म भित्रको मृत्यु

दन्काइदिएको भए हुन्थ्यो त्यही प्रेमको आगोले मलाई । बहलाइदिएको भए हुन्थ्यो त्यसको सुवासले । झरीमा निथ्रुक्क भिजेर काँपिरहेको भंगेरीझैँ मेरो रौँ रौँ मा चिसो सिरेटोको आभास गाडिदिएको भए हुन्थ्यो। मृत्युपनि सायद एकनास जीवनप्रतिको विरोध हो । र पलायन, सायद नयाँ पद्धतिको आलम्बन ।

सफा निलो आकाश, कहीँकहीँ पहाडको शिरमा थपथपाउँदै बसेका बादलका जन्तिहरु । उही प्राचीन घाम, उस्तै अल्लारे बतास र त्यसैको प्रवाहमा अल्झिन खोज्ने मेरो सेतो कागजको रुप । एक कथा लेख्न मन छ, एक पात्र कोर्न मन छ, जो म जस्तै भइकन पनि केही अलग होस्। जसको अन्तस्करणमा मेरो अप्राप्त भोगाइहरुको दर्शन होस् । जो बोलीमा, व्यवहारमा म होस् तर परिस्थितिको संरचना भिन्न होस्, मेरो नहोस् । मैले कल्पना प्रयोग गरिदिएँ, बनाएँ आफैलाई पात्र जसको मनोदशा मेरो हो र लगाएँ आफैलाई मृत्यु र जीवनको दोसाँधमा परिवहन हुन ।

यो डोरी जस्तै नालमा बेरिएर जन्मिएपछि मेरो ढुकढुकीले कयौँ वातावरणको सन्दर्भप्रति मलाई सचेत गरायो । म खुसी हुँदा यसको छाल कानसम्म आई बज्थ्यो। म डराउँदा यो उथलपुथल गर्थ्यो । म निराश हुँदा यसको गति थामिएको भान पस्थ्यो । जसरी सबै भावनाका पाना यसको प्रवाहमा निमग्न रहन्थे, प्रेमको चिठी पनि मैले यसैको लहरबाट पढेकी हुँ । हो, प्रेम मेरो लागि कविता जस्तो थियो। निराशाका कविता, दु:खका कविता, वेदना र दर्दका कविता…. जसको भाषाशौली र बिम्बालङ्कारमा म आनन्दित हुन्थेँ तर त्यसको एकालाप र परिष्कृत अर्थले म फेरि बगरमा उल्टाइन्थेँ । पिँधमा के छ ? त्यसको उत्तर पिहल्याउँदा, म डुब्ने डरमा पिल्सिन्थेँ ।

यो घटना आत्महत्या वा देहत्यागको हो। घोरिन्छु एकैछिन, विचार गर्छु यी दुईको शब्द संरचनाप्रति। हत्या र त्याग, आत्म र देह, यी टुक्रा स्पष्टिकरणको प्रयोगमा कति भिन्न छन् तर कसरी एउटै अर्थ दिन्छ, एउटै रेखामा समेट्दा ! मेरो वरपर फैलिएको छ प्रगाढ जंगल, जूनको दिव्य दृष्टिमा आँखाले ठम्याउन सकेको केही झ्याङ, रुखहरुका खुट्टा, गोडा र माटोको घर्षणमा बनेका स-सानो गोरेटो बाटो । किराहरु छट्पटीएझैँ कराइरहेका छन्, रुखका पातहरु त्रस्त मुद्रामा सुस्त हल्लिरहेका छन्। जूनलाई हेरेर समय पत्ता लगाउन म जान्दिनँ । जूनसँगै ओढेको छ आकाशले सयौँ ताराहरुको पछ्यौरी । तर म केन्द्रित छु ती तारा बिचका शुन्यताप्रति, खालीपनप्रति। मलाई त्यहीँ पुग्नु छ यो शरिरको बोझ यहीँ छोडी । म सामु झुण्डिएको छ एउटा चोयोको डोरी, जो मौन छ, मलाई हेरेजस्तो लाग्दैन, मलाई कुरेजस्तो पनि लाग्दैन । तर यो डोरी मेरो अन्तिम साहारा हो । यो अन्तिम पल, थाहा छैन हृदय किन बोल्न खोज्दैन, प्रतिप्रश्न गर्दैन, यो मौनता छातीभरि सर्दा पनि किन पोखाउन चाहँदैन ? यहीँ गाभिन अह्राएझैँ गर्छ, यहीँ चिसो मसान भई दबिएर बस् भनेझैँ गर्छ !

