असुर पाताल

रक्तबीज, बकासुर, यो सुर, उ सुर, गु सुर । राक्षसै-राक्षस, असुरै-असुर । तिनैको संस्था “असुर-पाताल” उर्फ अस्पताल । त्यसमा केही प्रह्लादहरू छन् । विभीषण पनि छन् । अधिकांश डाँका छन् । मान्छेको मासु खाका छन् । त्यसमा काम गर्ने । पैसा भनेपछि मर्ने । काम बचाउने हो तर पाए प्राण हर्ने ।

विशेष किसिमको केमिकलले तयार गरिरहेको हुन्छ एउटा “डाउटर”। लुट्न मात्र खोज्छन् । बहाना बनाएर सुई घोच्छन् ! सायद, अरूलाई पैसाको मेसिन सोच्छन् ! ? चिरफार गरिहालो । लाखको बिटो झरिहालो । लघु उपन्यासजस्तो नबुझिने अक्षरमा औषधीको बिल। रोऊँ कि हाँसू जचाउनेलाई फिल ! सेवा भन्दै चलाकै छन् दोकान ! पाएकै छन् मान ! दिएकै छन् सान ! बढि बोल्नेको उही हो, नाक, आँखा, कान !

फेरि सबै उस्तै हुन्छन् भनेको होइन ! सरकारकै अनुहार परेको दूरुस्तै हुन्छन् भनेको होइन। कतै कोही डाउटर भन्दा बेसी हुन्छन् । चिकित्सा क्षेत्रको मेस्सी हुन्छन् । रोनाल्डोका फ्यानले मन नदुखाउनु । उदाहरण हो, कोही रूईत कोही के. सी हुन्छन् ।

असुर-पातालको लत जाँडरक्सी, जुवातास भन्दा भयंकर । आधा सम्पत्ति स्वाहा:। बल्ल थाह हुन्छ कहाँ । ए त्यहाँ? कहाँ? डाउटर होस् कि रोगी । डाउटरको पढाइमा । रोगीको सलाईनपानी चढाइमा । बिचरा डाउटरको कुनै दोष पनि होइन । लाखौं लगानी गरेर किनेको सर्टिफिकेट बापत दुईचार जना त मार्नै पर्यो । दशैं-तिहार, शनिबार मासुभात दार्नै पर्यो । जग्गा बन्दकी राखेको फुकाउनै पर्यो । आठ-दस किड्नी, पाँच-सात कलेजो त लुकाउनै पर्यो ।

इमानमा जेसुकै भएपनि । शरिरमा सेतो कोट लगाएर । घाँटीमा माला झुण्डाएर । उनीहरूलाई पनि हिड्न कहाँ मन हो र ? जन्मिने बित्तिकै बा’ले “मेरो सन्तान डाउटर बन्च” भनेपछि के लागोस् बिचाराहरूको । सके अठार घण्टा पढ्ने । होइन भने खेत छँदैछन्, घण्टा पढ्ने ? बेच्ने, किलास चढ्ने !

किलास जान अल्छि लागे खेताला राख्ने । खेताला पनि राख्न झ्याउ भए बजारमा जाने । एउटा डाउटरको प्रमाणपत्र किन्ने । सरासर असुर-पाताल हिन्ने। पछि त छँदैछन् नि । जति टेस्ट उनीहरूले पढुन्जेल दिए । त्यती हरेक रोगीलाई भिडाउने । बाह्र नम्बर कान्टर, चौध नम्बर कोठा भन्दै कुदाउने । टाउको दुखेर आउनेलाई चार दिन सुताउने । बिल देखाएर तर्साउने । हर्ट एट्याक आउँछ । फेरि भर्ना गर्न लगाउने ।

रोगी पनि कमका हुन्छन ? । म सधैँ पुईक्क पाद्थेँ । अचेल दुईदिनदेखि भ्वाँक्क पाद्दैछु भन्दै रून्छन् । पेट फुटुन्जेल चिल्लो, चट्पटे, सेकुवा, छोईला, ग्रेभी, पानीपुरी नानाथरि घिच्छन्। टाउको दुखुन्जेल रम, ह्विस्की, भोड्का, जिन, खोया बिर्के पिउँछन् । फोक्सो गलुन्जेल बिँडी, चुरोट, सिगार, हुक्का तान्छन् । गाला च्यालिउन्जेल गुटखा, पान, सुर्ती, रजनीगंधा च्यापछन् । फ्रेसमा बस्नै सक्दैनन् । सधैँभरि झ्याप छन्।

निको पार्दिए जय ! जय ! जय ! जय ! कोनि? पार्दिए ढुङ्गा मुढा हान्दियो । झापड, लात, मुक्का तान्दियो । सजिलो छ । कानुनले आँखा देख्दैन । कान त्यस्तै कुनै नाम पछाडि डाउटर जोड्नेले बिगारिदिएको छ । कहिलेकाहीँ लाग्छ देशको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै, असुर-पातालले स्यामसुङ फोनको रणनिती अपनाएको हुन सक्छ । स्टोरेज फुल भनेर डाउटरलाई मेसेज आउँदो हो । उनीहरू भटाभट डिलिट गर्दा हुन । कोही-कोही फरम्याट पनि हान्दा हुन् । राम्रै हो । देशको हित चिताउनु । दुई चारजना बिताउनु ।

कुनै-कुनै डाऊटर र रोगी दुश्मन बनेको हुन सक्छ । “तेरो आँखा निकालेर गुच्चा खेल्छु” भनेको हुन सक्छ। वाचा त पूरा गर्नै पर्यो। कुनै साथी होलान् । अप्रेसन सकिएपछि । पेटमा कैंची/पञ्जा उपहार छोड्दै रोलान् । भू. पू पर्ली । लजाउँदै उपचार गर्नै पर्यो । एक ठाउँमा काट्न खोज्दा अन्त काटिएला । भै’हाल्छ नि हौ प्यारमा । वर्षौंको इन्तजारमा ।

उनीहरूको पनि त जागीर हो । गएर गिर्ने काम हो । दुखे औषधी । पाके चिर्ने काम हो । दोष उनीहरूको होइन । जे होस् उनीहरूको होइन । तिनलाई चलाउने हातको हो । अपराध गरी ङिच्च पर्ने दाँतको हो । त्यस्तालाई चिन्न पर्छ । सतर्क भएर हिन्न पर्छ।

घोक्र्याउन /लछार्न/पछार्न या डाँडा कटाउन पर्छ । चिकित्सा क्षेत्रबाट हटाउन पर्छ । होइन भने स्वास्थ्य सधैँ यसरी नै चिच्याइरहन्छ “म स्वास्थ्य हुँ मलाई हरेकको पहुँचमा पठाऊ।” रोगले कुरीकुरी गरेर गिज्या[रहन्छ।

Facebook Comments

You may also like

error: Content is protected !!