डिप्रेसन | Anniversary Edition | Kavyalaya - काव्यालय

डिप्रेसन

“कति चिन्ता लिन्छस् हौ केटा, लगभग एक वर्षजति पूरै संसार नै लकडाउनको चपेटामा पर्‍यो। यो विषम परिस्थितिमा एकाध मान्छे भन्दा बाहेक कसले के नै पो गरेका छ्न् र? बेरोजगार भएँ, भविष्य केही देख्दिनँ, अब कसरी जिन्दगी बिताउने होला? उमेरले नेटो काटिसक्यो, बर्बाद भइयो भन्ने कुरा छाडिहाल सुरुमा। यो बेला तनाव र चिन्ता लिने होइन, बरू केही नयाँ कुरा सिक्ने र अध्ययन गर्ने समय हो। आफूले आफैलाई दिने समयमा तँ दुनियाँथरी कुरा सोचेर बसेको छ्स्।”
लगातार दाजु बोलिरह्यो,
“अब मलाई नै हेर न! कति महिनाको कोठाको भाडा, सटरको भाडा त्यसै तिर्नुपरेकै छ। पसल खोल्न नपाएको पनि यत्रो समय भयो। साहुको पैसा कहाँबाट तिर्नु? सबथोक किनेर खानु परेको छ, न व्यापार छ न पैसा! अब यो समयमा यस्ता यावत कुरा खेलाएर किन चिन्ता लिनु। बिस्तारै सबै कुरा सहज हुन्छ अनि सबै कुराको व्यवस्थापन पनि आफै मिल्दै जान्छ। आफूलाई केही कुरामा व्यस्त राख्, केही नयाँ कुराको सुरुवात गर् बरू। अनगिन्ती समस्या आफै जन्माउँदै आफै त्यसमा रुमल्लिएर तनाव लिएर नबस्। मस्त हाँस्, मस्त बाँच्……”
अचानक आवाज रोकियो। कानको स्पर्श गरिरहेको मोबाइललाई आँखाको सामुन्ने राख्दा पो चाल पाएँ, ब्याट्री डेड भइसकेछ।

तत्कालै, अर्को तनावले घेरा हाल्यो, बिहानदेखि बत्ती छैन, अब यो ठाँडो( मोबाइल \ हजुरआमाको भाषा अनुसार “पातो”)लाई कहाँ लगेर चार्जमा राख्नु? अघि भर्खर फोनमा करिब आधाघण्टा जति चिन्ता गर्नु हुँदैन, तनाव लिनुहुँदैन भनेर भाषण सुनिरहँदा मलाई एउटै कुराले पिरोलिरहेको थियो। हिजो मात्र मोबाइलमा हालेको १०० रुपैयाँले डाँडो काट्नै लाग्यो होला भनेर म मनमनै चिन्तित थिएँ। के कोही यसरी चिन्ता लिनु हुँदैन भन्ने कुरा सुन्दै गर्दा पनि चिन्तित हुन सक्छ र ( म चाहिँ सक्दो रहेछु)? कहिलेकाहीँ त मलाई अचम्म लाग्छ, यति सानो सानो कुराहरूमा पनि चिन्तित हुने म, मेरा लेखहरू पढ्दा हजुरहरूलाई झन् कति चिन्ता लाग्दो हो है, कति निराश हुनुपर्दो हो है? यो लेख म चिन्ताहरूकै बारेमा लेख्दै छु। आशा छ, झनझट नमानी, दिक्क नमानी पढ्नु हुनेछ।

