दिक्दारी | Anniversary Edition | Kavyalaya - काव्यालय

जसरी मानवलाई खुशी हुन ठूलो कारण चाहिँदैन त्यसरी नै दिक्दार हुन पनि अजंङ्गको पहाड छिचोल्नु पर्दैन रहेछ हेर्नुस्। महामारीले गाँजेको समय, उस्सै त दिक्दारलाग्दो छ, झन् आफन्तसँग वियोगिनुको पीडा… अहो! समयले दिक्दारेपन संगालेर एकैपटक दिएको बोनस- ‘दिक्दारी!’

त्यसैबीच साथीहरूले तैँले लेख्नै छाडिस् भनेर बारम्बार मप्रति प्रकट गरिरहन्छन् उही दिक्दारी नै! समस्त विश्वले नै नैतिकताको खडेरी महसुस गरेको बेला आफूलाई नैतिक ठान्ने अहंको दिक्दारीले तत् “दिक्दारी” लेखन सुरु गर्न बाध्य पार्‍यो!

यसै उदेकलाग्दो समयको कुण्ठालाई तपाईं हाम्रो साझा दिग्दारीको रूपमा पस्कनु आजको एक दिवसीय लेखनको साझा उद्देश्य हो। अगाडि बढ्ने अनुमति लिएर भन्छु; दिनभरि दिमागमा हुरी चल्यो लेखनलाई लिएर। घर आएर कन्न थाल्दा आफूलाई अल्बर्ट आइन्साटाइनको अर्को स्वरूपमा भेट्टाएँ! दिनभरि के-के सोचेँ हुँला अहिले केही याद छैन! परेन त फसाद अब! कलम समाए लगत्तै के लेख्ने भन्ने दिक्दारीले घाँटी अँठ्याई त हाल्यो। 
Digital Painting Of Sad Man Thinking Something In Bed Room Illustration Of Depression Of People Stock Photo - Download Image Now - iStock
दिक्दारीलाई फुकाउन आफ्नो हात घाँटीसम्म पुर्‍याएको गालाका रौं कुन, छातीका रौं कुन छुट्याउनै मुश्किल भो भन्नुस्। गालामा झपक्क दाह्री हुनेहरूको काँधमा जिम्मेवारी हुन्छ भन्छन्, आफ्नो भने जति जति दिक्दारी झ्याम्मिँदै जान्छ त्यति नै दाह्री बढ्दै जान्छ! कहीँकतै बाटोमा हिँड्दा मेरो झुसे दाह्री घाँटी मुन्तिरको खाल्टोसम्म पुगेको देख्नुभएमा निर्धक्क सोच्नुहोला, यसलाई मान्छे हुनुको दिक्दारीले खाएछ! जीन्दगीसँग त्यति नै दिक्दार हुनुपर्ने खास कारण त केही थिएन। यद्यपि यात्रामा खाली पाउ हिँडेपछि डगरका काँडाले त घोच्ने नै भैहाल्यो! जीवनलाई यात्रा मानेर हेर्ने हो भने समाज एक काँडा हो र मान्छेका इच्छा आकांक्षा अनेक डगर। मगजलाई महत्वाकांक्षाको प्रभावबाट केही गजमा राख्न नसक्दा यस्तो दु:ख त भोग्नु स्वभाविक नै हो।

दाह्रीको मियो समाएर लेखन यात्रालाई अघि बढाउँदा छुटाउनै नहुने विषय हो पुरुष हुनुको दिक्दारी! शरीरभरि रौं लिएर बाँच्नुको दिक्दारी त छँदै छ, अरूलाई देखाउन मात्रै भनेर गाला र घाँटीचाहिँ खलेगह्रो सम्याए जसरी चिल्लो नै पारेर हिँड्नुपर्ने अरे! पैसो र रहर हुनेलाई त त्यो पनि सौखकै विषय होला हजुर। तर, मजस्तो बेरोजगार वैरागीको हकमा यो सरासर एउटा अन्याय हो। बाटोमा भेटिने र बाटोमा छुटिनेलाई त ‘मर्दको हुन्छ नै’ भनेर जसोतसो टार्न सकिन्छ हेर्नुस्! तर, घरका स्त्री प्राणीको दाह्रीसँग के दुश्मनी हुन्छ कुन्नि! देखी सहँदैनन् भन्या! खासमा, यो उनीहरूको आफ्नो अनुहारमा नपलाएको कुण्ठा हुनुपर्छ; मान्छेले आफूसँग जे छैन त्यसको विरोध त शताब्दी अगाडिदेखि गर्दै आएको सर्ववीदितै छ नि। त्यसैले त भान्छामा छिरेदेखि शौचालयसम्म पिछा छाड्दैनन्, यिनका सामु त ट्वीटरको जंगलमा भेटिने अरिंगाल पनि फिक्का पर्छन्, सत्ये धरोधर्म!

