूलाई सबैभन्दा पहिले स्पेसशीपमा चढाइँदै छ ।

सबैका अनुहारमा कालो ठूलो एयर फिल्टर भएको मास्क छ, त्यसमा अक्सिजन बक्स फिट गरिएको छ । पृथ्वीमा अत्याधिक तापक्रम बढेको छ । घरछेउका रूखहरू त्यस्सै सुकेका छन् । पानीका मूलहरू पनि सबै सुकेका छन् । कुनै बिरुवा उम्रिने आशा छैन् । आकाशमा जताततै कालो धुवाँको मुस्लो छ। वर्षौंसम्म पानी पर्ने कुनै छाँट छैन । दूरदराजसम्म जंगल नाश भएको छ । कतै हरियाली छैन । खाध्यान्न उत्पादन शुन्य छ । जनावरहरू हिँड्दाहिँड्दै पक्लक्क ढल्दै मरेका छन् । चराचुरुङ्गी उड्दाउड्दै खसेर मरेका छन् । नदीका माछाहरू पानीको अभावका कारण फत्र्याक-फत्र्याक परेका छन् । बचेका जनावरहरू पनि भोकले अस्थिपञ्जर जस्तो भएका छन् । ठूला ठूला भवनबाहेक केही देखिँदैन; धर्ती कङ्कृट जंगल बनेको छ । प्राकृतिक चिजबिज कम कृत्रिम सृजनाले सृजित छ, धर्ती । जमिन चिरा चिरा परेर पटपटी फुटेको छ ।

Earthquake

Earthquake

उसलाई आफ्नो प्रेमिकाको कल आउँछ, प्रेमिकाले आफू स्पेसशीप भएको स्थानमा रहेको बताउँछे र उसलाई पनि त्यहाँ आउन आग्रह गर्छे । तर उसले प्रेमिकाको प्रस्तावलाई असमर्थन गर्छ किनकी ऊ रित्तो संसार हेर्न चाहन्थ्यो । उसले गरेको भविष्यवाणी सही रहेको सावित गर्न चाहन्थ्यो । ऊ कुनै कालखण्डको अझ महान वैज्ञानिकको रूपमा स्थापित हुन चाहन्थ्यो । ऊ कोही नभएको संसारमा आफू भएर हेर्न चाहिन्थ्यो । उसले आफ्नो बाल्यकालमा एक्लै बन्द कोठामा स्वतन्त्र उडिरहेको कल्पनालाई ब्रह्माण्डको परिधीभित्र समेट्न खोज्थ्यो ।  यस्तो पनि सोच्थ्यो; यदि संसारमा कोही नभई म मात्र हुँदो हुँ त कस्तो अनुभूति हुन्थ्यो होला ? सायद, म संसारको राजा जस्तो हुन्थेँ र संसार मेरो ‘राजमहल’!” यही अनुभव महसुस गर्न आज ऊ बाँच्न चाहने भिडभन्दा पर अलग्गै बसेको छ ।

उसले पृथ्वी छोडेर नजाने मन बनाइसकेको उसको प्रेमिकाले सहजै बुझ्छे । सधैँझैं, कतै डुल्न जानेबेला तिमी नगए मपनि जादिनँ भनेर घुर्क्याएजस्तो घुर्क्याउँदिन आज ऊ । ऊ जान त चाहँदैन थियो नै, तर किन किन मात्र एकैपटक भएपनि उसकी प्रेमिकाले आजपनि घुर्क्याइदिए हुन्थ्यो भन्ने उसलाई नभएको होइन । खैर, रोक्न त ऊ उसलाई न त चाहन्थ्यो न त सक्थ्यो नै । 

ऊ केहीबेर प्रेमिकाकै खयालमा हराउँछ । सम्झन्छ, मृगनयनी, रेशमी केशवाली, झरिली भरिली यौवना ! पुष्टिलो टम्म र कसिलो मछिन्द्राको जस्तो कम्मर,आँखा भित्रबाट पसेर मुटुमा  स्पर्श गर्ने उसकी सम्मोहिनी प्रेमिका । ऊ महसुस गर्छ, उसको साथ, उसको भावना, प्रेरणा, माया, स्नेह र आफ्नोपन । ऊ निर्बाध सुखबोध आत्मरतिको स्वप्नदोषको काल्पनिक स्खलन गरिरहेको छ तर यो आनन्दको विजारोपणमा भने कहिल्यै परिणत हुने छैन । के ऊ जीवनभर केवल स्खलित भएर बन्द कोठामा आन्नद मात्र लिइरहन सक्छ ? अहँ, ऊ आज बिचलित हुन चाहँदैन, शारीरिक र भावनात्मक मोहबाट पर केवल ऊ आफ्नो वाणी सत्य चाहन्छ । उसको फोनमा पुनः घण्टी बज्छ । हेर्छ उसकी ममीको फोन हुन्छ । ऊ उठाउन सक्दैन । फोन बजिरहन्छ, बजिरहन्छ र बजिरहन्छ । ऊ केहीबेर टोलाउँछ, टुट्न खोज्छ तर सम्हाल्छ आफूलाई र लगाउँछ फोन, उसकी काकीलाई जो स्पेसशीपमा उसकी ममीसँगै जाँदै थिइन्, अर्को ग्रहका लागि ।

