सुषुप्त आशा

कुनै निस्तेज रात मेरो बिछ्यौनाको छेउमा बसेर एउटा धूमिल आकृति बिस्तारै बोल्छ,
‘ मेरो यहाँ के भूमिका छ ?’

म उसलाई किताब र कागजहरु छरिएको अस्तव्यस्त टेबल देखाउँछु । अनि उसको मन्द भ्रम अस्तित्वविहीन बोधार्थमा विव्हल भएर एउटा कुनामा समेटिन्छ । म अर्ध उन्मेषमा बिउँझिन खोजिरहेका चेतनाको व्यष्टिभित्र प्रश्नको अभिर्भाव पाउँछु ।
‘म पनि केवल पात्र मात्र भइदिएको भए ?’

यस कल्पित घटनापछि एक युग बितिसक्छ र आज त्यहि रात फेरि दोहोरिरहेको छ ।

* * *
हुन सक्छ, उसले यस बखत छामिरहेको शताब्दीमा आविष्कारकहरुको मिमांसित प्रतिमान निकै झल्मलाइरहेका छन् । हुन सक्छ, यो शताब्दी वस्तुज्ञानको प्राचुर्य र भौतिकताको उपार्जनमा नवीन स्वतन्त्रताको अभ्यास गरिरहेको छ । वा हुन सक्छ, यस सभ्यतामा सुरक्षा र आत्मनिर्भरताका परिभाषाहरु रुपान्तरण भइसकेका छन् ।

यिनै बाहुल्यताहरु बिच एक जोडी निर्दोष आँखा बरण्डा बाहिरको निरव दृश्यमा रंगबोधको अन्तरसन्तुष्टि पाउन खोजिरहेका छन् । ठूलो हिमपातपछि सेताम्य भएको त्यस परिवेशमा आत्मपरकताको कुनै त्राण थिएन, उत्सुकताको कुनै तरेलीपन थिएन ।

सधैँजसो ऊ आफ्नो कोठाको बरण्डामा बसेर बालसुलभ मनको विस्फारित कामनाहरु केलाउँथ्यो । उसका आँखा त्यसै त्यसै अतृप्तिको महासागरझैं टलपलाउँथे । नाङ्गिएका हागाँ, काला झ्याल, अपरिचित मानिस, एकसरो घर, सतर्क समय, टाढिएको वसन्त र उसले सुनेजस्तै ‘हानिकारक जिवाणु’हरु बिचको धरातलमा उसले आफ्नो जीवनको आँठौं ऋतु कटाइसकेको थियो ।

जब जब ऊ कल्पनाको प्रबलता समातेर तैरिन खोज्थ्यो, निलो आकाश र सेतो हिमालबिचको समिपताले त्यसमा सिमारेखा कोरिदिन्थे । उसलाई त समतल भूभाग हेर्नू छ, टाढासम्म फैलिएको खेतबारीमा रमाउनु छ, खुला मैदानसँग नतमस्तक हुनु छ, समुन्द्रको काखमा डुब्दै गरेको घामको तस्वीर लिनु छ र मरुभूमिमा मृगतृष्णाको स्वरुप भेटाउनु छ ।

उसलाई त समयले पन्छाइदिएको कुरुप पातको मोह लाग्थ्यो । उसलाई त हावाले लत्याइदिएको झिनो प्वाँखले विस्मित बनाइदिन्थ्यो ।

यिनै प्रसंगहरुबिच एउटा खैरो बिरालो बालकको नजर अघि उपस्थित हुन्छ । बिना कुनै प्रतिरोध त्यो बिरालो उसको घरको बाँधमा चढ्छ, एकछिन रोकिन्छ, यताउति हेर्छ र सँगै रहेको घरको प्रांगणमा हाम फाल्छ । ऊ कुनै दार्शनिकझैं बिरालोको त्यस क्रियालाई निहालिरहेको हुन्छ । बिरालोको निष्पक्ष र उन्मुक्त पद्धतिलाई चिहाउनुका साथै ऊ योपनि थाहा पाउँछ कि बिरालोको पेट निकै बढेको छ… ‘सायद त्यो बिराली थिई ?’

ऊ सम्झन्छ, सडकिय बिरालोहरुमा रोग सार्ने क्षमता बढी हुनाले तिनको विषय प्रायलाई कम रुचिकर भइसकेको थियो । बाहिरको चिसो सिरेटोले छोएझैं, ऊ एकपटक सिरिङ्ग हुन्छ । त्यहाँबाट उठेर गृहकार्य गर्ने ध्येयले आफ्नो कोठातर्फ लाग्छ र बिरालोको स्मृति अचेतनको संसारमा कतै जोडिन पुग्छ ।

* *

यहाँ जुन परिवेश छ यसमा कुनै उल्लेखनीय घटना छैन । कारण : घटनाविहीन रहनु नै यस परिवेशको विशेषता हो ।

