एउटा अनुदार अनुभूति

म सडकमा थिएँ । बिहानको समय थियो । मानिसहरू आ-आफ्ना धन्दाहरूमा अल्झिरहेका थिए । धेरैलाई थाहा थिएन, एउटा विशाल व्यक्तित्व हाम्रै छेउबाट बिदा भएको थियो । मलाई पनि थाहा थिएन । चाबेल चोकमा भेटिएका साथीहरूसँग म सानोतिनो गफमा अल्झिरहेको थिएँ । आठ बज्न लागेको थियो । अकस्मात् ध्रुवचन्द्र गौतम मछेउ आइपुग्नुभयो । उहाँको अनुहार सधैँजस्तो उज्यालो थिएन । अलि अँध्यारो अनुहार लगाएर मतिर हेर्दै ध्रुवदाइले भन्नुभयो – ‘गोविन्जी जाने होइन ?’

उहाँको अनुहारमा टाँसिएको अँध्यारोको पातलो पत्रलाई एउटा रहस्यजस्तो देखेर मैले जिज्ञासापूर्वक सोधेँ : ‘कता ध्रुवदाइ ?’

‘तपाईंलाई थाहा छैन ? बीपी बित्नु भएछ । श्रद्धाञ्जलीको लागि मानिसहरू गइरहेका छन्, जाऊँ ।’

ध्रुवदाइले यति भनेपछि हामी चाबेल चोकबाट बीपी निवासतिर लम्कियौं । बीपी निवास चाबेल चोकबाट झन्डै दस मिनेट हिँडेपछि पुगिने जयबागेश्वरीमा थियो । हामी फटाफट हिँडिरह्यौं । वरिपरि आवाजहरू थिएनन्, हामी पनि चुपचाप थियौं । तर अनेक तर्कनाहरूले मलाई सम्बोधन गरेर मभित्र ठूल्ठूला आवाजहरू निकालिरहेका थिए । मेरो मस्तिष्क ती आवाजहरूबाट मुक्त हुने प्रयत्न गरिरहेको थियो ।

बीपी निवासको छेउबाट मैले धेरैपटक ओहोरदोहोर गरिसकेको छु । खासमा त्यो घर तारिणीप्रसाद कोइरालाको घर हो, बीपी त्यहीँ बस्नुहुन्थ्यो । उहाँ बसेको त्यो घरको बाहिरपट्टि सधैँ नै गुप्तचरहरू बसिरहेका हुन्थे । बीपीको निवासमा आउने-जाने मानिसहरूको चियो गर्नु उनीहरूको धन्दा थियो । जागिरले सडकमा अलपत्र पारिदिएको उनीहरूको अनुहारलाई हामी देख्थ्यौं र अघि बढ्थ्यौं । कहिलेकाहीँ शिवध्वज बस्नेत त्यतातिर गइरहेको वा त्यताबाट आइरहेको हामी देख्थ्यौं र अघि बढ्थ्यौं । शिवध्वज बस्नेत नेपाली काङ्ग्रेसका समर्पित कार्यकर्ता थिए । उनलाई सम्भवतः बीपीको हेरचाह गर्ने जिम्मेवारी दिइएको थियो । कहिलेकाहीँ साँझ वा बिहानको बेला शिवध्वज बस्नेत र अन्य सहयोगीसहित बीपी जयबागेश्वरीदेखि चाबेलसम्मको सडकमा हिँडिरहेको देखिनुहुन्थ्यो । म बीपीको भव्य व्यक्तित्वलाई देख्थेँ र नरेन्द्रदाइलाई सम्झन थाल्थेँ । उहाँको उपन्यासको नायक नरेन्द्रदाइ पनि भव्य व्यक्तित्वका पात्र थिए । बीपीले आफ्नो उपन्यास ‘नरेन्द्रदाइ’मा आफ्नै व्यक्तित्व आरोपित गर्नुभएको हो कि जस्तो पनि लागिरहन्थ्यो ।

