दशैं र खलबल | मीमांसा | काव्यालय-Kavyalaya

दशैं र खलबल (भाग-३), विवाद छिचोलेर दशैंलाई हेर्दा..

..यहिबीच अर्को तप्का पश्चिमा संस्कार तथा संस्कृतिलाई सहज रूपमा आत्मसात गर्नेहरूले दशैं बहिष्कार गरेको भन्दै आइरहेका छन् । आर्य र अनआर्यबीचको विवाद त झन् भइहाल्यो । इतिहास कसले बिर्सेको हो- बहस जारी नै छ । (भाग-२ बाट)


च. उखानले उब्जाएको प्रश्नहरू : 

‘हुने खानेलाई दशैं, नहुनेलाई दसा’, ‘आयो दशैं रमाई-रमाई, गयो दशैं ऋण बोकाई’; जस्ता उखानले के-कस्तो आर्थिक तथा सामाजिक पक्षलाई इंगित गर्दछ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमाथि प्रश्न हो ।


छ. दशैं र दशहरा :

“टीका र जमरा हटाइदिने हो भने हाम्रो दशैं र भारतको ‘दशहरा’ बीच खास भिन्नता रहँदैन । भारतका हिन्दु धर्मावलम्बी दशहरामा नवरात्रीभरि उत्सव गर्छन् । विजया दशमीको दिन हामीले जस्तो टीका र जमरा लगाएर ठूलाबडाको आशीर्वाद भने थाप्दैनन् । धार्मिक चाड मात्र हुँदो हो त हाम्रो दशैं मनाउने आधारभूत तरिकामै यति ठूलो भिन्नता हुँदैनथ्यो ।” संस्कृतिविद जगमान गुरुङ दशैंलाई ‘लडाइँसँग जोडिएको संस्कृति’ मान्छन् । जसको चर्चा, माथि गरिसकिएको छ ।

वैदिक युगबारे जानकार वरिष्ठ उपन्यासकार मदनमणि दीक्षित आफ्नो किताब ऋग्वैदिक नारी चरित्रमा लेख्छन्,

“भारतमा विजयदशमीको रूप भने नेपालमा भन्दा झनै बढ्ता फरक छ । नवरात्र (नौरथा) र दशैं मनाउने नेपाल र भारतका पृथक जनसमुदायहरूमा एउटा विषयमा प्रायश: समानता पाइन्छ । त्यो हो दुर्गापूजा र महाअष्टमीका दिन देवीलाई पशु बलि दिने क्रिया । ती पृथकताहरू, रूप र स्रोतको अध्ययन छुट्टै विषय हो ।”(पृष्ठ : ४३-४४ )

नवरात्रको दुर्गापूजा र विजयादशमीका समबन्धमा धर्मशास्त्रीय, वैज्ञानिक समाजशास्त्रीय अध्ययन गरिनु पर्ने उनको निचोड छ । यहाँ उनले दशैंमा जमरा राख्ने विधि, टीकाको महत्व, दियो/गणेश/कलशको इतिहास, तीथितत्वको आधारमा कहाँ-कहाँ कतिकति दिन नवरात्री मनाइन्छ लगायत पूजाविधिका अनेक प्रसंग र सांस्कृतिक सन्दर्भहरू उल्लेख गरेका छन् ।

“दशमीको दिन दुर्गालाई सेलाउँदा कालिका पुराणअनुसार शवरोत्सवका रूपमा गरिन्छन् केही ठाउँमा । नेपालमा यो चलन छैन । शवरहरू भारतका ती प्राचीन आदिवासी हुन् । शवरोत्सवमा शवरहरूलेझैं खरपातका पोशाक लगाएर जीउमा हिलो पोतेर वनवासीहरूलेझैं जंगली नाचगान गरिन्छन् । त्यो शवरोत्सव आज नेपालमा सम्भ्रान्त पारिवारिक मिलन र आनन्दोत्सवमा परिणत भएको छ । समाजमा त्यसैगरी परिवर्तन हुँदै आएका छन् । मानव समाज कतै स्थिर र गतिहीन छैन पनि ।” (ऐजन, पृष्ठ ४९)


ज. पशु बलि र विरोध :

१. उत्पत्ति र दर्शन :

भारतमा बंगालमा अन्तभन्दा धेरै धुमधाम र विशेष श्रद्धाका साथ नवरात्रि मनाउँछन् । भारतमा र हाम्रै मधेसमा पनि नवरात्रीभर ठूल्ठूला पण्डालमा दुर्गाका माटाका मूर्ति सजाई पूजा गरेपछि मूर्तिलाई नदी, समुंद्रमा लगेर विसर्जन गरिन्छ । पहाडी क्षेत्रमा भने शक्तिपीठमै गई दर्शन/पूजा गर्ने, बलि दिने चलन छ । काठमाडौँ उपत्यका र पूर्वमा पूर्णिमाका दिन टीका विसर्जन नगरुन्जेल लगाइने टीका पश्चिम पहाडमा दशमीको दिनमात्र लगाइन्छ । काठमाडौँ उपत्यकामा निधारको मध्यमा मात्र लगाइने टीका पहाडतिर पूरै निधारभरि लगाइन्छ । 

