डराइरहने, कराइरहने- चर्काचर्कीपूर्ण

फूलपातीको दिन “दाङ लिट्रेचर मिनि फेस्टिवल” मा के के भयो त ? उदाहरण समूह नेपालद्वारा आयोजित कार्यक्रम बिहान ११:३० मा सुरु भएको थियो र साँझ ४ बजेसम्म चलेको थियो । पूर्वनियोजित ३ सेसनहरु सिलसिलाबद्ध रुपमा चलेको थियो । कार्यक्रमको पहिलो सेसन, सबैभन्दा उत्तेजक शिर्षक “डराइरहने दाङ, कराइरहने काठमाण्डौँ” माथि पूर्वप्राज्ञ डा. अमर गिरी, कथाकार नवीन विभास र कवि विष्णु सन्यासका साथ सहजकर्ता घनश्याम अस्तित्वका प्रश्नहरु निकै चर्काचर्कीपूर्ण चलेको थियो ।

डा. गिरीको टिप्पणी थियो- “डराइरहने र कराइरहने भन्ने शब्द त पक्कै लय मिलाउनको लागि हो । तर केही विभेद त पक्कै छन् र ति विभेदका निश्चित कारण पनि छन् ।” आफ्नो मतलाई अझ प्रस्ट्याउँदै डा. गिरीले भन्नुभयो – “दाङ एउटा मोफसलको प्रतिक हो, काठ्माण्डौँ, जहाँ सबथोक छ, त्यो केन्द्र हो । केन्द्रको हस्तक्षेप सबैतिर छ । मुलुक एउटा लामो कालखण्डसम्म सामन्तवादी संरचनामा गुज्रिएको कारण पनि केन्द्रको हस्तक्षेप साहित्यमा पनि लागु भएको हो ।”

कथाकार नवीन विभास पनि डा. गिरीको मतमा सहमत देखिनुभयो – “हाम्रो संस्कार, समाज कसरी बनेको छ, त्यही संरचना साहित्यसँग पनि जोडेर हेर्नुपर्छ ।” वहाँको मतानुसार ‘दाङ डराउनु र काठ्माण्डौँ कराउनु’ पनि राज्यसंरचनाले डोहोर्याएको मनस्थितिको उपज हो । तर, संघियता लागु हुनु र प्रविधिको विस्तार हुनुले देशमा मोफसलको दायरा पनि बिस्तारै फैलिने कुरामा कथाकार विभास आफु ढुक्क भएको दाबी गर्नुहुन्छ ।

तर अर्का वक्ता कवि विष्णु सन्यासको मत भने केही फरक देखिएको छ । वहाँको प्रतिप्रश्न छ- “दाङ साहित्यमा उर्वर छ, शक्तिको पृष्ठभूमि त दाङ नै हो तर काठ्माण्डौँसँग पनि केही छ जहाँ नपुगेको भए तपाईं आज जे हुनुहुन्थ्यो त्यो नहुनुहुन्थ्यो कि ?” कवि सन्यास काठ्माण्डौँले विभेद गरेको कुरामा पनि विमति जनाउनु हुन्छ । यसमा पनि वहाँको प्रतिप्रश्न छ – “विभेद त मोफसल भित्रै मोफसलले मोफसललाई गरेको छ । काठ्माण्डौँले त बरु मलाई आफै फोन गरेर सोध्छ, कविता छापौँ भन्छ । यहाँ मोफसलमा चाहिँ नाक र आँखाको आकार हेरिन्छ कि ? उचाइ हेरिन्छ कि जुङ्गाको फैलावट ? नत्र किन यहाँ बसेर लेखुन्जेल हामी सधैँ पुछारको पुछारमै ?”

बहसको मध्य भागतिर सबै वक्तालाई कडाइका साथ सफाइ दिनुपर्ने गरि घनश्याम अस्तित्व प्रश्न राख्नुहुन्छ । काठ्माण्डौँमा बसेर आफुलाई मात्र बनाउनु भयो, दाङको लागि केही गर्नुभएन भन्ने शाब्दिक प्रहारको प्रतिरोधमा डा. गिरी भन्नुहुन्छ – “ठूलो मान्छे बनिन्छ भनेर काठ्माण्डौँ गइनँ, व्यक्तिगत कारणले गएको हुँ। काम गर्दै जाँदा अवसर प्राप्त भएको हो । आफ्नो ठाउँबाट सक्दो प्रतिभालाई प्रोत्साहन गर्ने काम मैले गरेको हुँ । बरु दाङका साथीहरु नै आउनु भएन रचना पठाउनुस भनेँ तर रचना पाइएन । प्रतिष्ठानप्रति नै साथीहरुको नकारात्मक भावना पाएको कुरा मैले भन्नै पर्छ । धेरै जिल्लाहरु गएको छु, नजिकबाट सबैको समस्या नियालेको छु । तर अन्तभन्दा यहाँ जागरुकता केही कम देखेको छु, जागरुकता बढाउनु पर्यो ।”

