बहानाहरू

कहिलेकाहीँ चकित पर्छु,
मान्छेहरू कसरी सजिलै लिइदिन्छन् जीवनलाई, र जिउने प्रपञ्चमा सहज मानिदिन्छन् कुनै आपत्तिजनक समाचारलाई, अनि कुनै कुरुप मूल्य र परपीडक प्रथालाई ।

त्यसैले अपराधी र भ्रष्ट मान्छेलाई अघोषित उन्मुक्ति मिलिरहन्छ । प्रायः सधैँ अन्यायको यसैगरी यहाँ निरन्तरता हुन्छ । यहाँसम्म कि देशद्रोही नै पनि लोकप्रियताको उपल्लो खुड्किलोमा उभिएको सबैलाई स्वीकार्य भएको देखिन्छ । आफूलाई परिस्थितिमा जसरी पनि अटाउनुपर्ने बाध्यताको दबाब थेग्न त्यति सजिलो हुँदैन, शायद । भोगाइको बोझले थिचिएर पनि मान्छे सजिलो कुरा नै चाहन्छन् । सोच्न मानसिक बल र प्रयत्‍न जो चाहिन्छ ! त्यसैले सजिलोको लागि मान्छे सोच्दैनन्, लहडको भर पर्छन् या त्यसै परम्परागत आग्रही विश्वासको डोरी समात्न पुग्छन् । सोच्दै नसोची हतारमा अरुमाथि मूल्याङ्कनको तरबार अन्धाधुन्ध चलाइदिन्छन् । समाजले निरुपण गरिदिएको हुन्छ जिउने प्रचलित एउटा काइदा ।

जीवनको स्थापित पद्धतिले थोपर्ने असङ्गत जटिलतासँग पौंठाजोरी खेलिरहन सामान्यतः सबैलाई गाह्रो नै हुन्छ । यसले बलियो चरित्र, आफ्नै बुझाइप्रतिको विश्वास र नैतिक ‘स्टामिना’ माग गर्छ । योपनि धेरैका लागि अफ्ठ्यारो र ज्याद्रो कुरा नै हुने गर्छ र त्यसैले वरिपरि सजिलै उपलब्ध हुने सतही हल्लाको भरमा निजी जीवन चलिरहन्छ । आफूलाई अरुको मान्यताहरुको ‘स्केल’मा नाप्नुपर्ने समस्या पनि जिउँदो छ ।

आफ्नालागि त जे पनि चल्छ तर अरुकालागि राम्रै लगाइदिनुर्छ, राम्रै खाइदिनुपर्छ, आफूलाई खुशी नै देखाइदिनुपर्छ, बहाना गर्नु नै पर्छ ! यसले एउटा अनुशासन कायम हुन्छ र एउटा भद्दा पाखण्डको साधारणीकरण पनि हुन्छ । आफ्ना विचार र व्यवहार अरुद्वारा अनुमोदन हुनुपर्ने सधैँको बाध्यात्मक अवस्था छ। यसैमा निहित छ प्रदर्शनकारी जिन्दगीको सतहमुनि उम्लिरहेको नमीठो वेदना!

यसैमा खडा भएको छ सार्वजनिक सदाचारको ठूलो महल ! जसमा विडम्बनासाथ समाजको थोरै मात्र मान्छे बस्छन् तर अधिकांश मान्छे यो महलको नाम औपचारिक उच्चारण गर्दै अनाधिकृत दुराचारको निजी आवासमा आनन्द लुट्छन् ! कहिलेकाहीँ यस्तो लाग्छ, जीवन बहानाहरुको बैसाखी समातेर सत्यको नाममा गरिने झुटको यात्रा हो ! खासमा, सत्य र झुटको भिन्नता पनि निजी व्यवहारिक लेनदेन बाहिर त्यति महत्वपूर्ण हुँदैन कि ? केवल शक्ति, सम्पत्ति र सत्ता हो- आम मान्छेले सार्वजनिक जीवनमा खास महत्व दिने सीमित कुरा । सार्वजनिक सम्पत्तिमाथि अरबौंको भ्रष्टाचार गरी सात पुस्तालाई पुग्ने निजी जीवन उकासेको कुनै ‘भद्र महाशय’ को प्रतिष्ठा मरेकै देखिँदैन । तिनलाई सम्मान गर्ने शक्तिपुजकको निरीह भीड अलिकति सानो हुन्छ, बस् यत्ति हो सुधार !

