पादको इतिहास | ढिच्क्याउँ | काव्यालय - Kavyalaya

पादको इतिहास

मुखमा हालिएको भात, दाल, तरकारी, साग, अचार, छोईला, सेकुवा, मुला, गाजर, रिङ्केपुङको राँगो, चुङ्केपुङको बङ्गुर, यो, त्यो, ऊ ! पेल्छ एउटा मेसिनले सबै । पोसिलो कुरा र राम्रो कुरा छाला, मासु, हड्डी, नशामा पुर्‍याउँछ । विकारको ठोस रूप फलानो ठाउँबाट निस्कन्छ । सँगै उत्पन्न भएको हुन्छ वायुरूपी विकार । त्यो पनि विशेष फलानो ठाउँबाटै निस्कन्छ । जसलाई आम भाषामा पाद भनिन्छ । भ्वाँक्क !

विभिन्न ग्याँसहरूको मिश्रणले एउटा पादको जन्म हुन्छ । विभिन्न स्रोतका अनुसार पादलाई स्वस्थको लागि राम्रो मानिन्छ । मानिसहरू अनेक किसिमको गन्ध र आवाज निकालेर पाद्छन् । ठूलो आवाजमा निस्किएको पाद त्यति गन्हाउँदैन भन्छन् । कहिलेकाहीँ तालमेल नमिल्दा पाद्दाखेरि मानव ठोस विकार पनि निस्कने गर्छ । अझैपनि, पाद सम्बन्धी ज्ञान कम भएका मान्छेहरू पाद्दाखेरि लजाउँछन् । अरूलाई दोष लगाउछन् । आफुले पादेर ठुलै अपराध गरेको भन्ठान्छन् । कोही भने निर्धक्कताका साथ छोड्छन् ।  ट्टटटटट…… भट्टटटटट………!!

पृथ्वीको शुरुआतमा विकाश भएका जनावहरूले पादे कि पादेनन् होला ? के खाएर कस्तो गन्धको पादे होलान् ? पादको शुरुको आवाज कस्तो थियो होला ? अरूले सुने कि सुनेनन् होला ? सुने भने भावभङ्गी कस्तो बनाए होलान् ? अनुहारको ? पहिलोपटक पाद्ने आफैँ तर्सिएर बुरुक्क उफ्रिए कि तितरबितर भयो होला समूह ? होमो सेपियन्स या मानि आएका विभिन्न धर्मका विभिन्न नाम राखिएका मनुवाहरूमा शुरूमा पाद्ने पदुवा को थियो होला ? किन इतिहासको कुनै किताबमा यसको वर्णन नगरिएको होला ? या किन नखोजिएको होला ? पहिलो पादलाई उतिबेलाको विशेषज्ञ टोलीले के नाम दिएको थियो होला ? आखिर पादलाई पाद कहिलेदेखि भन्न थालियो ?  पुइँक्क !

मान्छेको मासु खाएर शासकहरूले कस्तो घिनलाग्दो गन्धको पाद निकाले । दुषित बनाए इतिहास । जुन अहिलेसम्म गन्हाइरहन्छ । धर्मको पुस्तक लेख्ने मान्छेले, धर्मको उत्पत्ति गर्नेले कस्तो भयंकर आवाजले पादेको ! जसको थर्काइले जातको आधारमा बाँडिए मान्छेहरू । धर्मको आधारमा चुँडिए मान्छेहरू । जसको प्रभावले थर्कमान छ अहिलेसम्म समाज । पुलिङ्गीहरूले वञ्चित गरे अरू लिङ्गीहरूलाई खुलेर पाद्न । जो गुम्सिएर पड्किए भित्र-भित्रै सदियौँंसम्म । बेला-बेलामा बाहिर पनि पड्किए  । तर, नाक थुनेर पुलिङ्गीहरूले गिज्याइदिए जवाफमा । वर्णको पाद उस्तै गन्हायो । वर्ग र अनेक भेदभावको, विभेदको, रिस, राग, लोभ, प्रतिष्ठा दुनियाँथरिको गन्ध निकालेर दुषित बनाइरहे वातावरण पदुवाहरूले हरेक समय ! प्वाँक्क !

