“…अनि सबैभन्दा पावरफुल देवताहरू थिए – गड अफ डे र गड अफ नाइट। उनीहरू सबैभन्दा इम्पोर्टेन्ट मानिन्थे। त्यसैले, अरू सबै देवीदेवताहरू उनीहरूमाथि ईर्ष्या राख्थे। तर, एकजना गड थिए- जो अरू धेरै गड्सको तुलनामा इन्सिग्निफिकेन्ट त थिए, खैर, कसैमाथि उनलाई ईर्ष्या भने थिएन। उनी थिए – गड अफ पाइन फरेस्ट।”
उसले पर खोला पारि कुहिरोले ढाकिएको धूपीसल्लाको वनतर्फ हेर्दै बोल्छे।
“गड अफ धूपीसल्लाज्?”
म उसको नजर पछ्याउँछु। हामी हाम्रो टेन्टबाहिर बसेर चियाको चुस्की लिँदै हुन्छौँ। पातलो कुहिरो बतासको पिठ्युँमा बसेर हाम्रो खुला प्रांगण वरपर सयर गर्दै हुन्छ। घाम उदाउन सायद अझै एक प्रहर बाँकी छ।
उसले बाहिर आगो बालेर चिया बनाउँदै गर्दा मेरो निद्रा बिउँझिएको थियो। ऊ चुल्होमा दाउरा मिलाउँदै मधुरो स्वरमा ‘सुरिलो रूख सल्लै हो’ गुनगुनाउँदै थिई। म आफ्नो आलस्यका बाबजूद ऊतर्फ हेर्दै मुस्कुराएको थिएँ। उसले मलाई देखेर खिस्स हाँस्दै भनेकी थिई –
“गुड मर्निङ्ग राइटर!”
म बाहिर निस्किएर एकछिन जिउँ तन्क्याएपछि मुख धुँदै गर्दा उसले उत्साहका साथ सुनाएकी थिई –
“मैले कस्तो राम्रो सपना देखेको नि! अ मिथोलोजिकल फोकलोर।”
“इन्ट्रेस्ट्रिङ्ग! मलाई सुनाऊ न।”
मैले टावेलमा हात पुछ्दै भनेको थिएँ।
“यस्! गड अफ धूपीसल्लाज्!”
ऊ हाँस्दै मतर्फ फर्कन्छे। उसको नाकको टुप्पा र गालाहरू चिसोले राता भएका हुन्छन्, ओठ केही फाटेको हुन्छ। त्यसमाथि घ्यू रंगको ऊनीको टोपीले गर्दा सन्ध्या बिलकुल सानी मायालु बच्चीजस्ती देखिएकी हुन्छे।
“गड अफ पाइन फरेस्ट अथवा धूपीसल्लाका देवता, इनसिग्निफिकेन्ट थिए होला – यदि तिमी उनलाई गड अफ माउन्टेन्स या गडेस अफ सिसँग कम्पेयर गर्छौ भने। तर, उनीसँग एउटा खास गुण थियो जो अरू कसैसँग थिएन। उनी कुहिरो र बादलहरूलाई बटुल्न सक्थे।”
ऊ बग्न थाल्छे।
“जबजब गोधूली साँझ पर्थ्यो, उनी बाटो बिराएका, हराएका कुहिरो र बादलहरूलाई आफ्नो वनमा बास बस्न दिन्थे। अनि यो दृश्य एकदम म्याजिकल देखिन्थ्यो – घामका रंग बादलहरूमा लतपतिएका हुन्थे, आकाश आफैमा पेन्टिङ्गसरह देखिएको हुन्थ्यो।”
म एकोहोरो उसका आँखाहरू अनि ओठहरूमा मेरो नजर उकाल्दै अनि ओराल्दै गरिरहेको हुन्छु।
“तर यो कुरा उनी आफूबाहेक अरू कसैलाई वास्ता थिएन। यस्तो ब्यूटिफूल साइटप्रति अरू कसैको इन्ट्रेस्ट थिएन।”
ऊ आफ्नो शिर झुकाएर केहीबेर आफ्नो कपको रिम वरिपरि औँलाहरू बिस्तारै चलाउँछे। चियाको बाफ र उसको सास शोभायमान तवरले बीचको आकाशमा मिसिरहेका हुन्छन्। उसले अब आफ्नो स्वर स्निग्ध बनाउँदै, मन्द मुस्कानसँगै मतर्फ हेर्दै बोल्छे-
“तर, एउटा त्यस्तै नोस्टाल्जिक साँझमा एकजना गडेसले उनलाई नोटिस गर्छिन्।”
“ती हुन्छिन् – गडेस अफ स्नो।”
म मुस्कुराउँछु।
“उनी गड अफ पाइन फरेस्टको प्रेममा पर्छिन् र बिस्तारै वनभरि बर्सिन थाल्छिन्। सि स्टार्ट्स् फलिङ्ग डाउन जेन्टली अन हिज् फरेस्ट।”
म उसको कथामा एकदम मुग्ध भएको हुन्छु।
“सो एभ्रिटाइम यू सि इट स्नोविङ्ग एट अ ट्वाइलाईट, इट्स हर फलिङ्ग इन लभ विथ हिम्?”