त्यसैले,
समाजको सबैभन्दा ठूला पीडक नै सबैभन्दा बढी लोकप्रिय र सम्मानित भएका देखिन्छन् मैले मुस्किलले बाँचेको मेरो अफ्ठ्यारो समाजमा । आम मानिसको निर्धा बहानामा कति ठूलो वियोगान्त छ ? खासमा यो वियोगान्त पनि होइन, हाँस्य प्रहसन मात्र हो ! जीवन कहिलेकाहीँ मलाई खुब रमाइलो बहाना लाग्ने गर्छ–
मृत्यु बिर्सिएर समय कटाउने बहाना,
बोझिलो यथार्थ छलेर कहीँ अल्झिने बहाना,
सत्यको साक्षात्कारदेखि जसरी पनि आफूलाई पन्छाउने बहाना,
आफ्नो अहंकारको चोटले अरुलाई भएका घाउहरू नदेख्ने बहाना,
स्वयंको अनैतिकता बिर्सिने बहाना, सबै कुरा ठिकठाक चलिरहेको छ भनी जबर्जस्ती स्वीकार गरिदिने बहाना,
आदि इत्यादि बहानै बहाना !
***

पुराना सम्झनाहरु
समयको अनुकूलता नहेरी मनपरी आइदिन्छन् । पुषको एक अपरान्ह, मलिन घामको आडमा चौरैभरि अनेकथरी मान्छे बसेका छन् । परको पहाडमा पातलो तुवाँलो छ, जहाँ तुवाँलोको पर्दाभित्र प्रकाश चम्किलो छ । नजिकै उदास उभिएका लहरे-पिपलको लस्कर, अयोग्य घोषित भएपछि क्यान्टोन्मेन्टमा साँझको रोलक्रमका लागि उभिएका कुनै समय देशको कायाकल्प गर्न, मर्न र मार्न पर्सिएर हिँडेका लडाकुजस्तै लाग्छन् ।

पुरानो साथी यता-उताको कुरा गरिसकेपछि असजिलो मौनतामा पस्छ । स्वभाववश हौसलायुक्त कुरा बोल्ने मान्छे आज पड्किसकेको सोडाको बोटलझैं आवेगहीन छ। प्रायः हाम्रोमा युवालाई अरुतिरभन्दा अनपेक्षित रुपमा चाँडै यस्तो सिथिलता छाउँछ । कारण, पैँतालीस नाघेका अगुवाहरुले संसदबाट घोषित गरेका छन् आफूलाई ‘युवा नेता’!
बितेका वर्षहरूमा त्यस्तो खास केही बचेनछ जसको आडमा हामी अलिकति हाँसिदिन सकौँ । लाग्छ, हामी मात्र होइन सबथोक थकित दोहोरिरहेछ। निख्रिँदै गइरहेछ, उघ्रिने क्षणहरूको अथाह उत्साह । सबै कुरा निचोरिन्छ ‘पैसा छैन यार !’ मा पुगेर । अनि जोडले मनमनै हाँस्छु । यो हाँसोपनि एउटा बहाना हो, जान्दछु !

भन्छु सम्झौताको बहानामा,
“सम्भावना समाउने हातहरु त स्वतन्त्र छन् तर समाउन टाढा टाढासम्म केही छैन । जति समाते जस्तो लाग्छ त्यति रित्तोपन निख्खर हत्केलामा फैलिदिन्छ । जति आदर्श पछ्याउँदै आफ्नै छायाँ समेतबाट भाग्यो त्यति नै अप्राप्य र दुर्लभ बन्दै जान्छ ‘सपनाको सगरमाथा समिट’। जति गम्भीर सोच्यो जिन्दगी, त्यति सतही लाग्छ जिउने हरेक काइदा । जति संवेदनशील भयो मन, त्यति असह्य चोटहरू ओइरो लाग्छन् ।”

साथी थपिदिन्छ हाम्रो साधारण सत्य,
“कस्ता कस्ता मूढे मूर्खहरूको संवृद्धि र कथित सफलताको डंका पिटिएको समाचार छ चारैतिर । गँवारहरूले महान पद पड्काउने यो प्रचुर सम्भावनाको देशमा मेरो साथी, तँ किन पैसा छैन भन्छस् ? दृष्टिदोष ! गलत वैचारिक ओरिएन्टेसन !”

