दशैं र खलबल | मीमांसा | काव्यालय-Kavyalaya

दशैं र खलबल (भाग-२ ) पौराणिक एवं ऐतिहासिक कथनहरू :

 

…यता,  दशैंलाई उत्सवको रुपमा बताइरहँदा लडाइँको पूर्वसन्ध्याको उपमासहित नवरात्रीभर हातहतियारको सरसफाई र पूजाआजा (दुर्गा जगाउने विधि) पनि हुँदै आइरहेको देख्दै आइरहेको थिए । यिनै कुराहरूको थोरबहुत गरिएको अध्ययनको सूचकाक्षर यो लेख हुन पुगेको हो  ।  (भाग-१, ‘ख’ बाट )

ग. पौराणिक कथनहरू :



आर्थिक–सामाजिक शक्तिसंरचना र सम्बन्धमा पिंधमा पुर्याइएका/किनाराकृतको आवाज सुनिन थालेसँगै  इतिहास र पौराणिक कथनहरूको पनि चिहान उधिन्ने काम भइरहेको छ । यस तप्काले लिखित साहित्य, अभिलेख र ग्रन्थहरू मात्रै पल्टाइरहेको छैन, त्यसको शल्यक्रिया पनि गरिरहेको छ । यो आवाजले ‘ग्रन्थहरूमा जे हो त्यहि भनिएको छ वा केही लुकाइएको पनि छ ?’ प्रश्नहरू उठाइरहेको छ । मिथकहरू ‘मिथ्याज्ञान’ नभनून् भनिरहेको छ । तिनैमध्ये केही प्रश्नहरूको अनुहार यस्ता छन्;

१. महिषासूर वध


दुर्गाले ‘राक्षस (असुर)’ महिषासुरको हत्या गरेको कारण उत्सवस्वरूप  दशैं मनाउन थालिएको कथन सर्वविदितै छ । 

अ. महिषासुर सहादत दिवस  :

केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा जनकपुर र आसपास) ‘महिषासुर साहदत दिवस’ पनि मनाउन थालिएको रहेछ, यो मेरो लागि नौलो कुरा रह्यो । महामातृका, ‘विलक्षण शक्तिशाली’ देवीको बिम्ब बोकेर उभिएको मेरो टाउको एउटा चोट बज्रियो ।

सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले शुरु गरेका यो परम्परा (भन्न मिल्छ) महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर सहित अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका रहेछन्। महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे । अहिले त्यो छाडेर खेति र मजदूरी गर्छन् ।

झारखण्ड, छत्तीसगढ र पश्चिम बंगालको तराइ इलाकामा असुरहरूको बाक्लो जनघनत्व छ । उनीहरू आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन् । उनीहरू दुर्गापूजालाई आफ्नो अपमान ठान्छन् । 

असुर समुदायकी लेखिका ‘शुषमा असुर’ महिषासुर महिलामाथि हतियार उठाउँदैनथे भनेर भन्छिन् । यसै कारण दुर्गाले छल गरेर महिषासुरको वध गरेको उनी मान्दछिन् ।

यता, महिषासुर शब्दको अर्थ ‘महाशक्तिमान’, त्यसपछि ‘राजा’ र त्यसपछि ‘भैंसी’को रुपमा प्रयोगमा आएको भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले लेखेका छन् । ‘महिष’ र ‘असुर’ शब्दको मिलनबाट महिषासुर अर्थात् महाशक्तिमान अर्थ बन्न पुगेको, ‘महिष’को अर्थ पछि राजा हुन पुगेको र त्यसपछि महिषको अर्थ भैंसी हुन पुगेको उनले औल्याएका छन् । अनार्यहरू आर्यभन्दा काला वर्णका हुने कारण भैंसीको रंगसँग दाज्न पुग्दा महिषासुर ‘भैँसासुर’ बन्न पुगेको तर्क भेटिन्छ ।  ‘महिषासुर : एक जननायक’ नामक पुस्तक पछिल्लो वृतमा देखिएको छ ।

‘हुणहरूका राजा महिषासुर सबैभन्दा प्रसिद्ध असुर थिए जसले यो भूखण्डमा महिष (भैंसी) पालनको सुरुवात गराएका थिए। त्यस क्षेत्रमा अहिले पनि महिषासुरको मात्र होइन मण्डारक, लवासुर (लवणासुर) जस्ता असुर तथा असुरहरूका संरक्षक शिवको भव्य पूजा गरिन्छ (कृष्ण गौतम— मधुपर्क, २०६८ असोज)।’

असुर शब्दको पुरानो अर्थ ‘राक्षस’ नभई प्राणदाता रहेको वैदिक कोशले उल्लेख गरेको भेटियो । संस्कृत शब्दकोष लेखक वीएस आप्टेले ‘असु’को अर्थ ‘प्राण’ उल्लेख गरेका छन्। असुरको निर्माण ‘अ’ मा ‘सुर’ जोडिएर नभइ ‘असु’मा ‘र’ जोडिएर भएको उनको दाबी छ ।

‘असत्य (दैत्य) माथि सत्य (देव) को जित भनिएको  दशैं (विजयादशमी, दशहरा) पर्व विजयीहरूको एकपक्षीय मिथकको निरन्तरता हो भन्ने दाबीसहित आफ्ना पूर्वज महिषासुरको स्मरण गरिने यो दिवस नेपालको जनकपुर वरिपरि पनि मनाउन थालिएको छ (कान्तिपुर, ‘माफ गर्नू महिषासुर !) ।’

अब अर्को पाटो हेरौं..,

आ. महिषासुर मर्दिनी :

महिषासुरका पिता रंभ असुरहरूका राजा थिए, जसले एक पटक जलमा बस्ने एउटा भैंसीसँग प्रेम गरेका थिए, जसको योगले महिषासुरको आगमन भयो । महिषासुर आफ्नो इच्छा अनुसार भैंसी र मानिसको रुप धारण गर्न सक्दथे ।

महिषासुर सृष्टिकर्ता ब्रम्हाका महान भक्त थिए र कुनै पनि देवता अथवा दानवले उनीमाथि विजय प्राप्त गर्न सक्दैन भनेर ब्रम्हाजीले उनलाई वरदान दिएका थिए । महिषासुरले बिस्तारै स्वर्ग लोकका देवताहरूलाई दु:ख दिन थाले र पृथ्वीमा पनि विध्वंश मचाउन थाले ।

