DEATH

“खाना बनाउने आज कसको पालो ?” बुबाले सोध्नुभयो । सबैका नजरले मलाई निसाना बनाए । सबै गललल्ल हाँसे ।
“के म दाइलाई खाना बनाउन सहयोग गर्न सक्छु ?” बहिनीले उठ्दै भनिन् । बहिनीको निर्णयमा सबैले राजी जनाए । म र बहिनी भान्सामा पस्यौँ । बाँकी अरु सदस्यहरु; बुबा, आमा र दिदी टिभी हेर्न व्यस्त भए ।

“के बनाउने दाइ ?” बहिनीले सोधिन् ।
“आज चाइनिज खाना बनाउने” मैले भनेँ । बहिनीले मुख मिठ्याइन् ।

बहिनी र म स्टोर कोठामा गयौँ । चाहिने सामानहरु ( नुडल्स्, मसरुम, पाक्चोय साग, टमाटर, क्याबेज, क्यापसिकम, गार्लिक, क्यारोट, ओनियन, ग्रीन चिल्ली, स्प्रिङ ओनियन, कुकुम्बर, लेट्युस, लेमन, अण्डा, मैदा, कर्न फ्लोर आदि )  चाहिने जत सबै लिएर भान्सामा आयौँ । फ्रिजबाट मैले चिकेन निकालेँ । बहिनीलाई अलि धेरै गार्लिक र ओनियनको चप गर्न लगाएँ । बहिनी त्यहीँ व्यस्त हुन थालिन् । म चाहिँ लेदम ( अण्डा, मैदा, कर्न फ्लोर, साल्ट, अजिना मोटो, जिन्जर र गार्लिक )  को मिश्रित पेस्ट बनाउन थालेँ ।

पेस्ट बनाउँदै गर्दा मनमा एउटा विचार आयो कि, यो पेस्टजस्तै त हुन्छ कतिको सम्बन्ध, एक-अर्कामा विलीन । आफ्नो अस्तित्व छुट्याउनै नसक्ने गरी पेस्टेड वा भनुँ एक-आपसमा ब्लेन्डेड सम्बन्धहरु कति होलान् ? यसो सम्झिन के खोजेको थिएँ बहिनीले आँखामा आँसु लिँदै बोलाइन्, “दाइ, लसुन-प्याज रेडी ! अब के गरुँ ?” बहिनीलाई नयाँ काम फर्माएँ । आफू भने उहि काटिएका लसुन-प्याजमै अल्झिराखेँ । जति नै कहिल्यै नछुट्लान् जस्तो गहिरो र मजबुत देखिएका सम्बन्धपनि छुट्न वा टुट्न सक्छन् । पेस्टले जन्माएको सवालको जबाफ चप्ड लसुन र प्याजमा भेटियो । त्यसैगरी त काटिएर टुक्रा-टुक्रा हुन्छ नि मान्छेको मन, जब नटुट्लाजस्तो सम्बन्ध टुटिदिन्छ ।

जिम्मेवारी बोकेको मान्छेलाई तर बेलगाम भावुक हुनपनि छुट कहाँ हुन्छ र ? म लेदमलाई साइड लगाएर अब मुर्गा काट्ने कर्मतिर लागेँ । साच्चै, काटिनेहरु सबै मुर्गा नै हुन् ? मलाई यो मुर्गापनि परिचित परिचितझैं लाग्न थाल्यो, कतै आफै त होइन ? खैर, भावनामा पछि डुबौँला । अहिलेको जिम्मेवारी हो मुर्गा काट्नु । स्पष्टसँग भन्नुपर्दा बोनलेस चिकेनलाई डाइस कटमा काट्न लागेँ ।