फोन उठ्नासाथ बिना कुनै हाइ, हेल्लो उसकी काकी चिच्याउँछिन्-
“कहाँ छस् तँ यस्तोबेला पनि ? यहाँ तेरो ममी छोरोबिना जान्नँ भनेर डेग चल्न मानेको होइन ! रूवाबासी छ । फोन पनि उठाउँदैनस् रे । कहाँ छस् छिटो आइज यहाँ !”

“काकी, म भोलुन्ट्यरिङ गर्दै छु । सबैलाई पठाइसकेर अन्तिमको स्पेसशीप चाहिँ भोलुन्ट्यरहरूको लागि आउँछ क्या । चिन्ता लिनु पर्दैन । छोरा आउँछ रे, भोलुन्टियरको छुट्टै हुन्छ र स्पेसशीप भनेर सम्झाउनुस् न ममीलाई है । राम्रोसँग जानुहोला । केही समयमा उतै भेटौँला है त काकी, राखेँ ।”


पृष्ठभूमिमा सुनिएको रुवाबासी र खैलाबैला सहन नसकेर ऊ चाँडै फोन राख्छ । उसलाई थाहा छ त्यो उसकी आमाको क्रन्दन हो । यति ठूलो कुरा ढाँटिरहँदा उसलाई मनमा असहज त लागेको छ तर त्योभन्दा बढी ऊ उत्साहित छ । केही दिनमै संसारले कुनै अर्को ग्रहमा बसाइँसराइँ सम्पन्न गर्छ । जहाँ जीवनको सम्भावना र सार्थकता छ । जहाँ मान्छे अब प्रकृतिलाई कहिल्यै बिगार्ने कोसिस गर्ने छैन । जहाँ नयाँ संसार बस्ने छ । अब यहाँ ‘पृथ्वीमा, ऊ र केही जीवनसंघर्ष गरिरहेका जनावरहरू मात्र बाँकी छन् ।

जन्मेदेखि नै प्रगती र प्राप्तिकालागि दौडधूपको संसारमा होमिनुलाई नै जीवन ठान्छ ऊ । लिएर जाने कुरा केही छैन सिवाय तिता-मिठा अनुभव र यादहरू।  सायद, जीवन र मृत्युको अन्तर कुनै मिलिसेकेण्ड या मिनेटभरमा हुन्छ । एक मिलिसेकेण्ड अगाडि एउटा ऊर्जावान गतिशील जीवन क्षणभरमै मृत हुन्छ, तर कसरी ? हरेकले बेग्लाबेग्लै तर्क गर्लान् तर, यो प्रश्न नाजवाफ छ । केही मृत्युका कारणहरूलाई बेवास्ता गर्न केही हदसम्म सकिएला तर कतिपय त्यस्ता फरक घटना र क्षणहरू हुनसक्छन् ,जुन नियन्त्रणको परिधीभन्दा धेरै बाहिर हुन्छ, असोचनीय अनि अकल्पनिय !

त्यस्तै अकल्पनीय अवस्थाको जन्जिरमा आफैँ बाँधिएको ऊ, पृथ्वीमाथि हुने विनाश हेर्न घर बाहिरको रोडमा निक्लिन्छ। बिस्तारै हिँड्दै आफ्नो मोबाइलमा सेटेलाइटको भिडियो हेर्छ । निकै विशाल आकाशीय पिण्ड रफ्तारमा समुन्द्रमा खस्छ । भुकम्पले जमिनमा धच्कक हलचल ल्याउँछ । ऊ बाटोमा लड्छ र आफ्नो स्वार्थी प्रेमिकाले आफ्नो मात्र जीवन सम्झेको दृश्यमा डुब्छ , भावविव्हल हुन्छ । सम्झन्छ, उसका आडम्बरी वाचाहरू । उसका शब्दहरू । उसले भनेकी थिई “तिमी र म’मा के नै फरक छ र ? तिमी भनेको नै म हो ।”