एक पटक महिषासुरले स्वर्गमा अचानक आक्रमण गरे र इन्द्रलाई परास्त गरेर स्वर्गमा अधिकार जमाए । त्यसपछि समस्त देवताहरूलाई भगाइदिए । देवगण दु:खी भएर त्रिमूर्ति ब्रम्हा, विष्णु र महेश्वरकहाँ सहायता माग्न गए । देवताहरूले सहयोग पाउने भए ।

देवताहरूले पटक-पटक युद्द गरे, तर महिषासुरलाई जित्न सकेनन् । महिषासुरको अत्याचारले सीमा नाघेपछि देवी–भगवतीले जन्म लिनुपरेको थियो । पछि उनको यो रुपलाई ‘महिषासुर मर्दिनी’ भनिन थालियो । 

समस्त देवताहरूको तेज पुञ्जबाट प्रकट भएकी देवीलाई भगवान शिवले त्रिशुल दिए । भगवान विष्णुले देवीलाई चक्र प्रदान गरे । यस प्रकार सबै देवी–देवताहरूले अनेक प्रकारका शस्त्र–अस्त्र देवीको हात सजाइदिए । इन्द्रले आफ्नो बज्र र ऐरावत हात्तीबाट निकालेर एउटा घण्टा देवीलाई दिए । सूर्यले आफ्नो किरणहरूको तेजले भरिएको ढाल, तलवार र दिव्य सिंह अर्थात् सिंहको सवारीको लागि यी देवीको लागि अर्पित गरिदिए । विश्वकर्माले विभिन्न अभेद्य कवच र अस्त्र दिएर महिषासुर मर्दिनीलाई सबै प्रकारको अस्त्रहरूले सुशोभित गरिदिए ।

केही समयपछि एउटी विशालकाय रुपवान स्त्री, धेरै हातहरू भएकी र शस्त्र–अस्त्रले सज्जित भएर सिंहमा बसेर युद्धको लागि आइरहेकी महिषासुरले देख्यो । महिषासुरका सेनाको सेनापति अगाडि बढेर देवीसँग युद्ध गर्न थाल्यो । तर, देवी भगवतीले आफ्नो शस्त्रले सबै राक्षसहरूको सेनालाई तहस–नहस गर्न थालिन् ।

त्यो युद्धमा महिषासुरको वधसँगै अन्य दैत्य पनि मारिए । (नेटमा उपलब्ध)

यसै विजयलाई प्रतिक बनाएर विजयदशमी मनाउन थालियो । यो एउटा तर्क भयो । तर यी दुई विचारधाराले  मिथक एवं इतिहासमाथिको पुनर्खोज र विमर्श आवश्यकता औंल्याइसकेका छन् ।

२. रावण वध :


असत्यका पक्षपाती रावणलाई रामले यसै दिन वध गरेको चित्रण गरि सोही कुराको खुसियालीमा यो पर्वको सुरुवात गरिएको भन्ने तर्क सर्वविदितै छ । 

अ. रावण वध र पुत्ला दहन :

प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा गरिने रावण वध कार्यक्रमसँगसँगै अहिले आएर लङ्कादहन कार्यक्रम पनि हुँदै आइरहेको छ । पण्डाल लगाएर रावणको पुत्ला दहन काठमाडौं पनि हुन थालेको छ ।

भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम यता आएको धेरै भएको छैन । भारतको गङ्गा किनारका मैदानमा विकसित संस्कृति हाम्रो नभएको संस्कृतवीद जगमान गुरुङ बताउँछन् । उनका अनुसार दुर्गा पूजा चाहि नेपालको पहाडी भेगमा जानजातीले शुरु गरेको संस्कृति हो । उतिबेला सेनाको अंग्रपंक्तिमा रही लडाई लड्ने पहाडी जनजाति रहेको र युद्द मैदानमा जानु अघि मार हान्ने जिम्मा जनजातिलाई दिइएको उनको भनाई छ । 

फरक प्रसंग : 

यहि भनाइमा टेकेर उनले टिकाराम यात्रीसँगको एक अन्तर्वार्तामा बलि हान्ने देखि अक्षतामा रगत मुछेर टीका लगाउने चलन जानजातिबाट शुरु भएको भनेका छन् । अहिले आएर मौलिकता खोज्ने नाममा दशैंलाई बाहुन-क्षेत्रीको चाड भनेर आफू (जनजाति) बाहिर बस्नु भनेको हाम्रो आफ्नै पुर्खाको शानको अपव्याख्या हो ।’- उनले भनेका छन् । 

दशैंंलाई कृषिसँग जोडेर बालि भित्र्याउने (हार्भेष्ट फेष्टिवल) भनेको पनि पाइन्छ । हार्भेस्ट फेस्टिबलसँग जोडेर नेपालमा धानखेति कहिलेदेखि शुरु भयो र अक्षताको रुपमा टीका आइपुग्यो भन्ने प्रश्न आइपुग्छ ।

बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेकाे धेरै वर्ष नभएको गुरुङले बताएका छन् । पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ । ‘पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आˆनो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’

‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बूहरू लडाकु जाति हुन् । उनीहरूले दुश्मनलाई पछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले सोहि अन्तर्वार्तामा बोलेका छन् । (जगमान गुरुङका अन्तर्वार्ता र लेखहरू हेरौं)

डा. गुरुङको यस इशारातर्फ बौद्धिक जगत सन्तुष्ट छैन, यसबारे चर्चा/परिचर्चा भइरहेकै छ ।

यहाँ, अब रावण र रामायणसँग जोडेर केही चर्चाहरू गरौँ; 

आ. रावणलाई ‘राक्षस’ कै दर्जा :

इरानबाट भारत बसाइँ सरेका आर्यहरूको पुरानो भारतीय बासिन्दा भील, द्रविड, गौड र कोलहरूका बीचको लडाइँको कथालाई रामायण मान्न हिन्दु दर्शन, हिन्दुत्व र हिन्दु सामाजिक, धार्मीक, सांस्कृतिक तथा अहिलेको राजनीतिक विचार सहमत छ जस्तो म पाउदिनँ । रावणलाई ‘राक्षस’कै दर्ज दिन मरीमेट्ने प्रवृतिसँग मेरो पनि विमति छ ।

इ. सीता रावणको छोरी :

रावण सिताको छोरी हो भन्ने प्रसंगअनुसार देवी सीता कलशबाट उत्पन्न भईन र तत्क्षण नै सीता लंकामा रहिन भने लंकाको शर्वनाश हुनेछ भनि आकाशवाणी भयो । तर कालको गतिलाई कसैले पनि टार्न सकेन । रावण स्वयं सितालाई आफैले हरण गरेर लंका लगे र सीता हरणकै अहंकारका कारण उनको विनाश भयो । सोही किम्बदन्ती अनुसार अनिकालबाट मूक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकी (सीता, सिया या मैथली पर्यावाची नाम) को जन्म भएको थियो । 