यदि कसैले मलाई ‘संसारमा सबैभन्दा शक्तिशाली चिज के हो?’ भनेर सोधे म सहजै भन्न सक्थे, ‘मान्छेको कल्पनाशक्ति।’ अब एकपटक कल्पना गर्नुहोस् त, यो संसारमा चिन्ता नलिने, निराश नहुने अनि तनाव नै महसुस नगर्ने मानिस कतिजना होलान् या भनौँ कोही होलान् र? के हजुरहरूमध्ये कसैलाई ‘मलाई त तनाव नै हुँदैन, म चिन्तित कहिल्यै भएको छैन’ भन्ने अनुभव छ? निश्चय पनि छैन होला र त्यो कसैलाई हुँदैन पनि। मोह, माया, रिस, राग, चाहना, रहर, सपना यी सबैकुरा हरेक मानिसले आफ्नो जिन्दगीमा समेटेको हुन्छ। हो, त्यस्तै गरी चिन्ता, निराशा, तनाव, दु:ख पनि हरेकको जीवनमा हुन्छ नै। चिन्ता र तनाव सबैलाई हुन्छ। यसलाई सामान्य रूपमा लिन सकिन्छ तर जब त्यो चिन्ता र तनावमा हामी पिल्सिन थाल्छौँ, त्यो भयानक हुन्छ। डिप्रेसन अर्थात् मानसिक चिन्ता जसलाई मनोरोग पनि भनिन्छ,।

यसको प्रमुख कारण नै अत्यधिक चिन्ता, तनावले ग्रसित हुनु हो। मेरो विचारमा लगाम लगाउन नसकिने मन अनि नानाथरी सोच्न सक्ने कल्पनाशक्ति डिप्रेसनका सार तत्त्व हुन्। कोही मानिस डिप्रेसनमा पर्नुका थुप्रै कारणहरू हुन सक्छ्न्। सबै मानिस यही एउटै कारणले त्यो अवस्थामा पुग्छ्न् भनेर भन्न सकिँदैन। हामी प्रतिस्पर्धाको दुनियाँमा छौँ। सबै आफूलाई त्योभन्दा म अब्बल छु भनेर देखाउन चाहन्छ्न्। कुनै पनि कुरामा मानिस पछाडि हट्न चाहँदैन। एउटा चाहना पूरा भएपछि अर्को, अर्को पूरा भएपछि अर्को, यसरी रहरै रहरको एउटा स्वप्निल संसारमा मानिस पुग्दछ। अब यो प्रतिस्पर्धात्मक संसारमा सोचेबमोजिमको नतिजा नआउँदा, थुप्रै परीक्षामा असफल हुँदै जाँदा, आफूले चाहेका र देखेका सपनाले आफैलाई थिच्दा, स्वप्निल संसारमा साँचेका रहरहरू पूरा गर्न नसक्दा थुप्रै मानिसहरूमा निराशा र तनाव पैदा हुन्छ। जसले त्यो तनावलाई झेल्न सक्दैन, त्यसमै रुमल्लिएर आफूलाई कमजोर र लाचार सोच्न थाल्छ। त्यो मानिस बिस्तारै मानसिक चिन्ताले पिरोलिन थाल्छ।

हाम्रो गाँउमा हरेक रात केही मानिसहरू रक्सीको नशामा लडिरहेका हुन्छन्, कोही बाटोमा पल्टिरहेका हुन्छ्न् त कोही खेतबारीमा। यो देख्दा हजुरआमाले भन्नुहुन्छ, “जबसम्म मानिसले रक्सी खान्छ, तबसम्म ऊ आफ्नै नियन्त्रणमा हुन्छ तर जुन दिनदेखि रक्सीले मानिसलाई खान थाल्छ, त्यसपश्चात त्यसको हालत बेहाल हुन्छ, त्यो मान्छे त्यसै सकिन्छ।”

