दशैं र खलबल | मीमांसा | काव्यालय-Kavyalaya

दशैं र खलबल (भाग-१ ) : जमरा देखि चङ्गासम्म

 

क. भूमिका :

चाडपर्व, मेलापात, जात्रा र परम्परा; सबैलाई रीतितिथि, प्रचलन अथवा प्रथा भन्न सकियो । हर्षोल्लासको हेतु (दशैं/ फागु), पारिवारिक कल्याण हेतु (छठी, घरी, जितिया पर्व), मातापिता-गुरु प्रति आदरभाव हेतु (कुशें औंशी, सतबीज छर्ने दिन आदि) र दाजुभाई, दिदीबहिनी प्रति स्नेह/बान्धत्वभाव हेतु (भाइटीका, नवआगनुत्क रक्षाबन्धन आदि), दाम्पत्य जीवन सुधार हेतु (तीज, सोमवारी आदि), कृषि र पशुचौपायाको हीतका लागि (नाग पंचमी, वसन्त पंचमी आदि), मुक्ति एवं शान्तिका लागि (पितृपक्ष, मातृ नवमी आदि), विभूति एवं शहीद दिवसको अवसर पारेर (सलहेस दिवस लगायत अनेकन), विशुद्द धार्मिक हिसाबकिताबमा अड्ने गरि (हरिबोधनी र हरिशयनी एकादशी, शिवरात्री, जेठ दशहरा आदि) या पर्यटनलाई लाभान्वित बनाउन (सलहेस जात्रा, मिथिला परिक्रमा आदि) वर्तमान नेपालको सामाजिक अस्तित्वको अभिन्न अंग बनिरहेका छन् । 

प्रकृतिमाथिको विजय, स्वभावमाथिको विजय, वैरीमाथिको विजय, प्राकृतिक एवं भौतिक विपदहरूमाथि विजय, सत्ता र शासकमाथिको विजय लगायतका अनेकन कथानकहरू यी यस्ता रीतितिथि, प्रचलन र प्रथासँग जोडिएर आएको पाइन्छ । धर्म, संस्कार प्रतीकात्मक रहन्छ। यसमा अनेक प्रतीक र बिम्बको प्रयोग भइरहेका हुन्छन् ।

विशेषत: दशैंको माहोल छ यतिखेर । र, यो वर्ष दशैंले कोरोना कहर पनि झेल्यो । दशैंमा सरकारले लकडाउन गर्छ कि गर्दैन भन्ने दोसाँधमा आफ्नो छायाँ अघिपछी ल्याउँदै म घर आइपुगेँ । दशैंको पूर्वसन्ध्यामा उपत्यकाको भीडभाड छिचोल्दै बजार गरी भ्याएँ । स्वास्थ्य संकट र दशैंको घर्षणले कहीँकतै मन भौतारिएको पनि थियो तर जेनतेन त्यो दशा टर्यो । यतिखेर म त्यहि बजारमा किनेको ल्वाङ मुखमा च्यापेर खुरुखुरु यो लेखिरहेको छु । गाउँ पस्नुअघि गाउँपालिकाको विधान र पीसीआर टेस्टको माखेसाङ्लोले एक रात उही कोटेश्वरमै निदाइनँ । भोलिपल्ट बिहान एउटा बस १२-१५ जना मिलेर रिजर्भ गरेर सिधै घरमुनि झरेको म यता आएको ५/७ दिन पारिवारिक लसपसबाट टाढा नै रहे । 

८-८ महिनासम्म एउटा कोठालाई रुँघेर बस्दा मेरो ‘मस्तिष्कको अन्डस्थुलन’ नै भएको थियो । मलाई जसरी हुन्छ, यहाँदेखि ‘उम्की भागौँ’ लागेको थियो । र, दशैं त्यहि तगारो बन्यो जसले मलाई त्यो गोलमटोल सहरिया आँगन नाघ्न उक्स्यायो र नघाइछाड्यो ।