ई. रावणका गुण अवगुण :

रावण दश अवगुण–  काम, क्रोध, लोभ, मोह, मद, इर्ष्या स्वार्थ, अन्नाय, अमानवीय व्यवहार र अहंकार ।

रावणका दश गुण- महान ज्ञानी (इन्द्र जाल, कुमार तन्त्र, रावण भेट जस्ता किताबको रचना, शिव ताण्डवको रचना) , शक्तिशाली (आकाश गामिनी विधा, रुप परिवर्तन गर्ने विधा लगायत), उच्च राजनीतिक चेत (अंग दिप, मलयद्विप, शंकद्विप विजय), महान उपासक (शिवभक्त, ब्रम्हासँग वर प्राप्त), विज्ञानका ज्ञाता (पुष्पक विमान), रसायन शास्त्रको जानकार (चन्द्र हास तरवार), पारिवारिक सम्बन्धप्रति जिम्मेदार, मर्यादित चरित्र (सितालाई अग्निवाटिकामा महिला हेरचाहकर्मी सहित राख्नु), निष्पक्षभाव (सुपर्णखाको वनजंगलमा स्वतन्त्र विचरण), कर्तव्यपरायण (रामलाई सेना बनाउन र युद्दको तयारीको लागि समय दिनु) । (विभिन्न स्रोतहरू )

ऊ. विभिन्न रावण मन्दिर र पूजा आराधना :

भारतको आन्ध्र प्रदेशमा रावणको ठुलो मन्दिर (काकीनादा मन्दिर) सहित पूजा आराधना हुँदै आइरहेको छ । उत्तरप्रदेशको रावण मन्दिर विसराख (विसराख गाउँलाई रावणको जन्मभूमि मानेर), कानपुरको दशानान रावण मन्दिर, राजस्थानको जोधपुर रावन मन्दिर, मध्यप्रदेशको रावणग्राम रावण मन्दिर रहेका छन् । यसैगरी  विदिशा (रावणग्राम) मा मन्दोदरीको पूजा हुने गरेको छ । मन्दोरमा पनि रावणका मन्दिर रहेका छन् । श्रीलंकाका श्री मुन्नेश्वारम देवस्थानाम र थिरुक्कोनेश्वारम कोभिल मन्दिरमा रावणका ठुलाठुला मूर्तिसहित (आफ्नो शिरमा शिव पार्वती राखेको) मन्दिरहरू रहेका छन् । (नेटमा उपलब्ध)

समग्र विन्ध्य पर्वत र जंगलमा, खासगरीकन मध्यप्रदेशको मुख्य भूभाग ओगट्ने दण्डकारण्य क्षेत्रमा द्रविड आदिवासीहरू गोण्ड, उराँव र शवरहरूको बसोबास छ । र, समग्र भारतमै गोण्डहरू मात्रै यस्तो जाति हो, जसले आफूलाई रावणवंशी भनेर चिनाउँछ । लगभग ४०० वर्षअगाडि शासन गर्ने प्रतापी गोण्ड राजाले सुनको मुद्रामा ‘श्री संग्रामशाही देव – पौलस्त्य वंश’ भनेर उल्लेख गरेका छन् । पौलस्त्य वंश भनेको रावणवंशको वैकल्पिक नाम हो । यी गोण्डहरूको सघन बस्ती मध्यप्रदेशको अमरकंटक क्षेत्रमा छ । नीहरूको लोकगीतमा लंका र राजा रावणको सन्दर्भ उल्लेख भेटिएको छ। त्यस्तै यहाँ हरेक वर्ष रावणका छोरा मेघनादका नाममा पर्व नै मनाइन्छ (कोसेली : रामायणको लंका : श्रीलंका कि भारतमा ?, भोगीराज चाम्लिङ)।

भारतलाई ‘सोनेका चिडिया’ भनिनु र लंकालाई ‘सुनको राज्य’ भनिनु अनि श्रीलंकामा पनि रावणका मूर्ति एवं मन्दिरहरू हुनु बीच के-कस्ता राजहरू जकडिएका छन्  ? यसबारे पनि प्रश्नहरू उठीरहेकै छन् ।

ए. द्रवीडनाडू र पेरियार :

द्रवीडनाडूको माग गरेका ई.वी. रामासामी नायकर ‘पेरियार’ (१७ सेप्टेम्बर, १८७९—२४ डिसम्बर १९७३ ) आफूलाई नास्तिक बताउथे तर उनी रामायणको चर्को विरोध सहित लेखेका लेखहरू उपलब्ध छन् । 

पेरियार रामायणलाई धार्मिक किताब होइन कि राजनीतिक किताब मान्दथे । ‘रामायण, जसलाई ब्राहमणहरूले दक्षिणवासी अनार्यमाथि उत्तर आर्यको विजय एवं प्रभुत्वको जायज ठहराउनको लागि लेखेका हुन् । यो गैर-ब्राह्मणमाथि ब्राह्मणको तथा महिलामाथि पुरुषको वर्चस्वको जायजेथा हो, उपकरण हो ।’

रामायणको मूल अन्तरवस्तुको उजागर गर्नको लागि पेरियारले ‘वाल्मीकि रामायणको ब्राहमणद्वारा गरिएको अनुवाद सहित अन्य राम कथाहरू जस्तै; कम्ब रामायण, तुलसीदासको रामायण (रामचरित मानस), बौद्ध रामायण, जैन रामायण आदि को अनुवाद तथा तीसँग सम्बन्धित ग्रन्थहरूको सम्यक अध्ययन गरेका थिए ।

उनले करिब ४० वर्षसम्म अध्ययन गरेपश्चात तमिल भाषामा लेखिएको पुस्तक ‘ रामायण पादीरंगल’मा आफ्नो निचोड प्रस्तुत गरेका छन् । यो पुस्तक सन् १९४४ मा तमिल भाषामा प्रकाशित भएको थियो । यसको उल्लेख  पेरियारको पत्रिका ‘कदी अरासू(गणतन्त्र) को इस्वीको १६ डिसम्बरमा प्रकाशित अंकमा गरिएको छ । यसको अंग्रेजी अनुवाद द्रविडर कषगम (Dravidar Kazhagam) प्रकाशनले  ‘The Ramayana : A true reading’ नामले इश्वीको १९५९ मा प्रकाशित गरेको छ । यसको हिन्दी अनुवादको प्रकाशक ललई सिंह यादव एवं अनुवादक राम आधार हुन् ।  इश्विको १९६९ को ९ डिसेम्बरमा तत्कालिन उत्तर प्रदेश सरकारले ‘सच्ची रामायण’माथि प्रतिबन्ध लगाएर पुस्तक जफत समेत गरेको थियो । (स्रोत : a-true-ramayana-hindi, Forward Press)