दुबै हातले डोरी टाउकोको टुप्पोसम्म लेराउँछु । मानिसलाई सबैभन्दा प्यारो उसको अतित हुन्छ क्यारे ! जे होस्, भोगेको छु जिन्दगी, छन् यादहरुका गहिरा डाम । सम्झनामा झुलुक्क चिहाउन आइपुग्छ उसको अप्रत्याशित दर्पण । म झुक्किएको थिएँ, उसलाई चौतारीको शितल छायाँमा एक्लै टोलाइरहेको देखेर । उसको हातमा रातो थुङ्गा फुलको लाली सजिएको सोचेर, म झुक्किएको थिएँ । उसको आँखाका भावनाको छाँगोमा आफ्नो आयु देखिनेछ सोचेर, म झुक्किएको थिएँ । उसका पाखुरा उसले छातीमा सजाउन बाँकी कसैलाई समेट्न तत्पर छ सोचेर, म झुक्किएको थिएँ । थाहा छैन, ऊ मेरो जीवनमा आउनुपर्ने मान्छे थियो वा जीवनबाट जानुपर्ने मान्छे थियो तर मैले सपना देख्न डराउन थालेँ । मेरो सपनामा ऊ आउथ्यो र मैले मेरो चाहनाहरु लुकाउनु पर्थ्यो।

त्यसपछि मैले आँशुको हार लगाउन सुरु गरिदिएँ । थाहाछैन किन पराजयको ‘हार’ र लगाउने ‘हार’ विपरितार्थ जस्तो भएपनि एउटै अक्षरहरु टेकाउनु पर्छ। आँशुले मेरो रंगहरु पनि पखालिदिए । फुल सम्झेको प्रेम बारुद भइदियो । जुन प्यासमा म जिवित थिएँ, त्यसले अपहेलित गरिदियो । मसँग बाँकी रह्यो केवल न्यास्रोपन र मेरो सामु लमतन्न परेको कुँजो समय । मैले आफूले टेकेको भूभाग त रसोदय बनाउन सकेको छैन, म अन्धकारमा कहाँ पाइला टेकौँ ? बिहानी सधैँ आँखाको पुष्पलाई प्रश्न गर्छ- ‘दिनप्रतिको जागर खै?’ जवाफबिहिन आँखाहरु भुइँतिर घोत्लिन्छन् । आँखाको तर्फबाट ङिड्च दाँत देखाएर म लाज पचाइदिन्छु बिहानीको अघि । बरु अन्धकारले केही स्वीकृती दिन्छ, कमसेकम मेरो छायाँ अटाउँछ त्यहाँ । अन्धकारले देखाउँदैन कुनै रङ्ग र गर्न सिकाउँदैन कुनै भेद। अन्धकारमा चोट लुक्न पाउँछ र सुम्सुम्याउँछ आफैलाई… थाहाछैन मन किन निको हुन मान्दैन ? थाहाछैन किन छामिरहनुपर्छ आफ्नै हृदय ‘जिउदो छु’ को भाव स्पर्श गर्न?