बोनलेस नै किन ? मन न हो, लगाम चुडाउन खोज्ने ज्याद्रो घोडाजस्तै यसको स्वभाव । किन त बोनलेस नै ? मासु लुछिरहँदा हड्डी पर्यो भने मज्जा न आउन सक्छ । के कसैको मज्जाकै लागि मात्रै हो त, कोमल हृदयकै मान्छे नै अक्सर मुर्गा बनिन्छन् ? बोनलेस मुर्गा, डाइस कट गरिएको, कता-कता परिचितजस्तो, त्यसलाई उठाएर म उहि लेदममा डुबाउँछु । मुर्गा न हो छियाछिया भइसकेपछि पनि सम्बन्धमा आफूलाई लीन गराउन छाड्दो रहेनछ ।

यस्तै यस्तै के के सोच्दै ग्याँस अन गरेँ । फ्राइ प्यान बसालेँ । लेदममा समर्पित भएर निथ्रुक्क भिजेको मुर्गा उर्फ बोनलेस चिकेनलाई फ्राइ गर्न थालेँ । बहिनी पाक्चोय साग र मसरुम केलाउँदै थिइन् । के साग र च्याउमा पनि सम्बन्धको ऐेना हुन्छ ?

चिकेन फ्राइ भइसकेपछि फेरि फ्राइ प्यान बसालेँ । तेल हालेँ । बहिनीले काटेको गार्लिक चप र अनियन चपलाई भुटेँ । अलिकति चिनी हालेँ । टमाटो केचप हालेँ । अलिकति हट सस हालेँ । केहीबेर चलाएँ । फ्राइ गरेको चिकेनलाई हालेँ र चलाएँ । चाहिने साल्ट, पेपर र अजिना मोटो हालेँ । केहीबेरमै तयार भयो “गार्लिक चिकेन” । त्यसलाई एउटा भाँडोमा खन्याएँ । स्प्रिङ ओनियनले गार्निस गरेँ । यसलाई जानी जानी मैले अहिले मुर्गा भनिरहेको छैन । अब केहीबेरमै डिस तयार हुनेवाला छ । यसलाई मुर्गा भनिरहेँ भने मैले नखाइदिन सक्छु । पेट त जे खाएरपनि भरिएला तर जिब्रो ?

बहिनीले केलाएको पाक्चोय साग र मसरुमलाई उसिनेँ । उनलाई ओनियन, क्यापसिकम, टमाटो, क्यारोट, कुकुम्बर र लेट्युस, डाइस कटमा काट्न भनेँ ।

फ्राइ प्यान बसालेँ । तेल हालेर ओनियन चप र गार्लिक चप भुट्न थालेँ । उसिनेर राखेको पाक्चोय साग र मसरुमलाई हालेँ । चाहिने ओस्टर सस खन्याएँ । ससको झण्डै कालो हुन खोजेको डार्क ब्राउन कलर देखेर झस्किएँ । फेरि सम्झिएँ, यो त सस हो । त्यसपछि साल्ट, वाइट पेपर, अजिना मोटो हालेँ । मज्जाले चलाएँ । किकमोन सस र कर्न फ्लोर पनि अलिकति हालेर केहीबेर चलाएँ ।

र, तयार भयो “पाकचोय विद मसरुम” । के यिनीहरु अफेयरमा छन् ? विलीन त देखिँदैनन्, तर आपसमा मिसिएका भने छन् । आफ्नो अस्तित्व आफैसँग बरकरार राखेरपनि अरुलाई साथ दिन सकिन्छ ? सम्बन्धमा ‘स्पेस’ भनेको यस्तै केही हो कि ? अघि बहिनीले केलाएको र म आफैले उसिनेको याद आयो । यिनको सम्बन्ध चाहिँ नटुट्दो हो कि ? हेर्दै जाऊँ, अहिलेलाई भने ‘पाक्चोय विद मसरुम”लाई अर्को भाँडोमा खन्याएँ । बहिनी डाइनिङ टेबलमा सेटिङ  ( प्लेट, चम्चा, काँटा, गिलास, न्याप्किन  इत्यादि  ) मिलाउन थालिन् ।

फेरि फ्राइ प्यान बसालेँ । तेल हालेँ । ओनियन चप र गार्लिक चप भुटेँ । क्यारोट, क्यापसिकम, क्याबेजलाई छिटो-छिटो सलाईका काँटीजस्तै लाम्चा लाम्चा आकार अर्थात जुलियन कटमा काटेँ । छियाछिया हुनुजस्तै जलेर खरानी हुनुपनि कति सम्बन्धको नियति हो । तर म यो कुरा, यस्तो स्वादिष्ट रिसिपी बनाउँदै गर्दा किन सम्झिरहेको छु ?