झोँकमा उसलाई भनिदिन्छु,
“यस्तो गर् साथी, कसो गर् भने तँ सुगौली सन्धिको राष्ट्रवाद पछ्याउँदै विदेशमा कामदार हुन जा । दुई दशक उतै हाड खिया र एक डोको मोटो रकम लिएर आइज । अनि दाजुभाइ मिलेर व्यापार गरुँला । हुन्न के ?”
अब हाँस्ने पालो उसको । खुलेरै लम्बा चौडा हाँस्छ।

दैनिक यथार्थको वाकवाकीले अझै भन्छु,
“हेर् एकसेएक चकाचक भटाभट पैसा कमाउने आइडिया छ यो खल्वाटभित्र ! तँ गइहाल् । म यता राजनीति र माफियागिरी बुझेर बस्छु । यसो महिनादिनमा डेरा भाडा पठा, बस् अरु सेटिङ्ग म मिलाउँला । सरकार सजिलो छ हौ डबलक्रस हान्नेलाई बुझिस् के ? लु तँ तयारी गर् मेनपावर कम्पनीपनि मै खोजिदिउँला ।”
ऊ मरिमरि हाँस्न छोडेर ट्वाँ पर्छ। अनि साँच्चै, त्यसपछि म ठहका मारेर हाँस्न थाल्छु । हामीलाई यस्ता बहानाहरूमा बानी परिसक्यो !
***

निश्चित भावका धेरै चोइटा अनुहारहरू,
जो आफ्नो सीमा भत्काएर आपसमा मिल्न संघर्षरत छन् तर रहस्यमय केही कारणले गर्दा सदैव परास्त हुन्छन्- एकत्व सधैँ आदर्श हुन्छ, यथार्थ यही द्वन्द्व हो । यी परस्पर विरोधी अनुहारहरू, यिनका पहिचानजनित मौलिक आवाजको पृथक फ्रिक्वेन्सी, रिदम र सुर आपसी समन्वयमा पुगेर एउटा संगीत बज्नुअघि नै यिनीहरु आफैँमा भत्किनु जरुरी हुन्छ । भत्किनु भयानक त्रासपूर्ण हुन्छ । त्यसैले मेरो चेतना आफ्नै चोइटाहरू छचल्केर धमिलो हुन्छ, सङ्लो हुन्छ र क्रमागत धमिलो भइरहन्छ ।

शायद सम्पूर्ण भत्केर सङ्लो भएको चेतना नै यथार्थमा ब्यूँझन्छ । चेतनाको यो तलाउमा बासी हावा बहन्छ, कमजोर छालहरू आपसमा छोइडुम खेल्दै थकित मझधारमा डुब्छन् र किलोमा बाँधेको छोटो दाम्लो तन्काउने व्यग्रताले आफ्नै घाँटीको घाउ दिनहुँ बिथोल्न विवश चौपायाजस्तै अभिशप्त छु म । एउटा रक्तपातको दिन उसको प्रयासविना नै उसको घाँटीको दाम्लो खोलिने छ । एउटा भयानक रक्तिम स्वतन्त्रताको दिन !

चौध वर्षपछि एउटा असल मित्र सम्पर्कमा आउँछ । लेख्छ,
‘तिम्रो लेखोट पछ्याउँछु । मजा लाग्छ । लेख्ने इच्छा लाग्छ ।’ आदि ।
ट्वाँ पर्छु । भन्छु,
“पागलपनपरस्त गफ हुन् मैले कुँद्ने निरिह अक्षरहरु ।”

नबहुलाउन आफ्नै कुरा आफैँलाई सुनाउनुपर्छ अरे ! त्यसैले आफैँलाई सुनाएर आफ्ना निर्धो विरोधहरु, निस्क्रिय बनाउनलाई लेख्छु । यस्ता विरोधहरु खुलेर बोल्नु यो समाजमा अनावश्यक जोखिम मोल्नु मात्र हो । कारण, प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र उनका विद्वानहरुलाई कडा निर्देशन दिएको मैले मात्र होइन सबैले टिभीमा हेरेका छन्, दैनिक पत्रिकामा पढेका छन् । उनले स्पष्ट भनेका छन्, ‘विरोध गर्नेलाई प्रतिरोध गर्नू !’ अर्थात् जोखिम !

मेरै उमेरको एउटा युवकले खुलेरै कडा शब्दमा भ्रष्टाचारको विरोध गर्छन् । ती युवकलाई चितवनमा सांघातिक हमला भएको पनि थाहा छ । उनी असीम साहसी मान्छे हुन् । तर म ? मलाई आजकल ‘बहादुर’ शब्दले अपमानबोध हुन्छ ! त्यसैले मौनता नै अहिलेको वास्तविक विरोध हो कि ? गहिरो घृणा निःशब्द हुँदैन र ?

