उपान्त्य

विदिर्ण देवलको एक किनारामा उभिएर म यस पहाडको आयतन, मर्यादा, जिजीविषा, प्रजनन शक्ति सबै विश्लेषण गर्न खोजिरहेकी छु। यहीँ, घना पहाडको अँजुलीभरि, छातीभरि र स्नायुभरि एउटा गाढा अतित सुस्ताइरहेको छ। त्यहि अतितको भावलाई म अहिल्यै यस पहाडको विम्बमा परिभाषित गर्न सक्छु वा भन्न सक्छु, रिना र म बिचको मानसिक असम्मति पनि यहि पहाडजस्तै दृढ थियो, पहाडजस्तै तपोनिष्ठ थियो।

मेरो नजिक उभिएर आकाश निहालिरहेको बूढो आकृतिको स्वर गुञ्जिन्छ , “नानी अब जाऔँ। तिमीलाई फर्कन ढिलो होला।” म सम्झन्छु एउटा आँखा र त्यस आँखाको भाषा म केही बुझ्दिनँ। म सम्झन्छु एउटा समय र त्यस समयले पोतिदिएको रंग म पहिल्याउन सक्दिनँ। अब यस परिधिबाट उम्किनु दुश्चेष्टा हुनेछ। उम्किए पनि, जीवनमा जति सार्थकता भेटियोस् म आफूलाई यहि पहाडअघि लज्जित पार्न सक्छु र आफ्नो कुण्ठामा वैराग्यपन अपनाउन सक्छु।

+२ को परिक्षा सकिएपछि म आफ्नी काकीकहाँ केही महिना बस्न गएकी थिएँ। उहाँले त्यस गाउँबाट बसाइँ सरेपछि मैले पनि त्यस ठाउँसँग कुनै सम्पर्क राखिनँ। पाँच वर्षको अन्तरालपछि रिनाको हजुरआमासँग म त्यहि पहाड चढ्छु जहाँ मेरो इतिहासको एक अंश समर्पित थियो।

खुट्टाको ताल र मानिसको उपस्थितिसँग वातावरण एकछिन ब्यूँझिन्छ, तात्तिन्छ र फेरि सेलाउँछ। अहिले यो जंगल निकै पातलो भइसकेको छ। वन्यजन्तुको आभास हराउँदै छ। पातहरु कम सुस्ताइरहेका छन्। हिँड्ने बाटो झनै चौडा र सजिलो बनाइएको छ। तर पनि मलाई स्पष्ट याद छ, यो उकालो छिचोल्दै गएपछि पहाडको माथिल्लो भागमा घामका किरण रुखको कापहरुमा अल्झिरहेका हुनेछन् र त्यसै बिच रेखाहरु तैरिरहेका हुनेछन्। हामीलाई बस् त्यो उज्यालोसम्म पुग्नु छ। त्यहाँको फाटँमा पुगेपछि हामी एउटा सामान्य गाउँ भेट्टाउने छौँ र यो थकान भ्रमझैं लाग्नेछ।

किन यहाँको झ्याङ्गहरु मेटिएसरि यादहरु पनि मेटिँदैन? किन फेरि यिनले हाम्रो रहस्यलाई मेरो सामू मात्र खुलाउँछन्? के रिनालाई पनि यस्तै हुन्छ? यो बाटोसँग, त्यो गाउँसँग र रिनासँग , मेरो अगाडि एकसुरले हिँडिरहनु भएकी हजुरआमाको निकै गहिरो र पुरानो सम्बन्ध छ। म उनको अनुहारलाई पढ्न खोज्छु। उनको प्रस्तुतिमा गाउँको परिस्थिति ठम्याउन खोज्छु। हरेक वृद्धमा भेटिने जस्तै उनको अनुहारमा पनि मृत्युको चिसोपन टाँसिएको छ। उनको सुषुप्त दिव्यतामा नजिकिरहेको कुनै प्रकोपको सङ्केत छ। त्यो बाहेकको अनुहारमा कुनै आफ्नोपन छैन, कुनै उत्तर छैन।

म आफैँ कल्पनासँग बतासिँदै सोच्छु, आफ्नो आचरणमा, विचारमा र उत्तरदायित्वमा पर्याप्त रिना.. के उसले अझै कसैलाई कुरिरहेकी छे? आफ्नो स्वभावमा, विश्वासमा र सौम्यतामा स्वच्छ रिना.. के उसले आफ्नो हृदयमा प्रेमको स्थानलाई मारिसकेकी छे?´

* * *
गोधूलि साँझको झिसमिसेमा मलाई यो घर निकै निकै साँघुरो लाग्न थाल्छ। लाग्छ, यस कोठामा सजिएका हरेक वस्तु कैयौं वर्षदेखि यथावत नै छन् र त्यहीँबाट निस्किएको मग्नताले मलाई तिरस्कार गरिरहेको छ। हजुरआमा `चिया बनाउँछु´ भन्दै भान्सातर्फ लाग्नुहुन्छ। म बत्ती नबालेरै मधुरो अन्धकार पोखिएको यस कोठामा आफूलाई सम्हाल्न खोज्छु। अब यहाँ रिना आउने छे र मैले अझै कति चोटि आफूलाई सम्हाल्नु पर्ने छ?

