चार भाषा र विधामा चलचित्र; चार चलचित्र | रंगमञ्च/चलचित्र विशेष | काव्यालय-Kavyalaya

चार भाषा र विधामा चलचित्र; चार चलचित्र

“Once you overcome the one-inch tall barrier of subtitles, you will be introduced to so many more amazing films.” – Bong Joon-ho

कति धेरै चलचित्र बनेका छन् । कति बन्दै छन् र भविष्यमा बनी नै रहनेछन् । तपाईंले कतिवटा राम्रा चलचित्र हेर्नुभयो ? कुन कुन भाषाका हेर्नुभयो ? कुन कुन विधाका हेर्नुभयो ? कुन कुन देशका हेर्नुभयो ?

मैले त कति थोरै हेरेको छु । हेर्न बाँकी भनेर राखेका चलचित्रका नामहरू भने धेरै छन् । पछि नयाँ नयाँ चलचित्रहरू आउँछन्, तिनलाई पनि हेर्नै पर्यो । यो लकडाउन र कोरोना कहरले मलाई झन् धेरै चलचित्रप्रेमी बनायो । कहिलेकाहीँ सोच्छु, चलचित्र नहुँदो हो त म के गर्दो हुँ । हेर्दा हेर्दै चलचित्र मेरो जीवनको अभिन्न अंगजस्तै बनेको छ । म उसलाई छोड्न सक्दिनँ । कस्तो एक तर्फी सम्बन्ध ।

खैर, आज म केही चलचित्रहरू सिफारिस गर्न रुचाउँछुः ४ भाषाका र ४ विधाका जम्मा चार चलचित्रहरू ।

१)
चलचित्रः द आइरिसम्यान
निर्देशकः मार्टिन स्कार्सेस
सालः २०१९
भाषाः अङ्रेजी
विधाः क्राइम

क्राइम/ग्याङ्गस्टर चलचित्रहरूको कुरा गर्दा ‘मार्टिन स्कार्सेस’को कुरा नगर्नु असामान्य मान्छु म । ‘गुडफेलास’, ‘क्यासिनो’, ‘मीन स्ट्रीट्स’, ‘ट्याक्सी ड्राइभर’, ‘द डिपार्टेड’..आदि जस्ता चलचित्रहरू उनले बनाएका केही क्राइम/ग्याङ्गस्टर विधाका चलचित्रहरू हुन् । ओस्करमा हालसम्म ९ पटक उत्कृष्ट निर्देशकको मनोनयनमा परिसकेका उनले १ पटक मात्रै जित हात पारेका छन् । पछिल्लो ओस्करमा पनि उनी उत्कृष्ट निर्देशकको मनोनयनमा परेका थिए, आफ्नो चलचित्र ‘द आइरिसम्यान’ मार्फत । सो चलचित्र आफै पनि उत्कृष्ट चलचित्रको मनोनयनमा परेको थियो ।

आजकल तीनघण्टा लामो चलचित्र खासै बन्दैन । बनिहाले पनि आक्कल झुक्कल । यस्तोमा मार्टिन स्कार्सेसले साढे तीनघण्टा भन्दा पनि लामो चलचित्र बनाइदिए । कतिलाई यो चलचित्रको लम्बाइसँग समस्या भयो पनि । तर त्यति तीनघण्टामा निर्देशकले फिल्म मात्रै बनाएनन्, फिल्म स्कुल पनि बनाइदिए । हो, ‘द आइरिसम्यान’ कुनै फिल्म स्कुलभन्दा कम छैन । कहानी र पात्रले डोहोर्याएको फिल्म हो यो ।

Frank Sheeran (Robert De Niro) कुनै जमानामा देशको सिपाही थियो । ट्रक ड्राइभरको काम गर्दा उसले Russell Bufalino (Joe Pessci)लाई भेट्छ । ऊ ‘रसेल’को छत्रछायाँमा काम गर्न थाल्छ र बिस्तारै अन्य माफियाहरूको नजरमा आउँछ । छोटो समयमै उसले त्यस क्षेत्रमा सफलता हात पार्छ र सबैको प्यारो पनि बन्दै जान्छ । द आइरिसम्यानले ६० को दशकमा अमेरिकामा भएका अपराध र राजनीतिको दुनियाँको कहानी भन्छ । अमेरिकी मजदूर संघका नेता Jimmy Hoffa( Al Pacino) को गायबी पछाडिको रहस्य पनि यस चलचित्रले पेस गरेको छ । बाहिरबाट हेर्दा क्राइम/ग्याङ्गस्टर चलचित्र भए पनि यस चलचित्रको मुटुमा भातृत्व र मित्रता देखाइएको छ ।

यो मार्टिन स्कार्सेसको चलचित्र हो, उनले यस विधालाई राम्रोसँग बुझेका छन् । उनलाई विश्वास गर्दा हुन्छ । सन् २००४ को, Charles Brand द्वारा लिखित चर्चित किताब ‘I Heard You Paint Houses’मा आधारित रहेको यस चलचित्रको पटकथा लेखक Steven Zaillian हुन् ।

