फस्ट इम्प्रेसन च्यालेन्ज

यतिबेला सामाजिक संजालमा “च्यालेन्ज कप” खुब भाइरल भइरहेको अवस्था छ । र त्यसमा फेसबुक चलाउनेमध्ये अधिकांशले कुनै न कुनै रुपमा त्यस च्यालेन्जमा आफ्नो सहभागिता जनाइरहेका छन । कसैले “बेस्ट कपल” च्यालेन्ज भन्दै श्रीमान श्रीमतीको फोटो राखिरहेका छन् । कसैले “बेस्ट सन/डटर” च्यालेन्ज भन्दै आफ्नो छोराछोरीको फोटो पोस्ट गरिरहेका छन् त कसैले “बेस्ट सिस्टर/ब्रदर” च्यालेन्ज भन्दै आफ्नो भाइ बहिनीको फोटो पोस्ट्याइरहेका छन । कसैले “बेस्ट मदर/फादर” च्यालेन्ज भन्दै आफ्ना बाउ आमाका फोटो राखिरहेका छन् । यस फोटो च्यालेन्ज कपमा भर्खरै बिहे गरेका नवदम्पती जोडीदेखि बिहे गरेर डिभिर्स गर्ने अवस्थामा पुगिसकेका जोडी समेतले भाग लिइरहेका छन् । हामी मान्छेको बानी एउटाले गरेको कुरो अर्कोलाई पनि गरिहाल्नु पर्छ । त्यसो नगरिए समाजबाट पछि परिएला कि भन्ने पिर त भई नै हाल्छ ।

म चाहिँ उः बेला उनीसँगको पहिलो भेटको फस्ट इम्प्रेसन च्यालेन्जको थोरै अनुभव साट्न चाहन्छु । यो चाहिँ आधा अनुभव र आधा कल्पनामा आधारित छ । त्यसैले कसैको जीवनसँग मेल खान गएको खण्डमा तपाईं र मेरो अनुभव एउटै रै’छ भनेर चित्त बुझाउनु होला । कहानी यसरी सुरु हुन्छ । कुरो कुनै सालको हो ।

त्यो पहिलो औपचारिक भेट हुने दिन थियो हाम्रो । हुन त मैले पहिले पनि धेरै पटक देखेको हो तर फोनमा कुराकानी हुन थालेपछि मैले उनीलाई देख्ने मौका पाइनँ । त्यसैले केवल फोनमै सिमित थियो कुराकानी । र हामीले एक अर्कालाई प्रेम प्रस्ताव पनि राखिसकेका थिएनौँ । हुन त उनले मलाई पनि देखेकी थिइन् होला तर त्यो फोनमा बोल्ने मान्छे म नै हो भन्ने यकिन थिएन । त्यसैले, हाम्रो कुराकानी हुन सुरु भएपछिको त्यो हाम्रो पहिलो औपचारिक रुपमा भेट हुने दिन थियो । बैशाख अन्तिमको समय थियो । भेट हुने अघिल्लो दिन नै म साथीकोमा बास बस्ने गरी गएको थिएँ । त्यतिबेलासम्म हाम्रो भेट गर्ने कुनै योजना थिएन । तर भोलिपल्ट म घर फर्किने बेला हुनै लाग्दा बाटो त्यही पर्ने भएकोले मैले नै सुरुमा उनीसँग भेट गर्ने चाह राखेँ । र मेरो चाहलाई उनले पनि कुनै हिच्किचाहटबिना स्वीकार गरिन् र उनको घरमै आउन अनुरोध पनि गरिन् । म खुशी थिएँ ।

from google

from google

किनभने भर्खरै मन पराउँदै गरेको मान्छेसँग मेरो औपचारिक भेट हुँदैछ । तर मलाई अप्ठेरो पनि लागिरहेको थियो । किनभने करिब १० किलोमिटरको यात्रा गरेर आउनु पर्ने त्यसमाथि साइकलमा ।