त्यो कुरा चिन्तामा पनि लागू हुन्छ। मानिसले चिन्ता लिनुसम्म त ठिकै छ तर जुन दिनबाट चिन्ताले मानिसलाई समाउँछ त्यसपछि मानिस बर्बाद हुन्छ। कुनै चिजप्रतिको आसक्ति पनि डिप्रेसनको एउटा कारण हो। कोही केही कुरामा यति आसक्त हुन्छ कि उसले त्यो बाहेक कुनै विकल्प नै देख्दैन। त्यो एक प्रकारले राम्रो कुरा पनि हो, त्यहाँ उसले आफ्नो सबथोक लगाएको हुन्छ, आफ्नो सतप्रतिशत दिएको हुन्छ। ऊ त्यस कुरामा सफल भयो भने पक्का नामुद मानिस बन्छ नै। तर, त्यहाँ सबै सफल त हुँदैनन्। केही मानिसहरू सफल होलान् तर प्रायः असफल नै हुन्छन् अनि उनीहरूले त्यसबाहेकको कुनै विकल्प नै देख्दैनन् अनि बिस्तारै डिप्रेसनमा पर्छन् र अन्त्यमा आत्महत्याको कदम चाल्छ्न्।

जब मानिसले बाँचेर आफ्नो अस्तित्व नै बोध गर्न सक्दैनन्, कुनै कुरामा यति धेरै आसक्त छ तर त्यो उसले प्राप्त गर्ने कुनै आधार नै बाँकी नरहेपछि, ऊ, त्यो कदम चाल्नु नै समाधान हो भन्ने ठान्दछ। पटकपटक आफ्ना सपना पूरा गर्न नसक्नु, कुनै जागिरको निम्ति सबथोक दाउमा लगाएर मिहेनत गर्दागर्दै पनि बारम्बार असफल हुनु, प्रेम सम्बन्धमा असफल हुनु या चाहेको मानिससँग विवाह नहुनु। यी सबै उदाहरणहरू डिप्रेसनका कारण हुन्। घरबाट टाढा हुनु अनि साथ दिने कोही नहुनु, देखावटी संसारमा हराउन खोज्नु, आधुनिकताको नाममा कुलततर्फ फस्दै जानु, चरम बेरोजगारी, गरीबी, सबैतिरबाट हन्डर खानु, जे सुकै गर्दा पनि असफलता हात पर्नु अनि नकारात्मक सोचाइ। यस्ता यावत कुराहरू छ्न् जसबाट मानिसहरू डिप्रेसनको शिकार भइरहेका छन्। यी त भए हामी सबैले लगभग थाहा पाएका कारणहरू।

तर, मेडिकल भाषामा भन्दा शरीरमा भएको न्युरो ट्रान्स्मिटर, जसले हाम्रो आवेग (ईम्पल्स)लाई सन्तुलित राख्ने गर्छ जसको (सेरोटोनिन, नरइपिनेफरिन, डोपामिनको) घटबढले गर्दा मानिस डिप्रेसनमा पर्ने गर्दछ। यो परिवारमा यदि कोही एकजनालाई भएको छ भने पनि हुन सक्ने सम्भावना हुन्छ। हार्मोनको स्तरमा गडबड हुँदादेखि लिएर कुनै शारीरिक समस्या या कुनै रोग; जस्तै कि कसैलाई क्यान्सर भएको छ भने, अब म बाच्दिनँ भन्ने कुरा बढी दिमागमा खेल्ने, कोही दुर्घटनामा परी अंगभंग भएको छ भने र अब म केही गर्न सक्दिनँ, म मेरो परिवारको बोझ भएँ भन्ने भावनाले ग्रसित छ भने पनि ऊ डिप्रेसनको चपेटामा फस्न सक्छ। आत्मबल र आत्मविश्वास घट्नु, अब म केही गर्न सक्दिनँ, म बर्बाद भएँ भन्ने धारणा आफैमा जगाउनु, अनेकन् चिन्ता र तनावले आफैलाई थिचिरहनु, आफ्ना मनका भावना र आफू स्वयंलाई सम्हाल्न नसक्नु नै डिप्रेसनका आधारहरू हुन्।