भर्याङ्बाट कोही ओर्लन्छ र म विश्वस्त हुन्छु ऊ रिना नै हो। कोठाको बत्ती बल्छ। म आँखा उठाएर उसलाई हेर्छु। ऊ.. जसको शरीरलाई मैले स्पर्शले भिजाइदिएकी थिएँ। ऊ.. जसको एकान्तमा मैले हृदयभरि अनौठो झङ्कार पोखिदिएकी थिएँ। रिना आफ्नो समस्त मौलिएको कुमारीत्व बोकेर मेरो समीप आउँछे। निलो कुर्ता, सेतो सुरुवाल र सेतै सलमा सजिएकी.. म उसलाई देखेर कुनै सिनेमाको दृश्य कल्पन्छु जहाँ उसको भूमिकाले मलाई उसको मनोविज्ञानको चित्र देखाउने छ।

Source: Google

Source: Google


आफ्नो शान्त आँखामा विस्मय कोचेर मलाई निहाल्छे। म औपचारिकताको पर्दा झारिदिन खोज्छु तर आफूमा सङ्क्रमित दोषभावलाई लत्याएर उसलाई सामान्य रुपमा लिइदिने धृष्टता मसँग थिएन। काम विशेषले म यस ठाउँमा आउनु, उसको हजुरआमाले मलाई बजारमा भेटेर घर बोलाउनु संयोग मात्र हो। यो ऊपनि जान्दथी, यो संयोग मात्र हो।

उसलाई हेर्छु, उसको खुकुलो यौवनभरि एकोहोरो क्रियात्मक रुप र सिमित खुल्लापन झल्किरहेको छ। एक पत्र मनोकांक्ष मेरो हृदयमा फूल्न थाल्छ र म नजानिँदै त्यसलाई दबाइदिन्छु। विना श्रव्य, विना नजर हामी बिस्तारै एकअर्कालाई लिइदिन खोज्छौँ, सजिलो बन्न खोज्छौँ। हजुरआमा चिया लिएर बैठकमा आइपुग्नु हुन्छ। कप थमाउँदै उहाँ भन्नुहुन्छ, “ल तिमी साथीहरु कुरा गर्दै गर। म यतै हुन्छु।” र लगत्तै उहाँ पृष्ठभूमिबाट हराउनु हुन्छ।

कोठामा एउटा अफ्ठ्यारो सन्नाटा छ। शब्द हराएका जस्ता हामी दुई छौँ। यो एकनास गतिबाट म अलग्गिने चेष्टा गर्छु र हुत्तिन पुग्छु रिना प्रतिको मेरो प्रगाढ भावनाहरुको आयाममा…

१९ वर्षकी ऊ.. आकाशको टिमटिम ताराहरु हेर्दै सोच्थी `हाम्रो कस्तो आसक्ति लुकेको छ तारासँग, बादलसँग, जूनसँग, आकाशसँग, वर्षासँग? हामी किन द्रवित हुन्छौँ स्पर्शहरुमा?´ र भन्थी , “प्रकृतिको गर्भमा सारा पृथ्वीको शक्ति छ। हामी नारी प्रकृतिको स्वरुप हौँ। हामीले पहिला आफैँलाई जन्माउन सक्नुपर्छ।” म आश्चर्य मान्थेँ उसका कुराहरुमा तर उसको आँखामा प्रज्वलित आत्मविश्वासले मलाई बढि तान्थ्यो । उसका भाव प्राय न्यायाधीशको दृष्टिले प्रभावित हुन्थे। ऊ समानता खोज्थी, सन्तुलन खोज्थी। उसमा सधैँ चेतनाको स्फूर्ति रहन्थ्यो। आफूमा रहेको स्वभाविमानलाई ऊ सधैँ टट्कारो बोकेर हिँड्थी।

रिना र म समयौनिक नारी हौँ। हाम्रो व्यक्तित्वमा निकै अन्तर रहेपनि त्यसको अनुराग एउटै थियो। हामी आकर्षणको तिव्रतामा एक-अर्कालाई बुझ्ने प्रयास गर्थ्यौँ, एक-अर्काको आडम्बरमा पनि अटाउन खोज्थ्यौँ। ऊ कुनै सानो चराको मृत्युमा पनि धेरै भावुक हुन्थी। त्यस चराको निर्मल जीवनको तस्बिरले उसलाई न्याउरो बनाउँथ्यो। ऊ आफ्नो कोमल पक्षलाई सन्दर्भ अनुरुप अभिव्यक्त गर्न सक्थी। यस्तै अवस्थामा म कहिले निकै उद्धिग्न भइदिन्थेँ। मलाई लाग्थ्यो रिनाको तुलनामा म धेरै यान्त्रिक, धेरै खोक्रो र अपरिपक्व छु।