यी सब सोचहरुलाई साइड लगाउँदै जुलियन कट ३ ‘क’ (क्याबेज, क्याप्सिकम र क्यारोट )लाई पनि लसुन-प्याजसँगै तेलमा मिलाएँ । त्यसपछि चाहिने नुडल्स् हालेँ र हल्लाएँ । साल्ट, वाइट पेपर, अजिना मोटो चाहिने मात्रामा राखेँ । किकमोन सस र सोया सस हालेर केहीबेर चलाएँ । एकैछिनमा तयार भयो “भेज नुडल्स्” । त्यसलाई पनि अर्को भाँडोमा खन्याएँ । अब डिस लगभग तयार भइसकेको छ ।

बहिनीले तयार भएका खानाहरु ( गार्लिक चिकेन, पाक्चोय विद मसरुम, भेज नुडल्स्  )लाई डाइनिङ टेबलमा ओसार्न थालिन् । म चाहिँ बहिनीले डाइस कटमा काटेको भेजिटेबल्स ( ओनियन, क्यापसिकम, टमाटो, क्यारोट, कुकुम्बर र लेट्युस  ) लाई साल्ट, पेपर, लेमन जुस र ओलिभ तेल हालेर मुछ्न थालेँ ।

छियाछिया चोटमाथि नुन-मसला ! यी भेजिटेबल्सहरु लिभिङ बिइङ्स भएरपनि सेन्सरी बिइङ्स नभएकै कारण यिनलाई पीडाबोध हुँदैन । कहिलेकाहीँ यिनको यहि नन-सेन्सरी बिइङनेशसँग जलन हुँदो हो मान्छेलाई । मनको अब्स्ट्र्याक्ट मसला साइड लगाउँदै भेजिटेबल्सलाई मटेरियलिस्टिक मसलामा घोल्दै मुछिरहेँ । र केहीबेरमै तयार भयो “ग्रिक सलाद” । त्यसलाई एउटा बाउलमा हालेँ र लिएर गएँ डाइनिङ टेबलमा ।

बहिनीले सबै सेटिङ मिलाइसकेकी थिइन् । आमा र दिदी खाना खाने बेलामा रेड ड्राइ वाइन पिउन मन पराउनुहुन्छ । बहिनीले त्यो पनि ल्याइन् । मैले आमा, बुबा र दिदीलाई डिनरका लागि बोलाएँ । सबै मुख मिठ्याउँदै आए । आ-आफ्नो ठाउँमा बसे । बहिनीले सबैका लागि वाटर गबलेटमा पानी खन्याइन् । आमा र दिदीका लागि वाइन ग्लासमा रेड ड्राइ वाइन भरिन् ।

पालैपालो सबैले सेल्फ सर्भिज गर्न थालेँ । सबैको प्लेट भरियो । हाँस्दै, रमाउँदै, गफ गर्दै चाइनिज खानाको मज्जा लिन थाल्यौँ । मैले मुर्गालाई पूर्ण रुपमा चिकेन देख्न थालेँ । त्योपनि बोनलेस गार्लिक चिकेन ! जिब्रो चल्न थलेपछि मन निदाउँदो रहेछ कि ?

