तल्लाघरे काका

काका निकै मिजासिला स्वभावका छन् । उखान टुक्का फ्याट का फ्याट भन्न सक्ने चतुर । चुट्किला सुट्किला पनि हान्न सक्ने मजाकिया । आफन्त भनेपछि हुरुक्कै गर्नै । ज्यानै फ्याल्ने । निकै सहयोगी । कर र अर्काको आँखामा डर भनेपछि औधी खुशी हुने । मनलागी नियम बनाइदिने । निकै फ्रि फ्याङ । हिप्पि स्टाइलका छन् काका ।

गैंडाको जस्तो पुट्ट निस्किएको खाइलाग्दो भुँडी । चिलका जस्ता दूरदर्शी आँखा । अनेक मान्छेका अनेक किसिमका दुःख सुनेर पनि मुसुक्क मुस्कुराउन सक्ने । हाईनाको मानवीय भर्सन । गिद्धको जस्तो, जस्तो सुकै सिनो पचाउन सक्ने बानी भएका । हत्या गरेपनि सुकोमल छन् ति हात । ढलक्क ढल्किएको टोपी । टोपीको बारेमा उस्तै ज्ञान भएका । चलाउन नसकेपनि देश चलाउँछु भनेर आँट गर्न सक्ने ढाँटीला, आँटीला । खुकुरी नचाएर गाँउ शहर हल्लाएर/तर्साएर हिँडेका क्रान्तिकारी । चरिहरूको नाइके जस्तो नाक । निकै हेन्सम छन् काका । निकै भलाद्मी छन् काका ।

गाउँको शुद्ध तोरिको तेल पिसाएर । त्यसमा मेथी पड्काएर । लसुन फुराएर । ज्वानोले झानेर । मस्तसंगले तातेको तेलले । काकाको गुप्ताङ्गमा मालिस गरिदिएपछि पुग्यो । काका मख्ख । अनि त के माग्छौ । मन्त्रालय कि दुतावास? जे भन्यो त्यही पाइन्छ । रोजीछाडी । विद्यानस्ट! पाइन्छ ।

कोही वडा अध्यक्षमै चित्त बुझाउछन् । गाँउका दुई चारवटा कुखुरा चोर्छन् । पिर्के सलामी खान्छन । बस ! पुगिगो उनीहरूलाई । कोही मेयर माग्छन् । आठ-दस करोड ग्वाम्म खायो । चौरासी व्यञ्जन भोग लगायो । काकाका बारेमा मिठा मिठा जोत हान्दियो । काका फ्ल्याट! । काकालाई यस्तै मान्छे मनपर्छन् ।

कोही मन्त्रालय पनि मागी पो हाल्छन् । टाउकोमा रून्चे रातो बत्ती बालेर हिँड्नुमै शान देख्छन् । आनन्द पाउँछन् । रमाउँछन् । पाँच सात ठाउँमा उद्घाटनको रिबन काट्छन् । अघाउँजी खान्छन् । छेर्छन् । डकार्छन् । अनि जय जय गाउँदै बस्छन् ।

आफन्त भनेपछि भनिहालेँ त । हुरूक्कै नि हौ । चाहे भर्खरै हत्या गरेर आएको हत्यारा होस् । या बलात्कारी । रगत चुस्ने बानी भएका भ्याम्पायर हुन कि गाउँनै गायब बनाउन सक्ने जादुगर । सबलाई कोटा छुट्याएका छन् । तुमे वः माता च पिता तुमे वः भनेर भजन गाइदिन पर्छ । एकछिनलाई भगवान बनाइदिन पर्छ । त्यसपछि त आशिर्वादै आशिर्वाद । जे गरेपनि तथास्तु ! जसो भए पनि तथास्तु ! तेत्तिस किलो सुन पचाउन । कि सत्तरी करोड डकारून् । सबलाई काखी च्यापछन् । अलिअलि काखी गन्हाउँला । त्यति त पचाउन परिगो नि । आफ्नाले नपचाए कसले पचाउँछ?