यत्ति लेखेपछि, दिनभरिका बाँकी उभार चुरे कटेर आउनै मानेनन्! स्मृतिमा दिक्दारी पनि दिगो भएर अडिँदैन अनि म झुत्रेले दु:ख नपाए कसले पाउँछ? भन्नोस् त…!

न्वारनदेखिको बल लगाएर कोसिस गर्दापनि स्मृतिले बाल नदिएपछि एकपटक फेरि त्यो दिनभरिको कचकच सुन्नुपर्दाको ‘दिग्दारी’ सम्झिएर खुईया.. काढ्दै ‘हे भगवान’ भनेँ! यति नभनेसम्म मन मान्दै मानेन, दिमाग दिक्दार भएको बेला मनको नसुनेर कसको सुन्नु? फेरि वैरागीको वरपर को नै पो साथी हुन्छ र बोल्ने? भगवान पुकारीसकेपछि पो सम्झिएँ, भगवान त अनगिनत छन्! मेरो पुकार कुन भगवानसमक्ष पुग्ने हो भन्ने पीरले खर्लप्पै आधा जीउ खाएर ल्यायो। मान्छेले बनाएका भगवानले सुने भने त ठीकै थियो, केही हात लामो प्रवचन दिएर जान्छन्! एक कानले सुन्यो अर्को कानले उडायो! नानीदेखि लाग्या भनौँ कि राज्यसत्ताले सिकाएको! चलनै यस्तै छ -भोक न भकारी, शोक न सुर्ताको जीन्दगीमा उपदेशको दिक्दारी किन आफ्नो टाउकामा लिनु? बेक्कार। तर, साँच्चैका भगवानले सुने भने के होला? प्रवचन दिन आफैँ आउलान् कि हाम्रा ओली ‘बा’लाई पठाउलान् त ? बा’कै प्रवचन सुन्नुपर्ने घोर पाप त केही गरेजस्तो लाग्दैन आजको दिनसम्म! हेर्नुस् न सोच्दासोच्दै फेरि एकपटक दिक्दारीको शिकार हुन पुगिहालेछु।

यहाँनेर राष्ट्रिय बा’लाई याद गरिसकेपछि उनका छोराछोरी सम्झेर पनि केहीक्षण भावुक हुनैपर्छ मैले! किनकी उनीहरूको दिक्दारीको सामुन्ने त मेरो गनपतरे दिग्दारीपन तीलको दानोजत्रो पनि नहोला। सोच्नुस् त, हरेक दिन प्रभुको लंगौटी जोगाउनुपर्ने सानो दु:ख हो त? अब्बा पुराणदेखि लिएर सिसीभित्र पसेको कमिलासम्मको महाज्ञान राख्ने गुरुको गुहुद्वार जोगाउनु कत्रो जिम्मेवारीपूर्ण काम हो!

त्यस उपर कार्यसम्पादनका क्रममा त्यहाँबाट निस्कने मन्द गन्धबिना कुनै हाजमोला पचाउन सक्नु पनि सानो पुरुषार्थ होइन। पुरुषार्थ पढ्ने बित्तिकै बा का छोरीहरूलाई हेप्ने भन्ने ख्याल आउन सक्छ यहाँको मानसपटलमा, ज्ञात रहोस् ‘पुरुषार्थ’ शब्दले लैङ्गिक वकालत गर्दैन। यसलाई यहाँहरूले आफ्नो भाषामा यूनिसेक्सुअल, बाइसेक्सुअल वा क्वीर जे इच्छालाग्छ त्यही मान्न सक्नुहुनेछ। अँ, हामी विषयबाट अन्त मोडिन पनि हुँदैन है। त्यसैले, फर्केर हेर्दा, आफै नाङ्गिन बाँकी नरहने गरी खुइलिएर परम पिताश्रीको मुत्रनाल वरपरको लाजसुत्र जोगाउनु गोबर्धन पर्वत उचाल्नु जत्तिकैको पराक्रम हो। कम्तिमा मेरा नजरमा।