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको त्यतिन्जेल प्रकाशित सबैजसो पुस्तकहरू मैले पढिसकेको थिएँ । ‘हिटलर र यहुदी’ पढिसक्न बाँकी थियो । ध्रुवदाइले बीपीको निधन भएको सूचना दिएर चाबेल चोकबाट जयबागेश्वरीतिर हिँडाइरहँदा मलाई बीपीभन्दा विश्वेश्वरप्रसाद कोइरालाले स्पर्श गरिरहेका थिए । त्यही स्पर्शको न्यानो प्रभावबाट मेरा गोडाहरू जयबागेश्वरीतिर गइरहेका थिए । अन्यथा…

हामी मित्रपार्क पुग्दा बीपी निवासतिर गइरहेका मानिसहरूको सानोतिनो लर्को देखियो । ती मानिसहरूमा म परिचितहरू खोज्दै थिएँ । देखिएनन् ।

ध्रुवदाइको वाणी हराएको छ । उहाँ चुपचाप हिँडिरहनुभएको छ । हामी हिँडिरहेको फुटपाथतिर अरू केही मानिसहरू पनि हतारहतार जयबागेश्वरीतिरै हिँडिरहेका छन् । ती मानिसहरूमा म नेपाली काङ्ग्रेसका कार्यकर्ता र मतदाताहरूको आधिक्य देखिरहेको छु । साहित्यकारहरू देखिएनन् । त्यसैले मलाई एक किसिमको अप्ठेरो लागिरहेको थियो । ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’जस्ता कृतिहरूका स्रष्टाले संसारबाट बिदा लिएको थियो । त्यही स्रष्टाप्रति श्रद्धाञ्जली अर्पण गर्न म ध्रुवदाइसँग हिँडिरहेको थिएँ । अन्यथा मलाई त्यहाँसम्म पुग्न निकै गाह्रो हुने थियो ।

मित्रपार्क कटेर मसलाको अग्लो रूखनेर पुगेपछि भीड देखियो । सडक र फुटपाथ दुवैतिर मानिसहरू अलि धेरै देखिए । सधैँ देखिने सीआईडीहरू आज देखिएनन् । सीआईडी नदेखिएको निकै राम्रो भयो, तर वामपन्थीहरू पनि देखिएनन् । वामपन्थीहरू नदेखिएपछि एउटा नराम्रो अनुभूतिले मलाई बिझाउन थालेको थियो । तैपनि म ध्रुवदाइसँग जयबागेश्वरी पुगिसकेको थिएँ । एक्लै हुँदो हुँ त मलाई त्यस दिन त्यहाँसम्म पुग्न निकै कठिन हुने थियो ।

त्यतिबेला मेरो उमेर बाइस वर्षको थियो । एउटा अप्ठेरो उमेर । केटाकेटी होइन, हुर्किसकेको ठूलो मानिस हुँ भन्ने भावनाको तीव्रता त्यस उमेरमा अलि बढी नै हुन्छ । म त्यही उमेरमा थिएँ । त्यो उमेरले ज्ञान, अनुभूति र अध्ययनको परिपक्वता प्राप्त गरिसकेको हुँदैन भन्ने मलाई लागिरहन्छ । अज्ञानको थुप्रो दिमागमा गजधम्म बसिरहेको हुन्छ, तर त्यस उमेरको मानिसले त्यही अज्ञानलाई आफ्नो ज्ञानको रूपमा बुझ्न थाल्छ । अक्सर यही हुन्छ । त्यस उमेरका अन्य युवाहरूलाई आजभोलि भेट्ता पनि मलाई त्यही अनुभूति भइरहन्छ । ज्ञान र अज्ञानको बीचमा जाकिएको ठेउके उमेरलाई लिएर त्यतिबेला म ध्रुवदाइसँग हिँडिरहको थिएँ । जयबागेश्वरीनेर रहेको बीपी निवास पुग्दा मानिसहरूको भीडमात्र देखिएन बीपीप्रति श्रद्धाञ्जली व्यक्त गर्न लाम लागेका मानिसहरू पनि देखिए । घरको कम्पाउन्डदेखि झन्डै डेढ सय मिटर बाहिरसम्म मानिसहरू लाममा उभिएका थिए । त्यस लाममा मैले प्रगतिशील भनिने साहित्यकारहरूलाई खोज्न थालेँ । कोही देखिएनन् ।