हुन त मलाई आफ्नै घर आउनै पर्ने पनि थियो । तर त्यस्तो थकित अवस्थामा भेट्दा फस्ट इम्प्रेसन नै खराब होला कि भन्ने पिर पनि मनमा थियो । फेरि मैले गतिलो कपडा पनि लगाएको थिइनँ । साथीकोमा बास बस्नेगरी जाँदा त्यति धेरै रम्रिएर जानुपर्ने जरुरी पनि थिएन र म यतिकै सामान्य अवस्थामै गएको थिएँ । फेरि म अफिस जाँदा बाहेक अन्यत्र जाँदा जुत्ता लगाएर जाने गरेको थिइनँ त्यो बेला । किनभने मसँग जुत्ताको नाममा एक जोर पार्टी शुज मात्रै थियो । जुन शुज म अफिस जाँदा मात्रै लाउने गर्थेँ । र त्यतिबेला सम्बन्धभन्दा पनि जुत्ता जोगाउनु पर्ने आर्थिक अवस्था थियो मेरो । जसले गर्दा त्यो दिन पनि म सामान्य चप्पलमै थिएँ । चप्पल लगाएको, साइकल चढेर आएको, सामान्य कपडा ! यस्तो अवस्थामा पहिलो भेट कसरी प्रभावकारी होला र ? भन्ने पनि लागिरहेको थियो । त्यसैले बाटोमा आउँदै गर्दा “आज म भेट्दिनँ ल ? कुनै दिन भेटौँ न हुन्न?” भन्न नपाउँदै उनी हल्का रिसाएझैं गरिन् र मैले पनि उनको रिसलाई मनन गर्दै उनको घर जाने नै निर्णय गरेँ । सम्झेँ ! मन पराउँने मान्छेले साच्चै मन पराएको भए चप्पल त के खाली खुट्टै गए पनि मन पराउने छ । यहि विश्वास बोकेर साथी र म उनको घर पुग्यौँ । घर कुन हो भन्ने यकिन नभएकाले घरको छेउ आउन लागेपछप मैले बाटोमा निस्किन अनुरोध गरेँ । र केही समयपछि पुगियो पनि ।

घर पुग्नासाथ घरका अन्य सदस्यसामु हाम्रो परिचय गराइयो । त्यतिबेला म रेडियोमा काम गर्ने भएकोले मेरो साथीले मलाई त्यही हिसाबले परिचय गरायो र मप्रति उहाँहरूको हेर्ने नजर थोरै सम्मानित भएको महसुस गरेँ । रेडियोमा काम गर्ने मान्छे आफ्नो घर आएको मौका छोपेर उहाँहरूले रेडियोसँग जोडिएका थुप्रै जिज्ञासाहरू म समक्ष राख्नु भयो । मैले पनि आफूले बुझे जति उहाँहरूलाई बुझाउने प्रयास गरेँ । तर धन्न उहाँहरूले “तपाईंको तलब कति छ ?” भनेर सोध्नुभएन । सोधेको मसँग जवाफ हुने थिएन । किन भने त्यतिबेलासम्म मैले रेडियोबाट तलब थाप्न सुरु गरिसकेको थिइनँ । किनभने म तीन महिने “ट्रायल पिरड” मै थिएँ ।