बिचराहरूको बाहुबलको गुणगान गर्दै गर्दा मानसिक विक्षिप्तताको प्रश्नले मलाई फेरि एकपटक दिक्दारीपनको आभास दिलाएर गयो। यस दु:खलाई काट्न मैले अब तत्क्षण एक चुरोट नसल्काई हुँदैन! संसारका तमाम दु:खरूको निदान एक सर्को धुवाँ छाड्नुमा छ। खोपिल्टो परेको गालाबाट जिब्रो र ओठ गोल्याएर धुँवाको गोलाकार मुस्लोसँगै चरम निराशा बाहिर फालेपछि मात्रै मेरो दिक्दारी केही समयका लागि शान्त भएर बस्छ। तर दुर्भाग्य! दिक्दारीको पहाडमा अर्को एक थुम्को थपियो, मेरो लाइटर बलेन। यो मध्यरातमा किन्न जाऔँ भनेपनि ‘कता ?’ भन्ने प्रश्नले अर्को दिक्दारीको प्रतिनिधित्व गर्छ। यत्ति भैसकेपछि चुरोटको सट्टा गम खाएर पुन: दिक्दार हुनुपर्छ मैले। फेरि म दिक्दार हुँदै सोच्छु; मेरो आफ्नो दिक्दारी पस्कनलाई त पुरै रात जिउँदो छ। अहिलेचाहिँ मैले अरूको दिक्दारीको चर्चा गर्नुपर्छ। किनकि हाम्रो चरित्र नै अन्यको चर्चा गर्नु हो, ठाडे भएर भन्नुपर्दा, कुरौटे बन्नु!

त्यसैले आउनोस्,
अँधेरे गुफाका गुरिल्लादेखुन् पँधेरे आईमाईसम्म, पटके सवारी कर हाकिमदेखि झटके अधिकर्मीसम्म, बेकामे नाट्यकर्मीदेखुन् बेफूर्सदी व्यापारीसम्म र माथ्लाघरे लेखक दाजुदेखि तल्लाघरे कवि भाइसम्मका साझा दिग्दारीबाट बग्दै दख्खिन जाऔँ। यी सबैलाई एउटा साझा दिक्दारीको भार दिनहुँ बोक्नुपर्छ। त्यो हो आलुवादी चरित्र निर्वाह! यस दिक्दारीले मसमेतलाई पिडाँलुबारीभित्रको तरुल बनाइदिएको छ। जे पुस्तौंदेखि चलिआएको हो त्यो त नैसर्गिक दिक्दारी हो नि! होइन र ? नैसर्गिक वस्तुलाई परिवर्तन गर्न खोज्नु भनेको फेरि अर्को दिक्दारीको जोखिम मोल्नु हो। जसरी आयु बढाउने नाउँमा श्वास रोकेर बारम्बार शरीरलाई थप कष्ट प्रदान गर्नु!

यतिबेला म यहाँहरूको दिक्दारी देखेर दोब्बर दिक्दार भएको छु।
नेपाली भाषाको दिक्दारी-दिक्दारी जोडिएपछि अंग्रेजीको फ्रस्टेसन बन्छ। मान्छेलाई दिक्दारी द्वित्व भएको फ्रस्टेसनले गाँज्यो भने विवेक गुम्छ, विवेक गुमेको मान्छेले आफ्नै जीन्दगीको चीरहरण गर्छ भन्छन्! अहो! यस्तो भयानक दिक्दारीलाई पालेर बस्न हुँदैन। मैले केही न केही वैकल्पिक उपाय त लगाउनु नै पर्छ हजुर! अँ, फ्याट्ट सम्झिएँ, भान्छामा ग्यास पाइपलाइन छ त! भौमान तिमी रै’छौ भन्ने पुष्टि भयो भनेर देउता सरलाई एकपटक धन्यवाद टक्र्याएँ। अब बिरालो चाल मारेर भान्छामा पुग्नुपर्छ र अरूले थाहा नपाउने गरी ग्यास बाल्नुपर्छ। तर, देशमा समृद्धि आइसकेछ भनेर तपाईं नझुक्किनुहोस् , यो गोबर ग्यासको पाइपलाइन हो।