अष्टमीको दिन खसी-बोका काट्नु र नवमीको दिन मैदी कोट (जहाँ पृथ्वीनारायण शाहको व्रतवन्ध गरिएको जनश्रुति छ) सम्म उक्लनुलाई ५/७ वर्षदेखि मैले चाख दिएर नियालीरहेकै हो । त्यसबाहेक दशमीको दिन टीका थाप्नु, जमरा सिउरनु र ढाकाटोपी ढल्काएर पिङ मच्चाउन वल्लो-पल्लो गाउँसम्म डुली भ्याउनु नित्य कर्म जस्तो हुने नै भयो । यो सब स्वत: हुने गर्दथे, यसपाला पनि भए ।  

फूलपातीदेखि पूर्णिमासम्म आफन्त भेटघाट र हाँसीमजाकमै बित्ने अघिल्ला वर्षहरूभन्दा यसपाला अलि फरक भयो । आफू मामाघर र फूपुहरू माइत आउजाउ गरिन/गरेनन् । मेसेन्जर, इमो र फोन कल नै भए । प्रविधि र परिस्थितिले निम्ताएको भर्चुअल दशैंमा थोरबहुत मेरो पनि सहभागिता रह्यो नै । सरकारी आदेश र दशैंको दबाब औपचारिक रुपमा ठीकठाक नै रहेको यतिखेर म निर्क्यौलमा पुग्छु । कोरोनाले के-कस्तो स्थति वरण गर्दछ र त्यसले समाजलाई के-कति कता पुर्याउने चेष्टा गर्दछ, त्यसको श्याम-श्वेत जवाफ यतिखेर मसँग छैन । 

उता (काठमाडौंमा) जे होस सकस नै थियो । पछिल्ला वामदेव गौतमदेखि कर्णालीसम्म तन्किएको नेकपा विवाद, डा. केसीको अनसन, बलात्कारका अनेकन् घटानाहरूको उजागर, अर्मिनिया-अजरबैजान विवाद, अमेरिकी चुनाव, फ्रान्सेली मुस्लिम ऐन विवाद, थाइ प्रदर्शन, भारतीय किसानहरूको चित्कार, नजिकिएको दशैं र बजार प्रवृत्ति अनि त्यसपछि सांसदहरूको ‘दशैं भत्ता काण्ड’लाई म चुपचाप हेरिरहेको थिएँ । मलाई वाक्कदिक्क लागिसकेको थियो । ८-८ महिनासम्म एउटा कोठालाई रुँघेर बस्दा मेरो ‘मस्तिष्कको अन्डस्थुलन’ नै भएको थियो । मलाई जसरी हुन्छ, यहाँदेखि ‘उम्की भागौँ’ लागेको थियो । र, दशैं त्यहि तगारो बन्यो जसले मलाई त्यो गोलमटोल सहरिया आँगन नाघ्न उक्स्यायो र नघाइछाड्यो । समाजिक, समसमायिक र परिस्थितिजन्य समस्याहरूले यद्यपि अझै पनि मेरो काखी कन्याइरहेकै छन् । कन्सिरी तानिरहेकै छन् । 

अब यति भूमिकाले पुग्छ । अब म मलाई लेख्न मन लागेको कुरामा प्रवेश गर्छु ।


ख. विषय प्रवेश :

‘विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृतिको वीरताको पुजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व शुरु भएको हो । महादशमी महाखुशीहालीको पर्व हो ।’– मलाई पहिले पहिले यस्तै लाग्थ्यो । पछि म आफैसँग विभिन्न प्रश्न गर्दै आइरहेको छू ।

