डेट इन घाट

नेपथ्यमा जिन्दगी बोल्छ–
यो कथाको अन्त्य हो । कथा यहाँबाट सुरु हुन्छ ।

°°°

आखिर जिन्दगी भ्रम नै त रहेछ !

सबथोक भान रहेछ । दुनियाँ भुलभुलैया रहेछ । अस्तित्व भ्रामक रहेछ । हो झैं लाग्ने, तर होइन रहेछ- मिराज । हो, बाँच्नु मृगतृष्णा रहेछ ! म महसुस गरिरहेको छु । सोचिरहेको छु- आजसम्म बाँचेर मैले के प्राप्त गरेँ ?

पन्ना खाली छ । यो प्रश्नको उत्तर मसँग छैन । म रित्तो छु । खोक्रो भएको छु । मसँग लेख्नलाई छड्के जवाफ पनि छैन । न त्यस अदृश्य पन्नामा, गल्ती लेखेर मेटाउने आँट छ ।

केही छैन । म केही रहेन’छु । मैले केही गरिनँ’छु ।

– तैँले प्रेम गरिस् ! बेहिसाब गरिस् !

आफ्नै आत्माको आत्मबल बढाउने आत्मावाणी सुन्छु । हो त, मैले उसलाई प्रेम गरेँ । गरिरहेको छु..। मन हवाईजहाज हुन्छ । उड्छ । मेरो मनको हवाईजहाज, वर्षौंदेखि एउटै अनुहारले उडाइरहेको छ । त्यो अनुहार उसको हो ।

प्रेम के हो ? म जान्दिनँ । बुझ्दिनँ । तर जब प्रेमको कुरा आउँछ, तब उसको कुरा आउँछ । मेरो जिन्दगीको निम्ति त उसको अस्तित्व नै ‘प्रेम’ हो । र प्रेमको अस्तित्व नै ‘ऊ’ हो ।

°°°

म उसलाई पर्खिरहेको छु ।

मेरा आँखाहरू छटपटीमा छन् । घरीघरी नाडीमा बन्देज घडीमा घोरिरहेका छन् । एकचोटि मलाई आफ्नै नाडीदेखि रिस उठ्छ । त्यसपछि घडीप्रति । घडीका काँटाहरूले चिढ्याउन थाल्छन् । अगाडिका दृश्यहरू सबै खल्लो लाग्छन्- मिठासबिहीन । र अन्त्यमा मेरो क्रोधको झोक्का बतासिँदै उसको अनुहारसम्म पुग्छ ।

आफ्नै मस्तिष्कभित्रको त्यो उत्साहित अनुहार !

त्यो निर्दोष, स्नेही अनुहारले मेरो रिसलाई धेरैबेर टिक्न कहाँ दिन्छ र ?  दिदैँन ! उसको अनुहारमा जादु छ । ममाथि जादु चल्छ । मेरो रिस र म दुवै शान्त हुन्छौँ । म फेरि घडीलाई चिहाउँछु । उसले ३:२५ बजाइसकेको छ । ऊ २५ मिनेट ढिलो भइसकेकी छे ।

°

“आज त म तिमीभन्दा छिटो आइपुग्छु ।”

उसले अघि फोनमा भनेको सम्झन्छु । मस्तिष्कमा उदास झिंगाहरू भुनभुनाउन थाल्छन् । ‘नआउने त हैन ?’ एउटा डरलाग्दो प्रश्न मनमा मुसा जसरी पस्छ- लुसुक्क ।

‘अहँ, ऊ आउँछे । मलाई थाहा छ । विश्वास छ ।’

म विश्वास र डरको सिमामा उभिएको छु । कहिले मन विश्वासको सिकुवासम्म पुगेर आउँछ त कहिले डरको आँगन टेक्न पुग्छ । म दोधारको धारमा यसै रेटिँदै गइरहेको छु ।

°

यो दिन विशेष छ मेरो निम्ति । सायद, उसको निम्ति पनि । आज हाम्रो भेट्ने दिन हो । तर ऊ अझै आइपुगेकी छैन । रिस ममाथि फेरि हाबी हुन थाल्छ । सँगसँगै एउटा अज्ञात डर पनि । म आफ्नो चिन्तित मन/मस्तिष्कलाई बहलाउने प्रयास गर्छु ।

पशुपतिको गजुरलाई एकोहोरो नियाल्न थाल्छु । सोचहरू सबै बिलाउँछन् । मेरो मस्तिष्कको सोफामा, ऊ आएर बस्छे । ऊभित्र सकारात्मक उर्जाहरू यथावत छन् । तिनै उर्जाहरूको परिणाम स्वरुप- प्रसन्नताका आभाहरू, मेरो हृदयमा आएर टुसुक्क बस्छन् ।

उसको अनुहार पनि त यहि गजुर जस्तै छ– मनमोहक !

