पहिलो रातको सपना

एउटा विशाल संसारमा फिजिन पाएको खुशीयालीले होला आकाशमा ताराहरू खुशी हुँदै चम्किँदै थिए । उनीहरूको राजा बन्न पाएको एक्लो जून टुलुटुलु मेरो हरेक क्रियाकलाप नियाल्न खोज्दै थियो । समयले रात पर्दै गरेको संकेत गरिरहँदा म भने कोटेश्वरको बसस्टपमा बसेर दायाँबायाँ देखिने हरेक कुरा बेवास्ता गर्दै उसको आउने बाटोतर्फ ध्यान केन्द्रित गरेर बसिरहेकी थिएँ । आँखामा झलझली नाचिरहेका थिए केही दृश्यहरू । हुन त म उसलाई पहिलो पल्ट भेट्दै थिएँ । तर लाग्दै थियो मैले उसलाई योभन्दा अघि धेरैपटक भेटिसकेकी छु ।

सम्झिएँ– हाम्रा केही संवादहरू– जब खाना पाक्नासाथ म उसलाई निम्तो गर्थेँ ऊ हतारिँदै ढोका छेऊ आइपुग्थ्यो अनि भन्थ्यो “मलाई बाहिर अरुले देखिसके छिटो ढोका खोल न !”  नभन्दै म त साँच्चै ढोका खोलेर ऊ आएकै पो हो कि भन्दै हेर्थें । त्यो कल्पना नै किन नहोस् हामी खुब रमाउथ्यौँ । ऊ भित्रै आउँथ्यौ, हामी सँगै खाना खान्थ्याैँ, कुरा गर्थ्यौँ । त्यसपछि ऊ जान्थ्यो जान्थेन त्योभन्दा अघि हामी बढेका थिएनौँ । कहिलेकाहीँ ऊ भन्ने गर्थ्यो “तिमीलाई म ढोकाबाट मात्र आउँछु भन्ने लाग्छ होला तर विचार गर है म झ्यालबाट पनि हेरिबसेको हुन सक्छु”  । म झस्किन्थेँ अनि झ्यालतिर हेरिबस्थेँ । आफैलाई प्रश्न गर्थेँ, साँच्चै ऊ त्यसरी आयो भने ? साँच्चै उसले मलाई हेरिबसेको रै’छ भने ? खै किन हो लजाउथेँ ।

सोच्दासोच्दै मोबाइलमा घण्टी बज्यो । उसको कल आइरहेको थियो । हत्त न पत्त उठाइहालेँ । म बोल्नु अघि नै उसले सोध्यों “कता छौ ?” मैले बसस्टपमा भएको जानकारी दिएँ । ऊ त बोल्दाबोल्दै मैरै अघि टुप्लुक्क आइसकेको थियो । थोरै डर मान्दै केही बोल्न खोज्दै थिएँ उसले आफ्नो बाइकको पछाडि बस्ने संकेत दिएपछि म केही नबोली चुपचाप बसिदिएँ । रातमा पनि चम्किएका केही उल्यालोहरूलाई छिचोलेर उसले मेरो अनुहार कति देख्यो थाहा पाइनँ तर मैले भने कत्तिपनि देखिनँ । हाम्रो यात्रा गन्तव्यविहीन थियो । खै कता पुगेर रोकिन्थ्यो थाहा थिएन ।

यात्राजस्तै हाम्रो सम्बन्धको भविष्यपनि अन्योलमा थियो कता पुगेर पूर्णविराम लाग्ने हो पत्तै थिएन ।

हामी दौडिरह्यौँ । एउटा यस्तो ठाउँ खोज्दै जहाँ ठूलो चौर होस्, त्यहाँबाट खुल्ला आकाश देखिन सकियोस् । परपरसम्म हामीलाई देख्ने कोही नहुन् । यी रहरहरू मेरा थिएँ । मलाई नै ऊसँग खुल्ला आकाशमुनि बसेर रात कटाउन मन थियो । ऊ त बस् मेरो रहरको पछि दौडिरहेको थियो ।