रिना… निसंकोच, निडर र उन्मुक्त हावाजस्तै थिई जो बगौँचाको हरेक उत्पतिसँग खेल्न सक्छे र म काँचको झ्यालभित्र उभिएर उसलाई हेरिरहन्थेँ, मात्र हेरिरहन्थेँ। ऊ मेरो व्यवहारमा फैलन थालिसकेकी थिई। हामी एक-अर्काको दिनचर्याको अनिवार्य तालिका बन्दै थियौँ। कहिलेकाहीँ मलाई अव्यक्त डरले घेर्थ्यो। रिनाको अकाट्य संसर्गमा म आफूलाई निकै कमजोर पाउथेँ। लाग्थ्यो, उसको प्रभावमा म आफ्नो नियन्त्रण हराउँदै छु र जसरी ऊ हरेक कुरालाई आफ्नो मान्यतामा अटाउन खोज्थी त्यसरी नै मपनि उसको प्रेमको मान्यतामा मात्र संरचित रहने छु। मेरो एक्लोपनमा रिनाको निशानी भेटिन्थ्यो। मेरो कलमको रेखा ऊसम्म टुङ्गिन खोज्थ्यो। म यो सबैबाट विरक्तिन्थेँ र उसको उपस्थितीलाई अपहेलना गर्न खोज्थेँ। ऊ मेरो यसै मौनतासँग त्रस्त हुन्थी। सधैँ ऊ केही बोल्ने बहाना गरिरहन्थी। आफ्नो स्पर्शले ऊ म भित्रको रित्तोपन मेटाउन खोजे जस्तो गर्थी। आफ्नो विचारले ऊ मभित्र केही संचालन गर्न खोज्थी।

Source : Pinterest

Source : Pinterest


हामी दुईको सम्बन्धमा म आफ्नो सिङ्गो अस्तित्व खोज्थेँ। आफूलाई मौलिक नपाउनु, आफ्नो गन्तव्य छेकिनु, मानसिक सोचाइ अपवाद रहनु… म त्यस समाजमा अटाउन सकिनँ। मलाई लाग्यो, मैले आफूलाई चिन्न सकिरहेकी छैन। ममा केवल रिनाको प्रभाव छ, आफ्नो सुगन्धको न्युनताले मलाई सधैँ सताइरहन्थ्यो।

एकदिन विना कुनै विशेष घटना ऊप्रतिको मेरो सारा उत्सुकता हराउँछ। ऊ मलाई सबैभन्दा साधारण, सबैभन्दा सरल बाहेक केही लाग्दैन। मसँग एउटा हिनताबोध आइपुगेर बाँधिन्छ। मैले उसलाई गलत प्रेमको सतहमा उभ्याउने सामर्थ्य राख्दिनँ न म भित्रको अभावलाई ऊ सामु दर्शाउन नै सक्छु।

त्यसपछिका प्रहररुमा आफ्नो पहिचानको विलोप व्याप्त थियो। हामी यति प्रस्ट थियौँ कि हाम्रो सम्बन्धमाथि समाजले कस्तो दृष्टि राख्ने छ। हामीलाई त्यसको सबै नकारात्मक पक्षहरु र हाम्रो त्यसप्रतिको लाचारी थाहा थियो। साच्चै भन्दा, हामीले कहिल्यै हाम्रो सम्बन्धलाई दाबी गरेनौँ, कुनै नाम दिएनौँ। जुन परिचय बोकेर हामी एक‍-अर्कासँग नजिकिन्थ्यौँ, हामी त्यस परिचयसँग आफैभित्र आन्दोलित भइरहन्थ्यौँ। यसरी न हाम्रो पहिचानको दोसाँधले कुनै धरातल पायो न हाम्रो प्रेमले कुनै निष्कर्ष भेट्टायो।

बिहानको पहिलो चरणमा नै मैले त्यस चकमन्न स्थानलाई छोडिसकेकी थिए। मसँगै फर्किएका मात्र तीन कुरा थिए.. सपना, रहस्य र छायाँ ….!

