दशैं बदलिएको कि हामी ? | संस्मरणात्मक लेख | काव्यालय- Kavyalaya

दशैं बदलिएको कि हामी?

आफूलाई हेर्छु, आफ्ना वरिपरिका परिस्थितिलाई नियाल्छु, ऐना हेर्दा अनुहारमा लागेको धुलो सिसामा पुछ्दा नगएको सम्झन्छु। अझै पनि लाग्छ, धुलो सिसामै थियो।

कति जिद्दी छौँ हामी, बद्लिएका हामी हौँ तरपनि भन्छौँ….
“दशैं पनि दशैं जस्तो छैन।”

दशैं, दशैं जस्तै नै छ, जस्ताको तस्तै नभएका हामी हौँ। हामीले भुलेका हौँ चट्टै आफ्नो पाखा र पखेरोलाई, रातो माटा र कमेरोलाई, बाबियो र रोटे पिङलाई, चङ्गालाई ! दशैंले हामीलाई भुलेको भए, बर्सेनि किन आँउदो हो र उमङ्ग बोकेर ! अझ दशैं हामीलाई अथाह प्रेम पनि गर्छ। रित्तो हात कहिल्यै आएको छैन, कोसेली लिएर आउँछ एक थैलो ! प्रत्येक वर्ष, केटाकेटीहरूलाई आउनासाथ एक एक मुठ्ठी उमङ्ग दिन्छ पोको खोलेर । राता, हरिया, पहेंला कपडा लगाएर टीका र जमरासँगै फुरुङ्ग हुन्छन् फुच्चा केटाकेटीहरू !

उनिहरूलाई हेर्दा लाग्छ, मात्तिएका हामी हौँ क्यारे ठूला भएर, दशैंले दिएको उपहार हामीले अस्विकार गर्छौँ र भन्छौँ,
“दशैं पनि दशैं जस्तो छैन।”

दशैं त ज्ञानी छ, टालेको लुगामा पनि त टीका थापेकै हौँ, अब आमाले किनिदिएका नयाँ कपडा पनि नाक खुम्च्याउछौँ। दस वर्ष लगाएपनि नफाट्ने खागीका कपडा किनिदिँदा दस पटक हेरेर पनि नथाक्ने मन, रातभरि नसुत्ने आँखा आज दस हजारका कपडा खोज्छन् दशैं मनाउन। दशैं महङ्गो भएको होइन महङ्गिएका त हामी हौँ, शहर पसेर सपनाको महलमा बसेर !

साना कुरामा रमाउने मन बदलिएर सानो कुराले चित्त दुख्ने भएको छ, अब कसरी भनौँ दशैं बदलिएको हो। कमेरो र रातो माटाले रङ्गाउन नसकेको मनलाई, चामलको अक्षताले के रङ्ग्याउला ! बाबियाको डोरीले कँस्न नसकेको सम्बन्ध जमराका २ मुनाले के बाँध्ला !

गामभरि डुलेर जम्मा पारेको २० रुपैयाँका डलर १०० पटक गन्दै फुरुङ्ग हुने मनलाई सोध्नु मन छ, दशैं के हो?
हराइसकेको मुस्कानलाई करोडौं रुपैयाँको बिटाले किन्न सकेन आज अनि अझै भन्छौँ, दशैं, दशैं जस्तो छैन। पोटिला मुस्कान, मनभरि रहर, आँखाभरि टिलपिल टिलपिल सपना बोकेर, आफ्नो लुगा हेर्दै साथीको लुगामा आँखा डुलाउँदै गर्दा पो थियो रहर ठूलो मान्छे बन्ने धेरै पैसा कमाउने। पैसा कमाएर पनि दुखेको मनलाई टाल्न आज गाउँ नै फर्किनुपर्ने, त्यो आसमा कि बा’ले फेरि आशिर्वाद दिऊन् “सधैँ सुखी रहेस् !”

मिष्ठान्न भण्डारका पेडा र रसबरीले किन अघाएन मन, आमाको हातले पकाएको कुइयापा, दिदीले पाहुरमा ल्याएको फिनि, खर्सिएको काँक्राको अचारको स्वाद नआएर हो कि? किन लागेन त दशैं, दशैं जस्तो?
आधुनिक बन्ने क्रममा हामी, हामीबाट अरु कोही भइसकेको पत्तो पाउँदैनौँ अनि भन्छौँ,
“दशैं, दशैं जस्तो छैन।”

