बाबाको चमत्कारी ढुङ्गा | ढिच्क्याउँ | काव्यालय-Kavyalaya

बाबाको चमत्कारी ढुङ्गा !

केही पर्यटक एउटो दोभासे गाइड लिएर गर्दै गर्दा भ्रमण कुनै डाँडाको र कतै जंगलको। देख्छन् एउटा चौतारामा मजाले पलेटी कसेर श्रीमती पीडितजस्ता एउटा बाबा लीन छन् ध्यानमा। या सायद छन् गाँजाको ट्रिपमा। उनले खुम्चिएको खुट्टाको दुवै पिडौलाको बिचमा राखेका छन् एउटा अद्भुत कालो ढुङ्गा। केहीबेर घोत्लिएपछि ठ्वाँस्स गह्नाउँछ र देखिन्छ कुख्यात केही साना तारहरू बेरिएको।

लामो दाह्री पालेका बाबा पक्कै चुनाव हारेका नेता हुन् या  भाइरल हुन बाँकी कुनै अघोरी या आतंकवादी। अड्कल काट्छ गाइड। नेपाली न पर्यो। उता खासखास खुसखुस पर्यटकहरू भने अंग्रेजीमा। सायद त्यो बम हो भन्ठान्दैछन्।

एकैछिनमा डोजर हेर्न गएका स्थानीय भेला हुन्छन्। त्यसैमध्ये कति नासा जान अलिकतिले चुकेका वैज्ञानिक। 

फेसबुकमा देशको हित चिताउने देशभक्त। पारसले कसरी क्रिकेट खेल्नुपर्छ भनेर सिकाउने प्रशिक्षक। गाँउघरमा कसको घरमा के हुँदैछ जानकारी राख्ने स्थानीय संवाददाता, नारद। बाह्रघरे चौधघरे दादा। उनीहरू त्यो ढुङ्गामा आफ्नो अधिकार जमाउन थाल्छन्। यत्तिकैमा ईश ठानिए नेता पनि आइपुग्छन्। र्‍याल चुहाएर त्यो ढुङ्गा सोही वडाको सम्पत्तिमा गनिने जानकारी दिन्छन्।

अनि आँउछ फ्वाँ फ्वाँ गर्दै आवाज निकालेर। सायद साँढे। सब भयभित। ए! होइन रहेछ। प्रहरी आयो भागौँ। खैलाबैला। ढुङ्गा हानाहान। प्रहरीले सेना बोलाउछन्। सेनाले के सोच्छन् कुन्नि। ढ्यानट्याड्याङ। बम निष्क्रिय टोली। टोलीले बम नभएको कुरा राख्दा नराख्दै फैलिन्छ हल्ला नगरभरि। 

अब मेयरको इन्ट्रि टुङ टुङ ढिस! यसलाई बेचेर कति माल हात पार्न सकिन्छ। कसलाई कति-कति कमिसन बुझाउन पर्छ। मनमनै हिसाब गर्दै हुन्छन्। श्रीमान परदेश गएकी नारीहरूसँग सल्किने नाठो जसरी हल्ला त देशैभरि.

हाई काढेर। तास खेलेर टाइम पास गरिरहेका पुरातत्व विभाग पनि दाह्रा ङिच्याउँदै आयो। पुरातत्वविदहरूले देशको विभिन्न भागमा पाइने खनिज, सुन र हिराजस्तै पक्कै पनि यो ढुङ्गा अनमोल रत्न र देशको सम्पत्ति भएको अड्कल काट्छन्। बानी हो नि हाम्रो त अड्कल काट्नु। घाँटी नापेर पाइन्ट लिनु। सूर्य देखेर समय भन्नु।

टिलिक्क टल्किएको कालो। कतै खुजमुजिएको।
थोरै माटो र बालुवा लागेको। अलिकति झार उम्रिएको।

उक्त ढुङ्गा शालिग्राम, नागमणि या कुनै शक्तिशाली दैविक ढुङ्गा रहेको। केही पंडित, ज्योतिष र पिठाधिसहरूले सुनाउँछन्। अब चाँडै त्यहाँ मन्दिर बनाउन पर्ने कुराको अडान पनि पो गर्छन। कविहरू फटाफट कविता लेखिहाल्छन्। गजलकारहरूलाई त झगडा गर्दै ठिक्क छ। कसैकसैले एकदुई शेर भने ठोके।

युट्युबे पत्रकारहरूले  सधैँझैं अनेक अफवाह फैलाउँछन्। ढुङ्गालाई एकैछिनमा बम, एकैछिनमा हिरा बनाउँछन्।

पहिलोपटक ढुङ्गा देखिएको यो ठाउँमा। अब वर्षैपिच्छे मेला लगाउने। सरकारसँग बजेट माग्ने कुरा त्यस क्षेत्रका सांसदले उठाउँदै ढुङ्गा त्यही क्षेत्रको गरिमा रहेकाले अन्त लैजान नमिल्ने। बरू देश टुक्राउने। त्यो क्षेत्रलाई बेग्लै राष्ट्र घोषित गर्ने धम्कि नै दिए। लु जा !

महिला अधिकारकर्मीहरू, त्यो ढुङ्गा कुनै महिलालाई शोषण तथा घरेलु हिंसाका बेला प्रयोग भएको हतियार हुनसक्ने र यसलाई ढाकछोप गर्न खोजिएको भन्दै रिसाए। छोरी चेलीलाई विशेष औषधीले उपचार गर्न पल्किएका वैद्यहरूले ध्यानका लागि विशेष औषधी। चिट चोरेर पास भएका डाक्टरहरूले ठुलै रोगको भ्याक्सिन बनाउन मिल्ने कुनै केमिकलको सम्मिश्रण। वैज्ञानिकहरूले खोजको विषय। केटाकेटीहरूले गट्टा।

फरक-फरक आँखाको फरक-फरक निर्क्यौल।

राष्ट्रपतिको हो या केक डेलिभरि दिने कुनै अनलाइन डेलिभरि संस्थाको हो, हेलिकप्टरबाट स्वयं प्रधानमन्त्री आए। जाँचबुझ गरी, ढुङ्गा आफ्नो पार्टीको रोहबरमा विशेष सुरक्षाका साथ रहने घोषणा गरे। होहल्ला मच्चियो। विपक्षी दलले यो हुनै नसक्ने कुरा भन्दै आफ्ना कार्यकर्ता उचाले। मासुभात र रक्सीको आश देखाए। अश्रु ग्याँस र रबरका गोलीहरू तुरुन्त झिकाइयो।

भिड मध्येबाटै एउटा भोको बालकले खानेकुरा सोचेर च्याप्प समायो ढुङ्गा। झल्याँस्स ब्युँझिए बाबा। वरिपरि हेरेर मुसुक्क मुस्कुराए र बिस्तारै उठे। बाब उठेसँगै लत्रिँदै, हल्लिँदै ढुङ्गा हरायो एकाएक उनको धोतीभित्र कतै!

सबैजना छक्क!

केही दिनपछि बाबाको मृत शरीर एउटा खोलाको बगरमा भेटियो। जसबाट गायब भएको हुन्छ त्यसको अण्डकोष!


Facebook Comments

You may also like

error: Content is protected !!