* * *

वर्तमनमा साँझ छिप्पिसकेको छ। रिनाको इशारा पछ्याउँदै हामी घर छेउको सानो चौतारीमा बसिरहेका छौँ। हाम्रो आँखा अगाडिको शहर बत्तीको प्रकाशमा झलमल्ल छ, शान्त छ। हाम्रो पछाडि अन्धकार खेत, आली, भन्ज्याङ र बिस्तारै चल्मलाइरहेको विगत छ। चराका बथान बेलुकी आफ्नो घर फर्किरहेका छन्। अझै कति चराले आकाश तरेपछि हामी उड्न सक्ने छौँ?
अब मलाई पर्खनु छैन। ढिला नै भएपनि म आफूलाई कहीँ बाँधेर त कहीँ खुकुलो बनाएर उसलाई सोध्छु ,
“तिम्रो गुनासो भन रिना.. के अपेक्षा राखेकी छौँ वा के सन्दिग्धता पालेकी छौ तिमीले मप्रति?”

मलाई उसको मौनताले बिझ्न थाल्छ। यस स्थितीलाई हटाउन म फेरि बोल्छु, “सायद मैले तिमीलाई खबर गरेर जानुपर्थ्यो। तर त्यो केवल कृतज्ञता मात्र हुनसक्थ्यो। एउटा पराइलाई देखाउने औपचारिकता जस्तो। हामी आपसमा आफ्नाो हुन सकेनौँ, र पराया हुनु पनि थिएन मलाई । म चाहन्थेँ कुनै कर्तव्य वा दायित्व बाँकी नरहोस्। म सम्पूर्ण छोडिदिन चाहन्थेँ तिमीलाई।”

उसको कालो आँखा अनि चहकिला हुन थाल्छन्। उसको शरीर साह्रो भए जस्तो देखिन्छ। ऊ शब्दहरु खसाल्छे , “किन छोड्न चाहन्थ्यौँ?” हामी कसैले पनि जवाफ खोज्ने प्रयत्न गरेनौँ। सत्य सामान्य थियो तर त्यसको अर्थलाई हामी दुबै अकलङ्कित स्वीकार गर्न सक्दैन थियौँ।

अनि ऊ किताबको पाना पल्टिएझैं बोल्दै जान्छे, “तिमीलाई लेखिका बन्नु थियो र म किमार्थ तिमीलाई मायाको तगारोमा अल्झाउने थिइनँ। तिम्रो निर्णय ठिक थियो किनकि मिलन जहिल्यै सफल कथाको अन्त्य हुदैन। तिमी गएपछि अहँ.. कोही आएन। तिमीले कुनै सन्देश नछाडेपछि मैले पनि गुनासो गर्न छाडिदिएँ। मनलाई आश्वस्त पारेँ कि तिमी पुनः आउने छैनौ र अब केही सम्भव छैन। बाँकी यादलाई कुनै सन्दुकमा सम्हालेर राखिदिएँ। योभन्दा बढी म के गर्न सक्थेँ?”

यहि दोषबाट त म उम्कन चाहन्थेँ कि मैले उसलाई आघात दिएकी छु। उसको बलियो आत्मविश्वासलाई होच्याएकी छु र कति अकथित तर भाषाभन्दा बाहिरको शुभेच्छालाई पन्छाइदिएकी छु। आज पनि लाग्छ, म केवल मेरो हिनतालाई सोझ्याउन आएकी हुँ। अहिले रिनामा पाँच वर्ष अघिको प्रताप कदापि छैन। मसँगको आदान-प्रदानमा केवल सुस्केरा र गाम्भिर्य भेटिन्छ।

मेरो पहिलो आगमन अघि त्यति सम्पूर्ण रिना..भरिपूर्ण ! म गएपछि कसरी यति विकीर्ण भई? उसमा देखिएको परिवर्तनसँगै म लगुताभासको तहमा हराउँदै जान्छु। आफैँलाई, अब जस्तै भयानक उत्तरलाई पनि लिइदिने संकल्प नाम्दै म उसलाई सोध्न खोज्छु , “के तिमी अझै मलाई प्रेम …´

शहर जाने अन्तिम बसको हर्नले परिवेश खल्बल्याइदिन्छ। हजुरआमा मलाई बोलाउन आइपुग्नु हुन्छ। म अल्मलिन्छु, रिनाको आँखा `बोल न´ भनी आग्रह गरेझैं देखिन्छन्। तर गाडी हतारिन्छ। म हजुरआमाको आडमा बस चढिसक्छु। पछाडि फर्किएर हेर्दा रिना कतै छायामा ओझेल भइरहेकी हुन्छे। म यी सबै अनुभव बटुलेर घर फर्कन्छु। मसँग बाँकी कथा छैन तर यति विश्वस्त छु कि यो अन्त्य होइन, खाली उपान्त्य हो।

मलाई ती आँखाअघि आफ्नो अस्तित्वलाई पुनः स्थापित गर्नु छ।

by Jane Beata

by Jane Beata

______________________________
उपान्त्य : अन्त्य भन्दा एक अघि

Facebook Comments

You may also like

error: Content is protected !!