गाँउघरका मेलामा, पधेँरी र घट्टामा देखिएको दशैंले भाटभटेनीको लिफ्ट चढ्न जानेन सायद। रातो माटो र कमेरोले लतपतिएको रङ्गिन दशैंले एपोलो पेन्ट्सको भित्तामा रङ्गहिन महसुस गर्यो। तल्लाघरे साहुको दोकानमा सामान किन्दै गरेको दशैंलेअनलाइन शपिङ चलाउन जानेन । धानका बालाहरू सँगै हुर्किएको दशैं शायद बास्मती चामलका प्याकेटभित्र गुम्सिएर मर्यो ।

हाम्रो हैसियत बदल्ने क्रममा हामी निकै पर पुग्यौँ, चाडपर्वहरू छुटे पछाडि नै, अनि हामी भन्छौँ
“दशैं, दशैं जस्तो छैन ।”

वर्तमान जिउन बिर्सिसक्यौँ ! क्यामराका अगाडि खिस्स हाँसेको मुस्कानलाई असली सम्झियौँ। आफ्नो असलियतमै झुक्कियौँ । रातो टीका, निधारमा भन्दा पहिले फेसबुकको वालमा टाँस्यौ, यहाँ पनि झुक्कियौँ तरिका यहि हो कि भनेर। सामान्य धरातलबाट पलाएका हामी जति सरलतामा बाँच्न सक्यौँ त्यति सुहाँउछ, त्यति रमाउन, खुसी हुन सक्छौँ। हामी आफ्नै धरातल बिर्सन्छौँ र भन्छौँ,
“दशैं, दशैं जस्तो छैन।”

खुसीको अभाव खड्किएको महसुस यत्तिकै भएको होइन हामीलाई! वर्षभरि चुहिएको छानो दशैं आँउदा खरले छाउँदाको खुसी पो खुसी। आमाले खाना पकाउँदा निस्केको धुवाँको कालो मुस्लो, सेतो कमेराले छोप्नु पो खुसी। बयाट्री फोडेर निकालेको कालो रङ झ्याल ढोकाका चौकसमा पोत्नु पो खुसी। आँटीमा राखेको काँसका भाँडालाई चरिअमला र खरानीले टलक्क टल्काएर, छेउको दुनामा काँक्राको अचार सँगै सेलरोटी पाहुनालाई पस्केर दिनु पो खुसी। काँसको थाल भारी लाग्छ हामीलाई, ‘युज एण्ड थ्रो’को बानी परिसक्यो, हामी आफै हलुङ्गा भइसक्यो, सरल बन्ने क्रममा अनि भन्छौँ,
“दशैं, दशैं जस्तो छैन।”

दशैं मनाउन स्कुलको निलो सर्ट र पाइनट्मा उफ्रिँदै हिँड्ने हामी, आज उस्तै छैनौँ भने हाम्रो हक पनि त छैन दशैंको बदलावलाई अस्विकार गर्ने। तीन-तीन घण्टा उकालो र ओरालो गरेर नथाक्ने पाइताला आज २ पाइला हिँड्दा सुस्केरा हाल्छौँ अनि भन्छौँ,
“दशैं, दशैं जस्तो छैन।”

सबै जम्मा भएर गाँउमा सबभन्दा जेठा बाठाको हातबाट टीका थाप्न जाने मन आज पल्लाघरमा को बस्छ थाहा पाउँदैन। एक्लै बस्ने बानी पार्यौँ आफैलाई, अनावश्यक पीडा दियौँ मस्तिष्कलाई, रमाउन बिर्सिसक्यौँ अनि भन्छौँ,
“दशैं, दशैं जस्तो छैन।”

यो दशैंमा एक पटक फेरि गाउँ जानु छ ! क्यामरा र मोबाइललाई घरमै थन्क्याएर लठ्ठे पिङमा चचहुइ भन्दै मच्चिनु छ, सहरमा थाती राखेर गएका सबै कामहरू बिर्सिएर। साथी भाइलाई भेटेर एक अङ्गालो माया बाँड्नु छ । उः बेलाका कहानी बटुल्नु छ । पेट मिची मिची हाँस्नु छ। पधेँरीमा जाँदा बसेको प्रेम सम्झेर मलिन हुनु छ एकैछिनलाई भएपनि । मनभर नजरी झरनामा रुझ्नु छ । पधेँरीबाट गाग्रोमा पानी बोक्नु छ। बासँगसँगै बेंसी बजार झर्नु छ, एकपटक फेरि आमासँग मेला घुम्नु छ।

कुँडुले घरको आँगनको डिलमा बसेर उडाउन मन छ चङ्गा, र चङ्गासँगै उड्न दिनुछ मन, पर परसम्म । हो, यो दशैंमा अघाउन्जेलसम्म खुशी हुनु छ । एकपटक फेरि दशैं जसरी नै दशैं मनाउनु छ ।

Facebook Comments

You may also like

error: Content is protected !!