चोरी, डकैती र अनेक अपराधिक गन्ध छोड्यौँ खाएर सबैको गाँस, भ्रष्टाचारको भुँडी फुलाउन । गरीब बस्तीतिर तेर्स्यायौँ आफ्नो धनुष ! अभाव, भोकमरी, अशिक्षा, बेरोजगारीको गन्ध सुँघायौँ । नातावाद, कृपावादको दुर्गन्ध फैलायौँ । जोडजोडले पाद्दा थपडी बजाइदिनेहरू खोज्यौँ । वाह ! क्या पाद छ भनेर रमाइदिनेहरू भेट्यौँ । अझ चर्कियौँ । भक्तहरूको भक्तिगानमा लट्ठ भएर निकाल्न थाल्यौँ अनेक विकार । परररररर प्र्यात्त ! परररर प्र्यात्त ! परररर प्र्यात्त !

चराहरू मार्यौँ, खायौँ । जनावरहरू सिध्यायौँ । माछाको प्राण निकाल्यौँ । जमिन निल्यौँ । खोला, नदी, सागर पचायौँ । आकाश हुल्यौँ मुखमा । जंगल, पहाड, हिमाल सखाप बनायौँ । पादिरह्यौँ विकासको पाद । प्रदूषित भइरह्यो जगत । खैला-बैला, भागा-भाग, हार-गुहार गर्यो धर्तीले । तर, आफ्नै पादको गन्धमा मदमस्त भएर हामीले पचाइरह्यौँँ । ग्याँस बन्यो पेटमा र पादिरह्यौँँ । निरन्तर युगौँदेखी । सर्वश्रेष्ठ प्राणी, बुद्धिमानी ठानिरह्यौँँ आफूलाई, सिध्याएर अरूलाई । आफ्नो पादको आवाज आफ्नै कानको निम्ति सानो हुँदै गएपछि । बन्दुक बनायौँँ, बम, मिसाईल आदि इत्यादि खुङ्खार आवाज निकाल्ने हतियार बनायौँँ । पड्काइरह्यौँँ एक अर्काको छातीमा, क्षेत्रमा । भेटेसम्म आकाश र पातालसम्म पुर्याउन खोज्यौँँ आफ्नो मष्तिष्कको गन्ध । साँघुरो लाग्न थालेपछि पृथ्वी । चन्द्रमा पुग्यौँ, मंगलमा गयौँँ । सकेसम्मको बल निकालेर पाद्न खोज्यौँँ, पाद्यौँ ! ढ्वाँइइइइइइ……!

शरीरको पाद ठिकै छ । नाक थुनौँला । आदे-पादे खेलौँला । तर तपाईंको मस्तिष्कको विकारलाई जगतको हानी हुने गरी नछोड्नु न है । अन्त्यमा पादको महिमाको लागि एउटा कविताः

“पाद”

प्रिय पाद ! 
तिमी आउने बाटो जस्तो भएपनि
आएपछि आनन्द हुन्छ
पेट हल्का हुन्छ

कहिले मीठो संगीत निकाल्दै
पुइँय्य प्वाक्क
परररर प्र्यात्त
टुइँय्य
कहिले रिसाउँदै ठुस्स
कम्पन दिँदै भट् भट् भट्
कहिले शंख बजाएझैं लामो ढ्वाँइइ…
कोही च्यापेर राख्छन् तिमीलाई
लाज मानिकन
कोही छोडछन् पुइँक्क !

एक्लै हुँदा तर्सिने गरी 
“भ्वाँक्क” गर्दै आउँछौ तिमी
समस्या बुझेर आफन्त अघि भिडभाडमा
खुसुक्क आउँछौ, फुसुक्कै जान्छौ
अनि पुर्याइदिन्छौ औंला नाकसम्म सबैको
कोही ठुस्स पादेर अरुलाई लाउँछन आरोप
कोही “आदा पादा” खेलेर
पदुवाको महान पदवी बाँड्छन् !

कोही तिम्रै चुट्किला बनाएर प्रसिद्ध हुन्छन्
मुला खाए मुलै, काउली खाए त्यस्तै
जे खायो त्यही स्वरुप लिन्छौ
त्यही सुगन्ध दिन्छौ

प्रिय पाद ! 
तिमी आउने बाटो जस्तो भएपनि
आएपछि आनन्द हुन्छ !

 

Facebook Comments

You may also like

error: Content is protected !!