दृश्य संवाद | SATURDAYकलम | काव्यालय-Kavyalaya

फिल्म निर्देशनमा स्नातक गरेका प्रसुन सिन्धुलिय स्क्रिप्ट लेखन, सम्पादन, सिनेमाटोग्राफी साथै फिल्म समीक्षामा सक्रिय देखिन्छन्। केही समययता उनले कविता-फिल्ममा पनि काम गरिरहेका छन्। रङ्गमञ्चमा पनि सक्रिय उनले लेखन तथा निर्देशन गरेको लघु चलचित्र `देशलाई छुने पाइला´ले प्रथम स्थान हासिल गरेको छ। उक्त प्रतियोगिता नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने गर्दछ।

१) पहिला त, भर्खरै तपाईंले निर्देशन गरेको लघु चलचित्र `देशलाई छुने पाइला´ सर्वोत्कृष्ट भएकोमा धेरै बधाई। उक्त लघु चलचित्रको बारेमा केही बताइदिनुस् न ।


धन्यवाद अनि, फेरिपनि धन्यवाद ! मलाई आफ्नो कुरा भन्ने मौका दिनुभएकोमा ।

कलेज सकेको ५ वर्षपछि आफ्नो निर्देशनमा दोश्रो पटक लघुचलचित्र बनाएको हुँ । यो भन्दा अगाडि सुमन राज श्रेष्ठको ‘तिमीलाई सम्झनुको कारण’ कवितालाई प्रग्योगात्मक तरिकाले लघु चलचित्र बनाएको थिएँ । म केही कुरामा एकाग्र हुन सकिरहेको थिएन । जे कुरा गर्छु भनेर फिल्म पढेँ त्यही नै गर्न पाइरहेको थिइनँ । त्यसकारण अन्य कामहरू जस्तै सम्पादन, भिडीयोग्राफी लगयतमा व्यस्त भएँ । खर्च त्यसैले जेनतेन धानिरहेको थियो । तर सपना यस्सै थियो । अब त गर्नैपर्छ भन्ने लागेर यो फिल्म बनाउन सुर गरेँ केही पैसा सापटी लिएर । दिमागमा खेलकुद सम्बन्धित दृश्य कोर्न मन लाग्यो, लघु चलचित्रको पटकथा न लेखेको थुप्रै भएको थियो, अलि गाह्रो नै भयो । पछि मलाई कथा मन न परेर गर्न मन लागेन । तर, पटकथा बुझाइसकेको भएर गरेँ । प्रकेश सिन्धुलीयसँग पटकथामा अनलाइनमै छलफल गर्यौँ । त्रुटिहरू मिलाउँदै गयौँ । 

मेरो थुप्रै टिम मेम्बरसँग काम गर्ने बानी थिएन, थोरै लगानीमा, थोरै टिम भएर काम गर्यौँ । साथीहरू सबैले आफ्नो पारिश्रमिक न लिएरै फिल्ममा अनुबन्धित हुनु भयो । हामी सबैले सकेको मिहिनेत गर्यौँ । फिल्म मैले सोचेको जस्तो बनेन, केही दृश्यहरू नराम्रोसँग बिग्रियो । तर तिनलाई पछि सम्पादनमा सकेजति मिलाएँ । खैर, मलाई डर लागिरहेकै थियो । पहिलो सम्पादन साथीहरूलाई पठाएँ । मैले सोचेभन्दा बेग्लै, सबैले गज्जब भएछ भन्नुभयो । अनि, बल्ल अलि आशावादी भएँ । यो फिल्म बनाउन हामीले धेरै दुःख र अभाव भोग्यौँ । अब गर्ने फिल्महरूमा यो भन्दा दुःख र मिहिनेत गर्नेछौँ तर सायद अभावविना, जे जस्तो परिकल्पना गरेको हुन्छौँ त्यस्तै नै बनाउने छौँ ।

२) नेपालमा लघु चलचित्रहरूको बजार र भविष्य ?


नेपालमा लघु चलचित्रको बजार खासै छैन । लघु चलचित्रकोलागि सब भन्दा राम्रो प्ल्याटफर्म भनेको फिल्म महोत्सव नै हो । नेपालमा केही अन्तर्राष्ट्रिय स्तरको महोत्सव छन् जो लघु चलचित्रको लागि सब भन्दा राम्रो सुरुवात हुन सक्छ । अनि हामी स्कुल र कलेजलाई लक्ष्य गरेर फिल्म बनाएर स्कुल कलेजमा देखाउन पनि सक्छौँ ।  सिनेमा हल भाडामा लिएर फिल्म प्रदर्शन गर्न सक्छौँ या त अर्को विकल्पमा कुनै अनलाइन प्ल्याटफर्म जस्तै यु-टुबमा राम्रो चलेको च्यानेललाई आफ्नो फिल्म बेच्न पनि सक्छौँ । 

तर, लघु चलचित्रको राम्रो बजार भनेको चलचित्र महोत्सव नै हो । अहिले कोरोनाको कारणले गर्दा भनेको जस्तो फिल्म बनाउने अवस्था छैन, तर त्यस्ता फिल्म महोत्सवहरू थुप्रै छन् जहाँ लकडाउन र कोरोना सम्बन्धित नै शीर्षक छन् । उपयोग गर्ने हो भने ठाउँ छन् ।

३) चलचित्र क्षेत्रमा गुणस्तरीय/मौलिक कथाहरूको अभाव रहेको हो?


