डभ, अन द कोमा

गोँधुली साँझ
हराभरा वन
सुन्दर वृक्ष
वृक्षको हाँगो
जोडी ढुकुर
तिनको प्रेमालाप

एउटा कविले देख्छ
आहा!
कति सुन्दर दृश्य?
त्यहि बसी बसी लेख्छ
एउटा प्रेमको महाकाव्य
र शिर्षक दिन्छ-
“प्रकृतिको काखमा प्रेम”

उहि दृश्य
देख्छ यौटा चित्रकार
कुची र रङ्गहरुको साहाराले
क्यानभासमा उतार्छ
बिल्कुल उहि प्रतिबिम्ब
र शिर्षक दिन्छ-
“प्रेमील साँझ”

संगीतकार पनि के कम?
तिनै ढुकुरजोडीको प्रेमालापमा
सिर्जना गरिदिन्छ
एउटा नवीन आलाप प्रेमको
र शिर्षक दिन्छ-
“प्रेमालाप”

आखिरमा
एउटा प्रेमीले पनि देखी छोड्छ
उहि दृश्य
“गोँधुली साँझ
हराभरा वन
सुन्दर वृक्ष
वृक्षको हाँगो
जोडी ढुकुर
तिनको प्रेमालाप”

खिचिक्क !
खिचेर मनको क्यामराले कैद गर्छ
मुटुको एल्बममा
सम्झिन्छ,
आफ्नी प्रेयसीलाई
मुस्काउँछ मुसुक्क
र खुसुक्क शिर्षक दिन्छ-
“हामी”

कविको उक्त महाकाव्य
व्यापक हिट भयो
“प्रकृतिको काखमा प्रेम”
नपढ्ने कोही भएनन्

उता
चित्रकारको “प्रेमील साँझ”
तँ लाने कि म ?
होडबाजी नै चल्यो

संगीतकारलाई
नवीन आलाप “प्रेमालाप” को निम्ति
अहो!
अवार्ड त कति हो कति?
पुरस्कार र प्रमाणपत्रको लावालस्कर
गन्दागन्दै सकिँदै सकिएनन्

तर अफसोस् !
त्यो प्रेमीको मुस्कान
उसको मुटुमा कैद त्यो दृश्य
जसलाई उसले “हामी” शिर्षक दिएथ्यो
त्यो
न कसैले हेर्यो
न कसैले पढ्यो
सुनाएको हो उसले
उसकी एक मात्र श्रोता
उहि प्रेयसीलाई आफ्नो ढुकढुकी मार्फत
त्यो “हामी” शिर्षकको प्रेम

बिडम्बना भन्नुपर्छ
बुझिन उसकी प्रेयसीले
उसको त्यो प्रेमील मुस्कानलाई
सुनिनँ उसले
प्रेमको त्यो मौन भाषालाई
सायद,
प्रेम गर्नेहरुले मौनता तोड्नुपर्छ भन्ने लागेर होला
प्रेमीको मुटु चिच्याउन थाल्यो
भट्याक भट्याक हार्ट अट्याक जस्तै
छटपटाउन थाल्यो
तर पनि
सुनिन उसकी प्रेयसीले
मुटुको त्यो चीत्कार
र ऊ गइ
धेरै टाढा , पछाडी नफर्किएरै

त्यहि पल हुनुपर्छ
यता
प्रेमीको धड्कन रोकियो
कसैले उसलाई अस्पताल पुर्यायो
(पक्कै छिमेकी हुनुपर्छ)
मुटुको चिरफार भयो
अनि
मुटुभित्र भेटियो
एउटा एक्लो ढुकुर !

अहो!
दुर्लभ ! बिल्कुल दुर्लभ !
मनुष्यको मुटुभित्र ढुकुर ?
सर्जन आत्तियो
फेरी खुशीले मात्तियो
त्यो एक्लो ढुकुरलाई उठायो
र आफ्नो सर्जिकल म्युजियममा सजायो
र शिर्षक दियो-
“लभ अन द, माफ गर्नुहोस् ,डभ अन द कोमा”

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!