त्यहीँ बालक आफ्नो बुबासँग बेलुकीको खाना खान बसेको छ । ‘खानु’ अनिवार्य हो तर एउटा पारिवारिक निबद्धता त्यहाँ मेटिइसकेको छ । खानापछि ल्यापटपमा तल्लीन उसको बुबाको हात र आँखाको ताललाई भत्काउन सक्षम ऊसँग कुनै विषय-वस्तु छैनन् । स्कुलका परिपाटीले त सधैँ उसको मूल्यांकन गरिरहेकै छन्, उसको योग्यतालाई तोलिएकै छ र त्यसको रिपोर्ट सबै उसको बुबालाई ज्ञात छ । त्यसबाहेक उसको मनोरञ्जन र जागरणलाई निहित गर्ने टेक्नोलोजीहरु प्रशस्त थिए । उसलाई लाग्दैन, उसका नव अनुभवहरु र सुक्ष्म भाषाहरुले त्यहाँ केही महत्त्व राख्छन् ।

ऊ आफ्नो बुबाको गम्भीर अनुहारतर्फ टोलाइरहन्छ र एकचोटि बेस्कन सम्झन खोज्छ एउटा मायालु र आशान्वित अनुहारलाई जसलाई ऊ ‘आमा’ भनेर सम्बोधन गर्ने छ । एउटा परीपुष्ट स्वास्नीमान्छेको काखमा ऊ रमाइरहेको हुने छ र आफ्नो बुबासँग जिस्किरहेको हुनेछ तर जब ऊ कल्पना मै आफ्नो तेजस्वी अनुहार निहाल्छ, उसलाई आफ्नो मुस्कान निकै अस्वभाविक लाग्छ, असहज लाग्छ । ऊ भित्रभित्रै निकै विचलित हुन्छ र एउटा स्वभाविक मानव मूल्यता बिच ऊ सधैँ अस्वभाविक भइरहन्छ । यसरी उसले मृत्युबोध अघि आउने अभावबोधलाई छोइरहेको हुन्छ ।

यस्तै शान्त र दमित स्थितिप्रति ऊ प्रशस्त घृणित छ जहाँ उसका अभिव्यक्तिहरु कुनै तह नलागि मुटुको एउटा कुनामा झ्याङ्गिएर बस्छन् ।
उसलाई सबैभन्दा बढी घृणा छ कृत्रिम फूलसँग जसले केवल रुपको नक्कल गर्न सकेको छ, जो खोक्रो छ, वासनाहिन छ, र जसमा ओइलाउनुपर्ने वास्तविकता छैन ।
* *

त्यसैमा धेरै दिन नबित्दै ऊ फेरि आफ्नो अन्तर्विरोध समातेर बरण्डामा निमग्न हुने चेष्टा गरिरहेको हुन्छ । यस आदिम युगले उसलाई के आशिर्वाद दिएको छ? के यो शताब्दीको स्पन्दनमा जेनेरेटर थर्थराउँदैन ? के यसको छातीमा पेट्रोल बग्दैन ? यी कलाशून्य भवनहरु माझ उसलाई विध्वंश खडा गरिदिन मन लाग्छ । यी मेसिनरी मान्छेहरुलाई चिरेर संवेगको चोइटो भेटाउन मन लाग्छ । यो निउरोटिक संसारलाई स्खलनको द्रवणीयताबाट पलायित गराउन मन लाग्छ ।

तर उसलाई लाग्छ यस्तो भावावेश उसलाई मात्र आउँछ । सबै त यहाँ आफ्नो आत्मरक्षाको टुक्रालाई विद्युतिय ग्याजेटसँग टाङ्गिदिएर समाधिस्त छन् । त्यसैबेला उसको छिमेक घरको करेसाबाट गुञ्जित आवाजमा ऊ आकर्षित हुन्छ । भर्खरै जन्मिएको जस्तो एउटा खैरो बिरालो, न्युन आकार र निकै सुक्ष्म प्राण बोकेर ठडिएका जस्ताहरुबिचबाट बाहिर निस्किन्छ । त्यो सानो बिरालो केही कुरासँग पनि सचेत छैन, केही कुरासँग पनि संलग्न छैन । त्यस बालकको हृदय स्नेहित हुन्छ । उसलाई बिरालो खेलाउन मन लाग्छ, स्याहार गर्न मन लाग्छ । बिरालो बिस्तारै त्यस चिसो जमिनमा हिँड्छ, लड्छ फेरि हिँड्छ र उहि यथावत ‘म्याउ’ को धुन चर्काउँछ । उसको इशारा बुझेझैं बालक वरपर आँखा डुलाउँछ । उसको माउको उपस्थिती कहीँ भेट्दैन न त त्यहाँ खान योग्य कुनै पदार्थ राखिएको हुन्छ ।

