उदाहरण समुहद्वारा उदाहरणीय प्रयास

दशैँको मुखमा सबैलाई सधैँ घरले बोलाउँछ, यसपाली भने घरले मात्र होइन दाङले पनि बोलाइरहेछ । लिट्रेचर फेस्टिवल भन्नासाथ हाम्रो सम्झनामा पोखरा आउने कुरा पक्का हो तर यतिबेला दाङले पनि त्यो समृतिपलटमा आफ्नो नाम लेखाउने तयारी गरिसकेको छ । नेपालको सुदुर जिल्ला दाङमा लिट्रेचर मिनि फेस्टिवल हुने तय भएको हो । उक्त फेस्टिवल उदाहरण समूह नेपालको आयोजनामा दाङको सदरमुकाम घोराही स्थित टि थ्री प्यालेसमा यही शनिबार। आश्विन १८ गते, फूलपातीको दिन सम्पन्न हुन गइरहेको हो । विगत ५ वर्षदेखि साहित्य र कलाको क्षेत्रमा सक्रिय रहँदै आएको समूहले यसपालीको दशैँलाई सिर्जनशील बनाउन साहित्य उत्सवको तयारी गरेको कुरा समूहका मुख-मानव एवं कार्यक्रमका संयोजक कवि/पत्रकार नवीन अभिलाषी बताउनु हुन्छ ।

कार्यक्रमले दाङका श्रष्टा-कलाकारको पहिचान र प्रतिभाको प्रस्फुटन मात्र नगरेर थप साहित्य सिर्जनाका लागि उर्वर वातावरण बनाउन र नविन प्रतिभा/साहित्यका नयाँ कोपिलाहरु माझ प्रोत्साहन गर्न समेत विशेष सहयोग पुर्याउने मत राख्नुहुनछ कवि अभिलाषी । वहाँका अनुसार उक्त १ दिने कार्यक्रम ३ सत्रमा विभाजित गरिएको छ । रचना वाचन मात्र गरिनुले साहित्यको आवश्यक विकासोन्नति सम्भव नहुने भन्दै कार्यक्रमको २ सत्रलाई सिर्जनाकै सेरोफेरोमा रहेर चिन्तनमुखी बनाउने चेष्टा गरेको आयोजकले बताएको छ ।

पहिलो सत्रमा “डराइरहने दाङ र कराइरहने काठमाण्डौँ” शिर्षकमा प्रा.डा. अमर गिरी, कथाकार नवीन विभास र कवि विष्णु सन्यासले आफ्नो बहसपूर्ण प्रस्तुति दिनुहुने छ । दोस्रो सत्रमा “सुदुरका सञ्चारमा सिर्जना” शिर्षक बहसमा कवि/गजलकार टीकाराम उदासी र सम्पादकद्वय लेनिन बन्जाडे र नरेन्द्र के,सी, लाई सुन्न सकिनेछ । त्यस्तै, अन्तिम सत्रमा “घर फर्किरहेका अक्षरहरु” अन्तर्गत दाङका ५ कवि (नवीन शर्मा, विकास रोकामगर, संगीत मगर, युग सर्वनाम र सिर्जना पोख्रेल) का कविताको फरक-फरक स्वाद लिन पाइनेछ । साथै विभिन्न पक्षहरुमा प्राप्त भएको साथ‍-सहयोगका लागि घोराहीको युङ्ला अप्यारेल र केतु टि टाउन, पोखराको ट्यालेन्ट कृयटिव डिजाइन र रोल्पाका खेमराज गाउँलेलाई विशेष धन्यवाद व्यक्त गर्दै वहाँले भन्नुभयो -“यस किसिमको सिर्जनशील र चेतनास्तरिय कार्यक्रम गर्दैगर्दा सहयोगी हातहरु आफैपनि भेटिने रहेछन् र यसैले उत्साह पनि थपिने रहेछ” ।

उदाहरण समूह नेपालद्वारा दाङमा हुन गइरहेको यस छोटो-मीठो लिट्रेचर फेस्टिवल जस्तो सिर्जनात्मक कार्यप्रयत्न नेपाली साहित्यको विकास-विस्तारको दृष्टिले वास्तवमै उदाहरणिय एवं अनुकरणिय देखिन्छ ।

1

Image 1 of 3

Facebook Comments

You may also like

error: Content is protected !!