त्यो जैरे चुरोट बाल्न पनि त्यत्रो दुख्ख? भनिबक्सेला हजुर!
घरकाले थाहा पाएपछि महिना दिनसम्म चुरोट त के…, भातकै साटोसमेत वचन खानुपर्ने स्थिति आइपर्नसक्छ! त्यसमाथि, माथिल्लो तल्लाका घरबेटीले गन्ध पाए भने भोलिबाट तुरुन्तै ग्यास धेरै बालेको अभियोगमा घरभाडा बढाइदिन सक्छन्। तथापि “ज्यानभन्दा कन्…नो प्यारो हुन्न” भन्नुहुन्थ्यो मेरी हजुरामा! त्यसैले, सिरानदेखिको पुछारसम्मका सम्पूर्ण जोखिम मोलेर मैले यो कर्म फत्ते गरेको हुम्।

त्यस्तै कुरा जोत्ने हो भने त, रोडमा आउने खतरा हाम्रा प्रधान बा’लाई नभएको हो र भन्या? तैपनि संसद समूह गाँठो पार्ने र फुकाउने गरेर रुमाल लुकाई त खेलिराख्नु भा’छ त! होइन? सहोदर गाँउले र प्रजा दिक्दार भएर उहाँलाई केही फरक पर्‍या छ र? आफू भलो त जगतै भलो भन्ने पाठ मैले ह्वाँबाट नै सिकेको हुँ हजुर। मैले अहिले भर्खरै गरेको परिश्रम र उठाएको जोखिम त उहाँको सामुन्ने निकै चुथ्थो पो हो।

केराको कोसोलाई, नछुनु छोएपछि अब हातै नङ्याउँ है त!
संविधान विरोध मात्रै होइन त्यसलाई जलाएर आगो ताप्नेहरू त्यही संविधानको प्रयोग गर्दै संसद हुँदै चोरबाटोबाट सत्ताको चास्नी चाट्ने आलुवादीहरूको डकारका सामु त म अझैपनि बबुरो हुँ भन्नुस्। हाम्रा अर्याल बाजेले भने अनुरूप आलुवादीहरूको दायरा पनि सानो छैन मुलुकमा! आलुवादी चरित्र प्रधान बा’देखि सुरु भएर मन्त्री, सचिव, सांसद, नेता, कार्यकर्ता, व्यापारी, कर्मचारी, पत्रकार, अलपत्रकारदेखि लिएर मजस्ता बेरोजगारी वैरागीहरूको पनि साझा दिक्दारी हो। राजावादीदेखि लिएर गाँजावादीसम्म जम्मैलाई चारपाटा-छ कुनो मिलाएर गाँजेको छ यस दिक्दारीले।

कुरो गरेर ल्याँउदै जाँदा कुरोकै दु:ख होला हजुर,
आफू मध्यरातसम्म जागेर अरूलाई सकालै सुतेर छकालै जाग्नु भन्ने उपदेश दिने रिठ्ठे दार्शनिक पनि मै हुँ हेर्नोस्। त्यो गाउँतिर भन्छन् नि, जो अगुवा उही बाटो हगुवा ! यस्तै छ हजुर, आफ्नै अग्रजले देखाएको बाटो र सिकाएको चारित्रिक दिक्दारी पालना नगरेर भो र भन्या? आगे आलुवादी चरित्रकै दिक्दारी पेश गर्नुपर्दा, विदेशमा बसेर देशको चिन्ता पोख्ने तपाईं र खाल्डोमा बसेर ग्रामको वकालत भुक्ने म एउटै कित्ताका मालिक हौँ।

