देजा~वू !

[ सोच~मा~सोच ]

‘सपना । आखिर सपना के हो ? किन आउँछ ? के कारणले आउँछ ? फेरि कुनैदिन किन आउदैन ? हरेकदिन किन आउदैन ? यी प्रश्नहरू अझै रहस्यमयी छन् । सपना आफैमा एक रहस्य हो । यो के हो ?

संसार चुप छ । चुपचाप छ ।

केही गफहरू छन् । केही किंवदन्तीहरू छन् । भनिएका कुराहरू, मानिएका मान्यताहरू सबै मान्य छैनन् । केही गलत होलान् । केही सही होलान् ।

म पनि त ‘होला’ मा अड्किएँ नि ? मैले पनि त पूर्ण रुपले यो सही हो र यो चाहिँ गलत हो भन्न सकिरहेको छैन । भनूँ त के भनूँ ? साच्चै यो संसारमा ‘सही’ र ‘गलत’ भन्ने कुराको पनि अस्तित्व छ र ?’

एकछिन खालिपन महसुस गर्छु, आफ्नो दिमागमा । त्यो सन्नाटाको टुँ…. आवाज मेरो भित्री कानमा कतै गुञ्जिरहेको छ ।

‘यहाँ त बस् ‘बहुमत’ र ‘अल्पसंख्या’को मात्र अस्तित्व छ । अझ, बहुमतको मात्र अस्तित्व छ भनेँ भने पनि हुन्छ । भीडले मानेको कुरा नै मान्य हुन्छ । नियम हुन्छ । कानुन हुन्छ । भीड भित्रैबाट भीड नमान्ने निस्कियो भने त्यसलाई सजाय हुन्छ । कारागार हुन्छ ।’ 

[ दृश्य~या~दृश्य]

झ्यालमा एउटा काग आएर कराउँछ । आफ्नै मस्तिष्कभित्रै हराइरहेको मेरो ध्यान झ्यालमा गएर अडिन्छ । त्यहाँ एउटा काग उफ्रिरहेको छ । झ्याल बाहिरको कागलाई देखेर, एकछिन म अचम्ममा पर्छु । आजसम्म कुनै पनि चरा मेरो कोठासम्म आइपुगेका थिएनन्, न कुनै जनवार नै ।

झ्याल बन्द छ ।

त्यो काग उफ्रिदै झ्यालको सिसालाई आफ्नो चुच्चोले जोड जोडले ठुङ्दैछ । मलाई महशुस हुन्छ कि ऊ मेरो कोठाभित्र पस्न चाहन्छ । म बिस्तारै आफ्नो बिस्ताराबाट उठ्छु र झ्याल छेउमा पुग्छु । बन्द भएको झ्याललाई बिस्तारै खोल्ने प्रयास गर्छु । तर आधा खोलि नसक्दै त्यो काग त्यहाँबाट फुत्त उडेर कतै हराउँछ । बिलाउँछ ।

म फेरि झ्याल बन्द गर्छु ।

खाटमा आएर पल्टिन्छु । फेरि मेरो मस्तिष्कमा नानाथरी कुराहरूले चक्कर लगाउन थाल्छन् । सपना हुँदै कारागारसम्म पुगेको मेरो मगज फेरि सपनामै आएर अडिन्छ । तर यो पाली सोचहरूको भुमरीमा नफसि, हिजो देखेको त्यो सपनाको सम्झनामा अलमलिन थाल्छ ।

हिजोको त्यो भयनाक सपना । के साच्चै सपनाहरू सत्य हुन्छन् ?

“बिहान देखेका सपनाहरू सत्य हुन्छन् !”

सुनेको कुरा ।

हिजो म त्यो भयङकर सपनाबाट बिउँझदा पनि त बिहानको त्यस्तै ४ बजेको थियो । मनमा चिसो पस्छ । डर बस्छ । हिजो देखेको सपनाको एक एक दृश्य, मेरो मस्तिष्कमा फिल्मको रिल जसरी घुम्न थाल्छ-

[ सपना~सा~सपना ]

म भाग्दाभाग्दै यहाँसम्म आएको हुँ । थाहा छैन म कहाँ छु , किन यहाँ छु ? थाहा छैन, कहाँबाट यहाँ आएँ । म गुमनाम भएको छु । हराएको छु । डराएको छु । कोहिबाट त भाग्दै छु –मलाई यत्ति थाहा छ । तर को बाट ? –यसको भने ज्ञान छैन ।

बस्, म दौडिरहेको छु । मान्छे एक जीवनमा कति हिड्छ ? कति दौडिन्छ ? यसको हिसाब कसले राख्छ ? हिसाबकर्ताहरू कहाँ बस्छन् ? –यस्तै सोच्दै म वरिपरि आफ्नो आँखा डुलाउँछु , निस्पष्ट अन्धकार सिवाय केही देख्दिनँ ।

 

“म्याउँ…!”

