मृत्यु-जीवनको एक सार्वभौम एकाइ | काव्यालय-Kavyalaya | प्रभात तिमिल्सिना

मृत्यु- जीवनको सार्वभौम एकाइ

तपाईं मर्दै हुनुहुन्छ र डरलाग्दो पक्ष मृत्यु मात्र होइन ! यो त तपाईंको आउँदै गरेको मृत्युको प्रतिको भयावह जागरूकता हो जो डर बनेर तपाईंभित्र बसेको छ !

यो ग्रहमा अरू सबै प्राणीजस्तो नभई हामी एक्लो यस्तो आत्म-सचेत जनावरहरू हौँ जसले आफ्नो अपरिहार्य प्रलयको अफ्ठ्यारो ज्ञान प्रदान गरेकाछौँँ  । अन्य सबै प्रजातिहरू भन्दा फरक, हामी जान्दछौँ कि हामी मर्नेछौँ ! मान्छे जीवनलाई निर्देशित गर्दै यहाँसम्म आइपुगेको हो र यो मृत्युको अवचेतन आतंक यहाँसम्म उसैले आफ्नो बलमा जोगाउँदै लिएर आएको हो !

समाजको संरचनाको डोरीलाई बाँध्न विभिन्न आयामको ( सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक अन्य अन्य ) जरुरत पर्दछ ! कालखण्डमा यस्ता तामाम मान्यताहरूले समाजमा स्वीकारोक्ति पाउँछन् र यी यस्ता तमाम मान्यता पछाडि लुकेको सत्य यथार्थसँग हाम्रो नजिकको सम्बन्ध हुन् वा नहुन् उति महत्त्वपूर्ण कुरो रहँदैन, किनभने वास्तवमा हामी साझा मान्यताहरूको एक समूहलाई अँगालो हाली हौसलाको प्रबन्ध गर्दछौँ, जसले हाम्रो मृत्युको चिन्तालाई कम गर्न मद्दत गर्दछ र हामीलाई अर्थहीन ब्रह्माण्डमा मूल्यको भावना महसुस गर्दछौँ  ।

मानिसहरू किन यति चुपचाप बस्छन्, डर, चिन्ता र उदासीनताले ? हामी किन आफूलाई आर्थिक बेवास्तामा किनमेल गर्छौँ ? हामी किन आफूलाई विकृत विचारधारामा कैद गर्दछौँ ? हामी किन मनमनै घुमिरहेका छौँं ? प्रश्नहरु हरेक समय उदाउँछन् र अस्ताउँछन् । यिनै प्रश्नहरुको जञ्जालबिच जीवन मौलाएको हुन्छ र यस्ता प्रश्नको प्रमाणिकरणको पछि परिने हो भने केवल समयको अन्तहीन चक्रमा ययाती हुने कुरा विगतका अनुभवले बताएको छ !

“किन ?” यो हरेक उत्सुकताको सुरुवाती प्रश्न हो जसको जवाफामा किन र किन बिचको दुरू भन्दा पर केही भेटिँदैन ! जीवन किन ? बाँच्नु किन ? मर्नु किन ? खै, किन किन !


हामीले यहाँसम्म पुगेर बनाएको यो संस्कार र जीवन पद्दतिले वास्तविक संसारको भय र डरलाग्दो रुप केही हदसम्म लुकाउँछ र, मानिसलाई ब्रह्माण्डको लागि महत्त्वपूर्ण देखाउँदछ, त्यसैले नै मान्छेलाई ऊ केवल एक सानो जनावर हो भन्ने महसुस हुँदैन र मान्छेले बनाएको साझा संस्कृति, अन्य विभिन्न मान्यता र विश्वदृश्यले उसको सामाजिक भूमिकाले रहेको बताउँछ ! यसरी समाजले मान्छेलाई मृत्युडरको आतंकबाट माथि उचाल्छ र बाँच्नको लागि आवश्यक अर्थ प्रदान गर्दछ ।

विज्ञान भन्दछ कि, हाम्रो न्युरोटिक शक्तिले हामीलाई वास्तविक संसारको सत्यको डरबाट जोगाउँछ किनभने सत्यको त्रास यतिबिघ्न छ कि वास्तविक अर्थमा मानव अवस्थाको पूर्ण अनुभूतिका निम्ति झुटको अत्यावश्यकता पर्दछ र हामी प्राकृतिक वास्तविकताको पूर्ण अराजकताबाट सुरक्षित महसूस गर्दछौँ ! त्यसैले पनि भ्रमको आवश्यकता छ !