यसै सोच्छु । यसै मुस्कुराउँछु । मस्तिष्कभित्र ऊ लजाउँछे । मीठो मुस्कुराउँछे । लाज, उसलाई मेरो कल्पनाभित्र मात्र आउँछ । हकिकतमा ऊ लजाएको मैले देखेको छैन । उसको मुस्कान भने गाढा छापिएको छ- हृदयमा ।

ऊ मुस्कुराएको बडो अजीव लाग्छ मलाई । अजीव तर सुन्दर । अनौठो लाग्छ । अनौठो तर आकर्षक । रहस्यमय लाग्छ । रहस्यमय तर रोमाञ्चक । ऊ मुस्कुराएको हेर्दा, खै,  किन यस्तो सोच आउँछ ? यस्तै लाग्छ । यस्तै सोच्छु । अनि आफै मुस्कुराउँछु ।

°°°

एकोहोरो शङ्ख बजेको आवाज मेरो कानमा ठोकिन्छ ।

कर्कश आवाज । कष्टकर रुवाई । देख्छु- एक हुल मलामी एउटा लास बोकेर घाट छेउ आइपुगेका छन् । म आफू बसेको बेन्चबाट घाँटी तन्काउँदै हेर्छु ।

मलामीहरू चिता बनाउन थाल्छन् । एक अधबैंसे महिला छाती पिटेर रोइरहेकी छिन् । उनका आँसुहरू सकिसकेका छन् । म देख्छु- ती गालामा सुकेर कत्ला बनेका नुनिला आँसुका निरङ्कुश थोपाहरू । त्यो आँसुबिहीन पीडादायी रुवाई मेरा कानलाई असह्य हुन्छ । म आफ्ना दुवै हातले, कान थुन्छु । आँखा बन्द गर्छु ।

त्यो रुवाई झनझन ठूलो हुँदै जान्छ । दुबै हत्केलाले कानलाई जोडले थिच्छु । अहँ.. बन्द हुदैन । कटिङ बोर्डमा मेरो हृदय राखेर, कसैले टुक्राटुक्रा बनाइरहेको अनुभव हुन्छ । मलाई चिच्याउन मन लाग्छ । तर सक्दिनँ ।

अघिसम्मको त्यो अपरिचित वातावरण, एकैछिनमा परिचित लाग्न थाल्छ । समयले सबैसँग परिचय गराउँछ मेरो । त्यो मुर्दा । ती मलामीहरू । ती अनुहारहरू । त्यो रुवाई । ती कानेखुसीहरू । सबै । सबैसँग परिचित छु म ।

यस्तो लाग्छ, तिनीहरूसँग मेरो गहिरो सम्बन्ध छ । भित्र कतै छापिन्छ यो कुरा । सफा र स्पष्ट । टाउको रन्थनिन्छ । म लाचार सोचहरूको गहिरो खाडलमा खसिरहन्छु ।

फेरि एकोहोरो शङ्ख बजेको आवाजले मेरो कानलाई स्पर्श गर्छ ।

°°°

म झस्किन्छु ।

कसैले मेरो देब्रे कुममा आफ्नो हात राखेको छ । पछाडि फर्केर हेर्दिनँ । मलाई थाहा छ, त्यो स्पर्श कसको हो । मेरो हृदयको सबैभन्दा प्रिय मान्छे, मेरो पछाडि छ ।

ऊ, म नजिकै आएर बस्छे । चुपचाप । मौन । केही बोल्दिन । बागमतीको डिलमा लडेको लासलाई एकोहोरो हेरिरहन्छे । श्वेत कात्रोले बेरिएको लास, कुनै अमूर्त पेन्टिङझैं लाग्छ । म पनि चुपचाप तल हेरिरहन्छु । तिनै दृश्यहरू: मुर्दा, मलामी र चिताको चर्तिकला !

ऽऽ
टायरको गन्ध
चिताको वृत्तचित्र
यी आँसुहरूको गुनासो
घोचोको घोचाई
धुवाँ
खरानी

यी यत्ति नै त रहेछ
मुर्दाको जिन्दगी !
ऽऽ

काव्यिक शब्दहरू, ऊ आफ्नो हृदयबाट सापटी लिन्छे । उसको त्यो मधुर आवाज, आज गह्रुँगो सुनिन्छ । म ऊतिर हेर्छु । उसको चेहरामा, कुनै दार्शनिकको जस्तो गम्भीरता देख्छु । महसुस गर्छु- म १८औं शताब्दीमा बाँचिरहेको छु । एमिली डिकिन्सन मेरो छेउमा छे । हामी एउटै बेन्चमा बसिरहेका छौं । जहाँ, हामी एकअर्कालाई प्रेम गर्छौं ।

ऊ मेरो हातमा आफ्नो हात राख्छे । आफ्ना मुलायम औंलाहरूलाई, मेरा औंलाहरूमा बाँधिदिन्छे । समय अलिकति जल्छ । ईष्र्यालु देखिन्छ । गुमनाम हुन्छ । सायद, उसले समयलाई पनि कतै बाँधिदिई । कैद गरिदिई ।