‘लाइन बस्ने होइन ?’ ध्रुवदाइले सोध्नुभयो । उहाँ लाइनमा उभिइसक्नुभएको थियो । तर मलाई भने मेरो ठेउके उमेरले भित्रभित्रै तर्साइरहेको थियो । तैपनि बीपी होइन, विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरूतिर ध्यान दिँदै म ध्रुवदाइको पछिल्तिर लाइनमा उभिएँ ।

तेत्तीस सालमा राष्ट्रिय मेलमिलापको नारा लिएर भारत प्रवासबाट नेपाल भित्रिएका बीपी कोइराला वामपन्थीहरूको दृष्टिमा गतिलो नेता थिएनन् । वामपन्थीवृत्तमा उनलाई भारतीय विस्तारवादको प्रतिनिधि पात्रको रूपमा बुझिन्थ्यो । ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भनेपछि त वामपन्थीहरूले बीपी कोइरालालाई दरबारपरस्त, सम्झौतावादी, आदि विशेषण लगाइदिन थालेका थिए । तिनै वामपन्थीका थुप्रै दलहरूमध्ये बढी क्रान्तिकारी मानिने नेकपा माले आफ्नो सम्पूर्ण ऊर्जासहित भूमिगत राजनीतिमा विस्तारित भइरहेको थियो । म त्यही मालेको राजनीतिक शिक्षाबाट अघि बढेको थिएँ । चीनमा डेङस्याओ पिङको वर्चस्व स्थापित भएपछि भने म मालेभन्दा बढ्ता क्रान्तिकारी देखिने नेकपा चौथो महाधिवेशनको नजिक पुगेको थिएँ । ठीक यही बेला बीपीको निधन भएको थियो ।

सैंतीस सालको जनमतसङ्ग्रहमा बलजफ्ती पञ्चायतलाई जिताइए पनि बीपीले जनमत सङ्ग्रहको परिणामलाई सहजतापूर्वक स्वीकार गर्नुभएको थियो । उता वामपन्थीहरू भने परिणामको विपक्षमा मत प्रसार गरिरहेका थिए । मनमोहन अधिकारीजस्तो त्यतिबेलाको उदार कम्युनिस्टले समेत जनमत सङ्ग्रहअघि त्यसको निष्पक्षताको निम्ति सर्तहरू अघि सार्नुभएको थियो । तर बीपीले त्यस्तो कुनै सर्त अघि सार्नुभएन । अन्ततः प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको जनमतसङ्ग्रहमा बहुदल पराजित भयो । दुई वर्षअघिको त्यस राजनीतिक घटनाले पनि मेरो मानसमा बीपीप्रति आलोचनात्मक दृष्टिलाई बाक्लो बनाइदिएको थियो । तर साहित्यको विद्यार्थी थिएँ, त्यसैले विश्वेश्वरप्रसाद कोइरालाप्रति मेरो सम्मान कुनै पनि काङ्ग्रेसीको भन्दा कम थिएन । ध्रुवदाइसँग लाममा उभिइरहँदा मलाई यिनै कुराहरूले स्पर्श गरिरहेका थिए । तैपनि ठेउके उमेरमा सवार भएको मेरो बुद्धिसम्मत चेतना अझै अप्ठेरोमा परिरहेको थियो । त्यसैले म लाइनमा, भीडमा र बीपी निवासको परिसरमा वामपन्थी मित्रहरू र प्रगतिशील साहित्यकारहरूलाई खोजिरहेको थिएँ । र, असफल भइरहेको थिएँ ।

