कुचीसँग कलमको संवाद | क्यानभास | काव्यालय-Kavyalaya

कुचीसँग कलमको संवाद

१) दिज्जु, कुची कहिलेबाट समाउनु भयो ?

आज भन्दा करिब ८ वर्ष अगाडि , बिहे भइसकेको थियो, म डटपेनले कोरिराख्ने अनि चित्र फोटो एकदम मनपर्ने देखेर मेरो श्रीमानले  कापी कलम र इरेजर ल्यादिनु भएको थियो । त्यस्पछि चित्रको रुपहरू थोरै बन्न थालेपछि उहाँले नै  कुची, रंग अनि  स्केच कापी पनि ल्याइदिनुभयो ।



२) जीवनमा पहिलोपटक कोर्नुभएको चित्र के थियो, कस्तो थियो ? आज सम्झिनुस् न !

जीवनमा पहिलेपटक कोरेको चित्र सम्झिँदा…. गुलाफको फूल ! जुन मेरो  साइन्स बुक भित्र थियो । एकदम रातो, राम्रो । कोर्दा कोर्दा यति राम्रो भएको थियो, मलाई पढाउने टिचरले मलाई दुईवटा ल्याक्टोफन चक्लेट्स  दिनुभएको थियो ।  समझाइदिनु भयो, खुशी लाग्यो । धन्यवाद !


Enlightenment by Sapna poudel Maharjan



३) रङ्गसँग कसरी र कहिले प्रेम बस्यो ?

रंगभन्दा पनि मलाई चित्रहरू हेर्न र कोर्न एकदम मनपर्ने, जबदेखि चित्र बनाउन सिक्दै गए चित्रको स्वरुप बन्दै गयो  रंगहरू स्वतः आफ्नै जस्तो लाग्न थाल्यो । अब त रंगबिना जिन्दगी अधुरो, रंग छ्यापे मात्र पनि आनन्द लाग्छ ।



४) चित्रकलामा पनि कथा हुन्छ, कविता हुन्छ भन्छन् नि दिज्जु, हो त ? अनि कुनै कथामा, कवितामा चित्रपनि लुकेको हुनसक्छ त ?

भन्छन् नि, 
“अ पिक्चर इज अ पोएम विथाउट वर्ड्ज ।”
तपाईंले कलाकारलाई उसको कला बुझाउन भन्नुहोस् वा कविलाई उसको कविता व्याख्या गर्न भन्नुहोस् । यो उद्देश्य स्वयं पराजित भइदिन्छ । अर्थात्, चित्रकारी भनेको कविता हो जुन महसुस गर्नुको साटो देखिएको हो, र कविता त्यो पेन्टिङ हो जुन हेर्नुको साटो महसुस हुन्छ ।

कथामा पनि पात्र हुन्छन्, कुनै साच्चिकै त कुनै काल्पनिक ! कथा कुनै कोहीसँग सम्बन्धित हुन्छन् त कतै सिमित कोहीसँग मात्र मेल खाने । कवितामा ती कथाका पात्र अनि ती पात्रका कथा ।  त्यस्तै चित्र मा पनि कथा हुन्छन्,  पात्र हुन्छन्  तर चित्रमा जीवन हुन्छ, जीवन को प्रतिबिम्ब हुन्छन्, रंग हुन्छ, तरंग हुन्छ ।

चित्रकला विचारको मौन र दृश्यको संगीत हो ।  प्रत्येक चित्र जुन भावनाले चित्रित गरिएको छ कलाकारको चित्र हो, हृदयले सिर्जना गर्नुहोस्; दिमागसँग त निर्माण हुन्छन् । नो आर्ट विथाउट स्टोरीज एण्ड पोइम्स् !



५) धेरैजसो पौराणिक, ऐतिहासिक चित्रहरू कोर्नुहुन्छ । यसैमा रस चाहिँ कसरी बस्यो दिज्जु ?