हामीसँग जीवनको वास्तविकताको अभाव छ ! किनभने हामीसँग हाम्रो भित्री संसार अन्वेषण गर्ने हिम्मत छैन ! सायद त्यसैले पनि हामी हाम्रो दैनिकीको सानो सांस्कृतिक मुखौटा पछाडि लुक्दै अरूमा आफ्नै त्रुटिहरू प्रक्षेपण गर्दछौँ । हामीले विकासक्रमको दौरानमा चरित्रको मापदण्ड निर्देशित गरेका छौँ जहाँ समय, क्रिया वा सामाजिक, राजनीतिक, धार्मिक इत्यादि वातावरणको आधारमा पूर्वनिर्देशित चरित्रको प्रयोग गरी हाम्रो सांस्कृतिक र सामाजिक भूमिकाद्वारा पूर्ण रूपमा असुविधाजनक दिनहरू बाँच्दछौँ  । हामीमध्ये अधिकांशको लागि, हाम्रो जीवनको दैनिकी एक व्यस्त मुखजस्तै हुन पुग्दछ ।

हामीमध्ये धेरैजसो स्थापित यथार्थतामा सहमत हुन्छौँ, चलिआएको वा चल्दै गरेको विश्वास प्रणालीलाई अनियमित रूपमा अनुसरण गर्दै, र अन्य व्यक्तिको जीवनको नक्कल गर्दछौँ । यस्ता धेरैजसो स्वचालित प्रणाली मानिसहरूले बनाउनु पछाडि लुकेको यथार्थमा नजर घुमाउने हो भने हामी पाउँदछौँ कि, मानिसभित्र असन्तुष्टिको शृंखला यतिबिघ्नले उक्लिने सम्भावना लुकेर बसेको हुन्छ कि उनीहरू अन्धाधुन्ध जीवनपद्धति र सांस्कृतिक प्रतीकहरूमा निष्ठा दिन्छन् ! यसो गर्दा उनीहरू आफ्नो वास्तविक अस्तित्वको डरबाट केही दूरीमा पुगेर रमाउन सक्छन् !

हाम्रो सतही जीवनको भेषविना, पदवी र पदहरूविना, प्रभावशाली बैंक खाताविना, यौन विजयहरूविना, मन्दिर, मस्जिद र चर्चको जमघटहरूविना, प्रेमार्थ घटनाहरूविना, हाम्रो छातीका पदकहरूविना, जमिनको विभाजनविना, ईश्वरको परिकल्पनाविना, गोरेटोविना, सडकविना, हामीहरू को हौँ ? भ्रम फेला परेपछि हामीहरू को हौँ ?? 

हरेक प्रश्नको महत्व उत्तर फेला परेपछि हराउँछ ! त्यसैले, मान्छेलाई बाँच्नका लागि भ्रमको आवश्यकता पर्छ !


यो प्रतीकहरूको संसार हो जसले हामीलाई हाम्रो अस्तित्वको भयानक सत्यबाट बचाउँछ । ईश्वर, राज्य, एक धार्मिक संस्था, झण्डा, पैसा, सौन्दर्य – यी प्रतीकहरू हुन् जसलाई हामी तिर्खाएर पछ्याइरहेका छौँं र जसको एक मात्र काम यो छ कि यसले हामीलाई हाम्रो पशु प्रकृतिभन्दा माथि उचाल्छ र हाम्रो, आधारभूत जीवत्वलाई पोषण दिन्छ । यसरी हामी बाँच्दै आएका छौँ !