“मातृपूजाको सम्बन्ध कृषिको उत्पती र विकाससित छ । दुर्गापूजाको विशेषता पशु बलि हो । पूजामा रगतको त्यो समावेशलाई नारीको प्रजनन शक्ति र त्यसको पूर्वशक्ति नारीद्वारा ऋतु दर्शनसित जोडेर हेर्ने पक्षमा आधुनिक सोधकर्ताहरू छन् । यसैकारण केही ठाउँमा अझै पनि कृषिका चरणहरूमा र खेतमा समेत पशु बलि दिने चलन पाइन्छ ।

प्राचीन रैथाने दुर्गापूजालाई कालान्तारमा ‘हिन्दूकरण’ गर्दै लाग्दा बलि, मांसको उपयोग गरिने आराधनाको ‘सात्त्विकीकरण’ गर्न थालिएर त्यससित उपवास, जप, निरामिष, नैवेद्य तथा व्रतहरू जोडिए, बलिको रगतको सट्टा सिन्दूरको रातोले मातृशक्तिलाई सन्तुष्ट राख्न खोजियो ।” (ऋग्वैदिक नारी चरित्र, पृष्ठ: ५०-५१) 

आलेखमा दीक्षितले दुर्गापुजा यो भू-भागको अति प्राचीन चाडपर्व भएको बारबार उल्लेख गरेका छन् ।

२. बलिप्रथाको धार्मिक मान्यता :

धार्मिक मान्यता अनुसार कामको प्रतीक हाँस, क्रोधको प्रतीक भेडा, लोभको प्रतीक कुखुरा, मोहको प्रतीक परेवा, पदको प्रतीक राँगोको बलि दिने चलन छ । यसलाई दुई थरी कथन छ,

अ. विधि पुर्याएर गरे बलि हिंसा होइन..

बलि प्रथाको पछाडि अहिंसा छ भन्ने कथनपछाडि पनि मैले कारणहरू भेट्टाएँ । जथाभाबी मानिसले पशु हिंसा नगरुन भनेर प्राचिन ऋषिहरूले एउटा व्यवथा गरे । सोहीअनुसार जथाभाबी पशु हिंसा नगर्नका लागि विधि तय गरियो । यसबाहेक बलि दिनका लागि पशु युवावस्थामा हुनु पर्ने, स्त्री पशुलाई बलि दिन नपाइने तथा पशु निरोगी हुनुपर्ने जस्ता नियमहरूसहित यो तर्क अगाडि सारियो । जसको प्रतितर्कको रूपमा विधि पुर्याएर बलि दिँदा पुण्य नहुने र अहिले त्यहि भइरहेको भनी उल्लेख गरिएको छ । (भारतीय विभिन्न स्रोतहरू)

धर्मशास्त्रविद एवं नेपाल पञ्चांग निर्णायक समितीका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम पशुको मुक्तीका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय परम्परा रहेको बताउँछन्। उनले देवीदेवतालाई दिइने बलि प्रसादका रूपमा कसैले मासु खान्छ भने त्यो राम्रै हुने बताए । “अविवेकशील प्राणीलाई मुक्ती दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशुको भाग्य हो”, शास्त्रमै उल्लेख भएकाले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने उनको तर्क थियो ।

गौतमका अनुसार बलि पनि तीन प्रकारका हुन्छन् : सात्विक बलि, राजस बलि र तामस बलि ।

  • चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत आदिले पूजा गर्ने विधिलाई सात्विक बलि । 
  • सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि
  • सात्विक र राजस दुवै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजाविधिलाई तामस बलि

मासु नखाने (शाकाहारी)ले पनि बलि दिएर सुँघेर छोड्ने परम्परासमेत रहेको उनको तर्क रहेको छ।
(स्रोत : https://www.onlinekhabar.com/2016/10/487742)


आ. बलि प्रथा विकृति हो..

नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दै आएको छ । गढिमाईको बलि होस् वा दशैंको बेलामा देवीपीठहरूमा दिइने बलि होस्, त्यहाँ दानवीय नृसंस हत्या भइरहेको छ ।

नेपाल वायुसेवा निगमद्धारा वोयिङ्ग खराब हुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयुक्त रूपमा बोकाको बलि दिएको घटना, प्रधानमन्त्रीजस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिएको एवं भैंसी पूजा गरेका घटनाहरू देखिरहेकै हो ।

सरसर्ती हेर्दा कर्मकाण्डीय पक्षलाई अङ्गिकार गर्ने धार्मिक व्यक्ति वा संस्था यसको पक्षमा र आध्यात्मिक पक्षलाई अङ्गिकार गर्ने तथा समयानुकूल संस्कार/संस्कृती परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोच राख्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।

बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपती क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले पशुबलिका नाममा अब देशका मठमन्दिरहरू वधशालामा परिणत हुँदै गरेको बताउँदै ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन ।’ भनेर उल्लेख गरेका छन् ।

***

हिन्दु संस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अहिंसावादीहरूले शक्तीरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पनि पाइन्छ । 

थारु समुदायमा जीव जनावरको वध गरेर देवतालाई बलि चढाइँदैन । घरबारीमै फलेको कुभिण्डोको बलि दिने प्रचलन छ । यद्यपि धेरै गाउँमा कुभिण्डोकै बलि दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुभिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीकोरूपमा खाने गरिन्छ । बलिको अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जे पनि हुनसक्छ भन्ने यताको तर्क छ ।

बलि दिनु भनेको त्याग गर्नु पनि मानिएको छ । हामीभित्र रहेका काम, क्रोध, लोभ, मोह, घृणाजस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु या त्यसको बलि दिनु उपयुक्त हुन्छ भन्ने तर्कको नजिक म छु ।


झ. दसमी कि दशमी ? या दसैं/दशैँ/ दशैं ?

दशमी संस्कृत शब्द हो । त्यही दशमीबाट दशै भयो । तत्सम् शब्द तद्भव भयो । ‘दशमी’ र ‘दशै’ दुवैमा मोटो श’’ हुन्छ । अहिले पातलो ‘स’ पनि लेख्न थालियो । त्यसो गर्दा पातलो ‘स’सँग दशैंको सम्बन्ध फाट्छ । त्यो पनि सांस्कृतिक ह्रास हो ।

संस्कृतिले पुरानो समाजलाई वर्तमानसँग जोड्ने काम गर्छ । त्यसलाई छुटाउने काम गर्न हुन्न । यसकारण मैले यो लेखभरि ‘दशैं’ नै लेखेँ ।


ञ.  विवाद छिचोलेर दशैंलाई हेरौँ…!

एउटै समुदाय र एउटै ठाउँमा पनि समयक्रममा दशैं मनाउने चलनमा परिवर्तन आउँंदै जान्छ, गएको छ । पहिले यस्तो परिवर्तनको गति धेरै ढिलो हुन्थ्यो र थाहा हुन्नथ्यो । अहिले विज्ञान प्रविधिको तीव्र विकास र भूमण्डलीकरणले गरेर परिवर्तनको गति तीव्र भएको छ र एउटै पुस्ताले महसुस गर्न सक्ने भएको छ ।

यो पक्का हो कि, हामी अझै पनि आफूमाथि आफैले शासन गर्न सक्षम छैनौँ । इतिहास र मिथकीय पात्रलाई भर्याङ बनाएर सत्ताको बार्दली चढ्ने कूटनीतिक चालबाजी भइरहेको हुन्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ । वंशावली, लोकगाथा र अनुश्रुतिले इतिहासको आंशिक सत्य संकेत भने गर्दछन्, यो तथ्य पनि त भुल्नु भएन । 

मानिसभन्दा अलग संस्कृति बन्न सक्दैन । संस्कृतिभन्दा अलग मानिस रहन सक्दैन । संस्कृतिका स्रष्टा मानिस हुन् । यसकारण, संस्कार जीवनपद्धति बन्छ । जहाँ संस्कार छ; त्यहाँ जीवन छ । जहाँ संस्कार छैन त्यहाँ जीवन पनि बाँच्दैन; समाज पनि बाँच्दैन । 

यी यस्ता युद्ध भएका छन् ? ती किन भए ? तीनका कारणहरू खोजौँ । ती अब नहोस् भन्ने कामना स्वरूप ती वीरगाथाका कथाहरू यहाँसम्म आइपुगेका हुन् कि ? (यो तर्कलाई काट्ने अरू तर्कहरूबारे माथि व्याख्या भएकै छ) 

बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातियुक्त विविधता मुलुकको देशमा एकल भाषा, धर्म, भेष जबर्जस्त लाद्नुप्रति गैरहिन्दुको आवाज उठ्नु स्वभाविक हो, ती आवाजलाई सुन्नु पर्दछ । ती आवाजका पनि इतिहास छन्, माधुर्य छन्, स्वर छन्, त्यसप्रति राज्य र सत्ता बहिरो हुनु उपयुक्त होइन । राज्यसत्ताको तानाशाही सोच र व्यवहार अब स्वीकार्य कदाचित हुनु भएन । अहंमा चूर  रहेको भस्मासुरले आफूलाई छोई हेर्दा आफै भस्म हुन पुगेको कथन किन पो दोहोर्याइरहनु र ?