सपनाका गल्लीहरूमा भौतारिरहेको मेरो दिमागलाई, फेरि एउटा बिरालोको आवाजले हकिकततिर तानेर ल्याइदिन्छ । मेरा आँखा फेरि मेरो कोठाको झ्यालमा गएर टाँसिन्छन् ।

झ्याल बाहिर एउटा कालो बिरालो छ, जसले मलाई एकोहोरो घुरिरहेको छ । ऊ आफ्नो नङ्ग्राले झ्यालको सिसालाई कोतार्दैछ । ऊ केही भन्न खोजिरहेको छ । सायद, ऊ मेरो कोठाभित्र आउन चाहन्छ । उसको आँखाले यहीँ भनिरहेको छ, यसमा म पक्का छु ।

म खाटबाट उठ्छु र झ्याल छेउमा पुगेर, बिस्तारै झ्याल खोल्छु । झ्याल खोलिएको आवाज आउँछ । त्यो कालो बिरालो फुत्त तल हाम् फाल्छ । त्यसपछि म उसलाई देख्दिनँ । झ्यालको कुनाबाट तल हेर्न खोज्छु, तर बिरालो खसेको ठाउँसम्म मेरो नजर पुग्दैन ।

‘मर्यो कि क्या हो ?’

मन मनमनै भन्छ ।

‘तैट कहाँ मर्छ, त्यति माथिबाट खसेको पनि त होइन !’

फेरि मनले मनमनै सोच्छ ।

मनलाई मनकै ठाउँमा छोडेर म आफ्नो मगजलाई हिजो देखेको सपनाको गल्लीतिर फेरि धकेलिदिन्छु-

[ सपना~सा~सपना~आ ]

स्याँ…स्याँ…स्याँ…

कोहि पछाडिबाट दौडिदै आइरहेछ, यो भान हो या सत्य ? म केही जान्दिनँ । मेरो मुटु जोड जोडले धड्किन थाल्छ । म झन् बढी डराउँछु । म मेरो शरिरको जम्मै तागत खुट्टामा ल्याउँछु र भयको म्याराथन दौडिन थाल्छु । एक्कासी मेरो खुट्टा केहीमा अल्झिन्छ, म पछारिन्छु ।

मलाई पछ्याउँदै गरेको आकृति मेरो छेउसम्म आइपुगेको छ– म यो महशुस गर्छु । म पछाडि फर्किन नपाउदै, ऊ मेरो खुट्टा तान्न थाल्छ । म घिस्रन थाल्छु । डराउन थाल्छु । हल्लिन थाल्छु । कराउन थाल्छु-

” बचाऊ…..बचाऊ….!”

यो अध्याँरोले मेरो आवाज निलिदिन्छ । न कसैले मेरो पुकार सुन्छ न कोहि मलाई बचाउन नै आउँछ । म हरेस खान्छु । चिच्याउन छोड्छु । हल्लिन छोडिदिन्छु ।

ऊ को हो ? किन मलाई यस्तो गरिरहेछ ? कहाँ लादैछ ?–यी सबै कुरा प्रति म अनभिज्ञ छु । उसको चेहेरा म देख्दिनँ, बस् एउटा कालो आकृति छ जो मेरो खुट्टा बेस्सरी समातेर मलाई घिसार्दैछ । मेरो ढाड पिल्सिन थाल्छ, दुख्न थाल्छ । असह्य पिडा हुन्छ ।

एक्कासी मेरो शरिरलाई एउटा ढुङ्गाले छुन्छ । म हत्तपत्त त्यो ढुङ्गा टिप्छु र सिधै त्यो आकृतितिर हुकाइदिन्छु । उसलाई जोडले लाग्छ  । मेरो खुट्टा छोडेर, ऊ आफ्ना दुबै हात टाउकोमा लान्छ र बिस्तारै ढल्छ ।

म आफ्नो पोलिरहेको ढाडमा हात राख्दै सुस्तरी उठ्छु । र त्यो उत्तानो परेर लडिरहेको आकृति छेउ जान्छु । छुन खोज्छु ,ऊ चलमलाउछ – म तर्सिन्छु ।

म फेरि अघि उसलाई हानेकै ढुङ्गा टिप्छु । हुत्तिएर ऊमाथि चढ्छु र त्यो ढुङ्गाले उसको चेहेरामा जोडजोडले हान्न थाल्छु । उसको अनुहारबाट वाल्वाल्ती रगत बहन थाल्छ । म आफ्नो हातलाई रोक्न सक्दिनँ । म आफ्नो हातको ढुङ्गालाई रोक्न सक्दिनँ । आफुलाई रोक्न सक्दिनँ । आफ्नो क्रोधलाई रोक्न सक्दिनँ । म झन् आक्रोशमा आएर उसको छातीमा आफ्नो मुड्की बजार्न थाल्छु ।

एक्कासी आकाश गर्जन थाल्छ । पानी वर्षिन थाल्छ । चट्याङ् पर्न थाल्छ । बिजुली चम्किन थाल्छ । तर पनि म रोकिन्नँ ।

गड्याङ्गुडुङ् सँगै ,आकाश बाट खुर्र कुद्दै एउटा बिजुली आउछ र उसको र मेरो फोटो खिच्छ । झट्ट, मेरो आँखा उसको चेहेरामा पर्छ । म तर्सिन्छु । मेरो मुटु, त्यो आकाशभन्दा जोडले धड्किन थाल्छ ।

त्यो उसको चेहेरा पनि मेरो जस्तै छ  !