हामी संस्कृतिमा धनी छौँ । कला भनेको संस्कृति पनि हो । कम विकसित देश भएकोले यहाँ सपना देख्ने अनि संघर्ष गर्ने नेपालीको थुप्रै कथाहरू छन् । हामीले ती कथाहरू खोज्न अनि खन्न सक्यौँ भने नेपालमा थोरै होइन थुप्रै राम्रा राम्रा फिल्म बन्नेछन् । हामी अलि बढी अरु फिल्मबाट प्रावाभित हुन्छौँ, अलि दुःखको कुरा । हामीले फिल्मलाई हेर्ने दृष्टिकोण नै गलत छ । फिल्म एउटा यात्रा हुनसक्छ, कविता, कुनै दृश्य, सुत्दा देख्ने सपना, फिल्म द्वन्द्व पनि हो, फिल्म माया हो, तर फिल्म कमेडी मात्र या माया-प्रेम  मात्र या फेरि द्वन्द मात्र भने हैोइन । हामीले यो परिप्रेक्ष्य बदल्नु पर्छ । सबै प्रकारको कथावस्तुलाई उत्तिकै स्थान दिनुपर्छ । अनि लेखक पनि फरक फरक लेख्न प्रोत्साहित हुनेछन् ।

४) सुत्दा देखेको सपना भन्नुभयो, के त्यसरी पनि चलचित्र निर्माण गर्नुभएको छ ? के फरक हुने रहेछ वा के रहेछ यसरी काम गर्नुको विशेषता ?


म आठ वर्षदेखि एउटा पटकथाको लागि सपनामा देखेको दृश्यमाथि कलम चलाउँदै छु, दुई वर्ष सबै समय यसैको लागि दिएँ, अरु पार्ट टाइम । यसको विशेषता भनेको यो कथा ‘म’ हुँ । मलाई प्रयोग मनपर्छ, अनि यस्तो काम गर्नु एकदम प्रयोगात्मक हुन्छ । यो लकडाउनमा केही फुरेको थियो तर लेख्न सकिनँ । यो चलचित्र बनाउन थुप्रै लगानी लाग्छ अनि जोखिमपूर्ण पनि छ सायद झुर हुन पनि सक्छ । पछि केही फिल्म बनाएपछि यो जोखिम अवश्य नै उठाउने छु ।

५) एकै व्यक्तिले लेखक र निर्देशक दुबैको भूमिका निभाइरहँदा के कस्ता फाइदा बेफाइदा हुने रहेछन्?


सिनेमा पहिला त दिमागमा बन्छ, सबै दृश्यहरू । अनि एकै व्यक्तिले दुवै भूमिका निभाउँदा आफूले कल्पना गरेको कुराको दृश्य बलियो हुन्छ । अनि धेरै थोरै त्यो व्यक्तिगत पनि हुन्छ जसकारण कथा बुझ्न अनि त्यसमा भिज्न अलि सजिलो हुन्छ । यो फाइदा भयो अनि बेफाइदा चाहिँ, एउटाको नजरियाबाट मात्र जान सक्छ फिल्म । उसले केही कुराहरू त्यहाँ छुटाइरहेको हुनसक्छ जस्तै डिटेलिंङ, चरित्रको सबै डाइमेन्सन सोच्न न सक्ला । 

लेखकको संसार साँघुरो भयो भने फिल्ममा रुपान्तरण हुँदा पनि त्यो साँघुरो हुन्छ, त्यो चरित्र अरु लेखकको संसार घुम्थ्यो कि? संसार ठूलो छ नि ।

६) नेपाली सिनेमा क्षेत्रमा स्वच्छ समिक्षकहरु नभएको कारणले सिने जगत नै एक कदम पछाडि रहेको छ भन्ने सुनिन्छ नि?


त्यो पक्का पनि हो । हाम्रा फिल्महरू कहाँ छन्, कता जाँदैछन्, कहाँ र किन चिप्लिँदै छन्, कहाँ लडे, कहाँ कसरी उठ्न सक्लान् भन्नेजस्ता कुरा हुनु अति आवश्यक कुरा हो जसलाई नै फिल्म समिक्षा भनिन्छ । तर फिल्म समिक्षा गाह्रो काम हो, नेपालमा त्यति धेरै समिक्षक हुनुहुन्न । अनि भएको समिक्षकमा पनि थोरै मात्र हुनुहुन्छ जो फिल्म बारेमा बुझेको हुनुहुन्छ । बाँकीले सतही रुपमा समिक्षा गर्नुहुन्छ । फिल्म बनाउनभन्दा समिक्षा गर्न कठिन छ ।

७) तपाईंले कविता फिल्म पनि निर्माण गरिरहनु भएको छ, कवितालाई दृश्यमा उतार्दाको अनुभव कस्तो रह्यो?