ऊ प्रसन्न हुन्छे –
“यस्!”
हामी केहीबेर मौन बस्छौँ। हामी दुवैलाई सन्ध्याको यस मीठो सपनाले उत्तिकै मोहित पारेको हुन्छ।
“तिमीले यो सपना ठीक यसरी नै देख्यौ?”
म हाम्रो कपहरूको मौनता निभाउँदै प्रश्न गर्छु।
“अफ्कोर्स नट!”
ऊ हाँस्छे,
“म सपना फ्र्याग्मेन्ट्समा देख्छु। र मेरो दिमागले कथा बुन्ने काम गर्छ।”
म मुस्कुराउँछु।
“तर रेयर होला है, ट्वाइलाईट र स्नोफल?”
म आफ्नो टाउको हल्लाउँछु।
“थाह छ, म अहिले के सोच्दैछु? यी सबै मिथ र फोकलोरहरूमध्ये कति कथाहरू सपनाबाटै सुरू भए होलान्? यदि म एन्सियन्ट मान्छे हुन्थेँ त म बिहान उठेर आफ्नो ट्राइबका सबैलाई यो कहानी सुनाउँदी हुँ। मलाई लाग्दो हो कि यो कुनै गड्ली कमाण्ड थियो। जस्तो कि – ‘जा बालिके! गएर सबैलाई हाम्रो कथा सुना!”
ऊ हाँस्न थाल्छे। म पनि सहमतिमा ऊसँगै हाँस्छु।
ऊ थोरै हाँसो आफ्नो मुहारमा नचाउदै बोल्छे –
“अनि अरू कसैले अर्को सपना देख्दो हो, अरू कसैले कल्पना गर्दो हो। अनि बाक्लिँदै जाँदो हो र धर्मग्रन्थको रूप लिँदो हो।”म उसका शब्दहरूले एकदम प्रभावित भएको हुन्छु। उसलाई जिस्काउँछु-
“यू आर रियल्ली स्मार्ट सन्ध्या, ह्वाट्स् योर सिक्रेट?”
“अ क्लीषे”, ऊ पनि जिस्कन्छे –“यू जस्ट ह्याभ टू किप अन ड्रिमिङ्ग!”
•••
दिँउसोभर हामी हाइकिङ्ग गर्छौँ। जंगलबीच एउटा सानो खोल्साबाट पानी पिउँदै गर्दा मैले उसलाई सुनाउँछु कि म अहिले राइटर्स ब्लकबाट गुज्रिरहेको छु। “मेरा क्यारेक्टरहरू सधैँ एकदम लोन्ली हुन्छन्।”
“अनि डिप्प्रेश्ड पनि।” ऊ सिगरेटको सर्को तानेको नक्कल गर्दै भन्छे। हामी दुवै एकछिन हाँस्छौँ। ऊ खोल्साबाट केही कदम पर उभिइरहेकी हुन्छे।
“त्यसैले म केही फरक इन्साइट आओस् भनेर कुरिरहेको छु, सायद।” म गम्छु।
“अस्ति लेखिरहेको कथामा पनि चुरोट धेरै भयो जस्तो छ।” म हाँस्छु – “भिजन एकदम राम्रो आएको थियो तर लेख्दै गर्दा स्पोन्ट्यानिअस डाइरेक्सन लिन सकिनँ। सायद कुनै दिन फर्कुँला त्यस कथामा।”
“तिमीलाई एन्डिङ्ग मात्र आएको थियो, होइन?”
