आजभन्दा धेरै पहिलेको कुरा हो । केही कागहरूले पानी समेत नपिइकन शत्रुहरूसँग रातदिन लडेर जोगाए । एउटा गाउँ । गाउँको बिचमा रोपिएको थियो । एउटा बेलको रूख । वर्षैभरि लटरम्म भएर पाक्थ्यो बेल । ती पाकेका बेलहरू केहि निर्दयी तथा शक्तिशाली चराहरूको आहार थियो । मिलाएर, घुमाएर या यसो गरेर, उसो गरेर । यसो भनौँ बेलको रूखमा श्रीपेचधारी चराहरूको स्वामित्व थियो । तर सम्पूर्ण नियम कानुनहरू भने निर्दयी राणा चराहरूको लाग्थ्यो । बिस्तारै बाँकी कागहरूमा आक्रोश बढ्दै गयो । खैलाबैला मच्चियो । चिरबिर-चिरबिर, काँउ-काँउ…।
अन्ततः सम्पूर्ण कागका बथान र तिनको नेतृत्व लिनेहरू सिउरमा श्रीपेच भएको चराहरूसँग मिले । लेखेटे ती निर्दयी चरा तथा शक्तिशाली चराहरूलाई । स्थापित भयो गाउँ । गाउँ स्थापना भएको सात दिनपछि कागहरू मख्ख परे । सोचे अब हामीले पनि खान पाउँछौ – बेल । तर सत्र दिनपछि श्रीपेचधारी चराहरूले पाक्दा नपाक्दै त्यो बेलको रुखमाथि आफ्नो अधिकार जमाए। सत्र दिनपछिका दिनहरूमा श्रीपेचधारी चराहरू बेलको रुख रुघ्न थाले । कागहरू हिस्स परे ।
एवं रितले बेलको रुखमाथि श्रीपेचधारी चराहरूको स्वामित्व रहिरह्यो । ती निर्दयी कागहरूमा आक्रोश उम्लिँदै गयो। विरोध गर्न थाले ती कागका बथानहरूले। १८औं दिन, ३३औं दिन पनि उनीहरू विरोधमा उत्रिए । लडिरहे । आफ्नो अधिकार प्राप्तीको लडाइँमा । ३६औं दिनतीर उनीहरूको हातमा आइपुगिसकेको बेल पुन: खोसियो । खोसेर लाने तिनै श्रीपेचधारी चराहरू नै थिए ।
कागहरूको रिसको सिमा रहेन । ४६ दिनताका कागहरू उग्र भएर आए । आक्रोशले आँधिएका कागहरूले घेरा हाली ठुङ्न थाले श्रीपेचधारी चराहरूलाई । घेरेर राखे बेलको रूख । तत्पश्चात श्रीपेचधारी चराहरू र ती विरोधमा उत्रिएका चराहरूबीच मिलेर खाने, बेलको हेरविचार गर्ने, अन्य चराहरूलाई मुन्टो झुकाएर हेर्न समेत नदिनेजस्ता सल्लाह, सम्झौता भए । कागका मुखियाहरू (जो कोइली थिए वास्तवमा) र श्रीपेचधारी चराहरू दुवैले सल्लाहबमोजिम नै सेवन गर्न थाले, बेल । मुख मिठ्याइरहे बाँकी कागहरूले, तर चाख्नसम्म पाएनन् । घरी श्रीपेचधारीले, घरी कोइलीहरूकै आहार भइरह्यो त्यो बेल । बाँडिएन ती पाकेका बेल बाँकी कागहरूलाई ।
जति गर्दा पनि बेल खान नपाएको रिसमा केही कागहरू जंगल छिरे । कोही अर्कै गाउँतिर बसाइँ सरे । तर गाउँ छोडेर जंगल पसेका ती कागहरू बेलाबेला गाँउ आउँदै उधुम मच्चाउन थाले । स-साना बचेराहरूलाई जबर्जस्ती या ललाइफकाइ गर्दै आफैसँग जंगल छिराउन थाले । ती स-साना बचेराहरूलाई जंगली बनाउन थाले । बेलको रुख देखाएर इमोशनल ब्ल्याकमेलिङ गर्न थाले । ब्ल्याकमेलिङले ब्ल्याकम्याजिकले जस्तै कागहरूलाई बलिको बोकोमा बदलिदिन थाल्यो । सीउरविहीन ती ब्ल्याक चराहरू बेल खान पाए त सीउर नै उम्रेला भन्ने भ्रमले मत्त भई आफै समेत ब्ल्याकम्याजिकको सम्मोहनमा परी बलि नचढेका होइनन्।
जंगली कागका वथान र गाँउको रक्षामा खटिएका कागहरू निक्कै दिन लडे । आफू आफू मरे । नाइकेहरू भने आन्नदले विश्राम गर्थे कुनै आरामदायी गुँडमा । हजारौ कागहरू मारिए । खुनको खोलै बग्यो गाँउमा । यत्तिकैमा ५८ दिन बिते।
त्यसै ताका बेलको कुरालाई लिएर श्रीपेचधारी चराहरूमा ठुलो लडाइँ भयो। केही मरे केही बाँँचे । बाँचेका चरालाई कसैले हत्यारा, कसैले भाइमारा सोचे, सबैले निर्दयी सोचे । यही मौका छोपेर जंगल छिरेका कागका बथान पनि आए । उकास्न थाले गाँउका कागहरूलाई । “अब यही मौका हो, यी श्रीपेचधारी चराहरूलाई गाउँदेखि लखेट्न पाए, तपाईं हामीलाई भाग लाग्छ, बेल । हाम्रो भाग तिनीहरूले खाँदैछन् । ” गाँउका कागहरूलाई पनि भन्ने नै हो भने श्रीपेचधारी चराहरू मन परेको थिएन । जंगल छिरेका कागहरूको कुरा सुनेर उग्र रिसाएजस्तो गरे कोइलीहरू । गाँउका निर्दयी कागहरू । ती जंगली कागहरूमा पनि बेल खान नपाएको रिस उस्तै थियो ।
६२/६३ दिनतिर ती जंगली काग तथा कोइलीहरू एकापसमा मिले । ठुङेर, नङ्ग्रयाएर धपाए – बाँकी रहेका श्रीपेचधारी चराको बथानलाई ।
अहिले पनि कहिलेकाहीँ र्याल चुहाउँदै । गाउँतिरै उडिरहेको देखिन्छ भन्छन्- ती श्रीपेचधारी चराहरू । जे होस् कागहरू फेरि मख्ख परे । अब बेल पक्कै खाइन्छ । तर आफ्ना भनाउँदा जंगली कागका नाइके धोकेबाज निस्किए । मिलेर कोइलीहरूसँग खाइरहे बेल । बाँडेनन् अरू कागहरूलाई । कोइली र ती जंगली कागहरूले खाएको बेल हेर्दै, मुख मिठ्याउँदै । आजसम्म पनि, बिचरा साधारण कागहरू काँऊ काँऊ… गरिरहन्छन् भोकले । मरिरहन्छन् शोकले। के भन्नु भयो ? दोहोरियो ? उखानै छ नि, इतिहास दोहोरिन्छ भनेर !
अँ, उखान भन्दा याद आयो ! यही गाउँबाट शुरू भएको मानिन्छ किंवदन्ती-
“कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !”