नारीका सपना SATURDAYकलम | Kavyalaya - काव्यालय

नारीका सपना

आमाले बेला बेला आफ्ना जीवनका घतलाग्दा कुराहरु सुनाएर कहिले हामीलाई हँसाउने त कहिले रुवाउने गर्नुहुन्थ्यो। आमाले भनेको त्यस्तै एउटा कुरा म अहिले पनि सम्झिरहन्छु–

त्यो बेला म बाह्र वर्षकी थिएँ होला । मेरो बिहे गरिदिने भन्ने कुराले घर पूरै घन्किएको थियो । म आमाको काखमा टाउको राखेर नौला–नौला सपनामा हराइरहेकी थिएँ । आमा,
“मैले आज राती अचम्मको सपना देखेँ नि ।”
मेरो कुरा आमाले खूब चाख मानेर सुनेझैं गर्नुभयो र मेरो कपाल सुम्सुम्याउँदै भन्नुभयो,
“छोरीले सपना देख्दैनन् नि नानी । अब त तैँले दुलाहाका सपना देख्नपर्छ । किनकि अब दुलाहाका सपना नै तेरा सपना हुन् ।”
आमाको जवाफ त्यो बेला मैले कत्ति पनि बुझिनँ । तर कुरालाई अरु तन्काउन पनि चाहिनँ । लाग्यो, दुलहा र म एउटै ओछ्यानमा सुतेपछि एउटै सपना देखिने रहेछ कि ! भन्दाभन्दै आमा लाजले हो कि के ले हो खित्का छाडेर हाँस्नुभयो।

आमाले मलाई यो कुरा सुनाउँदै गर्दा आमा सँगसँगै म पनि लजाएकी थिएँ र हाँसेकी पनि थिएँ । आमाले प्रसंगलाई बदल्ने प्रयास गर्नुभयो र भन्नुभयो– अनि मैले कुरा अन्तै मोडेर आमासँग भनेकी थिएँ,
“कस्तो सारी ल्याउँछन् होला है आमा ती दुलाहाले अनि मेकअपको सामान पनि ल्याइदिन्छन् रे नि हो? मलाई त राता चूरा लगाएर छमछम बजाउन मन छ । ”

आमाले मलाई यी सबै कुरा सुनाउँदै गरेका दिनहरु सम्झन्छु र आफ्नै मनसँग अहिले पनि प्रतिप्रश्न गर्छु– के साँच्चै छोरीका सपना हुँदैनन् हो? के छोरीले अर्काको सपनालाई नै आफ्नो बनाएर बाँच्नु पर्छ? आज पनि हाम्रो समाज उस्तै छ भन्ने कुरालाई मेरी एउटी पढैया साथीले सत्य सावित गरिदिई ।

मेरो एकदमै मिल्ने साथी– गीता । अस्ति उसलाई बाटोमा भेटेकी थिएँ । उसले भनेकी थिई,
“सुषमा, मेरो बिहे हुँदै छ । तँ जसरी नि आइज है।”
“ए, हो र? अनि तेरो पढाइ ? पढाइ बीचै मा छोडेर बिहे गर्छेस्?”
“बिहे गरेपछि घरकाले पढ्न दिएछन् भने पढ्छु नभए त अब सकियो। ”
“तँ जस्तो क्लासकै अब्बल मान्छेले पनि यसो भनेर हुन्छ? पढ्न त छोड्न हुन्न नि । ”
“त्यो त हो के रे। केटा पक्षसँग कुरा राखेकी छु, मान्लान् नि । ‘पढाइमा रोकावट गर्दिनँ’ त भनेका छन् । त्यही पनि अब दुलहाका सपना नै मेरा सपना हुन् क्या रे । उनले जे भन्छन् मैले त्यही गर्न पर्यो नि होइन र ?”

उसले दुलहाका सपना के भनेकी थिई म झसङ्ग भएँ। आमाले सुनाएका कुरा फेरि मस्तिष्कमा रिँग्न थाले । सोचेँ, समय अझैपनि उस्तै त रहेछ, न समय फेरिएको रहेछ न विचार !

कोठामा आएपछि ढिलो सम्म निंद लागेन । साँच्चै, बिहेपछि नारीका सपनाको अन्त्य नै हुने हो त ? कोही कलाकार हुन्छन्, कोही लेखक साहित्यकार । उनीहरुका सपना केही उत्कृष्ट काम गरेर नाम कमाउने रहेको हुन्छ । के दुलहा योग्य परेन भने नारीले आफ्ना ती सपनालाई बाग्मतीमा सेलाइदिनु पर्ने हो ?

मैले समाजमा के देखेकी छु भने पुरुषहरू आफ्ना सपना पूरा गर्न जीवन पर्यन्त लागिरहेका हुन्छन् तर धेरैजसो नारीले आफ्ना सपनाबाट विश्रान्ति लिन्छन् । कस्तो अचम्म पुरुषले चाहिँ सपना देखिरहन पाउने नारीले आफ्नै सपनाको मलामी भएर हिँड्नु पर्ने? तर अपवादका रुपमा केही थोरै जोडीहरू नभएका होइनन् जहाँ नारीको सपनाको पनि कदर गरिएको हुन्छ । आफ्ना सपना आफैँले देख्ने रहरकै कारण कतिपय नारीहरूको पारिवारिक जीवन नै संकटमा परेको पनि देखिएको छ । यस्तो किन ?

मानिस स्वतन्त्र जन्मन्छ र स्वतन्त्र मर्छ । मानिसका केही कुरा आपसी पनि होलान्, केही कुरा सामाजिक पनि होलान् तर सपना निजात्मक हुन्छन् । आफ्ना सपनामा बाँच्ने अधिकार सबैको हुनुपर्छ । हो, विवाह पश्चात् केही सपनाहरु मिलेर देखिन्छन् र मिलेरै पूरा गरिन्छन् । तर थुप्रै सपना हुन्छन् जो एक्लै देखिन्छ र एक्लै पूरा गर्ने लालसा जीवनपर्यन्त रहन्छ ।यहींँनेर सपना मिसाउने कुरा पनि आउँछ । यदि सपना मिसाएर देखिन्थ्यो भने? भनेको श्रीमतीका सपना पनि श्रीमानले देखिदिने र सोही अनुसार सक्दो सहयोग गर्ने अनि श्रीमानकाे सपना पनि श्रीमतीले देखिदिने र सक्दो सहयोग गर्ने । साँच्चै सपनाहरू यसरी मिसाएर देख्न थाल्ने हो भने यो समाजको रुपान्तरण हुन बेरै लाग्दैनथ्यो ।


मलाई लाग्छ, सपनाहरूलाई कहिल्यै पनि बिसाउन हुँदैन सकिन्छ भने मिसाउन पर्छ ।


 

Facebook Comments

You may also like

error: Content is protected !!