अनुसन्धान अनुसार डिप्रेसन युवावर्गमा आम मानिन्छ। हुन त बालापन बाबा आमाको काखमा बिना कुनै कमी र अभावमा कटाएको एउटा अबोध र निर्दोष बालक जब क्रुर समाज र दुनियाँको हातमा पारिन्छ, तब डिप्रेसनको सिकार हुनु कुनै नौलो कुरा पक्कै होइन। घरपरिवारको जिम्मेवारीदेखि लिएर आफ्नो जीवनको सम्पूर्ण अभिभारा आफै बोक्नुपर्ने अवस्थामा असफलता झेल्दा हरकोहीको मनोबल अलिकति भएपनि डगमगाउँछ नै, त्यो अवस्थाबाट उम्किन नसक्ने कैयन् युवाहरू डिप्रेसनको सिकार भएका छ्न्। हाम्रो समाज परिवर्तनशील छ, समाज अनुसार नै परिवर्तन हुने बाध्यात्मक परिस्थितिले गर्दा पनि मानिसमा तनावको सिर्जना हुन्छ, जसको फलस्वरूप ऊ जानी नजानी मनोरोगको सिकार भएको हुन्छ।

डिप्रेसन संसारभरि नै उस्तै फैलिएको छ। विश्वभरमा ३५० मिलियन मानिसहरु डिप्रेसनबाट ग्रसित छन्, जसमा महिलाको संख्या बढी छ। दिनभरिको घरव्यवहार, मेलापातदेखि लिएर बच्चाको लालनपालन मात्र नभएर लोग्नेको खुशीको लागि जिन्दगी व्यतित गर्ने अधिकांश गाउँका महिलाहरूमा यो समस्या अझै भयानक हुँदै गइरहेको छ। हुन त डिप्रेसन शहरबजारतिर बढी हुन्छ भनिन्छ तर, कुरा के हो भने शहर बजारमा डिप्रेसनको बारेमा मानिसहरू तुलनात्मक रूपमा उदार छ्न्, खुलेका छ्न् र बताँउछ्न्। डिप्रेसन एउटा मनरोग हाे, जुन आजभोलि लगभग सबैमा आम भएको छ तर बताउन कोही चाहँदैनन् (प्राय: गाउँघरतिर)।

हाम्रो समाजले डिप्रेसन भएको मानिसलाई मानसिक सन्तुलन गुमाएको व्यक्ति या भनौँ पागल, बहुलालगायतको संज्ञा दिने गरेको छ। समाज भनेको को हो? तपाईं, हामीहरूकै समूह न हो। अब एकपटक सोचौँ त, जुनबेला उनीहरूलाई सबैभन्दा बढी समाजको आवश्यकता हुन्छ, त्यसबेला हामी उनीहरूलाई फलानो त पागल भएछ, त्यसले त दिमागको औषधि खान्छ अरे भनेर उनीहरूलाई आघात पुर्याउँछौ। डिप्रेसनमा परेका तीस प्रतिशत (३०%) व्यक्तिहरूले आत्महत्या गर्छन्। जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा म पनि सामेल छु अनि हजुरहरू पनि।

अब डिप्रेसन भएको या नभएको कसरी थाहा पाउने त? त्यो झनै महत्त्वपूर्ण कुरा भयो। डिप्रेसन हुदाँ कुनै काम गर्न जागँर हुदैन, एकान्तमा नै हराउन मन लाग्छ। आफ्नो नजिक कोही नआओस, कसैसँग घुलमिल गर्न नरुचाउने, कोहीसँग बोल्न नपरोस् भन्ने चाहना हुन्छ। सोचको महासागरमा डुबेर हरेक कुरामा आफूलाई असक्षम, आफू नै दोषी अनि आफ्नो भविष्य अन्धकार मात्र देखिन्छ। कुनै पनि काम गर्न आत्मविश्वास हुँदैन, असफल भइन्छ भनेर कुनै काममा हात हाल्ने मनोबल नै बटुल्न सकिँदैन। निन्द्रा धेरै आउने अथवा कम आउने हुन्छ। रातभरि निन्द्रा नलाग्ने, टोलाउने, झनक्क रिस उठ्ने, अनेकन् कुरा खेलाउने, आत्महत्याको बारेमा एकदमै धेरै सोच्ने, भोक नलाग्ने, शरीर मा ताकत हराउँदै जाने, कुनैपनि काममा ध्यान नजाने हुँदै जान्छ। तर, अहिले लगभग हरेक कुराको समाधान छ र भेटिन्छ पनि। मनोचिकित्सक र परामर्शकर्ता आजभोलि थुप्रै भेटिन्छ्न्। डिप्रेसन भएको या नभएको खण्डमा पनि हामीले परामर्श लिन सक्छौँ।

