पुष्पञ्जर

कोठाभरि छरपष्ट कागज हावाले यता उता लडाइरहेका छन्, त्यसमाथि पोखिएका छन् रंगहरु। एक्कासि ब्रसहरू ब्युँझन्छन् र आधा पोखिएको रंगको त्यो सिसा भित्र पैडिन्छन्, निस्कन्छन् । कुनै अपराधले सजाय पाएर डोराहरूले बाँधिएका कागजमा नाच्न थाल्छन्, एक अस्थिपञ्जर हाडले चपक्क चुरोट समाउँछ र चुरोटलाई ओठमा लैजान्छ, लाइटरको रेन्ज प्लसमा पुर्याउँदै धप्प आगो बाल्छ, चुरोटको सर्को मस्तिष्क पुग्ने गरी तान्छ तर ती धुवाँका मुस्लाहरू खोक्रो खप्परहरूबाट निस्कन्छन्, भुसुसुसु……………… ।

अस्थिपञ्जर हाड तर्सिन्छ, झसंग हुँदै कगजमा बनेको फूलको पेन्टिङलाई हेर्छ । ऊ त्यो फूललाई हेर्न सक्दैन । उसका नकारात्मक उर्जा र सप्तरंगी धपक्क बलेको फूलहरुको सकारात्मक उर्जा दुबै निस्कृय हुन्छन् ।

बिस्तारै ऊ माकुराको जालो पन्छाउँछ, पुरानो दराज खोल्छ, आफ्ना कपडाहरू झिक्छ, धुलोले सेताम्मे भएको कोटलाई टकटक्याउँछ, सेतो सर्टमाथि लङ कोट, पेन्ट र पुरानो बुट लगाउँछ । उसलाई फूलको सुगन्ध मन पर्दैन । पुरानो रूमाल झिक्छ र नाक छोपिने गरी मुखमा पट्टी बाँध्छ । ज्याक्सन टोपीले खप्परलाई ढाक्छ ।
puspanjar

बिस्तारै विगतको सिँढी चढ्दै कल्पनाको छतसम्म पुग्छ, त्यहाँ दोप्परे घाममा मान्छेको छाला काढेर तारमा झुन्ड्याएर सुकाइएको थियो । कक्रक्क सुकेको त्यो छाला उसले उठाएर हातमा लिन्छ, अलि पर छेउमा मान्छेको रातो मासु सुकुटी बनाउनका लागि सुकाइएको थियो । उसले त्यस सुकुटीपनि हातमा लिन्छ र कोठामा लगेर राख्छ ।

ऊ सम्झिन्छ, त्यो दर्दनाक दृश्य; निकै मनमोहक त्यो बगैँचा जहाँ फूलहरुले ठूला-ठूला आँखाले हेर्छन्, फूलहरु पनि मान्छे जस्तै छन्, बस् तिनीहरुको गिदी बाहिर निस्केका छन् , कानहरू ठाडा ठाडा परेका छन् , घाँटीहरु रबर जस्तै तन्किएका छन्, मुखबाट तिखा दाँतहरू निस्केका छन् । उसलाई थाहै थिएन फूलहरू पनि दार्शनिक हुँदा रहेछन्, सोच्न सक्दा रहेछन् ।

बगैँचाका फूलहरु क्रोधित थिए, एक माली निरन्तर फूलको सेवा गरिरहेको हुन्थ्यो, तर एक दिन जब ऊ गुलाबको फूललाई गोडमेल गरिरहेको थियो त्यत्तिकैमा एक गुलाबको डाली भाँचिन लाग्छ । आफैँ, कुनै तन्त्र विद्या जानेजस्तो या त त्यसको प्रभाव परेजस्तो जसमा तिखा काँडाहरू पनि थिए । त्यो फूल भाँचिएर स्पिडमा मालीको मुख भित्र छिर्छ । उसको आन्द्राभुँडीभित्र छिद्रा छिद्रा पार्दै उसलाई मृत्युदण्ड दिन्छ । कारण; उसले फूलहरुको सेवामा जीवन समर्पण गरेको थियो । उसको मुखबाट रगतको भल निस्किन्छ । मृत्यु भन्ने चिज पनि अचम्मको छ ! कहाँ, कहिले, कसरी हुन्छ थाहा हुँदैन ! तर पनि एक दिन मर्नका लागि सारा दिन जीवनको सेवा गर्नु पर्छ ।

फूलहरु त्यो तातो रगत पिउँछन्, एकछिन अघाए पछि फेरि पर छेउमा कुर्सीमा प्रेमिल क्षण बिताइरहेका युवक युवतीलाई देख्छन् ।तिनको प्रेम देखेर झनै क्रोधित हुन्छन् र ठूला-ठूला पत्ता भएका ती फूलहरुले आफ्ना लहराहरू फिजाउँदै दुबैलाई लहराहरूमै अल्झाउँछन् र कपाकप चपाएर निलिदिन्छन् ।


The Flowers of evil by Marilyn Manson
ऊ कालो सोफामा बसेर उसको निष्ठुरी धोकेबाजले बिर्सिसकेको ‘वाचा’ उसको प्रेमीकाको ‘हृदयमा’ फाँसी लगाएर बसेको ‘भावना’ र प्रेम प्रस्ताव राखेको फूल सम्झन्छ । उ सम्झिन्छ, उसको प्रेमिकाको भावना उसले भनेकी थिई,
“मसँग प्रेम जाहेर गर्नकै निम्ति तिमि कुनै सुन्दर फूलको हत्या नगर ! किनकी मलाई मुर्दा फूलसँग होइन जिवित फूलसँग प्रेम छ, फेरि मलाई फूलको र बोटको वियोग पनि त मन पर्दैन ।”