यत्तिमै दिक्दारी कहाँ सकिन्छ र? बल्ल त सुरु हुँदैछ!
हामी नेपालीहरूले दिक्दारी उपभोगमा ‘प्याच्डी’ गरेका छौँ। कथम् कदाचित दिनमा एकपटक भएपनि यसको उपभोग भएन भने आफ्नै जीवन चुनाबिनाको खैनीजस्तै लाग्छ। सुन्दैमा पत्यार नलाग्ला, तर तलका उदाहरण हेर्दै जानुहोला अनि तल पुग्दा नपुग्दा पट्यार लाग्न थाल्छ। दिक्दारीको योभन्दा श्रेष्ठ प्रमाण अर्को के पेश गरूँ र हजुर!

अँ,
केही समय अघिसम्म तपाईंमा छुट्टी नपाएको दिक्दारी थियो। संसदमा जस्तो पाँच मिनेट समय छुट्याएर श्रीमती भेट गर्नुपरेको गुनासो गर्नुहुने हजुर अहिले भरदिन श्रीमती भेट्नुपरेको दिक्दारी छाद्दै हुनुहुन्छ! देशमा बहुमतको सरकार बनेन भनेर रातदिन दिक्दारी वाक्ने सरमिसहरू अहिले दुई तिहाईको सरकारदेखि वाक्कदिक्क हुनुभएको छ! महिला सर्चोच्च पदमा नपुगेर देश नबनेको विश्लेषण छाँड्नेहरू अहिले महिला सर्वोच्च पदमा पुगेर पनि केही नगरेको कारण दिक्दारी फलाक्दैछन्। राजतन्त्रले बोल्न दिएन भनेर राजा फाल्नुपर्छ भन्ने लोककतन्त्रिकहरू जनतालाई ‘बढ्ता बोल्छस्?’ भनेर आफू असफल भएको दिक्दारी पोख्दैछन्।

हामी सबै समान हौँ भन्दै समाजवादी क्रान्तिको दुहाई दिनेहरू यतिबेला आफूले उच्च सम्मान नपाएको दिक्दारीसँगै मिश्रित खेद चुहाउँदै छन्! एउटै राज खानदानले देश हाँक्यो भनेर दिक्दार भएका जनता, टोलटोलमा दश राजा थपिएकोमा पश्चातापिय दिक्दारी ओकल्दै छन्! मूलधारे राजनीतिले देश विकासको गति छेडेन भन्दै वैकल्पिक भएकाहरू मान्छे मर्दाको समवेदनामा समेत आफू मुलधारमा अटाउन नसकेको दिक्दारी रुन्छन्! युवापुस्ताको दिक्दारी अलिक वेग्लै छ। युवतीहरूमा आफूले चाहेजति देखाउन पाइन्न भन्ने दिक्दारी छ। युवकहरूमा भ्याएजति चुस्न नपाएको! यता कुनामा देखाउने र देख्नेबिचको रस्साकस्सी चल्दै गर्दाको समयबीच अर्को कुनोमा संगठन नै खोलेर जोइपोइ नपाएको गुनासो गर्नेहरूको दिक्दारीले फेरि आकाशमा अर्को छेद पारूँला झैं गर्दैछ! छरछिमेकमा एक-अर्कालाई सत्तोसराप गरेर, बाटो हिँड्दा होस् या जम्काभेट हुँदा आँखा तरेर हिँड्नेहरूले साथी नपाएको गुनासो गर्ने दिक्दारीपन हाम्रो चर्मचक्षुभन्दा परको विषय होइन।

सरसर्ती हेरेर ल्याउँदा,
हामी दिक्दारी प्रकट गर्नलाई नै जन्मिएका हौँ। मान्छे हुनुको अर्थ नै दिक्दार हुनु हो कि भन्ने पनि लाग्न सक्छ। यद्यपि यो तथ्यगत रूपमा पुष्टि हुन भने  बाँकी नै छ। अबको केही दिन या हप्तामै पश्चिमको कुनै विश्वविद्यालयले यसलाई तथ्यगत रूपमा प्रमाणीकरण गर्नेछ। एसियाली विद्यालयले प्रमाणीकरण गरेमा त्यो पश्चिमाको लागि अर्को दिक्दारीको कारक हुनसक्छ। त्यसैले, एसियाका सोधकर्ताले पश्चिमा भलाद्मीको चुच्चो नाक काटेर हिलो छ्याप्नु हुन्न!