दौडिँदा दौडिँदै हामी एउटा डाँडामा पुग्यौँ तर कुन ठाउँमा पुग्यौँ थाहा थिएन । हाम्रो पछि घना जंगल थियो । तर अघि एउटा सुन्दर संसार । परपरबाट केही उज्यालाहरूले हामीतिर तन्किँदै हेर्न खोजिरहेका थिए । मनमा कुनै डर थिएन किनकी म उसको साथमा थिएँ । ऊ टक्क रोकिएपछि मैले भने हामी यतै बसौँ । उसले मेरो अनुरोध स्वीकार गरेपछि हामी त्यहीँ बस्यौँ । लाग्दै थियो, त्यो यात्रुहरु ओहोरदोहोर गर्दा थकाई मार्ने चौतारी हो । जहाँ हामीले आफ्नो प्रेमलाई विश्राम दिइरहेका थियौँ । सानो पीपलको छहारीमुनि केही ढुङ्गाहरु मिलाएर राखिएको थियो । हामी त्यसैतर्फ बढ्यौँ । उसले हेल्मेट खोल्दै गर्दा म उसलाई नै हेरी बसेकी थिएँ । यस्तो लाग्दै थियो ऊ अँध्यारोबीच चम्किएको सबैभन्दा ठूलो उज्यालो हो । ऊ मेरो जीवनका कोइला खानीमा पाइएको एउटा हिरा हो । मैले हेरिरहँदा ऊपनि मलाई नै हेरिरहेको थियो । सोचेँ, उसले पनि मैले झैं सोचिरहेको होला ।

एकअर्काको हात समातेर हामी त्यो ढुङ्गामाथि बस्यौँ । दुवै मौन । मलाई त्यो मौनता असाध्यै प्यारो लागिरहेको थियो । घरी सोच्थेँ, म उसको मनभित्र पसुँ र उसले मेराबारे सोचेका सबै कुरा थाहा पाइदिऊँ । घरी लाग्थ्यो, चिच्याएर भनौँ कि म उसलाई प्रेम गर्छु । खुशीले पागलजस्ती भएकी म ऊ सामुन्ने हुँदापनि आफ्नै मनसँग कुरा गर्नमा व्यस्त थिएँ । उसले यी सबै बुझेर हो कि किन हो सोधिहाल्यो “तिमी खुशी त छ्यौ नि ?” मलाई भन्न मन थियो, “म तिमीलाई त्यो विशाल आकाशभन्दा धेरै प्रेम गर्छु । यत्ति धेरै प्रेम गर्ने मान्छेसँग खुशी नहुने कुरा हुन्छ त ?” मेसेजमा हुन्थ्यो भने म यी कुरा भनिसक्थेँ होला तर त्यतिबेला खुब डर लागिरहेको थियो । यत्ति भने खुशी छु ।

रात छिप्पिँदै थियो, हामी गफिँदै थियौँ । अब कुरा गर्न कुनै डर थिएन किनकी हामी यस अघि नै म्यासेजमा धेरै पटक खुलिसकेका थियौँ । उसले निसङ्कोच मेरा हातहरू समातेर मलाई अंगालोमा बेरिरहेको थियो । म सानी बच्चीजस्तै भएर उसको आत्मीयतामा रमाइरहेकी थिएँ । त्यसपछि त्यो रातमा आकाशलाई साक्षी राखेर हामीबीच हुने नहुने सबै कुरा भयो । प्रेमको अन्तिम बिन्दुमा पुगेर रोकिँदा उज्यालाका केही किरणहरूले हामीलाई हेरिरहेका थिए । हामी फर्कियौँ । त्यसपछिका दिनहरुमा मेरो प्रेम झन् बढ्न थालेको थियो । तर हामीबिच संवाद कम हुन थाल्यो । एकचोटी भेटेका हामी मैले हजारौं पटक भेट्ने इच्छा प्रकट गर्दापनि उसले चासो नदेखाएपछि म सोच्दै थिएँ उसको प्रेम त मेरो शरीरसँग पो रहेछ । “के उसलाई एकचोटी अघाएपछि फेरि खान नपर्ला ?”

बिहानीले संकेत दिइरहँदा झसङ्ग ब्युझिएँ । आँखा खोलेँ । डराएँ । अहो ! मैले त कस्तो सपना देखेछु । तर म त उसको अँगालोमा नै थिएँ । जहाँ हिजो बेलुकी हामी पहिलो पटक भेटेर बसेका थियौँ । त्यहीँ थियौँ । एक-अर्कासँग कुरा गर्दागदै जिस्किँदा जिस्किँदै हामी कति बेला निदाएछौँ पत्तै भएन ।

त्यसपछिको हाम्रो सम्बन्ध मेरो सपनाबिच लुकेको वास्तविकताको डरमा पुगेर अड्कियो ।

Facebook Comments

You may also like

error: Content is protected !!