ऊ जुन बेला उसले आफ्नो मतलबी निष्कर्षहरूलाई मुना च्यातिएका भावनाको स्पर्श दिलाउन खोज्थ्यो, यस्तो लाग्दथ्यो, अक्षरमा जीवन्त भएको जीवनभन्दा निधारमा लेखिएको जीवन सत्य हुन्थ्यो । किस्मतले उसको निधारमा मजाक लेखेको थियो ढुङ्गाजस्तो कठोर फूलहरुको बारिशमा ऊसँग सिसाको छाता मात्र थियो ।

ऊ, जुन बेला हरेक साँझ आफ्नो हालतहरुलाई बतासले फूलमाथि गरेको गद्दारीका किस्सा सुनाउने गर्थ्यो; यस्तो लाग्थ्यो कि ती छरपस्ट फूलका पत्र ऊ नै हो, तर उसलाई त्यति बेला साच्चै थाहा थिएन यही धर्तीमा उसले रोपेका फूलहरुले ऊसँगै घात गर्नेछन् भनेर ।

शरदका बँगैचाहरूबाट एक भारी थुँगाहरू चुँडिएका छन् । फूलहरू पुष्पबिहिन भए लगत्तै बोटहरूको सौन्दर्यमा गिरावट आएको छ । बगैँचाको मनमोहकपना ह्रास भएको छ । हुन त घरछेउ फूलहरू उमारिन्छ्न चुँडिनकै निमित्त । पुष्पित फूलहरुको मोहकता, स्वर्णिम नजाराहरुमा नव रंग भित्रिएजस्तै श्रृङ्गारको सुरभी घुम्टो ओढेर, दूरबाट चिहाइरहेछ एउटा काल । काल; जुन बगैँचाको सुन्दर कुनामा कुरूप अनुहार लिएर मान्छेहरूलाई आकर्षित गरिरहेछ मृत्युभाषा सिकाउन । टुँडालमा नाङ्गा छातीमा चिथोरिएका ट्याटु कोर्न । प्रेमका चराहरूलाई झुण्ड्याएर निर्मम हत्या गर्न ।

उसले सोचेको थिएन फूलहरुको बास्ना यति घृणित हुन्छ भनेर । फूलहरु यति कुरूप हुन्छन् भनेर । दुनियाँले त केबल सुन्दर फूलहरु देखेको थियो तर उसले अस्थिपञ्जर भयानक फूलहरु पनि देखेको थियो ।

उसको हत्केलामा टाँसिएका मयलका कत्लाहरु उस्तै छन् । तातो खुन र पसिनाले रुझेको शरीर पनि उस्तै छ। कहाँ रातो गुलाबको बास्ना अनि कहाँ उसको पसिनाको गन्ध ? त्यसैले त आज ऊ अस्थिपञ्जर छ । उसको जिन्दगी त आफैमा एउटा अफवाह थियो । प्रतिपल चिहानतर्फको निरन्तर यात्रालाई ‘जीवन’ भन्नू उसको मुर्खता हुन सक्छ, या ऊ भ्रममा हुन सक्छ ।

जहाँ पातहरुको खेती हुन्छ, फूलहरुको खडेरी पर्छ ! माली त्यत्तिकै उदास बन्छ अनि सुन्दरता धराशायी हुन्छ । निद्राले ग्रस्त मालीले आफ्नै बगैँचामा आगो लगाउँछ र ब्युँझिएर गुहार माग्छ, रुन्छ, कराउँछ, चिच्याउँछ । तर अब खरानी पुनः उठेर कदापि फुल्न सक्नेछैन । निद्रामै लगाएपनि आगो त आगो हो । आगोले आफ्नो कर्तव्य निभाउँछ । आफ्नो धर्म निभाउँछ ! मालीको धर्म षुष्पसेवामा जीवन कटाउनु हो तर आज विवश माली आगो लगाइरहेछ, आफ्नो ‘जीवनमा’ । अर्थात् ‘बगैँचा’मा ।

अबको याममा बगैँचामा फूल, माली, प्रेमजोडी र ऊ अर्थात् ‘पूर्वप्रेमी’ बिल्कुल एक्लो हुनेछन् । फूलविहीन बगैँचा अब भने उसलाई पक्कै पनि राम्रो लाग्ने छ ।

ऊ अब आफ्नो कुरूप अनुहार ऐनामा हेर्छ । आफ्नो पुरानो कलकलाउँदो अनुहार सम्झन्छ । एकछिन अनेकौं बिलौना गर्छ, भर्खरै एसिड अट्याकमा परेको महिलाजस्तो । ती दिनहरु सम्झन्छ, जुन दिन ऊ आफ्नो प्रेमिकासँग पार्क घुम्दै गर्दा उसको मात्र हत्या भएको थियो ।

घाम डुबिसकेको छ । सुकाएको छाला उठाएर ऊ आफ्नो अस्थिपञ्जरको हाडलाई ढाक्छ । पुरानै कपडा क्रमशः लगाउँछ, अब भने ऊ कुरूप रहेन । आफ्नो यौवन अनुहार ऐनामा हेर्दा आफूलाई सुसज्जित देखेर खुसीले भावविह्वल हुन्छ । उसले आफ्नो मासुको सुकुटी हातमा लिन्छ र टहल्न निस्किन्छ तिनै चोक-गल्लीहरू, जहाँ उसको मासुको सबैभन्दा बढी व्यापार हुन्छ । अर्थात् त्यही पार्क त्यही बगैँचा । प्रेम जोडीहरुलाई थाहै नदिई उनीहरुको मृत्युपूर्व स्वादिलो अचारसँग सुकुटी खुवाउन बिल्कुल भयविहीन ! बिल्कुल स्वतन्त्र !

Nothing Is Strange by Mike Russel

Facebook Comments

You may also like

error: Content is protected !!