दशैं | मनोवाद | काव्यालय - Kavyalaya | दीपशिखा घिमिरे

दशैं

‘राजु दाइ, आइदिनुस् न है’ भन्दा हुन्छ भनेर आइदिने राजु दाइले ‘लेख बहिनी’ भनेपछि म कसरी पो नलेखौँ ? फेरि नेपालीमा नलेखेको पनि धेरै भइसकको थियो । त्यो भन्दैमा फेरि अंग्रेजीमा चाहिँ लेखेर तहल्कै पिटेँ भन्न खोजेकी होइन । दाइले सन्दर्भ पनि जुराइदिनु भयो- दशैं । अब ‘नाइँ लेख्दिनँ’ भन्न पनि मिलेन । ल, अब खुरुक्क बसेर लेख्छु भनी हातमा कापी र कलम बोकेँ । फेरि यो लेख्ने भन्ने कुरा चिटिक्क परेको बस्ने ठाउँ, गतिलो कापी, कलम, समय, अनुसन्धानको लागि चाहिने किताबहरू, गुगल मात्र भएर मात्र पनि नआउने के । ओहो, फेरि मैले तपाईंलाई अल्मलाएँ, म त दशैंको बारेमा पो लेख्न बसेको ।

सात महिना पूरा भइसक्यो घरबाट बाहिर ननिस्किएको, न त नयाँ लुगा किनेको छु । छुट्टी हो जस्तो लाग्थ्यो दशैं अहिले त जहिल्यै छुट्टी । न झिलीमिली, न दशैंसँगै आउने सांस्कृतिक कार्यक्रम । भीडको नाममा ‘कोभिड’ मात्र सुन्छु । ह्या, यस्तो बेलामा पनि राजु दाइले के दशैंको बारेमा लेख्नु भनेको होला । यदि दशैं धेरैपछि सबै काम छाडेर सबैजना घरभित्र बसेर मनाउने चाड हो भनौँ भने कोभिडको त्रास एकातिर, अर्कोतिर सिन्धुपाल्चोकमा पहिरोले घर गोठ सबै बगाएकाले के गरी दशैं मनाउलान् ?

हुन त स्कुले जीवनदेखि दशैंको निबन्ध आउने बित्तिकै मैले लेख्ने एउटा परिभाषा थियो । त्यही लेखेर पो सुरु गरूँ जस्तो लाग्यो ! चैत्र शुक्लपक्षमा मनाइने दशैं र आश्विन शुक्लपक्षमा मनाइने दशैं गरी वर्षमा दुई दशैं पर्दछन् । तर आजभोलि दशैं भन्ने शब्द आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्पयसछि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन धुमधामले मनाइने चाडलाई नै भनिएको बुझिन्छ । ती पन्ध्र दिन मध्ये पनि विशेष महत्वपुर्ण दिन चाहि सप्तमी, महाअष्टमी, महानवमी र दशमी तिथीका दिनहरू हुन् । अब चैते दशैं र विजयादशमी छुटाउने उपाय एउटा के हो भन्दा चैते दशैंमा एकदिन बिदा हुन्छ र विजयादशमीमा बिस दिन, कहिलेकाहीँ स्कुल एक महिना तिहारसम्म पनि हुन्छ ।

उफ्  ! के लेखेको मैले ? हुदाँहुँदा कस्तो परिस्थीती आयो, मेरो त दशैं बिदाभन्दा चैते दशैं बिदा पो धेरै हुन गयो जस्तो छ । चैतदेखि बिदै बिदा छ । हरे ! राजु दाइको आग्रहमा लेख्न लागेको यो लेखमा मेरो दशैंको पुरानो परिभाषाले पनि काम नर्गला जस्तो छ ।

ठिकै छ दीपशिखा, तैँले हार खानु हुँदैन, लेख्ने प्रयास जारी राख्नु पर्छ ।

“वर्षा, जाँगरिली, दासी, धोई, पोती, लिपी, चली ।
शरद् मालिक्नी जस्तै गर्न थाली ढलीमलि !”