२)
चलचित्रः लुसिया
निर्देशकः पवन कुमार
सालः २०१३
भाषाः कन्नड
विधाः साइकोलोजिकल थ्रिलर/साई-फाई

“तिम्रो सानो जिन्दगी कसैको ठूलो सपना हुन सक्छ ।”

सिनेमाघरमा आउने मान्छेहरूलाई सम्बन्धित सिटहरूमा बस्न सहयोग गर्ने काम गर्छ निक्कि नाम गरेको पात्र । उसलाइ निद्रामा समस्या छ । ऊ सुत्न सक्दैन । इन्सोमेनियाले ग्रसित छ केटो । एक रात, घरबाट निस्किएर डुल्दै गर्दा उसलाई कसैले लुसिया नाम गरेको चक्की दिन्छ । सो चक्कीले उसलाई सुत्न सहयोग पुर्याउने कुरा त्यो व्यक्तिले बताउँछ । चक्की खाएर सुत्दा देखिने सपना कुनै सिनेमा जस्तो चल्ने र परिवर्तन नहुने कुरा पनि त्यो व्यक्तिले बताउँछ । घर आएर ऊ त्यो चक्की खाएर सुत्छ र उसले देख्छ सपनामा ऊ चर्चित कलकार भएको । बिस्तारै सपना र उसको वास्तविक जीवनमा समानताहरू देखिन थाल्छन् । कुन सपना ? कुन विपना ? छुट्याउनै मुस्किल पर्छ उसलाई । तर उसले पिल खान बन्द गर्दैन, के परिवर्तनहरू आउँछन् त उसको जीवनमा ?

‘क्रिस्टोफर नोलन’ र ‘ड्यारेन आरोनोफस्की’ को चलचित्रको स्वाद मिल्ने यो चलचित्रमा ‘लुसिड ड्रिमिङ’को कुरा देखाइएको छ । एउटा सपना र अर्को वास्तविकता । दुई दुनियाँलाई छुट्याउन, एउटा दुनियाँलाई कलरमा देखाइएको छ भने अर्कोलाई ‘ब्ल्याक & ह्वाइट’मा देखाइको छ ।

जनताहरूको पैसाको सहायताले बनाइएको चलचित्र हो लुसिया । निर्देशक पवन कुमारले ‘नन-लिनियर स्टोरीटेलिङ’ को सहायताले कथालाई अगाडि बढाएका छन् । चलचित्रको अन्त्य चलचित्रको सुरुवात हो । त्यसैले, यो अवस्थामा सिनेमा कसरी पुग्यो भन्ने कौतुहल सिनेमाभरि भइरहन्छ । पटकथा, जुन पवन कुमारले नै लेखेका हुन, कसिलो छ । कतै धेरै भयो वा पुगेन जस्तो महसुस हुँदैन । सानोभन्दा सानो विवरणमा ध्यान पुर्याएर बनाइएको छ चलचित्र ।

एउटा सिनमा दुई जीवनका पात्रहरू (निखिल/निक्की) ऐना हेर्दै हुन्छ्न र उनिहरूको जिन्दगी आमने-सामने देखिन्छ । बिस्तारै उनिहरू एकअर्काको जिन्दगीमा प्रवेश गर्छन्, घुम्छन् । एकजनाको हातमा लुसियाको चक्की हुन्छ । उसले त्यो चक्की अर्को पात्रको ठाउँमा राखिदिन्छ । यो सिनले निक्कै महत्व राख्छ सिनेमामा । योभन्दा बेसी यो सिनको बारेमा केही भन्नु पूरै कहानी खोल्नुजस्तै हो । हेर्नुस्, थाहा पाउनुहुन्छ ।

३)
चलचित्रः THE COW
निर्देशकः Dariush Mehrjui
सालः १९६९
भाषाःपर्सियन
विधाः साइकोलोजिकल ड्रामा

चलचित्रको सुरुवात यसरी हुन्छः नेगेटिभजस्तो देखिने भिडियोमा एकजना मान्छे गाई डोहोर्यारहेको हुन्छ । हिँड्दै गर्दा उनीहरू गाभिएर एक भएजस्तो देखिन्छ । मान्छे, गाई हो । गाई, मान्छे हो । यी दुई एक हुन् ।

इरानको कुनै गाउँमा हसन नाम गरेको मान्छे बस्छ । गाइ हसनको आम्दानीको श्रोत पनि हो । पूरै गाउँभरि उसकोमा मात्रै गाई छ । यही कारणले पनि उसको इज्जत छ गाउँमा । सबैभन्दा धेरै प्रेम ऊ गाईलाई गर्छ । एकदिन, केही कामका कारण ऊ शहर जान्छ । त्यहीबेला उसको गाई, जो गर्भवती हुन्छे, मर्छे । गाउँलेहरूलाई हसनको के हालत हुने हो भन्ने भयले सताउँछ । उनीहरूले गाईलाई पुरिदिन्छन् । ऊ फर्किएर आउँछ र उसलाई गाई भागेको कुरा भनिन्छ । गाईको अभावमा हसनको मानसिक सन्तुलन बिग्रँदै जान्छ । ऊ आफूलाई नै आफ्नो गाई सम्झिन थाल्छ ।