म टाउको हल्लाउँछु – “तिमीलाई याद छ?”
सन्ध्या एकछिन मौन हुन्छे।
यता खोल्साको शान्त अविरल सूर चराचुरूङ्गीका क्षणभंगुर गीतहरूसँग मिसिइरहेको हुन्छ र उता सन्ध्याका आँखामा सम्पूर्ण ब्रह्माण्ड सबिस्तारै खामोश भएर जान्छ। ऊ शून्यतर्फ हेर्दै नाटकीय लयमा वाचन गर्छे –
“बाहिर ठूलो पानी परिरहेको छ, वर्षा भइरहेको छ। खुला झ्यालबाट बाछिट्टाहरू कोठाभित्र उछिट्टिएर भुइँ रूझाउँदैछन्। बुढो लोकबहादुर बिस्ताराबाट उठेर झ्याल बन्द गर्न भनी जान्छ। तर ,बीचैमा नतमस्तक भएर एकोहोरो उभिइरहन्छ। केहीबेरपछि उसले कुनामा रहेको कुर्सी झ्यालअघि सार्छ र त्यसमाथि बस्छ- एकदम निर्निमेष भएर। बाहिर हेर्नलाई कुनै दृश्य छैन तर मानौँ उसलाई नितान्त यही दृश्यहीनता नै चाहिएको थियो। पानीले उसलाई रूझाउँदै जान्छ, ऊ बिना कुनै प्रतिक्रिया रूझ्दै जान्छ…।”
“अनि?”
“भोलि बिहान छिमेकीहरूले उसको लास त्यहीँ भेट्छन्। उसको मुहार उज्यालो छ – नुहाएर घाम ताप्न बसेको जस्तो।”
म उसको वाचन सुनेर प्रफुल्लित हुन्छु –
“नो वोन्डर, किन चेखोभ थिएटर एक्ट्रेसको मायाजालमा फसे!”
ऊ पनि जिस्कदै कुरा तान्छे –
“तिमी मेरोबारे कविता किन लेख्दैनौ?”
म आफ्नो मुख पुछ्दै हाँस्छु। ऊ परबाट मलाई हेरिरहेकी हुन्छे।
“लास्ट टाइम लेखेको लकडाउनअघि हो। म तिम्रो म्यूज हो भनेको होइन? पोयटले त आफ्नो म्यूजको बारे लेखेरै पाना-का-पाना भर्नु पर्ने!”
“यू आर माई म्यूज।” म हाँस्दै प्रत्युत्तर दिन्छु – “तर, तिमी तिम्रा सपनाजस्तै हौ। मेरा भिजनजस्तै। आई लभ यू इन फ्र्याग्मेन्टस्। समटाइम्स् द फ्र्याग्मेन्टस् डन्ट फाइन्ड ह्यूमन वोर्डस्। अर्, डन्ट निड एनि।”
ऊ मुख बिगारेको नक्कल पार्दै बोल्छे – “नट इम्प्रेस्ड!”
हामी पहाड काटेर मोक्षलोक छहरा जाँदै हुन्छौँ। साँघुरो पथ, सुस्त बतास, वातावरणको एकनासको सौम्य भाकाले मन वदन तृप्त भइरहेका हुन्छन्।हामी केही अगाडि, बाटो छेउको एउटा सानो बिसौनीमा एउटी युवती एक्लै बसिरहेकी देख्छौँ – छेउमै उनको नाम्लो र डोको पनि सुस्ताइरहेका हुन्छन्। म उनलाई हेरेर आफ्नो मुस्कानले अभिवादन गर्न खोज्छु। उनी भने लजाएर आफ्नो शिर झुकाउँछिन्। म हाँस्दै अगाडि बढ्छु। सन्ध्या घरी वरपर पहाडहरू, अनि घरी आफ्ना पैतालाहरू नियाल्दै मेरो घि एकसूरमा हिँडिरहेकी हुन्छे।
केही मिनेटको दूरी पार गरेपछि अलि परबाट एकजना युवक हामीतर्फ आइरहेको देखिन्छ। उसको हातमा लालीगुराँस हुन्छ। म अभिवादन टक्र्याउँछु, उसले मुस्कान फिर्ता गर्छ। युवक पर कटिसकेपछि मैले सन्ध्यालाई बोलाएर सुनाउँछु – “अघि तल बिसौनीमा बसेको केटी याद छ?”