त्यस्तै, कथाकार विभासलाई घनश्याम अस्तित्व सोध्नुहुन्छ – “कथा लेख्न रोल्पा, रुकुम पुग्नुहुन्छ, कथा छाप्न, कथाको लिङ्क सेयर गर्न काठ्माण्डौँ पुग्नुहुन्छ । दाङ बसिरहँदा मेरो साहित्य नबिक्ला भन्ने डर लाग्छ ?” जसको जवाफमा विभास भन्नुहुन्छ – “खास दाङ म पढाइको सिलसिलामा आएको हुँ । काठ्माण्डौँ पनि पढ्नकै लागि गएको हुँ । लव लेटर लेख्ने समय म दाङ बसेँ, कथा लेख्दा रोल्पा बसेँ । त्यसपछि, काठ्माण्डौँ पढाइको सिलसिलामा पुगेको १०/१५ वर्ष भयो । तर, आजसम्म न काठ्माण्डौँले तँ हाम्रो भन्यो, न त दाङले तँ काठ्माण्डौँको होस् भन्न छोड्यो । यसमा डायस्पोरिक मेन्टालिटीले काम गरेको हुँदो हो । तर म मेरा गाउँठाउँका कसैले कसैलाई नसुनाएका भर्जिन कथाहरु लेख्छु र काठ्माण्डौँ लगेर छाप्छु । अघिपनि भनियो, यसको एकमात्र बाध्यता संरचना हो ।”

“मोटा किताब आए, उत्कृष्ट आएनन्, मदन पुरस्कार प्राप्त किताब हरेक वर्ष आए, देशभर पढिने किताब कहिले आउलान् ?” यसको जवाफ पनि कथाकार विभाससँगै मागिएको थियो । जवाफमा विभासले पुरस्कार मात्र मानक नभएको र लेखकले आफ्नो कुरा नलेखेर बजारले लेखाएको कुरा लेख्ने क्रम नटुटुन्जेल यो चुनौतिकै विषय रहिरहने बताउँदै थप्नुभयो- “यो चुनौति हाम्रो त हुँदै हो, तपाईंहरु युवा पुस्ताको लागि पनि हो । त्यसैले, हाम्रो पुस्ताले त्यस्तो पुस्तक कहिले लेख्ने भन्नेतिर चाहिँ लाग्नुपर्यो ।”

बहस चर्काचर्कीपूर्ण बन्दै जाँदा कवि सन्यास बहसको मेरुदण्ड अर्थात शिर्षकमाथि नै असन्तुष्टि प्रकट गर्नुहुन्छ- “खै, म दाङको मान्छे म त काठ्माण्डौँसँग कहिलेपनि डराएको छैन । झुकेको पनि छैन । काठ्माण्डौँ कराइरहन्छ भने दाङ किन डराइराख्ने मात्र ? दाङ आफै पनि किन न कराउने ? दाङ पनि झन् ठूलो कराउने हो, चिच्याउने हो ।”

बहसको चर्काचर्की, सेसनको अन्तिम खुड्किलोतिर आइपुगेर मात्र मत्थर भएको थियो । दाङ अर्थात मोफसलको साहित्य माथि उठ्न के गर्ने भन्ने प्रश्नमा तीनैजना वक्ताको मत करिब एकाकार भएको थियो । सिर्जनामा साधना र संघर्ष गर्दै अघि बढ्नुपर्ने निष्कर्षमा बहस पुगेको थियो । बहसको अन्त्यतिर दर्शकदिर्घाबाट समेत वक्ताहरुसँग प्रशनोत्तरको व्यवस्था कार्यक्रमले गरेको थियो । बहसको सुरुदेखि अन्त्यसम्मै प्रश्नमाथि पनि र उत्तरमाथि पनि बजेको जोडदार तालीले कार्यक्रम कति सशक्त हुन गएको थियो बताइ नै रहेको थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!