"दशैं आयो त ! घर आउने हैन ?" | संस्मरण | दशैं विशेष | काव्यालय-Kavyalaya

“दशैं आयो त ! घर आउने हैन ?”

“हेल्लो ! के छ खबर ? के हुँदैछ ? दशैं आयो त ! घर आउने हैन ?” 

हरेक वर्ष चाडपर्व सुरु भएपछि साथीभाइ, आफन्त, छरछिमेक लगायत मेरा शुभचिन्तकको यहि प्रश्न सुरु हुन्छ । घरका मान्छेबाट भने यो प्रश्न आउँदैन । किनभने उनीहरूलाई पहिल्यै थाहा भइसकेको हुन्छ कि म यो दशैंमा घर आउँछु कि आउँदिनँ भनेर । हरेक वर्षझैं यो वर्ष पनि यस्ता प्रश्न आउन सुरु भइसकेको अवस्था छ । “नेपाल कहिले आउने हो ?” भनेर सोध्नेहरूलाई यसपालीदेखि भने मैले भर्खरै लेखेका दुईओटा छोटा-छोटा कविता मार्फत जवाफ फर्काउन थालेको छु । पहिलो जवाफ यस्तो छ,

 दुई वर्षमा फर्किन्छु भनेर

पासपोर्ट बोकेर हिँडेको मान्छे

पासपोर्टको आयु सकिँदासम्म पनि फर्किँदैन

त्यसैले परदेशीको आयु

पासपोर्टको भन्दा लामो हुन्छ….

 अर्को जवाफ भने अलिक प्रेमिल छ,

 
तिम्रो शहरबाट प्रेम हराएपछि

म पनि हराएको हो

कहिले फर्किनु हुन्छ ?

भनेर सोध्नेहरूलाई यति भन्छु

हराएको प्रेम भेटिएकै दिन

म तिम्रो शहरमा भेटिनेछु…

 

यति लेखेर पठाइसकेपछि भने उनीहरूको जिज्ञासा सायद मेटिँदो हो । त्यसैले फेरि यो बारेमा थप कुरकानी हुँदैन ।

 स्वभाविक रुपमा अरुबेला भन्दा चाडपर्वको बेला परदेशीको मनमा घरको याद बेसी आउन थाल्छ । घरदेशमा भएकाहरूलाई पनि सायद आशा हुँदो हो कि यहि पर्वको मौका छोपेर परदेशी फर्कियोस् । तर सबैकुरा आफूले भनेजस्तो सजिलो तरिकाले कहाँ चल्छ र ? परदेशमा यस्ता भाग्यमानी नेपालीहरू पनि छन् जो हरेक वर्ष दशैं र तिहार मनाउन नेपाल पुग्छन् । बाँकी अधिकांशले भने “हाम्रो पात्रो” मा हेरेर दशैं र तिहारको टिकाको साइत थाहा पाउनु पर्ने हुन्छ । वर्षौंदेखि मान्दै आएको सबैभन्दा ठूला चार् दशैं र तिहार पनि परदेशमा भने सानो पात्रोमा सिमित हुन पुग्छ । सम्झनाको गति तेज बनाउन मात्रै आउने गर्छन् दशैं र तिहार । नत्र भने यो परदेशमा के को दशैं के को तिहार ?

तर पिउनेहरूका लागि भने एउटा गज्जब बहाना बनिदिन्छ । दशैं तिहारको बेला कम्पनीले पनि आफ्नो क्याम्पमा रहेका नेपालीलाई बेसी निगरानीमा राख्ने गर्छ । ता कि मातेकै कारण कुनै अप्रिय घटना नहोस् । हुन त प्राय क्याम्पभित्र रक्सी पिउन पूर्ण रुपमा बन्देज लगाइएको हुन्छ । अरु बेलै पनि पिएको पाएमा जरिवाना पनि लगाउने गरेका छन् कतिपय कम्पनीले । तर खाने मुखलाई जुँगाले कहिले पो छेकेको छ र ? । कम्पनीको एउटै गुनासो हुने गर्छ त्यो के भने “नेपाली मात्न जान्दैन !”  हुन पनि हो अरु बेला भिजेको बिरालोजस्तो लुरुलुरु काम गर्ने नेपाली पनि मातेपछि भने त्यो कम्पनी नै उसैले स्थापना गरेजस्तो गर्न थाल्छ ।