सुरु मा मलाई खासै चित्रहरूमा फरक लाग्दैन थियो । पेन्टिङ भन्ने बित्तिकै खाली ल्यान्डस्केप, पोर्ट्रेट ! बस् यति नै बुझ्थेँ । तर जब  चित्र सिक्दै गएँ अझै केही बढी गर्ने मनमा सोच  हुँदै गयो, अनि संगीत सम्बन्धि चित्रहरू बनाउँदै गएँ ।  चित्रकला सिक्दै गर्दा म ग्लोबल  बैंकमा इन्टर्न गर्दै थिएँ ।  त्यहाँ मैले भैरवको चित्र देखेँ।  निलो रंगको भैरव, डरलाग्दो स्वरुप हुनुको बाबजुद पनि आहा ! कति शान्त अनुहार ! शालीन रंगको प्रयोग, मिलेको आँखा, जिउडाल, गहना र त्यहाँ भित्रको काम जे हेरे पनि राम्रो ।  त्यो चित्रले मेरो मन एकदम तान्यो ।  हरेक दिन काममा जाँदा त्यो चित्र नहेरी चित्त नै बुझ्दैन थियो ।  एकदिन फेसबुक चलाउँदै जाँदा संयोगवश त्यही पेन्टिङ मेरो वालमा देखिन आइपुग्यो । अनि हाल्नेको प्रोफाइल खोजेँ । वहाँ हुनुहुँदो रहेछ, आदरणीय सिनियर आर्टिस्ट समुन्द्र मान शिंह श्रेष्ठ ! त्यस्पछि उहाँको काम हेर्दै गएँ, सिक्दै गएँ ।  एकदिन महसुस भयो, आफैले सिकेर नपुग्ने रहेछ ।  एकदम गाह्रो, हरेक शेप, डिजाइन, अनि आइकोनोग्राफी ( iconography ) बुझ्नुपर्ने, जुन ममा त्यसबेला केही पनि थिएन ।  मेरो कुनै प्रगति नै देखिनँ । प्रगति नहुँदा मन बेस्सरी खल्बलिने रहेछ ।  

Embodied Enlightenment by Samundra Man Singh Shresthaत्यसपछि फेरि  मेरो श्रीमानले स्व. वरिष्ठ कलाकार  श्री दीपक कुमार जोशी सरसँग भेट गराउनु  भयो । काठमाडौँ  यार्खामा दीपक सरको क्लास हुन्थ्यो । मैलेपनि वहाँसँग क्लास लिँदै गएँ अनि आफूले पनि मेहेनत गर्न थालेँ ।  जति पौराणिक चित्र कोर्यो त्यति नै काम नपुगेको अनुभव भइरहन्थ्यो !  अझै पनि लाग्छ, मेरो काम पुगिसकेको छैन तर पनि जति सकेको छु त्यसमा मेरो श्रीमानको हरेक साथ छ । अनि एउटा छुटाउनै नहुने नाम, वरिष्ठ नेवारी पौराणिक कलाकार  राम प्रकाश श्रेष्ठ सरसँग पनि मैले सिक्ने मौका पाएँ ।  उहासँग सिके पछि चाहिँ मैले आफूमा धेरै कन्फिडेन्स आएको महसुस गरेँ यो कलामा ।

 

यो पौराणिक कला गर्दै जाँदा चित्र पनि बिक्री धेरै  हुँदै  जाने, काम गरेको मेहेनत र परिश्रम पनि देखिने।  चित्रहरू देश-विदेश जान थाल्यो । अनि कम्पिटिशनहरूमा पनि । मनपरेको काम, त्यसमै नाम, इनाम सबै मिल्न थालेपछि अरू सोच नै आएन ।


 

६) भनेपछि चित्रहरू बिक्री हुन्छन् है ? यस क्षेत्रमै लागि पर्छु भन्नका लागि जीवनयापन कत्तिको सहज छ ? मान्छेले जीवनमा खोज्ने के-कस्ता सफलता भेट्न सकिएला यसमा लागेर ?