बिरालोको तीखो स्वर उसको कानभरि दुख्छ, छातिभरि दुख्छ । ऊ बिरालोको दरिद्रतामा क्रमशः सहभागी भइरहन्छ । निकैबेर कुर्दापनि त्यहाँ कोही आउँदैन । त्यस घरको मान्छेसँग ऊ परिचित छैन । तर बाध्यता त्यति मात्र होइन । दुई घरबिच ठडिएको त्यस पर्खाल उसको परास्त हो । त्यो पर्खालको सिमा नाघ्नु उसको युग विपरीतको अपराध हो र त्यो एउटा कमसल जीवन जोगाउनुसँग कति न्यायसंगत हुन्छ ऊ विचार गर्न सक्दैन । यहाँ सबै आफ्नो प्रमाणित जमिनभित्र सुरक्षाको उत्कृष्ट साधनको घेरासँग सचेत छन् । ऊ त त्यस पर्खालको छायाँअघि पनि आन्दोलित हुन्छ । त्यस बिरालोको क्रन्दन याचनाको साङ्केतिक लयमा भिज्दै जान्छ र ऊ १४ फिट पर बसेर त्यसलाई हेरि मात्र रहन्छ ।

भान्साको निम्तोसँगै ऊ आफ्नो बुबाको सामुन्ने बसेर खाना खाइरहेको हुन्छ । अब बाहिर अँध्यारोको लस्कर हिँडिरहेका छन् । ऊ आफ्नो बुबालाई हेर्छ र कठोरपन र अन्यमनस्कताभन्दा बढ्दा केही भेट्न सक्दैन । उसको अकाङ्क्षाहरुसँगै टाँसिएको सन्त्रासले मुखमा बसेको भाषालाई कैद बनाइदिन्छ । मुख्यतः ऊ यो कुरासँग पनि विश्वस्त छैन कि त्यस बिरालोको अस्तित्वप्रति उनको कस्तो सहायता हुनेछ । यहाँ त बाच्नुको सिद्धान्त छिनछिनमा बदलिन्छ । त के मूल्यहीन थियो त्यो बिरालोको प्रसंग पनि ? ऊ आफैसँगको संवादमा निकै थाकिसक्छ । एकपटक फेरि ल्यापटपमा व्यस्त आफ्नो बुबाको अनुहारतर्फ हेर्छ तर जति गर्दापनि ऊ त्यहाँ नम्रता भेट्दैन । एउटा गहिरो र अव्यक्त सुस्केरा बोकेर ऊ त्यहाँबाट पुनः बरण्डातर्फ लाग्छ ।

अनि एकपटक ऊ निकै नराम्रोसँग तर्सिन्छ । ऊ भित्रभित्रै कति ठाउँमा बिथोलिन्छ, ऊ याद गर्दैन । बिरालो चिसो लास भइसकेको हुन्छ । त्यसै नजिक एउटा प्रौढ मानिस साबेलले खाल्टो खनिरहेको छ । त्यो मानिस बिस्तारै बिरालोलाई कुनै वस्तुसरी साबेलले  तान्छ, खाल्डोमा खसाउँछ  र बिरालोलाई कुनै स्वचालित यन्त्रझैं पुर्दै जान्छ र त्यसैसँग पुरिँदै जान्छ बिरालोको पहिलो प्रतिकार, पहिलो विद्रोह, पहिलो जुहार र पहिलो रोदन ।
के मानिसलाई लासले तर्साउन छोडिसक्यो ?
त्यस जमिनमा के नयाँ जागरणसँगै पुरानो रिवाजलाई खण्डित पार्नुको अघोषित मलिनता पनि गाडिएको छैन?

अन्ततः त्यस बालक आफैसँग एउटा सम्झौता गर्न खोज्छ । त्यो बिरालोको संघर्षवापत उसल एउटा सभ्य दाहसंस्कार पायो । नत्र कति जनावरहरु सडकमा, गल्लीमा झ्याङमा त्यसै लावारिस कुहिएका छन् ? अहँ, झुटो सान्त्वनाले उसलाई शेषपनि छुन सकेन । अझैपनि ऊ बिरालोको क्रन्दन सुन्दै छ र विवश छ अझै । विरक्तिएको मुद्रामा ऊ बरण्डाको ढोकासम्म जान्छ र लगत्तै एउटा ठूलो प्रतिध्वनि सुनिन्छ ‘ढड्याम्म’ । उसलाई अब कोही बोलाउन नआओस् , उसको यो अपराधबोधलाई जताबाट चलाएपनि परिणाम एउटै निस्किने छ ।

* *

अविभाजित रात उसको बिछ्यौनाभरि खस्छ । गाढा निद्राले उसको शरीरलाई समात्छ र ऊ शून्य-शून्य हुँदै आफैलाई सोध्छ ‘मेरो यहाँ के भूमिका छ ?’ सपनामा ऊ सधैँ कालोपनमा समाहित हुँदै एउटा भर्याङ चढिरहेको हुन्थ्यो । आज ऊ देख्छ, त्यस्तै भर्याङको गन्तव्यमा मृत चराहरु झुण्डिरहेका छन् ।
त्यसपछि ऊ आफैमा एउटा प्रश्नचिह्न भइसक्छ र अब यस कथामा पूर्णविराम लाग्छ ।

 

Facebook Comments

You may also like

error: Content is protected !!