 सम्भव भएसम्म परदेशमा हुनेहरूले पनि यो दशैं तिहार धुमधामका साथ मनाउने प्रयास गर्छन् । निधारमा रातो टीका नहोला, पहेंलो जमरा नहोला, आशिर्वाद दिनेहरू नहोलान्,कोसेली बोकेर  कतै जान  नपाइएला, देउसी भैलो खेल्न नपाइएला, त्यसको पीडा एकातिर छ तर पनि मासु पाइहाल्छ,  सेलरोटी पाइहाल्छ, सँगै बसेर खाने साथीभाइ भइहाल्छन् । त्यति भएपछि दशैंजस्तो नभए पनि दशैं नभए जस्तो चाहिँ पक्कै हुँदैन । परदेशमा दशैं र तिहारले परदेशीलाई कत्तिको भावुक बनाउँछ भन्ने कुरा हिजो नेपालमा हुँदा उसले दशैंलाई कति भव्यताका साथ मनाएको थियो या भनौँ नेपालमा हुँदा कति तडकभडकका साथ मनाएको थियो त्यसमा पनि निर्भर रहन्छ । त्यसैले पनि होला तुलनात्मक रुपमा अरुलाई भन्दा मलाई यसको कम प्रभाव पर्ने गर्छ ।

यो बेला साथीहरू अनेक प्लान बनाइरहेका हुन्छन तर मेरो भने मासु खानु बाहेक अरु कुरामा खासै ध्यान जाँदैन पनि । दशैं तिहार भनेको घरपरिवार यसो सम्झाउनका लागि मात्र आए जस्तो लाग्छ । अभाव सधैँ साथमै भएर पनि होला हिजो नेपालमा हुँदा पनि दशैं र तिहारले मेरो लागि त्यस्तो खास ठूलो महत्त्व राखेन । दशैं आएपछि केही दिन खसीको मासु खान पाइन्छ भन्ने बाहेक मेरो दिमागमा अरु कुरा आउँदैन थियो । बाँकी त बस यसो चल्दै आएको चलनलाई मानेजस्तो मात्र गरेको न हो । हुँदा खाने र हुने खाने बिचको फरक छुट्याउन दशैं र तिहार आए जस्तो लाग्थ्यो । र आज पनि त्यही नै लाग्छ । फेरि पनि परम्परा हो मान्दिनँ भन्न पनि सकिँदैन । त्यसैले होला मेरो निधारमा रातो टीका र कानमा पहेंलो जमरा नपरेको ९ वर्ष हुन्छ यो २०७७ सालको दशैं सहित । २०६८ सालमा दशैं तिहार मनाएदेखि फेरि त्यो अवसर जुरेको छैन । ९ मध्ये ७ सातओटा दशैं तिहार त परदेशमै बितेछन् । बाँकी दुई भने नेपालमै भएर पनि जुठो परेका कारण मनाउन पाइएन । यतिका वर्षदेखि दशैं र तिहारबाट टाढा हुँदै आएको मलाई के नै फरक पर्ला र यो आउनु र जानुले ?

 हुन त परदेशीलाई दशैं तिहारमै घर फर्किनु पर्छ भन्ने पनि छैन । प्रायको सोच चाहिँ यहि हुन्छ कि यो बेला घर जान पाए एकै पटक सबैसँग भेटघाट पनि हुने र चाडपर्व पनि मनाउन पाउने । तर सबैले यहि बेला कम्पनीबाट बिदा पाउँछन् भन्ने पनि छैन । दशैं तिहारको मुखमा कम्पनीबाट घर जाने बिदा पास हुनु भनेको लोकसेवा पास हुनु भन्दा पनि गाह्रो कुरा हो । पछिल्लो पटक घर गएर युएई आएको पनि चार वर्ष हुन लाग्यो । सन् २०२० सकिनासाथ चार वर्ष पूरा हुन्छ । तर यो चार वर्षको अवधिमा म एक पटक पनि घर गएको छैन । मसँगै आएका प्राय साथीहरू एक पटक गएर फेरि जाने बेला हुन लागिसक्यो तर मेरो जाने कुनै टुङ्गो छैन । तर मैले के जाने प्रयास गरिनँ होला त ? पक्कै पनि गरेँ । दुई पटक प्रयास गर्दा पनि भनेजस्तो नभएपछि म गइनँ । यसरी चार वर्षसम्म म ढुक्कका साथ परदेशमा बस्न सक्नुको धेरै कारण मध्ये एउटा मुख्य कारण यो पनि हो कि मेरो बिहे भएको छैन । नत्र भने एउटा विवाहित पुरुष यति लामो समयसम्म घर नगई कसरी बस्न सक्छ होला र परदेशमा ?