मेहेनत र समय दियो भने जे काम बाटपनि सफलता मिल्छ।  येदि मेहेनत छैन भने केही पनि छैन ।  तपाईं काम गर्नुस् फलको आस नगर्नुस् भन्छन् नि ! तपाईं डाक्टर, इन्जिनियर, पाइलट, जे पनि बन्नुस् तर मेहेनत गर्नुस्, समय दिनुस् । दिनैपर्छ नि । त्यस्तै हो,  चित्रकलामा पनि । यदि ज्ञान छ, शिप छ, मेहेनत छ भने चित्रबाट पनि धेरै आम्दानी गर्न सकिन्छ । त्यस्लाई खाली समय र निरन्तरता दिनु अत्यावश्यक छ ।  यसबाट त झन् नाम काम र दाम सब छ।


 

Chakrasambhara and Bhairavji by Sapna poudel Maharjan



७) अनि दिज्जु, फेरि कलाकै कुरा गरौँ । यो परम्परागत चित्रकलामा पनि चित्रकारले आफ्नै मौलिक शैली र सिर्जनशीलताको प्रयोग गर्न सक्छ भनिन्छ नि ?

हो, यसमा पनि आफ्नै  सिर्जनशीलताको प्रयोग त गर्न सकिन्छ तर कलाको लिइएको विषयवस्तुको आफ्नै मौलिक शैलीलाई भुल्न चाहिँ हुँदैन । रंग, कम्पोजिसन, मेटेरियलहरूसँग आफ्नै किसिमले खेल्न पाइने भएपनि मौलिक शैली, परम्पराको ज्ञान अनि चित्रको भाव भने बिगारेर बनाउन हुँदैन, त्यसमा सचेत हुनपर्छ ।



८) ए, त्यसैकारण हो कि,  अन्यको तुलनामा यस प्रकारका चित्र कोर्नु कठिन हुन्छ भनिन्छ नि ?

हो । होला अरु विधामा पनि गाह्रो नै हुन्छ ।  तर यो विधामा कडा मेहेनत, ज्ञान, लगन र शिपको साथ साथै समय अनि धैर्यता को प्रमुख स्थान हुन्छ ।  जुन मलाई पनि  गाह्रो भएको थियो सुरुसुरुमा र अहिले पनि कति कति बेला त यी सबै कुरालाई समायोजित गर्न गाह्रो हुने गर्छ । क्यानभासमा कुची चलाउनभन्दा पनि त्यस हिसाबले कठिन भनिएको हो सायद ।



९) तपाईं एक चित्रकार, त्योपनि कठिन मानिने परम्परागत विधामा कुची चलाउनुहुन्छ । र अझ तपाईं कलाकार हुनुका साथसाथै एउटी आमापनि । बच्चालाई पनि उत्तिकै समय दिइरहनुभएको पाइन्छ । गृहस्थी र रुचिक्षेत्र दुवैलाई कसरी सम्हालिरहनुभएको छ त ?

घर भनेको परिवार हो ।  परिवार खुसी भए सबै थोक पुग्छ ।  मेरो रुचि  चित्रकलामा छ ।  मैले गरेको काममा मेरो सबै परिवार खुसी हुनुहुन्छ । कठिन विधा भएपनि समय मिलाएर काम गर्छु । परिवारको एकदमै ठूलो साथ छ ।  श्रीमानको माया, साथ अनि सहयोगले मलाई मेरो हरेक चाहना पूरा गर्न मद्दत गरेको छ । उहाँलाई पनि पौराणिक चित्र कोर्न आउँछ अनि मलाई अझै धेरै सिकाउनुहुन्छ ।  घरबाट त झनै मैले तिखारिने वातावरण नै पाएकी छु ।

 

कुरा आमा हुनुको ! आमा हुँ भन्दैमा खाली घर बच्चा भनेर बसिराख्नु पर्दैन जस्तो लाग्छ, त्यो पनि आजकलको समयमा । म घरमै बसेर चित्र बनाउँछु । छोरी पनि ज्ञानी छे । म चित्र कोरिरहँदा छोरीले पनि उसको कागजमा रंग भर्दै बसेको देख्दा मन प्रफुल्ल हुन्छ ।  झन् कलाकारिता त आमाहरूलाई एकदम सजिलो होला जस्तो लाग्छ, दिनभरि घरमै समय निकाल्यो, चित्र बनायो होइन र ?


Living Goddess, Maa Kumari by Sapna poudel Maharjan



१०) प्रसवकालमा पनि चित्र कोर्नुभयो ? के कस्तो फरक पर्ने रहेछ दिज्जु सामान्य बेला र त्यो विशेष बेला चित्र कोर्नुमा ?