चाड, पर्व, संस्कार; समाजलाई असलकातर्फ उन्मुख गराउने एक उज्यालो हो । सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैँभर यसरी अनिश्चिततामा रुमलिनु हुँदैन । 

भारतमा बेलायतले निर्माण गरेको रेल सञ्जाल (भलै त्यो बेलायती साम्राज्य टिकाउनकै लागि निर्माण भएको थियो) त्यसलाई भारतीयहरूले भत्काएका छैनन्, बरु विस्तार गरेका छन् । हामीले पनि भीम शमशेरले चलाएको शनिबारको सार्वजनिक बिदालाई अहिलेसम्म पनि मानिरहेका छौँ, त्यो चलनलाई राणा शासनको अवशेषका रूपमा हेरेका छैनौँ ।

नेपाल हिमाली देश । जति धेरै हिमाल हुन्छन् । जलप्रवाह त्यति नै बढी हुन्छ । पहिले हिमालहरूमा विशाल हिउँ हुन्थ्यो । नदीनाला ठूलाठूला हुन्थे । वर्षामा बाढी आउँछ । प्राचिन कालमा पैदलै हिँडेर नदी तर्नुपर्थ्यो । हिउँदमा विवाहवारी हुने । टाढाटाढाबाट घर आउनु पर्थ्यो । पुल थिएन । टाढा भएकाहरूको केही खबर आउँदैन । असार बित्छ, साउन, भदौ बित्छ, अनि असोजको आधाआधी बितेपछि जब शुक्ल पक्ष आउँछ । वर्षातका भेल साम्य भएका हुन्छन्, पानी सङ्लो भएको हुन्छ । नदी कहाँबाट तर्ने भन्ने बुद्धि लगाउन सजिलो हुन्छ । पारिका मान्छे वारि, वारिका मान्छे पारि जान्छन् । भेटघाट हुन्छ । यो वर्षा त बाँचियो, प्रकृतिमाथि जित हासिल गरियो भन्ने महसुस हुन्छ सबैमा ।

शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन् । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैको भेटघाट हुन्छ । रमाइलो वातावरण हुन्छ । अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस् भनेर आर्शिवाद दिने गरिन्छ । यसरी दशैं पर्वको आरम्भ भयो कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।

विजयको उत्सवको रूपमा प्रकृतिमाथिको विजयको अर्थमा दशैंलाई स्वीकार्न सकिने ठाउँ छन् । एककोशीय जीवदेखि यहाँसम्म आइपुग्नु पनि मानव समुदायको विजय नै हो । 

नवरात्रीमा देवीलाई अनिवार्य पशुबलि दिने चलनमा सुधार ल्याऔँ । वास्तवमा अहिले पनि काटमार नगर्नेहरूले फर्सी, कुभिण्डो, घिरौलाजस्ता वनस्पती ‘बलि’ दिएर, जीवहत्या नगरी कालरात्री पूजा गर्ने धेरै छन्। त्यस्ता (राम्रा ?) कुराको अनुसरण गरौँ। 

दशैंको महत्व, आवश्यक्ता, मान्ने शैली र व्याख्याबारे बहस हुनु स्वभाविक हो । कुनै चाडलाई धार्मिकभन्दा बढी सांस्कृतिक र सामाजिक दृष्टिले हेर्नु आवश्यक छ । सँगै, धार्मिक, सामाजिक सहिष्णुताका लागि चाडपर्व सहयोगी हुनुपर्छ । चाडपर्वले आपसी सहिष्णुता बढाउन सकोस् । ‘जयन्ती मंगलाकारी..’ संस्कार मानवधर्म साथै पर्यावरणमूलक चाडपर्व हो, पर्यावरण संरक्षणतर्फ पनि सोचौँ।

कतिपय निश्चित चाडपर्व जाति, वर्ग र समाजका मात्र हुन्छन् तर दशैंलाई सबै जात, सबै वर्ग, सबै समाज (सम्पूर्ण मानवको नै)को भन्न सकिने आधारहरू छन् । यो पनि एउटा विजय हो, यो खुसीयाली पनि अर्को विजयोत्सव हो ।  

हरेक चाडको पछाडि सुन्दर इतिहास र विज्ञान लुकेको हुन्छ । तिनलाई खोजौँ, तिनको सहि अर्थ निकालौँ ।

जयन्ती मंगलाकारी संस्कारले हामी सबैलाई सुसंस्कृत बनाउन्। अस्तु !!



Facebook Comments

You may also like

error: Content is protected !!