मैले ३० देखि ३५ वटा कविताको भिडियोमा काम गर्न समय पाएँ, स्वतन्त्र रुपमा काम गर्दा बेग्लै मज्जा हुन्छ, जिन्दगी बाँचिरहेकोजस्तो अनुभव भयो । आउने दिनहरूमा पनि यही प्रक्रियामा बसेर फिल्म बनाउने कोसिस गर्ने छु । सानु मम्मीको घरमा यसै थन्किएको एउटा पुरानो ल्यापटप थियो, जो मैले पाएँ  । त्यो ल्यापटप पाएसँगै आफ्नै कविताको भिडियो बनाउने सोचेँ तर त्यसो गर्दा अलि अप्ठ्यारो लाग्यो अनि अरुकै कविताको श्रृंखला बनाउने सोचेँ । बाहिर कविता माग्न जाँदा सुरु कै लागि गर्नसक्छु भनेर देखाउन सक्ने आधार केही बनिसकेको थिएन । अनि आफ्नै बुवाको कविताबाट सुरु गरेँ । 

सुरुको ५-६ वटा भाग ठिक ठाक मात्र बने तिनमा प्राविधिक गल्तीहरु धेरै थिए । पछि पछि सल्लाह-सुझाव लिँदै र पाउँदै जाने क्रममा सुधार्दै निखार्दै गएँ । यस दौरान, धेरै कविहरुसँग परिचय भयो, रमाइलो भयो । आफ्नो कमी-कमजोरी सुधार्ने मौका मिल्यो । समग्रमा, एउटा गज्जबको अनुभव बन्यो कविता-फिल्म गर्नुबाट ।

८) तपाईंले गर्नुभएको लघुचलचित्र मध्य आफैलाई सबैभन्दा मन परेको आफ्नै चलचित्र कुन हो ?


मैले गरेको दुई दर्जन लघु चलचित्रको सम्पादन नभई हार्डडिस्क बिग्रियो । अहिले त कुनैपनि मनपर्दैन । गरेको केही समयलाई Sleeping bird अनि I Love you भन्ने फिल्म मनपरेको थियो । मन नपर्नु सायद राम्रो पनि हो, मिहेनत अझै लगाइन्छ जस्तो लाग्छ । 

९) यो लकडाउनको बेला आफूलाई कसरी क्रियटिभ र पोजेटिभ राखिरहनु भएको छ?


लकडाउन सुरु हुने बित्तिकै Quarantine Campaigning Theatre Festival मा Festival Coordinator भएर काम गरेँ । महोत्सव १६ दिनसमम भएको थियो । अनि पुराना अधुरा कामहरू पूरा गर्दै पनि बसेँ यो लकडाउनको बिचमा । केही कविताको भिडियो पनि बनाएँ । नयाँ कामहरू केही न आएको भएर लकडाउन अघिको व्यस्त दिनचर्याबिच हेर्छु भनेर पनि हेर्न नपाइएका र अरु पनि थुप्रै फिल्महरू हेर्ने मौका पाएँ । प्रायः जसो बिहानदेखि बेलुकासम्म नै फिल्म हेर्थेँ । केही लेख्ने र पढ्ने कोसिस पनि गरेँ तर त्यता अलि एकाग्र हुन न सकेकोले पूरा गर्न सकिनँ । अब चाहिँ कुनै कथा या पटकथाले मन खायो भने यसैलाई प्राथमिकता दिने छु ।

१०) कुनैपनि कार्य सफलता वर्तमानको हर्ष त हो नै, भविष्यको चुनौती पनि हो भन्छन् नि । यसलाई कसरी लिनुभएको छ ?


ठिक हो यो कुरा । यो सफलताले म त छु नै तर मलाईभन्दा मेरो परिवार, आफन्त, शुभेच्छुक र साथीभाइहरूलाई धेरै खुशी बनाएको छ । र अब चुनौती पनि थपिएको छ नै । मेरोलागि वर्तमान उज्यालो छ भने आफूसँगको युद्ध भनौँ या चुनौती सायद हिजोपनि थियो, आज पनि छ र निरन्तर भइरहन्छ जबसम्म मेरो केही लक्ष्य पूरा हुँदैन वा मैले विश्राम लिदिनँ । तर, कथमकदाचित् सोचेझैं हरेक चुनौतीमा यस्तै सफलता भएपनि नभएपनि म फिल्मकर्मी भएर बाँचिरहूँ, यसैमा वर्तमान र भविष्यमा पनि खुशी रहनेछु । मलाई अमेरिकाको कोहेन ब्रदर्सको बायोग्राफीले सधैँ प्रेरित गरिरह्यो, उहाँहरूले आफ्नो पहिलो फिल्म जसोतसो गर्नु भयो । पछि कुनै यस्तो फिल्म छैन जो लगामविना बनेन । उहाँहरूको बायोग्राफी सम्झिँदा मलाई सधै प्रेरणा मिलिरहने छ । भविष्यमा आउने चुनौतीलाई अवसर बनाइरहने छ ।

 

Director Prasun Sindhuliya
Facebook Comments

You may also like

error: Content is protected !!