अमिताभ बाग्चीलाई डि.एस.सी पुरस्कार

पोखरा — भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ ले दक्षिण एसियाको प्रतिष्ठित ‘डीएससी साहित्य पुरस्कार’ प्राप्त गरेको छ । २५ हजार डलर राशिको उक्त पुरस्कारको घोषणा सोमबार नेपाल साहित्य महोत्सवमा गरिएको हो ।

दक्षिण एसिया र यहाँका बासिन्दाको बारेमा लेखिएका आख्यानमध्ये छनोट गरेर उक्त पुरस्कार दिइएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाग्चीलाई पुरस्कार हस्तान्तरण गरे। पुरस्कारका लागि अन्तिम सूचीमा परेका ६ किताबको नाम सन् २०१९ नोभेम्बर ६ मा लण्डनमा घोषणा गरिएको थियो। चारभारतीय, एक पाकिस्तानी र एक अफगानी लेखकको कृति अन्तिम सूचीमा परेको थियो।

बाग्चीको कृतिसहित जामिल जान कोचाइको ‘९९ नाइट्स इन लोगर’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘दियर्स गनपाउडर इन द एयर’, राजकमल झाको ‘द सिटी एन्ड द सी’ र सदिया अब्बासको ‘द एम्प्टी रुम’ अन्ति सूचीमा थिए। माधुरी विजय र सदिया अब्बास बाहेकका ४ लेखक महोत्सवमा सहभागी थिए।

सुरिना नरुला र मनहाद नरुलाद्वारा सन् २०१० मा स्थापित पुरस्कार नवौं पटक प्रदान गरिएको हो। पुरस्कार निर्णायक संयोजक भारतको दिल्ली विश्वविद्यालयका पूर्वप्राध्यापक तथा लेखक हरिश त्रिवेदी थिए। बेलायतका जेरेमी ट्याम्बिङ, श्रीलंकाका कारमेन विक्रमामागे, बंगलादेशका रिफल मुनिम र नेपालका कुन्द दीक्षित निर्णायकको रुपमा महोत्सवमा सहभागी थिए।

पुरस्कारकी संस्थापक सुरिना नरुलाले विश्वभरबाट सहभागी ९० लेखकका कृतिमध्येबाट निर्णायकले छनोट गरी अन्तिम ६ किताव छानिएको बताइन्। उनले नेपालबाट एकदमै कम सहभागिता हुने गरेको महोत्सवमा उल्लेख गरिन्। प्रमुख निर्णायक हरिश त्रिवेदीले ९० दिनमा ९० वटै कृति पढेर उत्कृष्ट छनोट गर्नु एकदमै कठिन भएको बताए। ‘यी ६ पुस्तकलाई दाँज्नु भएको स्याउलाई केरा, लिची लगायत अरु फलफूलसँग दाँज्नुजस्तै हो,’ उनले भने, ‘गुण र दोष छुट्याउँन निकै कठिन हुन्छ।’

पुरस्कार प्राप्त गरेपछि अमिताभ बाग्चीले दक्षिण एसियाको सवालमा लेख्न थप प्रेरणा मिल्ने उल्लेख गरे। उनले भने, ‘यो पुरस्कारले विभिन्न नाममा विभाजित देशहरुलाई एक ठाउँ ल्याएको छ।’ परराष्ट्रमन्त्री ज्ञवालीले आगामी दिनमा नेपाली लेखकले समेत उक्त पुरस्कार पाउने आशा व्यक्त गरे।

Half The Night is Gone by Amitabh Bagchi

Facebook Comments

You may also like

error: Content is protected !!