कुरा प्रसव कालको । मैले मेरो पूरा प्रसव समय पौराणिक कला सिक्नमा नै बिताएँ होला । लगभग ८ महिना म पौराणिक कला सम्बन्धि पढ्न र सिक्न क्लास जाने गर्दथेँ । एक दिन बिराई क्लास हुन्थ्यो ।  मेरो श्रीमानले नै मलाई क्लाससम्म छोड्नुहुन्थ्यो अनि लिन पनि आउनुहुन्थ्यो । झन् यस्तो समयमा बसेर चित्र कोरिरहन्थेँ ।  धेरै ठूलो र परिश्रम लाग्ने चित्रहरू चाहिँ गर्दिनथेँ तर सिक्ने काम, बुट्टाहरू कोर्ने अनि बसेर स्केच गर्ने काम चाहिँ प्रसवमा मैले धेरै गरेँ ।  यो समयको बिचमा चाँडै थाक्ने, गर्न मन लागेको चित्र कोर्न नसक्ने, मन स्थिर नहुने आदि समस्या पनि भयो । पछिको लगभग ७ महिनापछि त फेरि आफ्नो काम सुरु गरेँ ।



११) त्यसो त धेरै होलान्, तापनि आफैले कोरेको र आफैलाई अति मन परेको एउटा चित्र कुन हो र किन मन पराउनुहुन्छ नि ?

मलाई एकदम मन परेको मेरो आफ्नै चित्र भन्नु भयो है ? आफैले गरेकोमा आफैलाई मनपरेको चाहिँ  भगवान गणेशले तबला बजाउँदै गरेको चित्र हो, मलाई एकदम मन पर्छ । खासै पर्फेक्ट त छैन तर  यसमा  हिन्दू र बौद्ध धर्ममा सबैभन्दा बढी पूजा गरिने देवता गणेशले आफ्ना दुई सुन्दर पत्नीहरू रिद्धि र सिद्धीका लागि तबला बजाइरहेका छन् ।  भगवान गणेशको संगीतको लागि जोश र उहाँका श्रीमतीहरुसँगको सम्बन्धको लागि समर्पण निर्विवाद छ । उनीहरूको सुन्दर शरीर, नृत्य गर्ने तिनीहरूको चाहना, आध्यात्मिक शक्ति र समृद्धिको प्रमाण हो । यसमा थोरै पौराणिक अनि सांगीतिक कलासँगै रातो रंगको  समिश्रण  गरी बनाइएको छ । अनि यसमा माया, संगीत, बाजा, नाच, हर्ष, सौन्दर्य देख्न सकिन्छ जसमा  मैले मेरो आफ्नो भावना व्यक्त गर्न पाएकी छु ।  यो चित्र हेर्दा मलाई मेरो आफ्नै घरको वातावरण याद आउँछ ।  रमाइलो, माया, खुसी अनि संगीत ।


 

Lord Ganesh playing Tabala by Sapana Maharjan



१२) अन्य विषयले कुचीलाई मात्र उत्साहित नगरेको हो दिज्जु ? मन त पराउनुहुन्छ होला ।

म हरेक किसिमको विधा मन पराउँछु । हरेक विधामा आफ्नै किसिमका ढाँचा छन् । मलाई पोट्रेट पनि गर्न मन लाग्छ, हिमाल पनि बनाउन मन लाग्छ ।  कहिलेकहीँ त तिनको टेक्निक नजान्दा नजान्दै पनि कोरिरहेकी हुन्छु ।  मलाई  संगीतसम्बन्धि चित्र बनाउन एकदम मन पर्छ ।  सायद त्यही भएर  होला मैले थोरै थोरै सितार पनि बजाउन सिकेकी छु । घरकै माहोल सांगीतिक ! धुन बज्दा सांगीतिक चित्र कोर्न र त्यस्को बारेमा बुझ्न मलाई सजिलो भयो ।  मलाई महिला सशक्तिकरण सम्बन्धि चित्रबाट अवाज उठाउन पनि मन लाग्छ ।  भविष्यमा परम्परागत तरिकाको समिश्रणबाट त्यो पनि तयार गर्छु होला । अन्य विषयले मन तानेपनि गर्न मन नपराएको भने पक्कै होइन ।  खाली, समय मात्र नमिलेको हो अथवा आफूले समय दिन नसकेको मात्र हो ।