दशैंका सैदान्तिक पक्ष र व्याहारिक पक्षका विभिन्न आयामहरू देखिन्छन् । दशैं ठ्याक्कै के हो, कहिलेदेखि शुरु भयो, के-कति कारणले दशैं अहिलेसम्म अस्तित्वमा छ ? यसको उपयोगिता के हो ? दशैंबाट समाजले के-कति कुरा प्राप्त गरिरहेको छ ?  के-कति कुराहरू खोसिरहेको छ ? यी प्रश्नहरू मलाई सामान्यतय चासोपूर्ण लाग्छन् । यसका जवाफहरू एउटा घेरा, एउटा परिधि या एउटा परिभाषाभित्र समाहित हुने ल्याकत राख्दैनन् । 

दशैं ठ्याक्कै के हो, कहिलेदेखि शुरु भयो, के-कति कारणले दशैं अहिलेसम्म अस्तित्वमा छ ? यसको उपयोगिता के हो ? दशैंबाट समाजले के-कति कुरा प्राप्त गरिरहेको छ ?  के-कति कुराहरू खोसिरहेको छ ?

म आफ्नो गाउँटोलमा क्लाँटा बाजा बजाउँदै मालाश्री धुन बजाएको सुनेर हुर्किएको होइन । म आफ्ना कान्छा हजुरबाउको पुरानो रेडियो (एभ्री डे ब्याट्री मै किनेर ल्याएर हाल्दिने गर्थेँ) मा दशैंका यी यस्ता धुनहरू सुनेर दशैंको रौनकतामा रम्दै हुर्की बढेको हूँ । पछि वैदेशिक रोजगारीको सिलसिलामा बुबा अरब भासिएपछि ममी र हजुरआमाको लालनपालनमा नयाँ लुगा, ५/७ धार्नीको खसीको मासु लुछ्दै १५ दिनको समयावधिभर सांस्कृतिक एवं उहाँहरूको आज्ञाको शिरोपालन गर्दै उमेरको हुन पुगेछु । 

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि (उहाँहरूले जानेसम्मको) अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामका देवी र शक्तिको पूजा आराधना गरेको नजिकबाट नियालेको छु । त्यसपश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने विश्वासलाई मैले चुपचाप घुटुक्क निलेको हूँ ।


१. पूजा विधि :

पहिलो दिन शैलपुत्री देवीको पूजा गरी गाईको घ्युबाट बनेको परिकार प्रसाद स्वरूप खाएको हूँ । 

दोस्रो दिन ब्रह्मचारिणी देवी र सख्खर, तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना र गाईको दूधबाट बनाइएका विभिन्न परिकार, चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना र मालपुवा, पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना र केराको भोग,  छैटौं दिन कात्यायनी माताको पूजा आराधना र मह, सप्तमी तिथिका दिन फूलपाती भित्राई कालरात्री भगवतीको पूजा र सख्खर, अष्टमी तिथिका दिन खसीबोकाको बली, महागौरी भगवतीको पूजा आराधना र नरिवल, नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना र घ्यू अर्पण गरेको देख्दै आएको हूँ । 


२. जमरा :

धान, गहूँ, मकै र  जौ’का लामा आँकुरा अर्थात् जमरा (पहिले जौ मात्र) । सप्तधान्य ( जौ, गहूँ, धान, तिल, कंगनी, मास, मूंग) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रसन्न हुन्छिन् भन्ने सुनेको र दिनहूँ जमरामा पानी हाल्न भाइसँग मेरो लटारो हुने गर्थ्यो । जमराले शितलता प्रदान गर्छ भनिन्थ्यो । शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरभित्र भित्र्याउँदा घरभित्र रहने रोगवृद्धि कारक जीवाणु नष्ट हुने पारिवारिक विश्वासले वैज्ञानिकता पाइसकेको छ।

इरानको नयाँ वर्ष  नौरोज (कसैले नौरुज त कसैले नवरोज, १३ दिनको पर्व को लागि तयार पारिने सब्जी) अर्थात् जमराको प्रयोग हुने गर्छ । उनीहरू सब्जी सजाउन मात्र जमराको प्रयोग गर्दछन् । १३ दिनका दिन त्यो जमरा नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने प्रचलन छ ।