तर हामीबिच भइरहेको रेडियो संवाद उनले भने सुन्न पाएकी थिइनन् । किनभने उनी हामीलाई तातो चिसो खुवाउने योजना बोकेर भान्सामा गएकी थिइन् र मैले पहिले पनि म रेडियोमा काम गर्छु भन्ने कुराको जानकारी उनलाई गराएको थिइनँ । कुनै कार्यलयमा काम गर्छु भनेर भन्दै आएको थिएँ । हुन त म त्यहाँ रेडियोकर्मी भएर समाचार संकलन गर्न पक्कै गएको थिइनँ पनि । म त आफ्नै मनमा पलाउँदै गएको उनीप्रतिको प्रेमको खबर पुर्याउन त्यहाँ गएको थिएँ । तर म त्यो बेला पूर्णरुपमा नर्भस भएँ । के छ खबर ? भनेर सोध्न बाहेक अरु मैले केही बोल्न सकिनँ । घरका सदस्यले मेरो बारेमा थप जानकारी लिँदै गर्दा पनि पूर्ण रुपमा भित्रभित्रै नर्भस भइसकेको थिएँ । मेरो बारेमा यसरी सोधिइरहेको थियो कि मानौँ म उनको हातै माग्न गएको हुँ । सत्य बोलौँ, सत्य बोल्ने खालको आफ्नो पारिवारिक अवस्था थिएन । झुट बोलौँ, इमानदारीको सवाल थियो । त्यसैले, मैले धेरै कुरै गर्न चाहिनँ । फेरि म त्यसै पनि नर्भस भइसकेको थिएँ । तर साथी बोलक्कड भएकोले उसले नै त्यहाँको माहोललाई सम्हालिरहेको थियो ।

केहीबेरमा उनले सर्वत पानी र काँक्रा लिएर आइन् र हामीलाई खान दिइन् । पहिलो भेटमैँ कस्तो शीतल कुरा खान दिएको भनेर मनमनै सोचिरहेँ । फेरि सम्झेँ ! हाम्रो सम्बन्ध सायद यसरी नै सधैँ शीतल भएर अगाडि बढ्नेछ र सधैँ शीतल नै रहने छ र यो त्यसैको संकेत हो । तर म भने भित्रभित्रै पूर्ण रुपमा निराश भइसकेको थिएँ । फोनमा हुँदै आएको कुराकानी पनि अब रोकिनेछ भन्ने लागिसकेको थियो । किन किन मनमा बेचैनी बढिरहेको थियो । बेचैनीको एउटै कारण थियो उनको घर जो मेरोभन्दा ठूलो थियो । र अर्को कारण म त्यहाँ साइकल लिएर गएको थिएँ जहाँ आँगनमा बाईक स्ट्याण्ड लगाएर राखिएको थियो । त्यही बेला मैले आफूले आफैलाई प्रश्न गरेको थिएँ कि मैले किन धर्तीमा बसेर जूनसँग प्रेम गर्ने दुस्साहस गर्दैछु ?

हामीबिचको आर्थिक असमानताको यत्रो पर्खाल म कसरी भत्काउन सकुँला र त्यो पनि रेडियोमा काम गरेर ? म भित्रको गरीबीले मलाई नै पोलिरहेको थियो त्यो बेला । यस्तो लागिरहेको थियो कि फस्ट इम्प्रेसन नै लास्ट इम्प्रेसन होला जस्तो । मनमा एक किसिमको डर महसुस भइरहेको थियो । फेरि सोचेँ, साच्चै मन पराउने मान्छेले मेरो घर कत्रो छ हेर्छ र ? घर ठूलो हुनु र नहुनुले प्रेमसँग के सम्बन्ध राख्छ र ? के यो संसारमा सानो घर हुनेहरूले प्रेम नै गरेका छैनन् त ? फेरि सम्झेँ ! प्रेम र युद्धमा सबै कुरा जायज मानिन्छ । यहि आशमा मनलाई शान्त बनाउने कोसिस गरेँ । प्रेम र युद्धमा सबै कुर जायज हुने भएरै होला प्रेम र युद्धका अपराधीलाई कारबाही गर्ने कुनै कानुन बन्न सकेको छैन अहिले सम्म ।