खाना खाइसकेपछि बहिनी र मैले झुठा भाँडाहरु बेसिनमा लिएर गयौँ र माझ्न थाल्यौँ । आमा र दिदी 21’s love फ्लेभरको आइस्क्रीम टिभी हेर्दै खान थाले । बुबा चाहिँ एक प्याक ब्रान्डी लिएर बार्दलीमा निस्किनु भयो । भाँडा माझिसकेपछि बहिनी र मपनि भेनिला आइसक्रीम लिएर आमा र दिदीसँग बस्यौँ ।

केहीबेर गफ गर्दै टिभी हेर्यौँ । बुबाले दुई प्याक ब्रान्डी रित्याउनु भयो । हामीले डिजर्ट खाएर सकिसकेका थियौँ । अब सुत्ने बेला भयो । सबै आ-आफ्ना कोठामा गए । बुबाआमा एउटा कोठामा । दिदी आफ्नो कोठामा । म र बहिनी हाम्रो कोठामा । मेरो र बहिनीको कोठा एउटै थियो । उनी एउटा पलङमा म अर्कोमा । हामी केही समयमै निदायौँ । सबैजना चाइनिज खानाको स्वाद लिएर सुत्यौँ ।

भन्छन्, भोकाहरुले अक्सर सपनामा खाना देख्ने गर्छन् ।
मध्य-रातमा मलाई बहिनीले कोट्याइन् । म ब्युझिएँ । बहिनीले रुँदै भनिन्, दाइ, एकदम भोक लागिरहेको छ ।”

“एक छिन है नानू” भन्दै आफूलाई जबर्जस्ती उठाएँ । नजिकै रहेको पानीको बोतल लिएँ । बोतलमा पानी एक घुट मात्रै देखेँ । थुक निलेँ । आफुले नपिइ बोतल बहिनीलाई दिएँ । भर्खरको बच्चाले आमाको दूध चुसेझैँ बहिनीले बोतल चुस्न थालिन् ।

मतिर पुलुक्क हेर्दै फेरि रुन थालिन्, “दाइ, भोक लाग्यो ।”

बहिनी सकिनसकी रुन थालिन् । मेरो पनि आँखा पग्लिन थाल्यो । आफूलाई आमाबुबाको कोठामा घिसार्दै पुर्याएँ । आमाबुबा सुतिरहेका थिए । मैले उठाउन खोजेँ । उठेनन् । थाहा पाएँ, दुबै सदाका लागि सुतिसकेका रहेछन् कहिल्यै नउठ्ने गरी । भक्कानिएँ । निचोरिएँ । तर आँखाबाट भने आँसु खसेन । सायद रित्तिसकेको थियो । मरेतुल्य भएर पनि मान्छे किन बाँच्न खोज्दोरहेछ ? बुझे बुझेझैं लाग्यो । तर यतिबेला बुझाइको पनि कुनै अर्थ थिएन । दुबैलाई च्यादरले छोपेँ ।

तल मूलढोकामा मैले दिदीलाई देखेँ । दिदी ढोका खोल्दै थिइन् । मैले बल गरेर डराउँदै कराएँ, “दिदी, ढोका नखोल्नुस् !”

दिदी मतिर फर्किइन् । उहाँको अनुहारमा प्रष्ट लेखिएको थियो, हार स्वीकार गर्नुभएको । धेरै ढिला भइसकेको थियो अब । आफ्नो भाग्य दिदीले रोजिसक्नुभएको थियो । ढोका खोल्नुभयो र बाहिर निस्किनुभयो ।

म सकिनसकी चिच्याएँ, “दिदी, बाहिर नजानुस् । बाहिर भाइरस छ ।”

तर अहँ, मैले उहाँलाई रोक्न सकिनँ । आफूलाई घिसार्दै मूलढोकामा पुर्याएँ र ढोका लगाएँ । मसँग पनि केही उपाय थिएन । के गरौँ ? के नगरौँ ?

ढोका बाहिर भाइरस छ, ढोका भित्र भोक ! दुबैतिर मृत्यु कुरेर बसिरहेको छ । बिचमा छन् मुर्गाहरु ! बिलकुल बोनलेस !

Facebook Comments

You may also like

error: Content is protected !!