डिप्रेशन भइहालेमा पनि सबैभन्दा उत्तम समाधान भनेको आफूलाई जतिसक्दो व्यस्त राख्नु हो। “खाली दिमाग, सैतानको घर” भन्ने त लोकयुक्ति नै छ नि। हामी जति समय अनावश्यक र नकारात्मक कुरा सोच्दै जान्छौ, त्यति नै हामी त्यसमा डुब्दै जान्छौँ। एकाअर्कासँग घुलमिल गर्ने, आफ्नो मनको कुरा खुलस्त रूपमा आफ्नो सबैभन्दा नजिकको साथी या परिवारसँग राख्ने, केही नयाँ कुरा सिक्ने वा पुस्तक पढ्ने। सकेसम्म एकान्तमा नबस्ने, कुनै खेल खेल्ने, परिवारलाई घरायसी काममा सघाउने या कुनै संस्थामा आबद्ध हुने। डायरी लेख्ने, पत्रपत्रिका पढ्ने, सकारात्मक कुरालाई मात्र आत्मसात गर्ने गर्दा पनि बिस्तारै डिप्रेसनको चपेटाबाट मुक्त हुँदै गइन्छ।

डिप्रेसनका औषधिहरू पनि पाइन्छ, औषधि सेवन गरेर मात्र भने पक्कै ठिक हुँदैन। सकारात्मक सोचका अलावा मनोबल बढाउँदै लैजाँदा मात्र डिप्रेसनबाट छुटकारा पाउन सकिन्छ। डिप्रेसन एकदम चरम अवस्थामा पुग्यो भने चाहिँ दिमागमा करेन्ट लगाउने जसलाई मेडिकल भाषामा इसिटी (ECT)भनिन्छ त्यो गर्नुपर्ने हुन्छ। मलाई पनि अफ्नो कुरा सबैलाई सुनाउन जरुरी हुन्छ जस्तो लाग्दैनथ्यो। मनको कुरालाई मनमै राख्न हुँदैन, त्यसलाई सुनाउँदा त्यसको समाधानको बाटो पहिल्याउन पनि सकिनुका साथै मन हल्का हुन्छ भनेर नसुनेको होइन मैले। यो कुराको अर्थ तब पत्ता लगाएँ जब म आफै पटकपटक असफल हुँदै गएँ, निराशाले र तनावले जब मलाई पूर्ण रूपमा घेर्यो तब मात्र मैले विश्वास गर्न योग्य साथीहरूलाई अनि परिवारलाई आफ्नो समस्याहरू बताएँ। जसले मलाई समस्याबाट मुक्त मात्र गराएन, केही जीवनोपयोगी ज्ञान पनि सिकायो।

आखिर के कुरा नै छ र यो जीवनमा त्यस्तो महत्त्वपूर्ण? कुनै काममा असफल भए अर्को काममा सफलता हात पर्छ। एकपटकमा सफल नभइएला तर बारम्बारको कोसिस र मिहेनतपश्चात पक्कै सफल भइन्छ। सफलता नै सबैथोक होइन पनि एकबारको जुनिमा हाँसिखुशी जीवन बिताउन सके त्यो नै काफी हुन्छ। आफूलाई प्रेम गर्नुपर्छ। आफ्नो सबैभन्दा नजिकको साथी आफू नै त हो नि, होइन र? सधैँ आफूले चाहेको पाइन्छ भन्ने पनि त हुँदैन। यदि चाहेको सबै पाइने भए जिन्दगी जिउनुको मजा पनि त हुँदैन! समय परिवर्तनशील छ। सोही अनुरूप हामी पनि परिवर्तनशील हुँदै अगाडि बढ्नुपर्छ। यी केही कुरा मनन गर्न सकियो भने हामी डिप्रेशनबाट सजिलै बाहिर निस्किन सक्छौँ।