अ. इरानमा जमराको प्रयोग :

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो भन्ने तर्क एकठाउँमा छ । तर एउटा अर्को तर्क पनि भेटियो ।

इरानको नयाँ वर्ष  नौरोज (कसैले नौरुज त कसैले नवरोज, १३ दिनको पर्व को लागि तयार पारिने सब्जी) अर्थात् जमराको प्रयोग हुने गर्छ । उनीहरू सब्जी सजाउन मात्र जमराको प्रयोग गर्दछन् । प्रथमतः उनीहरू जौ’लाई भिजाएर एउटा सेतो कपडामा पोको पार्छन् । केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ । त्यसलाई एउटा थालमा राख्छन् र त्यो बढ्न थाल्छ । नछोपिने हुनाले त्यो पहेंलो होइन हरियो देखिन्छ । १३ दिनका दिन त्यो जमरा नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने प्रचलन छ ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एशियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ । उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन् (दशैंको जमरा र इरानी नयाँ वर्षको जमरा, बीबीसी)


आ. महत्व :

जौ’लाई संस्कृतमा ‘यव’ (सामान्यतया सात दिनभित्र हुर्कन्छ, जसलाई यवरस पनि भनिन्छ) भनिन्छ । यसमा औषधिय गुण (आन्तरिक र नसर्ने रोगका लागि) पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने वस्तुको रुपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई ‘अन्नको राजा’ मानिन्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ । हृष्टपुष्ट मर्निङ वाकरका प्रिय पेयपदार्थ नै हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद जगमान गुरूङ चाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन् । उनी भन्छन्, “प्रसार त भएको हो तर यताबाट उता गयो कि उताबाट यता आयो भन्न सकिन्न । भारतीय सभ्यता निकै प्रभावशाली भएकाले यताबाट उता गएको पनि हुन सक्छ  ।”


इ. उत्पति :

वनस्पतिविद तीर्थबहादुर श्रेष्ठका अनुसार जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो । जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिर बाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्ने उनको पनि तर्क छ ।

‘खाद्यान्नको स्रोत भेटिएको खुसीमा सम्मानपूर्वक शिरमा सिउरिने चलन बसेको हुनसक्छ,’ श्रेष्ठले जमरा संस्कृतिको इतिहास उत्खनन् गर्दै भनेका छन्, ‘हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिने यो खाद्यान्न एकताको सूत्रधार पनि हो।’ धेरै दिन प्रकाशबाट लुकाएर राखिने हुनाले यसले घामको महत्व पनि अर्थ्याउने नै भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद जगमान गुरूङ चाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन् । उनी भन्छन्, “प्रसार त भएको हो तर यताबाट उता गयो कि उताबाट यता आयो भन्न सकिन्न । भारतीय सभ्यता निकै प्रभावशाली भएकाले यताबाट उता गएको पनि हुन सक्छ ” (सेतोपाटी)


उ. शृंगारको रुपमा जमरा :

संस्कृतिविद तेजेश्वरबाबु ग्वंग दशैं र यसका कर्मलाई कृषिसँग जोडिएको विधि मान्छन् । उनी जमरालाई श्रृंगारका रूपमा पनि व्याख्या गर्छन् ।

जमरा शब्द संस्कृतबाट आएको बताउँदै उनले भने, “संस्कृतको ‘यवरा’बाट नै जमरा भएको हो । जमरा सुनौलो हुन्छ, विजयपछि दुर्गाको पूजाअर्चना र शोभा श्रृंगारका लागि (फरक रङ अर्थात् पहेंलो हुने हुनाले) जमरा प्रयोग अनिवार्य गर्न थालियो ।””


ऊ. जमरामा नयाँ अनुहार :

नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ। त्यसैले, अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ।

“मकै बाहिरबाट नेपाल भित्रिएको अन्नबाली हो। मैले त्यसलाई अतिथि बिरुवा भन्ने गरेको छु, मेरो भाषामा भन्दा मकैको जमरा लगाउनु एक किसिमले अतिथि सम्मान पनि हो।”, तीर्थराज श्रेष्ठको भनाइ छ ।

सप्तधान्य अंकुर दुर्गा देवीको प्रिय हुने भन्दै सप्तधान्य रोपण गरी दुर्गा देवीलाई चढाएर विजयादशमीको दिन रातो टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरी दशमी सकिन्थ्यो । त्यसपछि कोजाग्रत व्रत अघिसम्म मामाघर, बुढो मावलीसम्म टीका थाप्न पुग्नु अर्को उत्साहको क्षण रहन्थ्यो मलाई ।

“मकै बाहिरबाट नेपाल भित्रिएको अन्नबाली हो। मैले त्यसलाई अतिथि बिरुवा भन्ने गरेको छु, मेरो भाषामा भन्दा मकैको जमरा लगाउनु एक किसिमले अतिथि सम्मान पनि हो।”, तीर्थराज श्रेष्ठको भनाइ छ ।


३. टीका :

टीका; आशिष, सुरक्षा, सफलता, समृद्धि, युद्धमा विजयी र भगवानको प्रतीक इत्यादि हो । यो हिन्दु संस्कारमा मात्र नभएर अन्यत्र पनि भेटिन्छ ।

संस्कृतिविद जगमान गुरूङका अनुसार टीका विभिन्न धर्मको ट्रेडमार्क हो । जस्तो, निधारमा तेर्सो पारेर तीन धर्का खरानी लगाएको छ भने त्यो शैव । रातो वा सेतो चन्दन लगाएको छ भने वैष्णव । सिन्दुरको टीका लगाएको छ भने उपासक अनि गाजलजस्तो कालो टीका लगाएको रहेछ भने त्यो तान्त्रिक ।


अ. रङ :

रङको कुरा गर्दा – रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध तुल्याउँछ । यसबाहेक रातो र सेतो टीकालाई रजोगुण र सत्वगुणसँग जोडेर हेर्न सकिने इतिहासकार प्राध्यापक जगदीशचन्द रेग्मीको मत छ ।

रजोगुण भनेको सृष्टि र सन्तान प्राप्तिसँग जोडिन आयो । देवीको उपासना गर्नु भनेकै रजोगुणको उपासना गर्नु भएकाले रातो टीका रजोगुण उपासकहरूले लगाउने गर्छन् । त्यस्तै, चिन्तन मनन गरेर बस्ने चिन्तकहरूको सत्वगुणी भएकाले उनीहरूले सेतो टीका लगाउने गरे ।

निलो रङको टीका पनि नेपालबाहिर लाउने गरिन्छ, यसले स्वास्थ्यको प्रतिबिम्ब दर्शाउँछ ।  

नेपालमा हिन्दू मात्र नभई बौद्ध, किरात, बोन धर्मावलम्बी तथा आदिवासी जनजातिहरूले समेत दशैं मनाउने गर्दछन् । दशैंका अन्य पक्षसरह टिका लगाउने कुरामा पनि भिन्नता पाइन्छ ।  डा. गुरुङको भनाइमा काठमाण्डौँ उपत्यकाबाहेक नेपालका अन्य क्षेत्रमा दशैंमा पहिले दहीमा अक्षता मुछेर सेतो टीका लगाउने चलन थियो ।  बाहुन क्षेत्रीहरूले अहिले रातो टीका लगाउने गर्छन् भने कतिपय जनजातिले अझै पनि सेतो टीका लगाउँने गर्दछन्।