कम्युनिस्टहरूको जमघटहरूमा बीपीलाई सिक्किमका लेण्डुप दोर्जेसँग पनि दाँजिन्थ्यो । नेपाल एउटा प्रशासनिक इकाई मात्र हो, राष्ट्र होइन भन्ने बीपीको भनाइलाई पनि त्यसको निहितार्थतिर नगई लेण्डुपवाणीको रूपमा व्याख्या विश्लेषण गर्ने चलन बसेको थियो । त्यस्तो वामपन्थी पर्यावरणको एउटा पात्र म बीपीलाई श्रद्धाञ्जली अर्पण गर्न गइरहेको थिएँ । माक्र्सवादी साहित्यको धेरथोर अध्ययन गरिसक्दा पनि राजनीतिक सहिष्णुता, लोकतान्त्रिक संस्कार आदिको विषयमा मलाई विशेष ज्ञान थिएन । त्यसैले गल्ती गरिरहेको छु कि जस्तो मलाई लागिरहेको थियो । त्यसैले सुरक्षाकवचका रूपमा म अन्य वामपन्थीहरूलाई खोज्दै थिएँ । यही मनोदशाले गाँजिरहेको बेला श्रद्धाञ्जली अर्पण गर्नेहरूको लाम सर्दै गएको थियो । हामी बीपी निवासको हाताभित्र प्रवेश गरिसकेका थियौं । ठीक त्यही क्षणमा मैले एकजना घागडान वामपन्थीलाई देखेँ । मेरो व्यक्तिगत परिचयसमेत रहेको त्यस पात्रलाई देखेपछि मलाई ठूलै त्राण मिल्यो । म ठीक रहेछु, मैले आफैंलाई भनेँ । मनबाट सबै प्रकारको भय हराएको थियो । मेरो वैचारिक शुद्धतामा कुनै आँच नआउने भयो, मैले आफैंलाई फेरि सम्बोधन गरेँ । यसरी मेरो अज्ञान, मूर्खता र बाइसवर्षे उमेरको अपरिपक्वताले मभित्र सिर्जना गरिदिएको आँधीबाट म मुक्त भएको थिएँ । मलाई त्यसरी मुक्ति दिने पात्र हुनुहुन्थ्यो, शक्ति लम्साल ।

हातमा पुष्प गुच्छा लिएर बीपीलाई श्रद्धाञ्जली अर्पण गरिरहेको शक्ति लम्साललाई देखेपछि मेरो अँध्यारो चेतनामा घाम लागेको थियो । उता ध्रुवदाइलाई मेरो मनभित्र उठेको आँधीबारे केही थाहा थिएन । त्यसैगरी आकस्मिक रूपमा थामिएको आँधीले मलाई हलुका तुल्याइदिएको विषयमा पनि ध्रुवदाइलाई केही थाहा थिएन । अन्ततः चिरनिद्रामा पल्टिरहेको विश्वेश्वरप्रसाद कोइरालालाई हृदयतः श्रद्धाञ्जली व्यक्त गरेर हामी चाबेलतिर फर्कियौं ।

जेल जर्नल र आत्मवृत्तान्तजस्ता कृतिहरू पढिसकेपछि बीपी कोइरालाका सम्बन्धमा फिँजाइएका थुप्रै भ्रमहरूबाट मुक्ति प्राप्त हुन्छ । तिनै कृतिहरूबाट अघि बढेकोले अहिले म बीपी कोइरालालाई आधुनिक नेपालको लोकतान्त्रिक आन्दोलनका आदिपुरुषको रूपमा बुझ्ने ठाउँमा छु । गृष्मबहादुर देवकोटाको राजनीतिक दर्पणबाट भ्रमित भएका थुप्रै वामपन्थीहरू पनि अहिले मेरै अवस्थामा आइपुगेका होलान् भन्ने मलाई लागिरहन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!