म आफू ऐना हेर्दा जस्तो आकृति देख्छु, त्यो आकृति त्यस्तै छ । फरक यत्ति छ कि उसको अनुहारभरि रगतैरगत लागेको छ । म आफ्नो अनुहार छामी हेर्छु, मेरो हातैभरि रगत लाग्छ ।

पानीको थोपासँगै मेरो अनुहारबाट रगतको धारा बग्न थाल्छ । म ऊतिर एकोहोरो हेर्छु, उसको श्वास बन्द भइसकेको छ । ऊ मरिसकेको छ ।

मलाई पनि आफ्नो मुटु धड्किरहेको छैन भन्ने महशुस हुन्छ । .…म आत्तिन्छु –

झल्यास्– म ब्युँझन्छु । ब्युँझदा शरिर पुरै खलखल पसिनाले भिजेको थियो । मैले टेबलको मोबाइल तानेर समय हेरेको थिएँ– ०४: ०९

‘आखिर त्यो सपनाको के मतलब हो ? यसको केही मतलब पनि छ र ? सपनाहरूले केही संकेत पनि गर्छन् र ?’

म पत्याउँदिन यस्तो कुरा ।

[ दृश्य~या~दृश्य~आ ]

झ्यालबाट ४ वटा पुतलीहरू मेरो कोठाभित्र छिर्छन्, पालैपालो । यो पाली मैले झ्याल बन्द नगरेर राम्रै गरेछु । ती पुतलीहरू मेरो टाउको माथि आएर घुम्न थाल्छन् । एउटाले त मेरो कपाललाई पनि छुन्छ ।

पुतली देख्ने साथै, ‘पुतली’ शब्द पढ्ने साथै, म चाइनिज दार्शनिक बन्न पुग्छु:

जियाङ्सी [Zhuangzi] हुँ । र वर्षौंदेखि मेरो आत्मा यहीँ दुविधाको ब्रह्माण्डमा भड्किरहेको छ–

मैले आफू पुतली बनेको सपना देखेँ । अहिले म बिउँझिएको छु, तर अब मलाई थाहा छैन–म मान्छे हुँ र पुतली बनेको सपना देखेँ या–म पुतली हुँ, जो मान्छे बनेको सपना देखिरहेको छ !

म आफ्नो टाउकोमाथि हेर्छु, पुतलीहरूलाई नियाल्छु । तिनीहरूको रङ्ग कालो छ ।

काला पुतलीहरू ।

“चाइना र अमेरिकाका केही ठाउँमा कालो पुतलीलाई नराम्रो मान्ने अन्धविश्वास छ । यदि कालो पुतलीले तपाईंको बाटो काट्यो भने त्यसले दशा निम्ताउँछ र त्यो दशा मृत्यु समेत हुनसक्छ । जस्तो हामी कालो बिरालोलाई नराम्रो …”

केही महिना अघि ‘सम टक्स इन बटर्फ्लाइ’ नामक डिस्कसनमा भाग लिन म पाटनसम्म पुगेको थिएँ । त्यहाँ एकजना सहभागीले यी लाइनहरू धाराप्रवाह बोलेको सम्झन्छु ।  म अन्धविश्वासमा विश्वास नगर्ने मान्छे ।

‘तेरो कुरा उइस् होला’ भनेर त्यतिबेला मनले मनमनै ओठ लोपारेको थियो ।

एकछिन मेरो दिमाग टक्क अडिन्छ । मेरो मगजले पालैपालो त्यो कालो काग, त्यो कालो बिरालोको रहस्यमय हेराइ सम्झिन्छ । टाउको रन्थनिन्छ । मन धक्क फुल्छ र एउटा प्रश्न जन्मिन्छ-

‘कतै म आफू मरेर जिउँदो भएको सपना देखिरहेको त छुइनँ ?’

म डराइ डराइ कोठा वरिपरि आँखा घुमाउँछु । ती काला पुतलीहरूलाई खोज्छु । ती चारैवटा पुतलीहरू मेरो कोठाको ऐनामा गएर टाँसिएका छन् । म बिस्तारै उठेर ती पुतली नजिक पुग्छु । ऐना नजिक हुन्छु । ती पुतलीहरू भुर्र उड्छन्, म तर्सिन्छु । झस्किन्छु– ऐनामा मेरो प्रतिबिम्ब छैन ।

[ म मरेको समय अझै पनि रहस्यमय छ । ]

Trapped | Source: Google

Trapped | Source: Google

Facebook Comments

You may also like

error: Content is protected !!