१३) कलामा चित्रकलाको स्थान कहाँनिर छ भन्नुहुन्छ ? चित्रकार हुनुभएको नाताले यसको महत्ता बताइदिनुस् न ।

विविध  कलाहरू छन् छनलाई त । तर यिनबाट यदि एउटै ‘चित्रकला’  हटाइदिने  हो  भने  यो कलाको संसार एकदमै रिक्त हुन्छ । कुनैपनि देशको कला-इतिहास चित्रकलाबिना पूर्ण  हुँदैन । जस्तै, केभ पेन्टिङ ( Cave Painting) कै कुराहरू भयो । कलाको कामहरू जुन उत्पादन हुन्छन् रोगीका लागि ज्ञानवर्धक, देशको सौन्दर्य र अर्थतन्त्रमा समेत यिनले प्रभाव  पार्न सक्दछन् र भावनात्मक मुद्दाहरूलाई त झनै यिनले सम्बोधन गर्न मद्दत गर्दछन् ।

सामान्यतया,  कुनैपनि  कलाको  सिर्जनामा  पहिला चित्रकलाको भूमिका अहम्  हुने  गर्दछ । पहिला हामी चित्रकारितामार्फत नमुना, माइन्ड म्याप, मोडेल अथवा की स्केच पनि भन्ने गरिन्छ । जे होस् चित्रकारिताबाट नै हरेक कुरा सुरु गर्दछौँ चाहे त्यो इन्जिनियरिङको काम होस् या फेरि एनिमेशनका काम होस् । संसारका सुन्दर सुन्दर शहरहरूपनि पहिला चित्रमार्फत नै परिकल्पना गरिने हुन् । हामीले सायद, ध्यान मात्र दिएका छैनौँ, हामीले लगाउने पहिरनहरूमा पनि चित्रकारिताको भूमिका सुरुवातीविन्दुमा आउँछ ।


यस अर्थमा, एउटा चित्रकारबिना चित्र बन्दैन र चित्रकलाबिना इतिहास पूर्ण हुँदैन । समाज र जसलाई हामी आज सभ्यता भनेर चिन्छौँ, पुकार्छौँ त्यसको कल्पना नै सम्भव गर्न सकिन्नँ चित्रकलाबिना ।



१४)
घरमा त सांगीतिक माहोलपनि छ नि है दिज्जु, प्रत्यक्ष संगीत पृष्ठभूमिमा गुञ्जिरहँदा चित्र कोर्ने माहोल कत्तिको जुर्ने गरेको छ ?

हो नि । घरमा त संगीत नै संगीत ! सायद यो विषयमा नसोधिएरै अघि नै केही कुरा आइसकेको छ । तरपनि केही बिस्तार यसमा गर्न पाउँछु मैले । मेरो श्रीमान हजुर नै संगीत प्रेमी । उहाँले सरोद बजाउनुहुन्छ । उहाँको वाद्यवादनको म स्वयं पनि फ्यान हुँ । घरमा कहिले सरोद, कहिले गितार, त कहिले सितार, कहिले मादल, कहिले तबला, बाँसुरी कहिले भायोलिन पनि गुञ्जिरहन्छ । हरेक समय संगीत गुञ्जिरहेकै हुन्छ ।  केही बजेन भनेपनि मोबाइलको स्पिकर बजिरहेको हुन्छ । उहाँकै पछि लाग्दै म पनि कहिलेकाहीँ सितार बजाउँछु । चित्रमा पनि धेरै जसो सांगीतिक प्रतिबिम्ब उतारिरहेकी हुन्छु । यसकै प्रभावले सायद चित्रपनि संगीतमय हुन्छ । हुँदाहुँदा त छोरीले पनि राम्रो संगीत सिक्दै छिन् ।  संगीतसँगै सांगीतिक चित्र । यसको लागि त माहोल बनाउनु नै पर्दैन ।  माहोल आफै बन्छ । ( हा हा )


 

A divine musical offering by Sapna poudel Maharjan



१५) तपाईंको मनप्रिय चित्रकार ?