डिप्रेसन एउटा मोडर्न ट्रम हो, जुन अहिले बढी प्रयोग भएको मात्र न हो। मानिसलाई तनाव उः बेला (पहिले) पनि हुन्थ्यो नि, तर मान्छे एक-अर्काको समीपमा हुन्थे, एक-अर्कामाथि विश्वास हुन्थ्यो, एकापसमा कुरा हुन्थे। अब अहिले सामाजिक सञ्जाल छ अनेक कृत्रिम चीज छ्न्। यी सबै कुरा हुँदाहुँदै पनि मान्छे एक्लो जीवन बिताउँदै छ। मान्छे प्रकृतिले नै सामाजिक प्राणी हो तर, आधुनिकताको नाममा दिनानुदिन मान्छे भित्रबाट खोक्रो हुँदै गएको छ। बाहिर जति आदर्शका कुरा छाँटे पनि, बाहिर आडम्बरी खुशी देखाएता पनि मान्छे भित्रबाट अनेकन् चिन्ता र तनावको गञ्जागोलमा हराइरहेकै छ। अहिले त झन् यत्रो समय लकडाउन भयो। अभाव र दबाबको बीचमा मान्छे घरै बस्दा अनेकन् नकारात्मक कुराहरू मगजमा खेलाउन थाल्यो।

अहिलेको यो लकडाउनमा कोरोनाको कारणले जति मान्छेको निधन भयो त्यो भन्दा बढी मान्छेहरू मानसिक रूपमा विक्षिप्त भएका छ्न्। कैयन् मान्छे डिप्रेसनको सिकार भइसकेका छ्न्। “चिन्ता, चिन्ता, हरबखत चिन्ता!! चिन्ताले नै मान्छेलाई चिताको बाटोमा डोहोर्‍याउँछ।” यो मैले सानोमा एउटा राजा र रानीको कथामा पढेको थिएँ जसलाई यो लकडाउनले र डिप्रेसनले वास्तविकतामा परिणत गरिदिएका छ्न्। भनिन्छ नि, “वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ।” वनको बाघबाट त जसोतसो बचिएला मनको बाघबाट बच्नु आवश्यक छ अहिलेको परिस्थितिमा। ख्याल गरौं , यहाँ जो कोही डिप्रेसनको सिकार भएको हुन सक्छ। त्यो तपाईंको आफ्नो मान्छे जो दिनभर हजुरसँग बोल्छ, हजुरसँगै हाँस्छ तर पनि आफ्नो मनको सबै कुरा हजुरलाई बताउन सक्दैन, रातभर सुत्न सक्दैन, हुनसक्छ दिनभर मुस्कुराउँदै हिँडेको मानिस डिप्रेसनको चपेटामा पो छ कि? मुस्कुराउने सबै अनुहारहरू खुशी नै हुन्छन् भन्ने पक्का पनि त हुँदैन। त्यसैले, सकेसम्म सबैका कुरालाई ध्यान दिएर सुनौँ। यदि कसैले हजुरलाई आफ्नो समस्याहरू बताँउदैछ, आफ्नो मनको भावना तपाईंसँग खोल्दैछ भने उसका कुराहरू मजाले सुनिदिँदा मात्र पनि उसको धेरै तनाव हटिसकेको हुन्छ। त्यति त हामी पक्कै गर्न सक्छौँ, होइन र?

के थाहा, भोलि हजुर नै डिप्रेसनको चपेटामा पर्नुहुन्छ कि? त्यसैले एकबारको जिन्दगीमा हाँसिखुशी बाँचौं, एक-अर्कामा सहयोग र सद्भाव बाँडौं। मस्त बाँचौं, मस्त रमाऔं। एउटा सु-सज्जित समाजको स्थापना गरौँ।

Facebook Comments

You may also like

error: Content is protected !!