“उम् उम्।”
“यो केटा उसैलाई भेट्न जाँदैछ, पक्का!”
मेरो आत्मविश्वास देखेर ऊ हाँस्दै भन्छे –
“‘म फूल लिएर आउनेछु’?”
हामी दुवै हाँस्छौ।
“तिमीलाई लाग्दैन यस्ता छोटा छोटा फ्र्याग्मेन्ट्स पनि आफैमा पर्याप्त हुन्छन्, ब्युटिफूल हुन्छन्?”
उसले केहिबेर पछि प्रश्न गर्छे।
“एकदम!” म तुरून्त सहमत हुन्छु। “मलाई किन थाह हुनुपर्यो हिजो के भयो अथवा भोलि के होला? यो एउटा सानो मुमेन्ट छ, केटी उसको प्रतीक्षामा छे, केटा उसलाई भेट्न जाँदैछ – इट्स इनफ!”
“अनि प्यारलल्ली, हामी मोक्षलोक छहरा जाँदैछौँ। इन द सेम युनिभर्स, थ्रु द सेम रोड।”
ऊ पछाडि फर्किएर मेरो मुहार हेर्दै मुस्कुराउँछे।
“एक्ज्याक्टली! हामी सबै एउटै कथाभित्र छौँ- विथ अल आवर फ्र्याग्मेन्ट्स।”
म उसलाई हेर्दै हाँस्छु।
•••
त्यस साँझ म आफूलाई दुई सन्ध्याहरूप्रति आकृष्ट भएको पाउँछु। मेरी सन्ध्याले आफ्नो केशराशि एक चुल्ठी बनाएर बाटेकी हुन्छे, आकाशकी सन्ध्याले फिजारेकी। हामी आफ्नो क्याम्पिङ्ग साइटमा फर्किसकेका हुन्छौँ। अहिले हामी मौन उभिएर क्षितिजको अनि अन्तरमनको दुई अनन्तहरूबीच रुमलिइरहेका हुन्छौँ।
“तल गाउँमा तिलक दाइले भन्दै हुनुहुन्थ्यो – यो पालि नै हो रे रूकुममा अहिलेसम्म हिँउ नपरेको।”
मैले उसलाई सुनाउँछु।
“तर यस्तै चिसो हो भने त पक्कै पर्ला आज भोलिमा नै। हेर त! माथि लेकभरि बादल छ।”
ऊ आफ्नो आँखिभौं खुम्च्याएर क्षितिजतर्फ हेर्दै अड्कल गर्छे।
म केहीबेर उसलाई निहार्छु- ऊ पर पर आँखा डुलाउँदै हुन्छे। सन्ध्या साँच्चिकै कति मायालु छे! म दुई कदम अघि बढेर उसलाई पछाडिबाट अंगालो हाल्छु।
“सन्ध्या, म सोच्दैछु- कति राम्रो हुन्थ्यो यदि हामी यतै हुँदा गोधूली साँझ परोस् अनि पर धूपीसल्लाको वनमा बिस्तारै हिउँ पर्न थालोस्।”
सन्ध्या पछाडि फर्केर मलाई हेर्छे। म आफ्नो निधारले उसको निधारमा हल्का ठक्कर दिन्छु। ऊ मुस्कुराउँदै अघि फर्कन्छे र मेरा हत्केलाहरूलाई कसेर आफ्नो शरीरमा बाँध्छे। अनि ऊ एकोहोरो धूपीसल्लाको वनतिर हेर्दै मेरा हातमा आफ्ना कोमल औँलाहरू बिसाउँदै बोल्छे –
“थाहा छ राइटर? म पनि एकदम त्यही सोच्दै थिएँ।”