मलाई एकदम पर्ने माइकलएन्जेलो !  इटालियन पुनर्जागरण मूर्तिकार, चित्रकार, कवि र वास्तुकार हुनुहुन्छ । सबै समयको सबैभन्दा प्रभावशाली पश्चिमी कलाकारहरू मध्ये एक, उहाँ आफ्नो स्ट्याचु अफ डेभिड, दी पिटा र सिस्टिन चैपल, भ्याटिकनको महान चित्रहरूको लागि प्रसिद्ध हुनुहुन्छ । र वरिष्ठ कलाकार समुन्द्र मान शिंह श्रेष्ठ । उहाँ पनि मेरो आइडल ( idol ) हुनहुन्छ । उहाँको चित्रकलाको सौन्दर्य अनि रंगको समिश्रणले मेरो आँखा एकदम लोभिन्छ ।



१६) अनि दिज्जु, नेपाल र नेपालीहरूमाझ भने चित्रकलाको स्थान, महत्त्व के-कस्तो पाउनुहुन्छ ?

चित्रकला हरेक व्यक्तिलाई मनपर्छ ।  सायदै कोही होलान् मन नपराउने ।  चित्रकला हेर्न सबलाई राम्रो लाग्छ तर हाम्रो देशमा कलालाई नजिकबाट बुझ्न भने अझै धेरै समय लाग्छ । किनभने एउटा चित्र बुझ्नु र समग्रमा ‘चित्रकला’ बुझ्नुमा भिन्नता छ । 

जति जे छ त्यो सब पौराणिक कालदेखि नै सिर्जना गरिएका कलात्मक रचनाहरू छन् । नयाँ रचनाहरू आएका पनि छन् तर त्यो रचनालाई  बचत गर्ने र बचाइराख्ने प्रबन्ध सरकारले अझै गरेको छैन । त्यसकै कारणले नेपाली चित्रकारको चित्रहरू धेरै जसो विदेशमा जान बाध्य छन् ।  कलाकृतिहरू किन्ने धेरै जसो विदेशी नै हुन्छन् कि स्वदेशी भए माथिल्लो परिवार हुन्छन् कोही सौखका लागि त कोही भने महत्व बुझेका हुनाले पनि किन्छन् । यहाँ पनि सरकारले चित्रकारको कामको उचित कदर र सम्मान तोकिदेएको भए  हरेक घरमा एउटा चित्र त पक्कै झुण्डिन्थ्यो होला । उत्कृष्ट चित्रहरू वैदेशिक ग्यालरीमा झुण्डिन बाध्य छन् । विदेशसम्म आफ्नो प्रतिभा पुग्नु खुशीको कुरा हो, तर स्वदेशमा त्यसले उचित मूल्य, स्थान, महत्त्व पाउनुपर्ने जति नपाउनु भने दुःखद कुरा हो जस्तो लाग्छ । यहाँ स्वदेशी भन्दा पनि विदेशीहरू नै चित्रकलाको पारखी देखिन्छन् । यसप्रति सरकारले केही ध्यान दिए हुने जस्तो लाग्छ ।



१७) अब अन्तिममा, तपाईंले पछिल्लोसमय नै कोरेको चित्र ?


पछिल्लो समय आइरहेको चाँडबाडको उत्साहमा दुर्गा भवानीका पेन्टिङहरू गर्दैछु । समय अनुसारकै अर्डरपनि आउने भएकाले यस्ता पर्वहरूको समय तिनीसँग सम्बन्धित चित्रहरू नै गरिरहेकी हुन्छु । जस्तो श्री पञ्चमीको छेको सरस्वतीका चित्रहरू बढी अर्डर आउँछन् । आफैलाई पनि त्यसैप्रति काम गर्ने उत्सुकता हुन्छ । अहिले भने दशैंको मुखको समय भएकोले दुर्गा भवानीका केही मुद्राहरूमा काम गर्दै छु ।


 

Maa Durga by Sapna poudel Maharjan



चित्रकार महर्जनका थप चित्रहरू हेर्न परेमाः
https://www.facebook.com/SapnasArt



 

Facebook Comments

You may also like

error: Content is protected !!