कवि महेश कार्कीको ‘एक्लो महारथी’ लोकार्पण

काठमाडौँँ – शनिबार कवि महेश कार्की ‘क्षितिज’को कविता संग्रह लोकार्पण भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उनको कविता संग्रह ‘एक्लो महारथी’को लोकार्पण भएको हो ।

कविता संग्रहलाई महेश पौड्याल, मोमिला, राजुकुमार बानियाँ, भूवनहरि सिग्देल, पुष्कर लोहनी, क्षितिजका माता पिताले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । कार्यक्रममा नवराज लम्सालले स्वागत मन्तव्य दिएका थिए । उनले गाउँ र समाजको असल स्वाद चाखेका कवि महेशका कविताहरू पनि उस्तै असल रहेका बताए । उनले संग्रहबाटै ‘गाउँमा छन् गीतहरू’ शीर्षकको कविता वाचन गरेका थिए ।

समालोचक बानियाँ संग्रहबारे समीक्षात्मक टिप्पणी राखे । उनले भने, ‘महेशका कविताहरूमा समयको आभास, ग्रामीण संवाद र समाकालीन चित्र अत्याधिक भेट्न सकिन्छ ।’ उनले क्षितिजले एउटा आख्यान, निबन्ध, कथा वा खण्डकाव्य हुन सक्ने विषयलाई कविता बनाएको बताए ।

अर्का समीक्षक पौड्याले लेखक एउटा फर्माटमा बस्न थाल्दा कविता उस्तैउस्तै हुने बुझेका कवि क्षितिजले आफूलाई त्यसबाट पर राखेर पात्रबाट बोलेको बताए । उनले भने, ‘क्षितिज आफ्ना कवितालाई मौलिक र पृथक रुपमा उभ्याउन सफल भएका छन् । उनको कवितामा तपस्विको चिन्तन भेटिन्छ ।’

यस्तै, कवि मोमिलाले ‘एक्लो महारथी’ संग्रह कवितालाई कतिसम्म सुत्रामक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण रहेको बताइन् । कार्यक्रममा कवि जोति जंगलले लोकार्पण गरिएको संग्रहबाट ‘फिराक पत्र’, कवि लोहनीले ‘मोक्ष’ र कवि घिमिरेले ‘बर्जित सपना’ शीर्षकका कविताहरू वाचन गरेका थिए । कविता संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Facebook Comments

You may also like

error: Content is protected !!