निर्देशक ‘Dariush Mehrjui’ले हसन र हसनको गाईको सम्बन्ध देखाउनमा कुनै कमी छोडेका छैनन् । हसन गाईलाई माया गर्छ । नुहाइदिन्छ उसलाई, सफा राख्छ । गोठमा गाईलाई बाँध्नु भन्दा अगाडि, वरिपरि गाईलाई हानी गर्ने केही कुरा छ कि भनेर खोज्छ । राति नजिकको गाउँका मान्छे आएर गाईलाई लग्छन् वा मार्छन्, यो भयले ऊ राति गोठमै सुत्छ ।

मुख्य पात्र हसनको भुमिकामा रहेका अभिनेता ‘Ezzatollah Entezami’को र सहायक कलाकारहरूको अभिनय तारीफयोग्य छ । कुनै पनि प्यारो वस्तु वा व्यक्ति हराउँदाको पीडा र परिणाम कस्तोसम्म हुन सक्छ ? यो चलचित्रमा त्यसको उत्तर भेटिएला । तर, यस चलचित्रले त्यति मात्र कहानी बोकेको छैन । त्यसबखतको इरानको कहानी पनि बोकेको छ । गरीबी र गाउँको जीवनलाई बढाइचढाइ देखाइएको छैन । यसै कारणले यसलाई इरानमा प्रतिबन्ध लगाइयो । जसोतसो यो इरान बाहिर पुग्यो र भेनिस फिल्म फेस्टिभलमा पुरस्कृत पनि भयो । यस चलचित्रलाई इरानको सबैभन्दा महत्त्वपूर्ण चलचित्रको रूपमा लिइन्छ ।

४)
चलचित्रः Un Chien Andalou
निर्देशकः लुइस बुन्वेल
सालः १९२९
भाषाःफ्रेन्च सालेन्ट
विधाः सर्रियल

कुनै पनि सिनेमा हेर्दा म त्यसमा कहानी र अर्थहरू खोज्ने प्रयास गर्छु । देखाइएको दृश्यलाई जोडेर तर्कहरू मनमा खेलाउँछु । कुन कुराले सिनेमालाई कसरी असर गरिरहेको छ, बुझ्न प्रयास गर्छु । कथा, पात्र, माहोलमा घुस्न उस्तै कोसिस हुन्छ । तर कहानी नै नभएको सिनेमा हेर्दा कस्तो महसुस गर्नु पर्छ मैले ? जिल्ल परेर पूरै सिनेमा सक्काउनु पर्छ कि बिचमै त्यसलाई छोडिदिनु पर्छ ? मैले यो दुइटै काम गरेको छु । लुइस बिन्वेल र साल्वादोर दालीले मिलेर बनाएको चलचित्र ‘Un Chien Andalou’ पहिलो पटक हेर्दा बिचमै छोडिदिइको थिएँ र दोस्रो पटक पनि । तेस्रो पटक भने मैले निक्कै चाख दिएर यसलाई हेरेँ । सक्काएँ पनि ।

अनि मलाई निक्कै नरमाइलो लाग्यो । चलचित्र मैले बुझिनँ । केही बुझिनँ । एउटै उपाय सुझ्यो, गुगलमा गएर यस चलचित्रका बारेमा खोज गर्ने । गरेँ । थाहा भयो, यो चलचित्रमा त कुनै कहानी नै रहेनछ । ती चलिरहेका चित्रहरूले पनि केही भनेको रहेनछन् । ती त राखिएका थिए । आँखाको नानी काटेको दृश्यले होस् वा हातमा कमिला कुदेको दृश्यले होस् वा होस् काटिएको हातको दृश्यले…यी कुनै दृश्यको केही अर्थ छैन ।

एउटा अचम्मको कुरा भन्छु । यी दृश्यहरू त लुइस बुन्वेल र सालवादोर दालीका सपनाहरू हुन् । आँखाको नानी काटेको दृश्य लुइसको सपना हो भने हातमा कमिला कुदेको सपना दालीको हो । यसका बाबजुद पनि यस चलचित्रको कति धेरै व्याख्याहरू छन् ।

यस चलचित्रमा कहानी छैन । त्यही पनि यो आजसम्मकै चर्चित छोटो-चलचित्रमध्येमा पर्छ । सिनेमा पढ्नेहरूलाई देखाइन्छ । यस चलचित्रमाथि बहस गराइन्छ/गरिन्छ र कतिपय निर्देशकहरू यस चलचित्रबाट प्रेरित पनि भएका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!