 त्यसैले घरमा श्रीमती हुनु र नहुनुले पनि धेरै फरक पार्दो रहेछ परदेश बसाइँमा । योभन्दा पहिले २८ महिना युएईमै रहँदा मलाई २८ वर्ष बसे स्तो महसुस भएको थियो । किनभने त्यो बेला मेरी प्रेमिका नेपालमा थिइन् । मेरो शरीर मात्र यता हुन्थ्यो तर मन भने हरपल उनकै यादमा हराइरहेको हुन्थ्यो । यो उनीप्रतिको प्रेमभन्दा पनि एक किसिमको डर थियो सायद । कतै मेरो प्रेम अर्कैले….। तर अहिले त्यसरी डराउनु पर्ने खालको प्रेममा म छैन । जसले गर्दा ढुक्कका साथ म आफ्नो काममा रमाउन सकेको छु । कामबाट बचेको समयलाई सृजनशील काममा लगाउन पाएको छु । “तिमी त कति बिजि ! मेरो लागि त समय नै निकाल्दैनौँ” भनेर गुनासो गर्ने कोही नभएपछि त खाली समयमा जे गरेपनि हुने रहेछ । मैले सम्झिनै पर्ने भनेको घरमा आमा हुनुहुन्छ । बाँकी सबैसँग सामाजिक सञ्जाल मार्फत खबर आदानप्रदान भइरहेकै हुन्छ । यसकारण पनि होला घर फर्किन मलाई त्यति हतारो नभएको । घरबाट हिँड्ने बेलैमा मैले भनेर हिँडेको थिएँ कि कम्तिमा ६ वर्ष म आउँदिनँ । अहिले भन्दै लाँदा, गर्दै लाँदा त्यस्तै होला जस्तो देखिन्छ । त्यसैले मलाई घर आउन दशैं आउनु पर्दैन । सबै कुरा सहज भएपछि म स्वत: फर्किनेछु ।

 मेरी एक भान्जी जो पाँच वर्षकी छिन् । र अर्का एक भान्जा छन् जो ८ वर्षका भए । अस्ति बैशाख सम्म “मामा कहिले आउने ? के ल्याइदिने?” भनेर सोधिरहन्थे । हरेक पटक कुराकानी भएपिच्छे “मामा यो ल्याइदिनु, त्यो ल्यादिनु” भनेर डिमाण्ड गरिरहन्थे । तर अहिले उनीहरूबाट त्यो डिमाण्ड आउन छोडेको छ । अहिले त आफूले उल्टो “नानीलाई के ल्याइदिनु ?” भनेर सोध्यो भने “तपाईं आउनु त हुन्न ! के ल्याइदिनु भन्नु” भनेर जवाफ फर्काउँछन् । उनीहरूलाई यो लागिसकेको छ कि झुट बोलेर उनीहरूलाई मैले अलमलाइरहेको छु । मामा भनेको मोबाइलमा मात्रै आउने मान्छे हो भन्ने भइसकेको छ सायद । उनीहरूलाई त यो पनि थाहा छैन कि म कहाँ छु । उनीहरूलाई त यत्ति थाहा छ कि म जहाँ हुनुपर्थ्यो त्यहाँ छैन, मावल घर ! कम्तीमा यी भान्जा भान्जीले ठूलो भएपछि देश छोड्नु नपरोस्, घर छोड्नु नपरोस् भन्ने कामना मात्र गर्न सकिन्छ अहिलेलाई ।

परदेशमा रहने प्रायजसो नेपालीहरूको एउटै भनाइ हुन्छ,


अब नेपाल गएर “केही” गर्नु पर्छ !
अथवा
अब नेपालमै “केही” गर्छु !


तर यो “केही” भनेको के हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो “केही” भित्र रहेर नेपाल गएर कसैले बिहे गरे । कसैले छोराछोरी पाए । कसैले खसी बाख्रा पालन गरे । कसैले गाईभैंसी पाले । कसैले खेतिपाती गरे । कसैले व्यापार व्यवसाय गरे । कसैले जागिर खाए । जसले “केही” गर्छु भनेर परदेशबाट स्वदेश गएका थिए उनीहरूले यिनै कुरा गरे । तर मेरो लागि यो “केही” भनेको के हो अहिलेसम्म थाहा हुन सकेको छैन । जुन दिन थाहा हुन्छ, त्यसै दिन म पनि फर्किनेछु ।

 

आजलाई यत्ति !



https://www.facebook.com/dipak.gautam.1232

Facebook Comments

You may also like

error: Content is protected !!