सायद धेरै भइसकेको थियो, म एकै ठाउँमा लम्पसार सुस्ताइरहेको, अझ भनौँ अस्ताइरहेको ! फगत सुस्ताइरहेको भए त मैले आकाश देख्न सक्नु पर्ने हो, आकाशले मलाई कल्पना गर्न सिकाउनु पर्ने हो तर मेरो मुटुमाथि सजिएको थियो ठुलो ढुङ्गा, म लड्दा बेहोशीको तालमा यो मेरो छातीमाथि अडिएको हुनुपर्छ । यसैले ओगट्यो मेरो क्षेत्रफल, फिजिए यसकै आकृतिमाथि मेरो आँखाको परिवेश । मैले यसैमाथि सजाएँ तरङ्ग बेतरङ्गका बादल, यहीँ लेखेँ रगतले छापेझैँ मनका कथा, यहीँ कोरिदिएँ समयको आयतन र यहीँ मिसाइदिएँ एक परिचय । आज सम्झँदा लाग्छ, सायद त्यहाँ कुनै ढुङ्गा नै थिएन, त्यो फगत मेरो भ्रम थियो । म पलायन हुँदै थिएँ र जीवनप्रतिको निस्सारतामा गाभिँदै थिएँ । त्यो ढुङ्गा स्वयं मेरो नैराश्यको अंश थियो । म विचलित हुँदै थिएँ र मलाई युगको सभ्यतामा संलग्न हुन झनै कष्टकर लाग्थ्यो । त्यसैले, आफैलाई ढाँटिदिएँ, जरो गाडिदिएँ जमिनमा, चिमोट्न दिएँ अतितलाई र फैलिन दिएँ चोटका आवरणलाई अनि आइपुगेँ यस जंगलमा गलेको मान्छेको अनुहार बोकेर…. लाज लाग्छ आफैसित । लजाउँ कि रिसाउँ म यस्तोमा ?

सम्झन्छु, यदि कसैले मेरो सामु `खुसी´ लेखिएको बाकस राखिदियो र चाबी मेरै हातमा थमाइदियो भने, के म त्यस बाकसलाई खोल्नेछु ? सोचमग्न हुन्छु,’खुसी कस्तो हुन्छ’ ? परिचित हातको स्पर्श ? जीवनलाई ‘वान्डरफुल’ लेखिएको पंक्ति ? मूल्यवान वस्तु ? चुड्किला ? खुसी कस्तो हुन्छ ?’ म चाबी फ्याकिदिन्थेँ । म भागिदिन्थेँ । म रोइदिन्थेँ ।

फेरि त्यही परिवेश, यो लाश हुनुपर्ने बेला हो । हावाको एक प्रवाह हतारिँदै पूर्वपट्टि भाग्छ । के मलाई पनि हतार छ ?.. थाहा छैन । वातावरण झनै शुन्यमा झङ्कृत हुँदै छ । म नजिकको रुख बूढो सास फेरिरहेको छ । यसका गराहरु पटपटी फुटिरहेका छन्, उक्किरहेका छन् । तर शिथिल छैन यो, उकालो ओरालो गर्नेहरुको भार थेगिदिन्छ केही बेर। किन अरु रुखभन्दा यो अलिक भिन्न लाग्छ ! यसको हाँगामा पहिल्यै डोरी राखिएको थियो । सायद यहाँबाट लाश उठाउनेहरुले जीवनको पासो उठाउन बिर्सिएछन् ।

यदि यो रुख बोल्न सक्थ्यो त के मलाई ‘नमर्ने’ सुझाव दिन्थ्यो होला ? अब त घाँटी तन्काउनु पर्छ, उज्यालोको भारले म फेरि काँप्न थाल्नेछु । प्रश्न त्यहीँ हो,’जीवन खोइ?’ यो पटक उसले मेरो अनुहार मृत्युसँग साटिएको देख्नेछ।

समाप्ति…
यहीँ सकिनुपर्ने हो यो कथा तर पात्र म स्वयम् हुँ र मेरो कलम मेरो हातमा छ । मैले नरोके रोकिँदैन कलम । आफैँलाई पात्र बनाई गरिएको हत्या, हत्याको दोषी स्वयम् । मतलब म आफ्नै हत्यारा र मरण मेरो आफ्नै । त यो कसले लेखिरहेको छ ? मेरो अवशेषले वा मेरो अरु स्वरुपले ? ठिक, म भित्रको एक पात्र मरेको हो… सायद, धेरै पहिले मरेको हो, र आज उसकै लाशको कथा लेखेकी हुँ । भोलिको रात अर्को पात्र भेटिन सक्छ कुनै मरुभूमिमा, कुनै नदितटमा, कुनै मन्दिर छेउ, कुनै अग्निकुण्डमा, कुनै युद्धमैदानमा,कुनै बिरानो गल्लीमा वा आफ्नै प्रतिबिम्बमा ! के भर ? र म त्यसलाई फेरि आफ्नै अहङ्कारसँग पोतिदिन सक्छु र स्थापित गर्न सक्छु आफैलाई निराकार चकमन्नतामा !

Facebook Comments

You may also like

error: Content is protected !!