१८ देखि २४ वर्षका महिलालाई डकुमेन्ट्री बनाउन सिकाउँदै किपालय

काठमाडौं । किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलसँग सहकार्य गरेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो । 

नेपाली चलचित्रमा महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ । कार्यशालाकी प्रबन्ध निर्देशक आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी  आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी गराएकी छिन् । 

आश्माका अनुसार कार्यशालाको समयावधि १ महिनाको रहनेछ भने कार्यशाला काठमाडौं र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ । उनले कार्यशालामा फिल्म निर्माणको धेरथोर अनुभव भएका महिलालाई प्राथमिकता दिने जानकारी गराइन् । 

किपालयका प्रोजेक्ट हेड नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने जनाए । “छानिएका १० जनालाई हामीले पहिलो चरणमा काठमाडौंमै फिल्ममेकिङका आधारभूत ज्ञान दिन्छौं र दोस्रो चरणमा मकवानपुरको चित्लाङमा साँच्चिकै फिल्म कसरी बनाउने भन्ने बारेमा सिकाउँछौं,’ नवले भने । 

कार्यशालामा १८ देखि २४ वर्ष भित्रका महिलाले आवेदन दिन सक्नेछन् । इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबारसम्ममा निवेदन दिनुपर्नेछ ।

कार्यक्रममा आवेदनका लागि कुनै शुल्क नतोकिएको किपालय प्रोडक्सनले जनाएको छ ।

आवेदन दिन यहाँ किल्क गर्नुहोस ।

Facebook Comments

You may also like

error: Content is protected !!