आजको आधुनिक संसारमा, हामीलाई बाँच्न वा जीवन चलाउनका लागि केही शक्ति र संस्थाहरूमा निर्भर रहन शर्त गरिएको छ, जो यसको जीवित प्रमाण हो कि हामी डरपोक र कमजोर जीवहरू हौँ जो आफ्नो अधिकारको लागि पनि निर्भर छौँ अन्तै कतै  ।

यहाँ पनि मान्छेले चल्दै आएको संरचनालाई जीवनको अपरिहार्य अङ्ग भनेर परिभाषित गरेको छ, यसरी जीवनको औचित्य साबित गर्नका लागि मान्छे कानून र नैतिकता पछाडि लुक्दै र आफूलाई लुकाउँदै आएको छ ! हामी हाम्रो गन्धको दुर्गन्ध लुकाउन शुद्धताका चीजहरू चम्काउँछौँ र भ्रमको बासना सुघाउँछौ ! हुनसक्छ यो हाम्रो अपूर्णपन होला तर वास्तवमा यो देखावटीपनले हामीमा यति निराशा, अलगाव र कटुता निम्त्याएको छ जुन हामी आजको हरेक मान्छेमा देख्छौँ । मानव विकासक्रमको धेरै लामो समयसम्म हामीले हाम्रा शक्तिहरू देवता, वा हाम्रो जाति, वा स्वर्गमा केही काल्पनिक व्यक्तित्व, वा राज्य, वा केही राजनीतिक नायकलाई सुम्पिँदै आएका थियौँ/छौँ । हुनसक्छ यो हाम्रो अभिलेख होला कि, हामी आफूलाई पराई शक्ति र सहज कुरा गर्ने नेताहरूमा शरण लिनुपर्दछ जसले हामीलाई मेशिनमा भेडाहरू जस्तै बनायो । 

सम्भवतः प्राकृतिक मृत्यु चिन्ताहरूको स्थापित शक्तिहरुद्वारा आफ्नो प्रभुत्व सुरक्षित गर्न हाम्रो शोषण गरिएको हुनु पर्छ ।


यदि हामी हाम्रो मृत्युको चिन्ताको विषयमा आइपुगेका छौँं र वास्तवमा हामीलाई के हुन्छ बुझ्छौँ भने, हामीले हाम्रो जीवनको मूल्य गर्ने र हाम्रो साँचो आत्मबारे बुझ्ने र सांस्कृतिक संरचनाहरू च्यात्ने साहस गर्नु पर्छ । जीवनको एक सार्वभौम इकाई जुन आफैमा सीधा खडा हुन सक्षम छ र त्यो समाजले खडा गरेको सांस्कृतिक चरित्रलाई नष्ट गर्नुमा हुन्छ  ।

मृत्युको सत्यतालाई अस्वीकार गर्नको लागि आफूलाई सामाजिक, राजनीतिक र संस्कृतिक विश्वासहरुमा मान्छेले आफूलाई कैदी बनाउँछ र सायद आजसम्म बनाएर नै यहाँसम्म आएको हो ! मलाई लाग्छ मृत्युको तथ्यमा मान्छेले रमाउने र स्वीकार गर्ने प्रयास गर्नु पर्दछ – निर्णय गर्नु पर्दछ, वास्तवमा, जीवनको समस्यालाई जोशकासाथ सामना गरेर मृत्यु कमाउनु पर्दछ । जीवनको लागि मृत्यु त्यो डरलाग्दो अन्धकारको सानो संकेत हो जहाँबाट हामी आउँछौँ र हामी फर्कनेछौँ ।

म लेखक, कवि जेम्स बाल्डविनको कवितात्मक अंशको साथ अन्त्य गर्दछु, जुन यसलाई राम्रोसँग मिल्दछ ।

“जीवन दुःखलाग्दो छ किनकि पृथ्वी बदलिन्छ र सूर्य अकल्पनीय रूपमा उदाउँछ र अस्ताउँछ, र एक दिन हामी प्रत्येकको लागि सूर्य अन्तिम पटकको लागि अस्ताउँछ । सायद मानव समस्याको सम्पूर्ण जड र डर यही हो कि, हामीले हाम्रो जीवनको सबै सौन्दर्य त्याग गर्नेछौँ  ।

! इति !


 

Facebook Comments

You may also like

error: Content is protected !!