त्यसैपनि, यो अकाल मृत्युसरहको दिक्दारी पश्चिमा वर्गलाई कदापि स्वीकार हुनेछैन! साम, दाम, युक्ति, कपट, छल के गरेर हुन्छ उनीहरूले रस आफ्नो गिलासमा नै निचोरी छाड्छन्। त्यसो भन्दैमा कालालाई गोरो र गोरोलाई खैरो र खैरोलाई रातो हुन नपाउँदाको दिक्दारी छैन भन्न खोजिएको कहाँ हो र हजुर? रिसानी माफ गरिबक्सेला, यहाँ हरेक जात, वर्ग, आस्था र सम्प्रदायलाई अर्को अमुक गुटको हुन नपाउनुको दिक्दारीले खाएको छ। महिलालाई पुरुष हुन नपाउनुको दिक्दारीले पनि उत्तिकै खाएको छ। तर, यस किसिमको दिक्दारी भोग र प्राथामिकतासँग सम्बन्धित छ हजुर! अवसर पाएपछि हामीसँग अधिकार र नैसर्गिकताको दिक्दारी वकालतमा उत्रिएर फूर्सद नै हुन्न!

मलाई नै हेर्नुहोस् न,
लेखक लेखेर बाँच्नुपर्छ भनेर वकालत छेड्ने मबहादुरलाई किताबचाहिँ सित्तैमा चाहिन्छ! सकेसम्म उपहार, नत्र मगनी गरेरै भएपनि! लेखन व्यावसायीकरण भएको दिक्दारी त मपनि कहाँ झेल्न सक्छु र भन्या! त्यसैले, आफूले पाएको कोटाको चोटा चढेर हामी हाम्रो आलुवादी चरित्र यथावत राखौँ! तपाईं पनि खुश म पनि खुश! हाम्रो दिक्दारी बेखुश भए हामीलाई बाल?
Lossapardo on Twitter: "Gratitude✨. Late. Acrylique sur papier, 14x17,5cm 🎨: Lossapardo… "

मेरो गनपतरे दिक्दारी सुनेर तपाईं पनि दिक्दार हुनुभयो होला! आजलाई यतै कतै विश्राम ठोकौँ। त्यसमाथि, छोटोमै टुङ्ग्याउने पूर्वशर्त थियो। गन्थनिँदै जाँदा कुइनेटो काटेको पत्तै भएन! के गर्नु लेखकलाई लेख लामो नहुनुको दुख्ख र दिक्दारी झेल्न बडा मुश्किल छ! फेरि तपाईंलाई बेफ्वाँकका गन्थन पढ्नुपर्दाको दिक्दारी आफैमा अथाह छ। क्यार्नु हजुर! ‘हामी दिक्दार हुनै अभिशप्त रहेछौँ’ भनेर चित्त बुझाउनु समयको माग हुनुपर्छ। नत्र भने हामीमा बहिस्कारको चेत हाल्न भ्याएका थिएनन् र परम प्रभु ती दाह्री ब्रम्हाले? मैले तथाकथित दिक्दारीहरू बहिस्कार गर्नुपर्थ्यो! अनि, हजुरले मेरो लेख! त्यसैले हिसाब बराबर भो आजलाई। ल अब तपाईं सुत्नुस्, तपाईं नसुत्नु पनि रातका लागि अर्को दिक्दारीको कारण बन्नसक्छ!  (मैले यो लेख्दै गर्दा रात परेको छ।  तपाईं कतिबेला पढ्नुहोला सोचेर म सित्तैमा अर्को दिक्दारी किन बोकाऊँ र आफूलाई?) म आफूले बोकिसकेका आफ्ना दिक्दारी उडाउन दोश्रो जोखिम सल्काएर आउँछु।

अँ ,
जाँदाजाँदै,
तपाईं आफ्नो आलुवादी चरित्रलाई कायमै राख्नुहोला, नत्र मैले झैं दिक्दारी पुराण लेख्नुपर्ने हुनसक्छ।

Facebook Comments

You may also like

error: Content is protected !!