त्यत्तिकैमा ऊ फेरि मोबाइलमा आखाँलाई अड्याउँछ हेर्छ समुन्द्रको पानी, विशाल पिण्डले गरेको विस्थापनका कारण छताछुल्ल भएको छ, जताततै बाढी गएको छ । पृथ्वीको आकार गर्भवती महिलाको पेटजस्तै देखिन्छ । पृथ्वीमा बनेका अग्लाभन्दा अग्ला भवनभन्दा पनि अग्ला पानीका छालहरूले सहर, देश, महादेश हुँदै विश्व निलिरहेको छ । खाली पृथ्वीमा पानीको मात्र सृष्टिसत्ता कायम हुन लागेको छ ।हुनसक्छ, पृथ्वीमा अब डल्फिन, ह्वेल या शार्कहरूले शासन गर्नेछन् । ऊ भने समाप्ति महसुस गर्न आफू असमाप्त हुन चाहेको छ । घरबाट केही किलोमिटर पर नपुग्दै राक्षसी मुख उघार्दै पानीको छालहरूले उसको घरलाई निलेको दृश्य उसले आँखै अगाडि देख्छ । ऊ हतार हतार आफूसँग भएको बक्स खोल्छ, जसमा ‘टाइम ट्राभल’ मेसिन थियो । ऊ त्यसलाई अन गर्छ, मेसिन कुनै गोलो अत्याधुनिक गाडीजस्तो आकार लिँदै फुक्छ र ऊ त्यसमाथि चढ्छ । निलो बत्ती बल्नासाथ ऊ गायब हुन्छ र पुनः वर्तमानमा फर्किन्छ । पृथ्वी जलमग्न हुन्छ; केवल जलप्राणीको बासस्थान बन्छ ।

Tides on Earth

Tides on Earth

 

ऊ एक्कासि आफ्नो अन्डरग्राउण्ड कोठामा पुग्छ । पुग्ने बित्तिकै हतार-हतार आजको मिती हेर्छ, मिती ठिक देखेपछि उसलाई आफू वर्तमानमा भएको अनुभूति हुन्छ तर पनि एक मनले विश्वास गर्दैन । उसको छेउको बेन्चमाथि भएको कफी पोखिएर भुँइमा भएका कागजहरू र कम्प्युटर ग्लास भिजेको देख्छ । कम्प्युटर पूर्ण रुपमा बिग्रेको पाउँछ । नजिकै रहेको दोषी बिरालो डरको मुद्रामा घोप्टो मुन्टो लगाएर कोठाको देब्रे कुनामा बसिरहेको देख्छ । निराश हुँदै छिटो-छिटो एक्कुरियम हेर्छ, त्यहाँ धेरै माछाहरू पानीमा उफ्रिएर रमाइरहेको दृश्य देख्दा ऊ पनि रमाउँछ । मोबाइल हेर्छ, जसमा उसको प्रेमिकाको काफी मिस्ड कल्स र म्यासेजहरू देख्छ । लेखिएको थियो-
“बेबी, ह्वेर आर यु ? आई एम मिसिङ यु टु मच” ।

Time Travel

Time Travel



ऊ भर्खरै भविष्यबाट फर्केको हो । उसलाई थाहा छ उसकी प्रेमिकाले उसलाई कतिसम्म मिस गर्ने छे । प्रेमिकाको मेसेज र कल रिप्लाई गर्नु भन्दा अगाडि ऊ फटाफट बाहिर निस्कन्छ । सायद, भविष्य नदेखेको हुन्थ्यो भने उसको वर्तमान अर्कै हुने थियो । तत्काल प्रेमिकाको म्यासेज रिप्लाई गर्ने थियो होला । र कुरा अर्कै हुन्थ्यो होला । एउटा मिठो भ्रममा ऊ बाँचिरहन्थ्यो होला कि उसकी प्रेमिका उसको जीवनको अन्तिम घडिसम्म पनि साथ हुनेछे ।  यतिखेर ऊ भ्रममा परिरहन चाहँदैन । यथार्थलाई आत्मसात गरेर बाँकी जीवन बिताउन चाहन्छ । घर बाहिरको रूख हरियो देख्छ, सफा वातावरण देख्छ, उडिरहेका चराचुरुङ्गी देख्छ , इभिनिङ वाकमा कुकुर डोहोर्याउँदै निस्केका मान्छे देख्छ, सबै सकुशल देख्छ, आखाँ चिम्म पार्दै खुशी हुन्छ । त्यतिकैमा उसको ममीले उसलाई बाल्कुनीबाट बोलाइरहेको सुन्छ । सधैँ काम र प्रेमिकालाई मात्रै समय दिने ऊ आज ज्ञानी बालकझैं ‘आएँ ममी’ भन्दै घर भित्र छिर्छ । वर्तमानमा परिवर्तन आइसकेको छ । वर्तमान फेरिएछि भविष्य पनि त पक्कै फेरिँदो हो ! 

अबको उसको मिसन- पृथ्वीलाई भविष्यमा आउने खतराबाट कसरी बचाउने ?

Facebook Comments

You may also like

error: Content is protected !!