मेरा आँखाहरू, उसको चेहरामा बेपत्ता हुन्छन् ।

ऊ एकोहोरो ती १८औं शताब्दीमा गुमनाम भएका शब्दहरू बर्बराउन थाल्छे । म शालिकझैं उसलाई सुनिरहन्छु । चुपचाप । ऊ बर्बराउदैँ जान्छे, मृत-भाव बोकेका, जीवन्त शब्दहरू-

“म आफूभित्र चिता जलिरहेको महसुस गर्छु…””

आइ फेल्ट अ फ्युनेरल इन माइ हेड .. खै, कसरी उसले मेरो मनका भावनाहरू बुझ्छे । ऊ सधैँ यस्तै छे । कहिलेकाहीँ लाग्छ, ऊ मेरी व्यक्तिगत मनोचिकित्सक हो । डाक्टर हो । म उसको स्थायी बिरामी हुँ । मभित्र के छ, उसलाई सब थाहा छ । रोग, व्यथा, कथा, भवाना, महसुस, विचार । सबै ।

°°°

ऊ झस्किन्छे ।

शङ्खको एकोहोरो आलाप । मलामीहरूको भीड । चार काँधमा चीर-निद्रा निदाइरहेको मुर्दा । मौनताभित्रको कोलाहल । आफ्नाहरूको रुवाई । आँसुहरू । पराई बनिसकेका आफन्तहरूको नक्कली न्यास्रो । घाटमा फेरि अर्को लासले हाजिर गर्छ ।

हाम्रा बाँधिएका औंलाहरू छुटिन्छन् । समय फेरि उहि गतिमा चल्न थाल्छ । बेन्चमा उसले आफ्नो दुबै हात राख्छे । हल्का तन्किँदै तल घाटतिर हेर्छे । उसको अनुहारमा उदासीका बाङ्गा धर्काहरू कोरिन थाल्छन् । ऊ एकोहोरिन्छे । त्यतै, घाटतिर हेरिरहन्छे ।

दाहसंस्कार आरम्भ हुन्छ । चिता जल्न थाल्छ । घाटमा दुई चिता जलिरहन्छन् । एउटा आधा जलिसकेको छ । अर्को भर्खरै जल्न सुरु भएको छ । उनीहरू बीचमा केही मिनेटको अन्तर छ । सायद, उनीहरूको जिन्दगीमा पनि केही मिनेटकै दुरी थियो ।

धुवाँहरू आकाश छुन दौडिन्छन् । उसका आँखा धुवाँसँगै बादलमा पुग्छन् । म उसको आँखामा पुग्छु । देख्छु- उसका आँखा पानीले भरिएका छन् । टिलपिल छन् । मलाई ती आँखाबाट एउटा सिङ्गो नदी नै खस्न लागेको हो कि जस्तो अनुभव हुन्छ । मलाई जसरी भएपनि त्यो बाढी रोक्नु छ ।

ऊ मतिर फर्किन्छे । म उसको दुबै गालामा हात राख्छु । उसलाई नजिक तान्छु । र ती आँखाहरूलाई पालैपालो चुम्छु । मेरो ओठमा उसको आँसु लाग्छ । उसका गालामा, दुई कुरुप आँसुका नुनिला ढिक्काहरू खस्छन् । म असफल हुन्छु । मैले त्यो बाढीलाई रोक्न सकिनँ । मन र ओठ दुबै चिरिक्क हुन्छन् । चह्राउँछन् ।

ऊ मलाई अँगालेर रुन थाल्छे । म केही भन्दिनँ । चुपचाप उसको कपाल मुर्साछु । मन खल्लो हुन्छ । मलाई पनि ऊसँगै रुन मन लाग्छ । तर मेरो रुवाई घाँटीमै कतै अड्किन्छ । मेरा आँखाहरूमा आँसु छैनन् । मजस्तै ती पनि रित्ता भएका छन् ।

°

आँसुहरू खसेर सकिन्छन् ।
चिताहरू जलेर सकिन्छन् ।

ऊ मलाई एकोहोरो हेर्छे ।

हाय, उसका ती निर्दोष आँखा, त्यो निर्मम चेहरा !

भित्रै कतै बेस्सरी घोच्छ । भतभति पोल्छ । उसको आँखामा पश्चतापको एउटा सानो बत्ती बल्छ । एउटा गह्रुँगो प्रश्न, जो उत्तरबिहीन छ, उसको ओठ हुँदै मेरो कानमा ठोकिन्छ–

“हामीले गल्ती त गरेनौंँ ?”

°°°

नेपथ्यमा मृत्यु बोल्छ–
यो सहरको दुई घरका, दुई कोठाका, दुई ओछ्यानमा, दुई ताजा सुसाइड-नोटहरू लम्पसार सुतिरहेका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!