मनमा आधा खुशी आधा निराशा लिएर हामीले त्यहाँबाट फर्किने निर्णय गर्यौँ र हामी पहिलैकै पारामा एउटा साइकलमा दुईजना चढेर घर आयौँ । त्यही दिन बेलुका दिउँसो ४ बजेसम्म म रेडियोमा पनि पुग्नु पर्ने थियो । बाटोमा आउँदै गर्दा साथीले भनिहाल्यो, “हेर् भाइ ! यो केटीको पछि नलाग्, यो तेरो लेभलको केटी हैन ।” उसको कुरो पनि ठिकै थियो । मैले मेरो औकातभन्दा माथिको मान्छेलाई मन पराएँ । तर मैले पनि भनेँ, “मन नपराउनु पराइहालेँ अब टुङ्गो लगाएर मात्र छोड्छु । कम्तिमा एक पटक प्रपोज गरेर त हेरौँ, स्वीकार भए राम्रो, नभए मनको सन्तोक त हुन्छ ।” उसले फेरि दोहोर्यायो, ”प्रेम प्रस्ताव स्वीकार गरे पनि बिहे हुन सम्भव छैन । बिहे हुनलाई केटी मात्र हैन परिवार पनि राजी हुनुपर्छ र त्यसको लागि औकात मिल्नु पर्छ ।” बिहे अहिले गर्ने हैन । बिहे गर्ने बेला सम्ममा त मेरो पनि केही हैसियत बढ्ला नि त अनि । यहि आशामा मैले उनीसँगको कुराकानीलाई निरन्तरता दिने निर्णय गरेँ ।

“पुगेपछि फोन गर्नु है” भनेकाले मैले पनि रेडियोमा पुग्नासाथ फोन गरेँ, तर त्यो बेला उठेन । मन झन चिसो भयो । मप्रति अलिअली भएको इम्प्रेसन पनि पहिलो भेटपछि सकिएछ भन्ने महसुस हुन्न थाल्यो । त्यतिकैमा समाचार वाचन गर्ने बेला भइसकेको थियो । वाचन गरेर आउँदासम्म फोनमा दुई मिसकल आइसकेको थियो उताबाट । त्यसपछि भने सबै निराशा आशामा बदलियो एकाएक । सम्झेँ ! अब सम्बन्ध राम्रोसँग अगाडि बढ्नेछ । किन भने पहिलो पटक चप्पल र साईकलमा देख्दा पनि मिसकल फर्किन्छ भने सम्झिनुस् उसले पनि साच्चै मन पराउन थालिसकेको छ । मनमा यहि सोचेँ र खुशी भएँ पनि । तत्काल उनको फोन फर्काउने अवस्था थिएन । किन भने बेलुका ६ बजेको समाचारका लागि तयारीमा जुट्नु पर्ने थियो । र ६:३० बजेपछि फोन गर्छु है भनेर म्यासेजसम्म चाहिँ गरेँ । समाचार सकेर घर फर्किँदै गर्दा फोन गरेँ । यो पाला भने समयमै फोन उठ्यो ।

कुराकानीको क्रममा उनको पहिलो प्रश्नै नै यो थियो कि “हाम्रो घर कस्तो लाग्यो ?” अब मैले कस्तो लाग्यो भन्नु ? जस्तो लाग्यो त्यस्तै भन्नु न अनि । मैले पनि भनेँ, मेरो भन्दा सुन्दर र ठूलो छ । त्यति भनेपछि भने उनलाई केही राहत महसुस भएछ क्यार अनि सर्वत र काँक्रा कस्तो लाग्यो भनेर सोध्न भ्याइन् । तिमीले बनाएर दिएको कुरो नमिठो हुने त कुरै भएन नि अनि । यति भनेपछि झन् मख्ख परिन् । यति कुराकानी भइसकेपछि भने मलाई पक्का भइसकेको थियो कि उनको मनमा पनि मप्रति प्रेम पलाउन थालिसकेको छ । यसरी पहिलो भेटको फस्ट इम्प्रेसन समाप्त भएको थियो ।

by Elena Romanova | Source: Pinterest

by Elena Romanova | Source: Pinterest

Facebook Comments

You may also like

error: Content is protected !!