भ्रुण मोह | लघु कथा | SATURDAYकलम | काव्यालय-Kavyalaya

भ्रुण मोह

क्षितिजमा घाम डुब्न पाएकै होइन। मिङमर पिढिको डिलमा थोत्रो मजेत्रो ओछ्याएर श्रीमतीको प्रसब पिडाको चिच्याहट सुनेर बसिरह्यो। मन मनै सोच्दो हो ।यसको आधा पीडा मैले खपिदिन पाए पनि त हुने ।

वर्षैपिच्छे दर्जनौं सन्तान ग्यालग्याल्ती पाएर पनि एउटोले महिना दिन कट्न पाएको होइन । सुडेनी पोक्चीले घरभित्र पसेको दश मिनेटपछि नै खुशीको खबर मिङमरलाई सुनाइ, “लु तैँले बिउ चाहिँ राम्रै रोपेको रै’छ्स् वंश जोगाइस् छोरै जन्मियो” । 

यसको पनि त लेखो पाँचैदिनको होला । मनमनै फेरि आकाशदेवीलाई सम्झ्यो, “देवी यो प्युसा चाहिँ जोगाइदेऊ तिम्रो थानमा परेवा चढाउँला।” 

गन्तीको हिसाबले आठौं सन्तान । यो भन्दा अघिका सबै गए । कोही पेटमा नै मरेका जन्मे, कोही सग्लो जन्मेर हप्ता दस दिनमा नै गए । बारीको डिल, निबुवा, भोगटे, काफल, किम्बुको फेद कतै बाँकी छैन आफ्नो रगत नगाडेको , रगत नलुकाएको । बिचरो गरोस् पनि के? दिनेले नै आधा अधुरा दिएपछि थाप्नेले जो दियो त्यो थाप्नु न पर्यो । आफ्नै बिज पो खराब हो कि भनेर आफैलाई शङ्का नगरेको पनि त होइन । 

सात सात सन्तान पाएर एउटैले बा भनेको सुन्न नपाउँदाको पीडा कता लुकाउँदो हो । सानिआमाको बरखीमा सुखै कटाम्ला जाऊँ हिँड् भनेर भगाएर ल्याएको मामाकी छोरी, श्रीमतीबाट आमा हुन नपाउँदै सन्तानले डाँडो काटिदिएपछि मिङमरले श्रीमतीलाई पनि सम्झाउन सकेको होइन । 

गाउँलेले सातसात सन्तान जन्माएर एउटोलाई ठिङ्ग उभाउन नसक्ने कोख नै उस्तो भन्दा बिचरी जूनेले रुने बाहेक गरोस् पनि के ? नौ महिना राख्ने ठाउँमा उसले पनि त नौ महिना नै राखिदिएकी हो बोकिदिएकी हो । चुसाउनु पर्ने कलिला दुधका मुन्टा निचोरेर भए पनि त चुसाइदिएकी हो उसले । 

सन्तान नहुँदा बाझी भन्नेले सन्तान भएर पनि नबाँचिदिँदा कोखलाई अलक्षिणा भन्नेसङ्ग कसरी जोगिएली? आठौं सन्तानले पनि उसको कोखलाई कमजोर साबित गर्दिन्छ कि भन्ने डरले उसले पनि सारा देवीदेवतालाई नसम्झिएकी होइन । 

भगवानले पनि पुज्ने भगवानसँग आलापविलाप गर्नसम्म पनि पछि परिन । आठौं सन्तानको तयारीमा जुटिरहेको बखत पनि उसको अवचेतन मनले परमप्रभुलाई सम्झिरह्यो । उत्तेजनाका एक छिटा रङसम्म पनि आउन दिएकी होइन अनुहारमा ।

सन्तान प्राप्तिको चरमबिन्दुमा पुगेर स्खलित भइसक्दा पनि जूने आँखाका बान्की नखोली ध्यानमै बसिरही । सकुशल सन्तान प्राप्तिको एउटा कठोर तपस्यामा। कठोर ध्यानमा। जसको फलस्वरूप आज आठौं सन्तानको जन्म भयो। सुडेनीले वंश जोगिएको खबर सुनाएपछि मिङमर खुसशीले पुलकित भयो।

 हेर्दा राम्रै छ, ज्यान सग्लै छ । कुलले जोगाइदिएछ्न् भने यसले चाहिँ दागबत्ती कसो नदेला । कलिलो बच्चोलाई हत्केलामा अड्याउँदै मनमनै मिङमर सोच्छ। जूनेले पनि मिङमरको रगतको रेसा हराइसकेको अनुहार नियाल्दै भन्छे, “हाम्रो पहिलो सन्तान यही नै त हो।” 

मिङमर कहिलेकाहीँ बाटोतिर पनि नजर पुर्याउँछ। कतै भगवान आएर टप्प टिपेर लैजाने पो हो कि मेरो मुटुको टुक्रालाई । जूने छोरा पाउँदाको प्रसव पीडा भुलेर सपना बुन्न थाल्छे । यस्लाई हतकेलामा राखेर हुर्काउँछु, बढाउँछु, पढाउँछु । आफू आधा पेट खाएर भए पनि यसको पेट भरिदिन्छु। ठूलो मान्छे बनाउँछु ।

Facebook Comments

You may also like

error: Content is protected !!