जमानामा जेल जाँदा आठ दशवटा किताब पढेको कुरा त गर्नुहुन्छ काका बेलाबेला । तर उत्ति साह्रो काकाको दिमागले भ्याएनछ क्यारे । भुत्लोभाङ केही बुझिनँ भन्नुहुन्थ्यो । आफू नपढेको भएकाले काका नपढेकालाई औधी माया गर्छन् । सकभर कसैको दुई किलास पढ्ने जति पनि बुद्धी छैन भने काका उसलाई राष्ट्रपति पनि बनाइदिन बेर लगाउँदैनन् । उनीहरूलाई टाढा जान दुःख भयो भन्ने भान भयो भने त झन हेलिकप्टरै किन्दिन्छन् । करोडौंको त गलैंचा दिन्छन् । पैसाको लोभ छैन काकालाई । आफूले कमाएको पैसा होइन । त्यो अलग्गै कुरा हो ।

पढेकाहरू आफ्ना गाउँका छन् भने काका जे पनि गर्न तयार हुन्छन् । अन्तका छन् भने सौताको छोरोलाई झैं व्यवहार गर्छन् । अरूले धेर पढेको, धेर बुझेको, धेर बोलेको, धेर लेखेको मनपर्दैन काकालाई । काका डन हो नि त ।
आफन्त भनेपछि भनिहालेँ त, हुरुक्कै गर्छन् । गुहु पनि सोहोरिदिन्छन् । छाद पनि सफा गर्छन् बुढा । अस्ती कसले हो टन्न घिचेर काकाको मुखभरि वाकेछ । अँह, रिसाएनन् काका कत्ति पनि । धरोधर्म । बरू “यो मेरो मान्छे हो, कसैले भोलि औंलो नठड्याउनु” पो भने । अरुले त रोएको पनि देखिसक्दैन । सिधै मुखमा घोचो हालिदिन्छन् । कि जिब्रै थुतिदिन्छन् । एउटा कहाँ हो कहाँ पश्चिमतिरको मान्छेले भोक लाग्यो भनेर भनेछ । काकाको पारा झण्डैले चढेन । झण्डै मारेका अपराधीलाई ।

ए अँ साच्चै । भोग लाग्ने । दुःख गर्ने या दुःखका कुरा कुरा गर्ने । फाटेका लुगाफाटा लगाउने । स्वतन्त्रता माग्ने । शिक्षा/स्वास्थ्य माग्ने मान्छेसँग काकालाई एकदमै रिस उठ्छ । “घाँटी नै न्याकिदिउ कि झैं हुन्छ” भन्दै थिए काका । भाउन्न भएर आउँछ रे । त्यत्तिकै मर्छौ कि मै मारौँ ? भनेर खड्ग उचालेर ताण्डव नाच्छन् काका । बुढालाई यो हरियो बाँसमा टुँ पारेर लैजाने बेलामा । दुःख पनि कति दिएका होलान् पाखण्डीहरूले । चुपचाप मर्नु नि । हल्ला गर्दै मर्नपर्छ? । कत्ति न अरूलाई र काकालाई फरक पर्ने जस्तो ।

काकाले बन्देज लगाएका कुराहरू हेर्न हेराउन हुँदैन । सुन्न सुनाउन हुँदैन । बोल्न त झन् जिब्रो र ज्यानको माया नभए मात्रै हो । रिसाहा छन् यस्तो कुरामा । काकाले छेरेको । हस्तमैथुन गरेको । कुराहरू गर्यो/लेख्यो/पढ्यो भने ठिकै छ । हाइसञ्चो हुन्छ । आराम हुन्छ । पुरस्कारै दिन बेर लगाउँदैनन् ।

हुन त जुनसुकै क्षेत्रमा नातावाद हावी छ । साहित्य होस् कि चलचित्र । प्राइभेट होस् कि सरकारी कार्यालय । राष्ट्रिय पुरस्कार वितरण होस् कि राहत वितरण । कर छुट होस कि कर बढाउने कुरो । असपताल होस कि राम्रो अवसर भएको वैदेशिक रोजगारी । आमाको पेटबाटै कसले जानेर आएको हुन्छ र? ती सबैले काकाबाटै विशेष कक्षा लिएर जानेका हुन् ।

सूकुलगुण्डा होस् कि डाँका । पानीमरूवा होस् या देशै खान आँट गर्ने र्‍याले । नाच्न नजान्ने टेढे होस् कि बोल्न नजान्ने अपजसी । होली वाईन खाने जँड्याहा होस् कि जातको खुकुरीले मान्छे मार्ने साधु । काकालाई सब चाहिन्छ । सबलाई माया गर्नुहुन्छ काका । सबले काकालाई माया गर्छन् । र पो घुम्न पाएको छ पृथ्वी आनन्दले ।

ए अँ साच्चै सक्ने बेलामा याद आयो । एउटा कुरो भन्नै बिर्सेछु । काकालाई भ्रष्टाचार गर्ने मान्छे भनेपछि, पटक्कै मनपर्दैन । ग्वाम्मै अंगालो हाल्छन् । उस्तै परे चुप्पै खाइदिन्छन् ।
च्वाप्प!

Facebook Comments

You may also like

error: Content is protected !!