ऐ. रामायण र सम्राट अशोक :

भ्वाइस अफ इन्डीजेनियसले, रामायणको कथालाई भारतका महान् शासक अशोक (ई.पु.३७२–३३२) को कथा हो पनि भनेको छ । अशोकको छोरा कुणालको श्रीमती कञ्चनमालालाई सीताको नाउँ लिई लेखिएको कथाको रुपमा बौद्ध जातक कथाहरू (जातक संख्या ४६१) मिसाएर लेखिएको हो भनेको पाइन्छ (बैद्धिक मतका सुख मर्दन, पृष्ठ ११) भनि उल्लेख गरेको भेटें । (मेरो अध्धयन यहाँसम्म पुगेको छैन )

यता, भ्वाइस अफ बुद्धले त्यो समयमा ब्राह्मणद्वारा हुने गरेको गौहत्या एवं यज्ञमाथि पाबन्दी लगाएपश्चात अशोकलाई काल्पनिक रावणको रुपमा चित्रण गरिन थालियो भन्ने भावप्रदायक विचारसहितका लेखहरू छापेको रहेछ । त्यहाँ उसले मौर्य समाजको नष्ट,  त्यस समयमा बुद्दिष्टहरू नष्ट, शुद्र-अतिशुद्र लगायतका वर्ण व्यवस्थाको सुत्रपात अनि बुद्ध र अशोकको अस्तित्व मेटाउने हरसम्भव कोसिस भएको पनि लेखेको छ । ( स्रोत : voiceofbuddha.blogspot.com,2016/01)

यहाँ अर्को कुरा पनि आउँछ, अशोका वृक्षको उल्लेख । शोक विहिन रुख अर्थात अ + शोक (A+Shoka) । अशोक वृक्षलाई लिएर लेखिएका किम्बदन्तीहरू नेटमै उपलब्ध छन् । ( स्रोत : talkingmyths.com/the-story-of-the-ashoka-tree/) 

‘अशोक वृक्ष’ र ‘सम्राट अशोक’ बीच नजिक्याई छ वा छैन, यसबारे मेरो जिज्ञासा मेटिएको छैन ।

ओ. वृत्रासुर वध : 

वृत्रासुर र इन्द्रको लडाईको कथाको परिमार्जित स्वरूप रामायण हो भन्ने तर्क पनि रहेछ । देव-असुर संग्राम लगत्तै घटनाको रुपमा यो वर्णित छ । ऋषि दधिचीको हड्डीबाट बनेको अस्त्रबाट वृत्रासुरको वध भएको भन्ने छ। 

वृत्र प्राचीन वैदिक धर्ममा एक असुर भनि वर्णन गरिएको छ- जो एक सर्प (अझदहा वा ड्रागन) थियो । संस्कृतमा ‘वृत्र’को अर्थ ‘ढाकने वाला’ भन्ने हुन्छ । वृत्रको अर्को एक नाम ‘अहि’ पनि थियो, जसको अर्थ ‘सर्प’ हुन्छ । ‘अहि’ प्राचिन इरानी भाषा (अवास्ताई भाषा) मा ‘अजि’ या ‘अझी’ सँग मिल्न पुग्दछ । 

वेद अनुसार वृत्र एक यस्तो अझदहा थियो जसले नदिको बाटो रोकेर सुखा पैदा गरिदिएको थियो ।  यसैकारण इन्द्रले लडाईमा उसको वध गरेका थिए । घाम र बादलको लुकामारी (लडाई) को कथा पनि यहि जोडिन आइपुग्छ । कहिकाही वृत्रालाई तीन टाउको भएको सर्प पनि भनि दर्शाएको पाइन्छ । यसको वर्णन राम-लक्षमण संवादको रुपमा रामायणमा पनि उल्लेख पाइन्छ । 

र, यहि तर्कमा उभिएर वृत्रासुरको वधलाई उत्सवको रुपमा मनाउने गरिएको कथानकहरू भेटिन आइपुगे । (नेटमा उपलब्ध)

***

अत: रावणको एकातर्फीरुपमा मात्र चर्चापरिचर्चा गर्नु रावणको अल्पांश चिनारी मात्रै हुने देखियो । रावणका गुण-अवगुणहरू केलाएर रावणको लेखाजोखा गर्नु न्यायोचित हुन्छ ।  दशैं मनाइरहँदा या दशहरा मनाइरहँदा यताउता (नेपाल-भारत) यो काम भइरहेको छैन । 

औं. रामायण र  दशैंबीचकको सम्बन्धको प्रश्न :

यहाँ त झन्, भारतमा अयोध्याका राजा वेश्यपुत्र वशिष्ठकै चेला रामचन्द्रले नवरात्रीभर दुर्गा भवानीको आराधना गरी दशौं दिनमा लंकाका राजा रावणको वध गरेको दिनको सम्झना स्वरुप कथित हिन्दूहरूले विजयोत्सव स्वरूप  दशैं मनाइएको होइन कि भारतीय हिन्दुहरूले चाहि दशहरा मनाएका हुन् भन्ने तर्क भेटिन पुग्यो ।  महिषासुर र दुर्गाको कथा जस्तै यहाँ पनि खेलाँची भएको उनीहरूको तर्क छ । 

नेपालमा  दशैं मनाउनुको कारण अर्कै छ भन्दै ‘द्रव्य शाह र मंगोल पुर्खाको वध, पृथ्वीनारायाण शाह र साम्रज्य विस्तार’ लगायतका कारणहरू अघि सारिएको मैले पाएँ ।

वाल्मिकी संस्कृत रामायण(इसापूर्व पाँचौं शताब्दीदेखि पहिलो शताब्दीसम्म) र तुलसीदास (ईसाको १४९७-१६२३) को अवधि रामचरितमानस बीचको मतभेद त झन विवादको अर्को हाँगो भइहाल्यो ।

भारतमा १६औं शताब्दीभन्दा अघि राम मन्दिर बनेको वा रामलाई ईश्वरको रुपमा पूजा गरेको पाइँदैन । सन् १५५४ वा १५३२ मा जन्मेका तुल्सीदासको इष्टदेव रामको महिमालाई ईश्वरतुल्य बनाई तुलसीदासको रामायण लेखेपछि मात्र रामलाई ईश्वरको अवतारको रुपमा मानिने वा पूजा गरिने चलन भारतमा चलेको हो (नवभारत टाइम्स, ४ जनावरी १९९०) । 