“खलिल जिब्रान र नीत्सेको पागल मान्छे पनि पागल, साँच्चैको पागल पनि पागल नै कहलाउँछ । यार, साँझ भेटौँ ।” ऊ तानिरहेछ मलाई । विसङ्गतिको अर्को लहर महसुस हुन्छ । यस्तोमा म ट्वाँ परेर ‘हुन्छ’ भन्छु।

नकारात्मक चिन्तन, आत्महत्या र नैराश्यको उज्यालो पक्षमा पछिल्लो समयमा चाख मानेर सोचेको छु । मान्छेहरू आजकल अति-सकारात्मक भइरहेका छन् । खराबभन्दा खराब घटना र प्रवृत्तिलाई यही वाहियात आशावादीताले सामूहिक अनुमति र प्रोत्साहन दिइरहेको देख्छु । जब आधारहीन आशावादीताले कुनै समाजमा जरो गाड्छ तब बुझ्नुपर्छ कि त्यो समाज भित्रैदेखि पराजित मानसिकतामा खसिरहेको छ । कुनै पनि विषयमा आशा गर्ने बलियो आधार नभएको भयानक यथार्थ पचाउन, मान्छेले आश्वासनको लागि समाजका दुराचारी अगुवाको नयाँ तरिकाले देवत्वकरण गर्न थाल्छ । आफ्नो वरिपरि यस्तै पागलपनको लक्षण देखेर मलाई वाकवाकी लाग्छ र जबर्जस्ती नैराश्यको विषयमा सोच्छु।

मेसेन्जरमा साथी लेख्छ,
“तिमीले सोधेको यो प्रश्नको जवाफ मपनि खोजिरहेको छु । तर मलाई ‘निहित यथार्थ’ मा भन्दा ‘निर्मित यथार्थ’ र त्यसको संरचना र प्याटर्नमा चाख लाग्छ ।… कुनै यथार्थ बढी वास्तविक हुन्छ, जस्तो कि गरिबीभन्दा भोकमरी बढी वास्तविक यथार्थ हो । राज्यलाई यसरी नाङ्गो रुपमा हेर्छु म ।… ”

त्यसपछि उसलाई नभेटी, नबुझेको कुरा नसोधी रहन को सक्थ्यो र ?
बडो अप्रत्याशित र शालीन भयो हाम्रो छोटो भेट । एउटा शक्तिशाली लिखुरे व्यक्तिको निक्खर गाढा प्रभाव लिएर म फर्किन्छु । मेरो बासी तलाउ केही तरङ्गित छ । बहानाको नाममा तरङ्गहरू लेखिनेछन्, यदि र्याडिकल रुपमा मेरा चोइटाहरू भत्किएछन् भने । हुन त भत्किन आखिर बचेको नै के छ र ?

कोठामा फर्केर खाली पानामा टोलाउँदै गर्दा, उसको बोली फेरि गुञ्जायमान सुन्छु,
“चौध वर्षमा तिम्रो बुद्धिले कस्तो यात्रा गर्यो त ?”
अल्छी मुस्कान मेरो अनुहारभरि बिस्तारै फैलिएको हुन्छ र मैले केवल कोठाको भित्तामा स्थीर माकुरा देख्छु ।
“केके भयो त जीवनमा ?”, ऊ मलाई टक्टकाएर सोध्छ, सोधेको थियो ।
“हँ ?” म पुनः झसङ्ग हुन्छु । भन्छु, “केही पनि भएन यार !”

यो केहीपनि नहुनु र धेरै यथार्थ थाहा नहुनु नै बढी वास्तविक यथार्थ हो म र मेरो पुस्ताको हकमा । कम्तीमा थाहा नपाएका कुरुप यथार्थको नमज्जाबाट, उन्मुक्ति भोग्न भएपनि त पाइएको छ ! जुन देशमा आफ्नै दरबारमा राजासहित उनको सम्पूर्ण परिवारलाई एकै ठाउँमा विभत्स रुपले सामूहिक हत्या गरिन्छ र उनकै छोरामाथि सम्पूर्ण आरोप लगाइन्छ, त्यो देशमा केहीपनि नहुनु र धेरै यथार्थ थाहा नहुनु नै बढी वास्तविक यथार्थ हो !

हुन त यो बहानापनि विनाशकारी बहाना हो । समाजवादको बहानामा सत्र हजार निर्दोष मान्छेको हत्या हुनु, त्यो रक्तस्नानको बहानामा संसदमा पुग्नु र संसदबाट देशको अस्मितामाथि निजी सौदाबाजी गर्नुजस्ता ठूला-ठूला बहानाहरुका अघिल्तिर जस्तै स्थितीमा समेत शान्तिपूर्वक, घटनाविहीन दुःखको जीवन घस्रिएर बाँचिदिने, आम मान्छेको बहाना आखिर के विशेष हो र ?

Facebook Comments

You may also like

error: Content is protected !!