भनी कविशिरोमणि लेखनाथ पोड्यालले शरद् ऋतुलाई मालिक्नीको उपमा दिएका छन् । साच्चै यसबेला आकाश खुल्ला, स्वच्छ देखिन्छ । प्रकृतिमा नयाँ बैंस, नयाँ उमंग/बहार आएको हुन्छ । यसरी जाडो र गर्मी दुवै समान अवस्थामा रहने शरद ऋतुमा नेपालीहरूले सबै मर्मत गर्छन् । सफासुघर गर्छन् र सकेसम्म रमाइलो गरी मिठो परिकार खाएर यो चाड मनाउँछन् । ओहो ! यो लेखेको मिलेन जस्तो छ, यसरी हरेक टोलमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको अवस्था छ । धेरै आफन्त कोही आइसोलेशनमा, कोही क्वारेन्टिनमा त कोही आइसीयूमा । हैन यस्तो अवस्थामा मैले भनेजस्तै दशैं रमाइलो छ र ? यस्तो जटिल परिस्थितिमा मनमा शान्ति कहाँ हुन्छ र । बरू स्तब्धता छाउनेरहेछ । प्रकृति रमाए पनि मन सधैँ नरमाउँदो रहेछ ।

दशैंसँग सम्बिधित धेरै किवदन्ती छन् जसमध्ये, यो पर्व अन्यायको विरुद्ध न्याय र असत्यको विरुद्ध सत्यको विजय भएको खुसियालीमा मनाउँदै आएको देखिन्छ । यो लेख्दै गर्दा घटनाहरू सम्झिए अनि ती अनुहारहरू !  सम्झना कामी, र्निमला पन्त, संगिता मण्डलजस्ता नामहरूले न्याय पाए त ? ‘दाइले मेरो खुट्टा ढोग्छ, बाबाले पैसा दिनुहुन्छ’ भनेर खुशी हुँदै दशैं मनाउनु कि कसै न कसैको दाइ, बाबाबाट नै बलात्कृत भएका यी मैजस्ता  चेलीहरूले हारे, मैले हारेँ वा सत्यले हार्यो भन्ने जान्दाजान्दै म कसरी दशैं मनाऊँ ?

एक किवदन्ती अनुसार परापूर्व कालमा दैत्यहरूको आतंंकबाट आतंकित भएका देवताहरूले शक्तिरुपनी दुर्गा भवानीको आरधाना गरे अनि दुर्गा भवानी प्रकट भइन् र देव/मनुष्यहरूलाई सताउने शुम्भ, निशुम्भ र रत्तबीज, महिषाशुर आदि असुरहरूको विनाश गरी उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरिन् अनि देवताहरूले निर्भय भई देवीको पूजा गरेदेखि नै यो पर्व मनाउने प्रचलन आएको रे । 

यसो सोचौँ त यो कोरोना अनि बलात्कारी मानसिकता, यी  कुनै राक्षस भन्दा कम छन र, छैनन् नि है ? कोरोनाको कुरा गर्दा, ठिकै छ बरु अर्को साल मात्र हजुरबा हजुरआमालाई भेट्न जाऔँला । तर यो बलात्कारी मानसिकतासँग ? यससँगको लडाइँ महिषाशुरसँगको लडाइँभन्दा कहाँ कम छ र ? यो लडाइँ सभ्यताको मस्तिष्कमा लागेको खियासँगको हो । जसको आज या भोलिमा नतिजा अपेक्षा गर्न मुस्किल छ । तर, यसकै सिकार भई अन्यायमा परेका ती चेलीहरूमाथि न्याय होस्, जो सरकार र सत्ताधारीले चाहने हो भने अविलम्ब सम्भव छ । 

यत्तिका समस्याहरूबिच गुज्रिरहँदा हरेस खाइदिन मन लाग्छ । तर जब फेरि दुर्गा भवानीबारे उही किंवदन्ती सम्झिन्छु एक किसिमको मनमा अठोट बनेर आउँछ । ऊर्जा बनेर आउँछ । राक्षसलाई परास्त गर्नु एउटा कुरा तर विद्रोह गरिरहनु, जुधिरहनु अर्को कुरा । सबैलाई यसपालीको दशैंमा दुर्गा भवानीले यही राक्षष र राक्षसी प्रवृत्तिमाथि अथक विद्रोह गर्नसक्ने ताकत दिऊन् । हामी जहाँ जहाँ छौँ, त्यहीँबाट मानवीय सौहार्दतालाई आदर्शमा मात्रै होइन व्यवहारमा लागु गरौँ र राक्षसी प्रवृत्तिलाई देखावटी रूपमा मात्रै होइन हाम्रो भित्रैबाट निकालेर मिल्क्याइदिऔँ । सबैमा दशैंको शुभकामना ।

Facebook Comments

You may also like

error: Content is protected !!