३. सम्राट अशोकले बौद्ध धर्म अँगालेको दिन :


माथि उल्लेखित प्रसंग बाहेक पनि सम्राट अशोकलाई लिएर अर्को घटना  भेटेँ ।

चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्म अंगालेर अस्त्र त्याग गरेको महत्त्वपूर्ण दिन पनि यहि दिन (दशमी) हो भनिएको छ । कालिंगा युद्ध पश्चात सम्राट अशोकले बौद्ध धर्म अँगालेको भन्ने तर्कहरू सबै सहमत जस्तै देखिएका छन् । त्यो  युद्ध इसा पूर्व २६० मा शुरु भएको मानिन्छ । यसलाई आधार मान्ने हो भने सो विजय उत्सव मनाउन थालिएको करिब २२ सय वर्ष हुन लाग्यो ।

४.  खेप्पा सुङ र गुरु रिम्पोछे :


बौद्ध धर्ममा गहिरो ज्ञान राख्ने सामाजिक व्यक्तित्व मोहन लामा रुम्बाले बडा दशैंं तामाङ जातिको “तम्ब” परम्परामा आफ्नो इस्टदेव संरक्षक खेप्पा (खेप्प) सुङ्को बिदाई पूजा गर्ने दिन पनि यहि दिन रहेको र दक्षिणकाली फर्पिङको यङ्लेसो गुफामा गुरु रिम्पोछे सिद्धी प्राप्त गरेको दिन पनि यहि दिन रहेको भनि उल्लेख गरेका छन् ।

गुरु रिम्पोछे अर्थात् पद्म्मसम्भवले तिब्बत देखि  सिंगो (राक्षस) लखेट्दै जोमसोमसम्म आइपुगेको र गुम्बा निर्माणको ऐतिहासिक कथनहरू छंदै छन्  । उनी ८ औं शताब्दीका बौद्ध भिक्षु र  एक पूर्ण अभियन्ता भनि वर्णन गरिएको भेटिन्छ । बौद्ध धर्म विस्तारमा आमापालको नाम पनि उत्तिकै तवरले लिइन्छ । (पद्म्मसम्भवको गुम्बामा भीड )

अ. परिचय :

चुल्होमाथि राख्ने एक प्रकारको टोकरी जस्तोलाई नेपाली भाषाले ‘सराङ’ भन्दछ भने तामाङले ‘ङङा’, अथवा ‘मेलाङ’ भन्दछ यही मेलाङ अप्रभंस हुँदै ‘म्हेनिङ’ हुन पुगेको  र यही ‘म्हेनिङ पर्व’लाई तामाङ समुदायहरूले  दशैं पर्वको रूपमा मान्दै आइरहेको छ । 

तामाङ समुदायले दशैं पर्वको बेला खेप्पा सुङ्को पूजा गर्छ, खेप्पा सुङलाई कतै कतै गुरुचन पनि भन्ने गरिन्छ । तामाङ भाषामा खेप्पाको अर्थ ‘वृद्ध बुजुर्वा, वरिष्ठ अभिभावक’ हुन्छ ।

आ. इतिहास :

जब धर्तिमा अन्याय अत्याचार बढ्दै गएपछि घाङरी रेम्पुर्छे (कैलाश पर्वत)मा विराजमान ह्ला छेन्पो (महादेव)ले आफ्नो जट्टाबाट एउटा शक्तिशाली सहयोगीको रूपमा खेप्पाको उत्पत्ति गरेका थिए । कैलाश पर्वतबाट खेप्पा र महादेव दुवै दक्षिण तिर झर्दै यहाँ भएको विग्नवाधा अनिष्ट हटाउँदै हिँड्ने क्रममा गोकर्णमा आइपुगे । गोकर्णबाट खेप्प सुङलाई यतै छोडेर महादेव एक्लै भारतवर्ष (घ्याकार ह्युल्) जान लाग्दा खेप्पा सुङ्ले आफ्नो जट्टालाई धर्ती आकाश भरि फैलाएर महादेवलाई एक्लै जान बाट रोके । ‘ म पनि तपाईं कै साथमा भारतवर्ष जान्छु’ भनेर सुङले भन्न थालेपछि महादेवले ‘तिमी यहीँ बस्नुपर्छ ।  यहाँ बसेर सारा प्राणीहरूको संरक्षणमा लाग्नुपर्छ  । त्यसो गरेबापत यिनिहरूले तिमिलाई पुज्ने छन्’ भनेर सम्झाएको उल्लेख छ ।

यहि, महादेवलाई आफू भारतवर्षबाट नफर्कुन्जेल खेप्पा सुङलाई हिमाल वारिको र पार्वतीलाई हिमाल पारीको मानव जगतको संरक्षण गर्ने जिम्मेवारी दिएको मोहन लामाले उल्लेख गरेका छन् ।  [ मेनिङ (म्हेनिङ),  दशैं (तामाङ समुदायको), मोहन लामा]

घ. ऐतिहासिक कथनहरू



१. द्रव्य शाह र मंगोल पुर्खाको वध :

प्राचीन समयमा लडाइँमा विजय प्राप्त गर्न सक्ने व्यक्ति नै शक्तिशाली मानी राज्यको सिमानामा मौलो गाड्ने गरिन्थ्यो। मौलो गाड्ने ठाउँलाई ‘कोत’ भनिन्थ्यो । त्यहाँ नौजवान व्यक्तिहरूवीच सामरिक प्रतिस्पर्धा गराई जित्ने व्यक्तिलाई लडाइँका निम्ति छनौट गरिन्थ्यो । तिनलाई ‘जोदाहा’ भनिन्थ्यो । राज्यले सेना राख्ने चलन नभएको त्यस समयमा तिनै जोदाहालाई लडाइँमा पठाइन्थ्यो । त्यसरी गाडिएको मौलोमा पूजा गरी बली दिने गरिन्थ्यो । यो चलन राजा द्रव्य शाहको पालादेखि चलेको पाइन्छ । (स्रोत : मार्क्सवादी दृष्टिमा दशैं )

कुलमन्डन शाहका छोरा राजा यशोब्रम्ह शाहका छोराको रूपमा जन्मिएका द्रव्य शाह (छत्र शाह र राम शाहको हजुरबाउ तथा पुरेन्द्र शाहको पिता) आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । 