काठमाण्डौँ उपत्यकाका नेवारहरूले रातो र कालो मिसिएको तथा कालो टीका पनि लगाउने गरेका छन् । त्यस्तै, दैलेखमा भने बाहुन क्षेत्रीले दही र अक्षतामा बेसार मिसाएर पहेँलो टीका लागाउने चलन पनि रहेको छ । यद्दपी नेवारहरूले लगाउने कालो टीका उनीहरूको तन्त्र परम्परासँग जोडिएको डा. गुरुङको मत छ ।

संस्कृतिविद जगमान गुरूङका अनुसार टीका विभिन्न धर्मको ट्रेडमार्क हो । जस्तो, निधारमा तेर्सो पारेर तीन धर्का खरानी लगाएको छ भने त्यो शैव । रातो वा सेतो चन्दन लगाएको छ भने वैष्णव । सिन्दुरको टीका लगाएको छ भने उपासक अनि गाजलजस्तो कालो टीका लगाएको रहेछ भने त्यो तान्त्रिक ।

थारु बुद्धिजिवी एवं संस्कृतिकका जानकार अशोक थारुका अनुसार प्रकृतिपूजक (थारु समुदायका)ले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना रहेको छ ।

ढिक्री परिकार नयाँ चामललेमात्र तयार पारिन्छ । दशैंमा बनाउने ढिक्रीका लागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । यो प्रचलन मेरो घरमा पनि छ (ठूलो एकादशीको केहि दिन अगाडी मुठी ल्याउने दिन भनेर, यो फरक प्रसंग भयो ) ।


आ. शब्दार्थ :

अक्षता अर्थात् टीकाको एउटा रुप । साधारणतः अक्षता भनेको कनिका नभएको चामल हो, जुन क्षतविक्षत वा खंडित हुन पुगेको छैन । अभंजित, सम्पूर्ण, सिंगो, सर्वाङ्ग, घायल नभएको, घाउ रहित भन्ने अर्थ यसले दिइहाल्यो । चामल बोक्रा भित्र बन्द हुने भएकोले यो कहिल्यै जुठो पनि हुन्न  । पूजामा कनिकाको प्रयोग बन्देज नै छ ।

पितृकार्यमा पहेंलो वा सेतो, संस्कारादि कर्ममा रातो, शिवदेखि प्रत्येक देवी देउतालाई उनको रुपको परिकल्पना अनुसार चढाइने अक्षता नवग्रह पूजा गरिँदा, ग्रहहरूको स्वरुप अनुसार हुने गर्दछ । अक्षता (चाम) लाई वामन पुराणले सर्वश्रेष्ठ मानेको भेटियो ।

अक्षताको अर्को अर्थ पुरुषको संसर्ग नभएको केटि या स्वास्नीमान्छे, सम्भोगक्रियाद्वारा योनी क्षत नभएकी कुमारी भनेर नेपाली बृहत शब्दकोषले बताउँछ ।


इ. निधार :

अक्षता दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभागमा लगाइन्छ । निधारको मध्य भाग्य अर्थात् आज्ञा चक्र (शिवको तेस्रो आँखाको आख्यान, जो विवेक र ब्रम्हसँग सम्बन्ध राख्दछ), जो दुई आँखीभौंको ठ्याक्क माँझमा पर्छ । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्दछ भन्ने छ ।

यहीकारण टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरियो । निधारमा टीका वा अक्षेता लाएर भगवान वा देवीलाई आफ्नो निधारमा चढाइन्छ भन्ने तर्क पनि छ ।

अन्यत्र नअडिने र केहि समयमै झर्ने/खस्ने डरले निधार टीका अड्याउनको लागि उपयुक्त स्थान हो । निधारलाई सम्पूर्ण शरीर नियन्त्रण गर्ने स्थानको रुपमा ऋषि यज्ञवल्क्यले अर्थाएको उल्लेख पाइन्छ ।