अ. द्रव्य शाह र गोरखा विजय :

नेपाली भाषामा घाँसको फाटलाई ‘खर्क’ मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको प्रसंग छंदै छ ।

गोरखा राज्यमा मतवाली घले (कहीँ मतुवाली खड्का जातिको पनि उल्लेख पाएँ) थरका राजा राज्य गर्दथे तर उनलाई प्रजाहरू मन पराउँदैनथे । गोरखाका शक्तिशाली भारदारहरू पनि राजासँग सन्तुष्ट थिएनन् । उनीहरू ती राजाको सट्टामा अन्य योग्य व्यक्तिलाई राजा बनाउन चाहन्थे भने द्रव्य शाह पनि गोरखाका राजा बन्न ज्यादै प्रयत्नशील थिए । यस्तो परिस्थितिमा दुवै पक्षको स्वार्थ मिलेका हुनाले गोरखामाथी आक्रमण गरी त्यहाँका राजालाई पराजीत गर्ने सरसल्लाह गर्न थाले ।

द्रव्य शाहले सर्वप्रथम गोरखाका जनताहरूलाई आफ्नो समर्थक बनाएपछि वि.सं १६१६ को भाद्रमा आफ्ना सहयोगीहरूका साथ लिगलिगकोटबाट गोरखामाथी आक्रमण गरे । लगातार १५ दिनसम्म युद्ध भयो तर द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् तर उनी निराश भने भएनन् । अर्कोपटक पुन: आक्रमण गर्नका लागि गणेश पाँडे, नारायणदास अर्ज्याल, भगिरथ पन्त, गङ्गाराम राना, मुरली खवास, सर्वेश्वर खनाल, केशव बोहोरा, गजानन्द भट्टराई लगायतका गोर्खाली भारदार तथा प्रजाहरूले द्रव्य शाहलाई तल्लो कोटमा लुकाई राजालाई आत्मसमर्पण गराउने प्रयास गरे तर सफल भएनन्। त्यसै राती आक्रमणका लागि उपयुक्त साइत जुरेको हुनाले द्रव्य शाहको समूहले अचानक आक्रमण गर्यो । द्रव्य शाहको हातबाट ती राजा मारिएकाले गोरखा राज्यमाथी विजय प्राप्त भयो । यसरी सन् १५६९ मा द्रव्य शाहले गोरखा राज्य स्थापना गरे।

यो विजय-उत्सवलाई पछि विजयदशमीको रुपमा चित्रांकित गरियो भन्ने तर्क एकाथरीको रहेको पाएँ ।  (नेटमा उपलब्ध)

आ. दुध नाघेर आउन पाउने छैनौ :

द्रव्य शाहको यो विजयबाट उनका दाजु नरहरि शाहलाई इर्ष्या भयो । उनले “भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ” भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरू बनाइ पटक-पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । 

यहिबीच दुबै राजाकी आमा राजमाता वसन्तावती (चम्पावती पनि भनिएको छ)ले छोराहरू नरहरि शाह र द्रव्य शाहको मनमुटाव मिलाउनको निम्ति छोराहरूलाई वारिपारि राखेर आफू बिचमा भई उक्त ठाउँबाट दूध बगाएर “अब तिमीहरू दुबैको पाइला यो दुध नाघेर आउन पाउने छैनौ” भनी संकल्प गरे पश्चात् त्यहाँ दुधको पोखरी जमेर तल चम्पावती नदि हुँदै चेपे नदि भएर अन्तत गोरखा र लम्जुङ को सिमाना छुट्टिएको भन्ने  किंबदन्ती छ। (नेटमा उपलब्ध)

इ. लिगलिगकोट र  दशैं :

लिगलिगकोट गोरखा जिल्लाको साविक आँपपिपल गाविसमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो।

दशैंंसँग जोडिएको लिगलिगकोट(लिङलिङ) नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द ‘लिङलिङ’ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द ‘कोट’ मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विश्वास रहेको छ । हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा उक्त स्थानलाई लिङलिङकोट भनिएको र त्यहि शब्द अपभ्रंश भएर लिगलिगकोट भएको हो । 

आर्य खस बाहुन क्षेत्रीहरूको आगमन हुनु भन्दा पहिला गाउँ ठाउँहरूको नाम स्थानीय मंगोल समुदायको भाषामा रहेको पाइन्छ ।

गण्डक आसपासमा रहेका मगर/गुरुङ बुद्ध धर्मावलम्बि थिए । जब घले राजाको हत्या भयो तब वर्तमान गोरखाका कोटहरू द्रव्य शाहको कब्जामा आयो र समग्रमा बुद्धमार्गीहरूलाई जवरजस्ती हिन्दुकरण गर्दै विजय उत्सव मनाइन थालियो । द्रव्य शाहको उर्दी अनुरुप घले राजालाई मारि गोरखा स्थापना भएको हुँदा अब गोरखाको नियम मान्नु पर्ने बाध्यता सिर्जना भयो र अन्ततः घले राजाको रगतमा मुछिएको चामल निधारमा टाँसी उत्सव मनाउन थालियो ।

अन्तिम घले राजालाई षडयन्त्रपूर्वक मारिएको गोरखाको निमेल खोलाको पानी अझै पनि घलेहरूले पिउँदैनन् । (यता घलेहरूलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण भनियो विषय पनि उठीरहेकै छ ।, फरक प्रसंग )

गोरखा र लमजुङका आदेश नमान्ने अहिन्दु मूलबासीहरूलाई चेपे नदीमा निर्मम हत्यागरी फ्याकियो । कतिपयले आफू बच्नकै लागि शान्तिको कामना गर्दै सेतो टीका ग्रहण गर्दै आत्मासमर्पण गरे । त्यहि दिन देखि बहुसंख्यक मूलबासी मंगोलहरूको राजनैतिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू बन्देज गर्न थालियो, खोसिने अभियानको थालनी भयो भनि इन्डीजिनियस भ्वाइसले लेखेको भेटें । 

ई. दौडबाट राजा छान्ने परम्परा :

लिगलिगकोट र यस स्थान दौड जित्ने मानिस एक वर्षको लागि राजा बन्ने परम्पराको चर्चामाथि छुट्न पुगेछ ।

प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो। राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो। शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । विक्रमको संवत १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । 

मुकुन्द सेनको छोराको पालादेखि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरूले आफै राज्यको घोषणा गरी राज्य चलाउन थालेको इतिहास छ । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य सञ्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परम्पराको थालनी भयो । जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थाल्यो । त्यसलाई लिगलिगकोटको दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ कि.मि. को दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए भनेर अर्को कथन यहाँ भेटिन आइपुग्छ । 

दौडेर राजा चुन्ने यस प्रथा त्यतिबेलै बन्द भए पनि केही वर्षदेखि पर्यटन प्रवर्द्धन र रमाइलोको लागि प्रचलनमा रहेको छ ।

(स्रोत : www.mysansar.com/2018/10/33597/)

२. पृथ्वीनाराय शाह र राज्य विस्तार :

पृथ्वी नारायण शाह नेपाललाई एकीकृत (यहाँ पनि बहस छ) गर्ने यात्रामा हिंड्न लागेको समय अघि देखि नै (माथिका प्रसंगहरू) ‘विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ’ भन्ने परम्परा बसिसकेको थियो । यहाँ सोहि परम्पराको लौरो समाएर उनकी आमाले उनलाई अक्षताको टीका (साइतको टीका) लगाएर बिदा गरेको भन्ने कुरा छ । यो सर्वविदितै पक्ष हो, यसबारे चर्चा गरिरहनु परोइन ।  

अब अर्को पाटो…,

पृथ्वी नारायण शाह निरन्तर साम्राज्य विस्तार गर्दै उपत्यका प्रवेश गरे । जय प्रकाश मल्ललाई हराई काठमाण्डौमा  दशैं प्रवेश गराएको इतिहास भेटिन्छ । यसको प्रमाणको रुपमा नागार्जुन डाँडामुनिको ‘अर्को गोरखा’ बाट ल्याइएको फूलपातीलाई हनुमानढोकामा भित्राईनुलाई लिन सकियो । 

साम्राज्य भनेको विगत २५०० वर्षदेखि (विश्वको पहिलो सामाज्य अक्काडिएन साम्राज्य, २२५० इ.पूमा निर्माण भएको) विश्वमा सबैभन्दा बढी प्रचलित एक राजनैतिक व्यवस्था हो । कुनै पनि साम्राज्य निर्माण गर्न र त्यसलाई टिकाउन आमहत्या, बचेकाहरूमाथि दासत्व र शासन अस्वीकार गर्नेहरूमाथि निर्वासन जस्ता हतियारहरूको प्रयोग भएको पाइन्छ। पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक प्रमाणमा कुनै पनि प्रकारको निजीकरण दुर्घटना हो ।

गोरखा साम्राज्यलाई विस्तार गर्न र टिकाउन पृथ्वीनारायणले पनि लडाई, हत्या, विरोधीहरूको शोषण, दमन र उत्पीडनलाई हतियार बनाएका थिए । कुनै पनि साम्राज्यले गरेका अपराध र कुकृत्यहरूको मात्रै  होइन त्यसका उपलब्धिहरूको पनि लेखाजोखा गर्नु भुल्नु हुँदैन ।

“ कुनै पनि साम्राज्य र त्यसको निर्माताको मूल्यांकनमा पूर्ण कालो (ब्ल्याक) वा सेतो (ह्वाइट) मसी प्रयोग गरिनु हुन्न । पृथ्वीनारायण शाहको हकमा पनि त्यो कुरा लागु हुन्छ ।” भन्ने डा. उत्तमबाबू श्रेष्ठसँग म सहमत छू ।

कुकृत्य र उपलब्धीबारे लेखाजोखा गरिरहँदा प्रकृया (तत्कालिन) र परिणाम (भविष्य) कसलाई प्रधान मान्ने भन्ने कुरा पनि उठ्छ, क्लासिकल दिलेमा (Classical Dilemma) लाई लिएर थुप्रो बहस हुँदै आइरहेकै छन् । यो कालो-सेतो भन्दा नि खैरो कुरा हो । ग्रे एरियामा बसेर पृथ्वीनारायण शाहप्रति म एकतर्फी हुन सकेको छैन । 

३. राजेन्द्र विक्रम शाह-  रणबहादुर शाह र  दशैं अनिवार्यता :

पूर्वतिर बढ्दै जाँदा माझ किराँत र लिम्बूवानको इतिहासले पनि दशैंं मंगोलहरूको होइन भन्ने प्रशस्त आधार भेटिएको यतातर्फको कुरा छ । राजेन्द्र विक्रम शाहले रुक्का जारी गरि दुर्गा, कालि मान्नु पर्ने, दशैंं मान्नु पर्ने भनेर बाध्य बनाएको भन्ने छ । 

वि.सं. १८४३ मा रणबहादुर शाहले लिम्बूहरूलाई दशैं अनिवार्य मान्नु भनि लालमोहर दिए । लिम्बूहरूलाई लालमोहर दिएपछि वि.सं. १८४८ सालमा पूर्वमा बसोवास गर्ने लिम्बू समुदायमा दशैं मान्ने नमान्ने भन्ने विवाद नै भएको कथन छ । दशैं नमान्नेलाई कार्वाही गर्न थाले पछि वि.सं. १८४८ पछि लिम्बूवानका लिम्बूहरूलाई दशैं मान्न बाध्य बने । यहिबाट  दशैं नमाने सुव्वाङ्गी र किपट खोस्ने जस्ता कार्य शाह राजाले गर्न थालेको इतिहास भेटियो । (नेटमै उपलब्ध)

यसरी विस्तारै आफ्नो चाड मनाउनेलाई हिन्दु दशैं मनाउन उर्दी जारी भयो । वि.सं. १८४८ साल पछि लिम्बू राईहरूमा सुव्बा, कार्वारी र जिम्मावाल रहने भएको हुँदा अनिवार्य नौ दुर्गा भवानीको पूजा गर्नु पर्ने,  दशैं मान्नका लागि घर लिपपोत गर्नुपर्ने र भित्तामा बलि दिएको हात तथा पैताला डुवाई छाप हान्नुपर्ने जस्ता उर्दी जारी भयो भनेर फेरि पनि इन्डोजेनियसले भ्वाइसले लेखेको छ । (जसको थप चर्चा तल हुनेछ ।)

ङ.  दशैं बहिष्कार 

 १. राजेन्द्र शाह र पाँचथरको इतिहास :