अन्यत्र नअडिने र केहि समयमै झर्ने/खस्ने डरले निधार टीका अड्याउनको लागि उपयुक्त स्थान हो । निधारलाई सम्पूर्ण शरीर नियन्त्रण गर्ने स्थानको रुपमा ऋषि यज्ञवल्क्यले अर्थाएको उल्लेख पाइन्छ ।


ई. धान (चाम) :

माथि अक्षताको कुरा आयो तर धान छुट्यो । उर्भर अन्न प्राणलाई धान्ने ‘प्राणेश्वर’का रुपमा धानलाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन शुरु भएको संस्कृतवीद डा. जगमान गुरुङको दाबी छ । 

मानव विकास भर्खर कृषि युगमा प्रवेश गरेको थियो, खाद्यान्नको महत्व उच्च थियो । त्यो बेला पहाड र लेकमा हुने अन्नहरू मकै र जौं थिए । त्यो अन्न भित्र्याएपछि घरमा सह आएको मानिन्थ्यो ।

वर्षाको काम पनि सकिएको र सबै कुराले अनुकुल भएको मौसम भएकोले त्यस अन्न भित्र्याएको खुसियालीमा जमरा र सेतो टीका लाउने आएको तर्क तर्कसंगत लाग्दछ । बजारको आवागमन सजिलो भएपछी अबीरको प्रयोग भएको उनको तर्क छ । यो तर्क मगर समुदायसँग सम्बन्धित राख्दछ (जगमानका थप लेखहरू र अन्तर्वार्ताहरू यसलाई पुष्टि गर्दछ )

पछि हिन्दु धर्मको प्रभाव बढ्दै जादा नवदुर्गा पूजा र प्राचिन टीका लाउने संस्कृति मिश्रणबाट आज हामीले मनाउने दशैं विकास भएको मान्न सकिने आधार देखिन्छ ।

आफूभन्दा ठूलाबाट दशैंमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ ।  पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरिन्छ ।


४. बसाइ:

टीका लगाइमाग्नेले पश्चिम(अँध्यारो) फर्केनुपर्ने र टीका लगाइदिनेले पूर्व(उज्यालो) फर्केर बस्नुपर्ने मान्यता अँध्यारोबाट उज्यालोतर्फको कुरा भइहाल्यो ।  यहि तर्कले माथि इरानदेखि जमरा यता आइपुगेको (आर्यहरू यता बसाइ सरेको) हुनसक्ने संकेत गर्यो (यद्यपि बहस जारी छ)


५. शुभ साइत :

हजुरआमाले विजयादशमीको दिन अक्षरारम्भ गर्नु लाभदायक हुने भन्दै मसँग अक्षर सिकी माग्नु भएको थियो । विजयादशमीलाई उहाँ अहिले पनि सवोत्तम शुभ साइत मान्नुहुन्छ । करिब-करिब यहि यस्तै गरि दशैंको एउटा साङ्गोपाङ्गो चित्र मेरो मानसपलट रहँदै आएको थियो । (यसबारे मरो अध्ययन कम छ)

अ. दशैंको पिङ

मान्यता के छ भने दशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ । यही मान्यतालाई शिरोधर गर्दै पिङ थाप्ने र त्यसमा मच्चिने गरिन्छ । यसले दशैंमा रमाउने बहाना दिएको छ । 

अर्कोतर्फ, दशैंमा मीठो मसिनो खाएपछि पिङमा मच्चिनु पर्छ । यसले पेटको व्यायाम हुन्छ । खानेकुरा पचाउन सहयोग पुग्छ ।

आ. दशैंको चङ्गा

दशैंको आकाश खुला रहन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुटै आनन्द छ ।

धार्मिक कथनचाहिँ के रहेछ भने खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकहाँ पुर्‍याउन चङ्गा उडाइन्छ ।


६. आशिर्वाद :

आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा । 

आफूभन्दा ठूलाबाट दशैंमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ ।  पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरिन्छ ।


अ. आयू द्रोणसुते:

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥

“द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।”– रातो टीका र हरियो/पहेलो जमरा थाप्दै गर्दा कान्छा हजुरबाले संस्कृत श्लोक गुनगुनाउ’थे । जसलाई फुटाएर त्यसको अर्थ छिचोल्ने काम मैले पछिल्ला वर्षहरूमा मात्रै सकेको हूँ ।


आ. जयन्ती मंगला काली :

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

अर्थ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।

मलाई महिषासुर (वा भैँसासुर) वध, रावण वध, वृत्रासुर वध, सम्राट अशोक र बौद्ध धर्म, द्रव्य शाह र मंगोल पुर्खाको वध, पृथ्वीनारायाण शाह र साम्रज्य विस्तार, राजेन्द्र विक्रम शाह- रणबहादुर शाह र दशैं अनिवार्यता,  राणा र मनुवादी नीति, गोरे बहादुर खपांगी प्रवृत्ति र दशैं बहिस्कार, भारतको दशहरा र हाम्रो दशैंबीचको भेद जस्ता विषयहरूमा पढ्नु थियो, बुझ्नु थियो ।


६. परिवेश :

नीलो आकाश र चंगा, हरियो चौर र लठ्ठे पिङ, सफ्फा-सुग्घर घर आँगन, घरको भित्ताको रंगरोगन (पहिले पहिले कमेरोले सेतो र एभ्रीडे ब्याट्री फुटाएर कालो रंग बनाएर, अहिले घरहरू सिमेन्टेड भए), भान्सा र थरिथरिका परिकार, शरद ऋतु र खेतबारीमा धान/तोरी, आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण माहोल र मनमोहक वातावरण । मैले सरसर्ती दशैंबारे देखे/भोगेका कुराहरू यी-यति नै हुन् । 

करिब ३/४ वर्ष देखि दशैं नजिकिएसँगै दशैं बहिस्कार, रातो टीका बहिस्कार, दशैं बहस (दशैं माने पनि हुन्छ नमाने पनि हुन्छ) भन्ने वाक्योक्ति, दशैंको पक्ष र विपक्ष, कम्युनिष्टहरूका विचारविमर्श, सत्ताको एकल नीति, सांस्कृतिक अतिक्रमण, धर्मान्ध जस्ता अभियान, कार्यक्रम, शब्द र तिनले बोकेका अर्थहरू त्यसपछि मैले फुटाउने प्रयास गर्दै जाने थालें । जो अहिले पनि जारी नै छ । दशैं बिदा, दशैं भत्ता लगायतका विषयहरू चर्चा पनि हुँदै आइरहेकै छ ।

मलाई महिषासुर (वा भैँसासुर) वध, रावण वध, वृत्रासुर वध, सम्राट अशोक र बौद्ध धर्म, द्रव्य शाह र मंगोल पुर्खाको वध, पृथ्वीनारायाण शाह र साम्रज्य विस्तार, राजेन्द्र विक्रम शाह- रणबहादुर शाह र दशैं अनिवार्यता,  राणा र मनुवादी नीति, गोरे बहादुर खपांगी प्रवृत्ति र दशैं बहिस्कार, भारतको दशहरा र हाम्रो दशैंबीचको भेद जस्ता विषयहरूमा पढ्नु थियो, बुझ्नु थियो । यता, दशैंलाई उत्सवको रुपमा बताइरहँदा लडाइँको पूर्वसन्ध्याको उपमासहित नवरात्रीभर हातहरियारको सरसफाई र पूजाआजा (दुर्गा जगाउने विधि) पनि हुँदै आइरहेको देख्दै आइरहेको थिए । यिनै कुराहरूको थोरबहुत गरिएको अध्ययनको सूचकाक्षर यो लेख हुन पुगेको हो  ।


(बाँकी दोस्रो भागमा …)


 

Facebook Comments

You may also like

error: Content is protected !!