राजा राजेन्द्र शाहको पालामा लिम्बूवानबाट कुरुवा (प्रतिनिधि) काठमाडौँ झिकाउने चलन बस्यो । पहिलोपटक दश लिम्बूवान र सत्र थुमको प्रतिनिधित्व गरी याङरुप थुमका बागनसिंह (बागवीर) हेम्ब्या कुरुवा छानिएर काठमाडौं आए । राजाको आदेशमा उनले दुई डोरे जनै लगाए । गोबध नगर्ने, राजधर्म मान्ने र सारा लिम्बूवानका लिम्बू जातिले जनै अनिवार्य लगाउनुपर्ने राजाको आदेश स्वीकार गरे । १६ ढाकर जनै बोकाएर उनी याङ्रुप थुम गए । याङ्रुप थुमका केही लिम्बूले त दुई डोरे जनै लगाए पनि । त्यस निर्णयको विरोधमा अन्य थुमका लिम्बूहरू उत्रिए । आपत्कालीन चुम्लुङ (सभा) बस्यो । लिम्बूहरूले जनै लगाउने कुराको विरोध भयो ।

आफ्नो जातिको रीति गुमाएको अभियोगमा बागनसिंहलाई कुरुवा पदबाट हटाई नयाँ कुरुवाका रूपमा याङनाम हिवाखोला थुमबाट अटलसिंह जबेगूलाई केन्द्रमा पठाइयो । उनले काठमाडौं पुगेर राजासमक्ष लिम्बूवानको जनताले आफ्नै किरात धर्म तथा नीति मान्ने, जनै नलगाउने, गोवध नगर्ने तर मरेको गाईको मासु एक पैसा मेन्जेन (जरिवाना) तिरेर खान पाउनुपर्ने माग गरे । राजाले उक्त माग पूरा गरे । अनि लिम्बूहरूको रीति थामिएको कुरा डा. देवी दुलालले लेखेको ‘पाँचथरको इतिहास’ नामक कृतिमा उल्लेख छ । 

२. राणाशासक र रगतको पञ्जाछाप :

राणाशासकले दशैं मान्नुपर्ने उर्दी लगाउँदा वि. सं १९४२ मा रामलिहाङ र रिदमाले धनकुटामा बहिष्कार गरेपछि सहादत प्राप्त गरेका थिए ।  दशैं  प्रचारकै क्रममा राज्यले दुईजनाको हत्या गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलित भएका कथनहरू भेटिन्छन् ।

मानवशास्त्री डम्बर चेम्जोङका शब्दमा दशैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडाअड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा ।  दशैं नमानेको, पशुबलि नदिएको भेटिए सजायको भागीदार हुन्थे लिम्बू सुब्बाहरू । (स्रोत :  दशैं माने पनि हुन्छ,बहिष्कार गरे पनि हुन्छ; सचेत राई)

यसपछि राजा र पन्चायतले दशैं महत्वलाई जोडबलले लालनपालन (प्रचारप्रसार) गरे !  तिब्बतबाट भेडा-च्यांग्रा ल्याउनु, सरकारी कर्मचारीलाई  दशैं पेस्की र दशैं खर्च स्वरूप १ महिनाको तलब लगायतका कार्यहरू गर्नु दशैंको व्यापकतालाई स्थापित गर्नु नै थियो । 

३. नेपाली राजनीतिमा अदेखा सच्चाई  र गोरे बहादुर खपांगी :

दशैंको दिनलाई लिएर राज्य लुटिएको, पुर्खाको हत्या भएको दिन भनेर मंगोल अभियन्ताहरू सहमत भएको पनि पाएँ (द्रव्य शाह, माथिको चर्चा) । 

२०२८ साल देखि मसिनो स्वरहरूमा  दशैं बहिष्कारको लालनी भएको भएता पनि बहुदल आए पछि  दशैं बहिष्कार सतहमा देखा पर्यो । २०४२ सालमा जब डा. गोपाल गुरुङद्वारा ‘नेपाली राजनीतिमा अदेखा सच्चाइ’ प्रकाशित भयो त्यसपछि सोही पुस्तकका आधारमा धार्मिक, सांस्कृतिक विभेदको पोल खुल्दै गएको आधारहरू भेटिए । यससँगै  दशैं बहिष्कारका अभियानहरू अझ जोडबलले उठेको भेटेँ ।

यहिबीच दिवंगत गोरे बहादुर खपांगी (२०७३ भाद्र ११ गते निधन) को नाम चर्चित छ । उनी पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहको ‘निगाहा’मा मन्त्री बनेको र पछि उनैको हातबाट टीका ग्रहण गरेपछि दशैंं बहिष्कारमा धक्का लागेको भनेर अभियन्ताहरूले उल्लेख गर्दै आइरहेका छन् ।

“मंगोलहरूले दशैंमा रमाउनु र आफ्नो बाउ आमा मरेको दिन रमाउनु एकै हो । हिन्दु आर्यन बाहुन क्षेत्रीलाई भन्दा दोष होइन यो र नमान भनिएकोे कदापि होइन ।”, दशैं बहिष्कारमा ऐक्यबद्धता जनाउनेहरू साङ्गोपाङ्गो विचार यहि वाक्य वरपर पनि भेटें ।

यहिबीच अर्को तप्का पश्चिमा संस्कार तथा संस्कृतिलाई सहज रूपमा आत्मसात् गर्नेहरूले दशैं बहिष्कार गरेको भन्दै आइरहेका छन् । आर्य र अनआर्यबीचको विवाद  त झन् भइहाल्यो । इतिहास कसले बिर्सेको हो- बहस जारी नै छ । 

 (जहाँसम्म रातो टीका बहिष्कारको कुरा छ, त्यो अघिल्लो भागमा आइसकेको छ ।)

४.  दशैं, किराँत र सेतो टीका :

दशैं  मान्नु पर्छ तर रातो टीका बहिष्कार गर्नुपर्छ’ भन्ने यो धारले दशैंं आदिवासी तथा किराँतहरूको चाड हो भन्ने विचार राख्दछ । यसमा ‘आर्य हिन्दुहरूले आफ्ना कुराहरू जोडेर दशैंलाई आफ्नो बनाएका हुन् । यसलाई परिमार्जन सहित मनाउनुपर्छ,  यसलाई नमान्नु भनेको किराँत तथा आदिवासी जनजातिको संस्कृतिको अवज्ञा हो’ भन्ने विचार रहेको पाएँ । (स्रोत : https://www.indigenousvoice.com/869.html )

थारु बुद्धिजिवीहरूले थारु समुदायलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडीगर्दै हुर्केबढेकाले परापूर्वकालमा रङ्गको उत्पादन नहुँदा सेतो रङ्गसँगै लहसिए । त्यही रङ्गको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै रहेको मानिन्छ ।  (स्रोत: आदिबासी थारुले दशैंमा किन सेतो टीका ग्रहण गर्छन् ?  )


 

(बाँकी भाग-३ मा ..)

 

Facebook Comments

You may also like

error: Content is protected !!