यदि कुरा साँचो हो भने दिलिप महासेठ अब यो संसारमा छैन। आमाले सुनाएअनुसार कोरोना लागेपछि केही दिनअघि उसलाई नारायाणी अस्पतालमा लगिएको रहेछ। ऊ त्यहीँ मरेछ। आमालाई यो कुरा गाँउकै कसैले सुनाएको रे। गाँउलेलाई कसले सुनायो, मलाई थाहा भएन।
मान्छे मरेपछि जिँउदाहरू मृतकले बाँचेको जिन्दगी समीक्षा गर्न थाल्छन्। दिलिप मरेको खबरले मलाई त्यस्तै मनस्थितिमा पुर्यायो। मेरो आँखाअगाडि बाल्यकालका दिनहरू आउन थाले। लामो समयसम्म नसम्झेका अनुहारहरूले मस्तिस्क ओगट्न थाले। दिलिपको हाँसो झलझली भयो। उसलाई सम्झनासाथ कलावतीको याद आयो। तर, किनकिन उसको अनुहार भने सम्झन सकिनँ। घाँटी खसखस भइरह्यो।
उनीहरूलाई पहिलोपटक देख्दा म त्यस्तै ८-९ वर्षको हुँदो हुँ। त्यो असारको कुनै दिन थियो। बिहानभर पानी परेको थियो। दिउँसो पानी थामिएपनि बादल हटिसकेको थिएन। दिन अँध्यारो थियो। हाम्रो खेतमा रोपाइँ चलिरहेको थियो। त्यस्तै, ३ बजेतिर एउटा हातमा कित्ली र अर्कोमा चिउराको पोको बोकेर म खेततिर जाँदै थिएँ।
बाटोमा खोल्सो तर्नुपर्थ्यो। खोल्सोको पुल कटेर केहीबेर ओरालो लागेपछि खेतसम्म पुगिन्थ्यो। मैले पहिलोपटक उनीहरूलाई त्यहीँ देखेको थिएँ। उनीहरू रुझेका थिए। दिलिपले समातेको छाताको करङ्ग भाँचिएको थियो। ङिच्च दाँत देखाएर उनीहरूले मतिर हेरे। एक्कासि डर लागेर आयो। मैले त्यसअघि कहिल्यै त्यति काला मान्छे देखेको थिइनँ। मलाई उनीहरूको अनुहार हजुरआमाले सुनाउने कथाका भुतकोजस्तै लागेको थियो।
म ठिङ्ग अडिएँ। खुट्टा पनि चलाउन सकिनँ। आवाज पनि निकाल्न सकिनँ। मेरो प्रतिक्रियाविहीनतालाई वास्तै नगरी उनीहरू पुल तरेर उकालो लागे। म भने त्यत्तिकै रहिरहेँ। अवाक। स्तब्ध।
जब उनीहरू अलि पर पुगे तब फर्केर हेरेँ। उनीहरू मुखिया बाजेको चौतारीमा बसिरहेका थिए। कलावती खोकिरहेकी थिई। त्यहाँबाट उठेर नहिँडुञ्जेल मैले उनीहरूलाई हेरिरहेँ। केहीबेरपछि उनीहरू गाँउमा छिरे। उनीहरू गाउँमै बस्ने मनसायले आएका रहेछन्। दिलिपले आफ्नो घर सर्लाहीमा भएको बताउँथ्यो। गाँउको नाम अहिले बिर्सेँ। भन्थ्यो, “गाउँमा सबै थियो हाम्रो। गाई, भैँसी, हाँस, सब थियो। छोरी पनि थिई- सानी ३ वर्षकी। तर जेठको बाढीले सबै बगायो। हामी छतमा बसेर बाँच्याैँ। ४ दिनपछि सेना उद्दार गर्न आउँदा छोरी चिसोले मरिसकेकी थिई। प्रमाणित गर्न नसकेर मालपोतले जग्गा पनि खाइदियो। मुद्दा लडेको भए फिर्ता पाँउथ्याैँ होला तर लड्ने पैसै थिएन। बुढिकै उपचारमा ऋण लागेको थियो। ससुरालीले दिएको थोरै पैसाले पोखरासम्म आयाैँ।”
उनीहरू दुई हप्तासम्म आफन्तकोमा बसेछन्। त्यसपछि, कोठा खोजेर बस्न थालेछन्। कलावती टि.बिको औषधी खाइरहेकी थिई। उसलाई शरीरले काम गर्न दिँदैनथ्यो। दिलिपले केही दिन बालुवा बोकेछ। तर, बानी नपरेकाले धेरै गलेछ।
“एउटा बोराको जम्मा १० रुपैँया दिन्थ्यो। जिउ दुखेर रातभर सुत्न सक्दिनथेँ। यसरी त टिकिँदैन जस्तो लाग्यो। गाँउकै दाइले वर्कशपमा काम लाइदिन्छु भन्थ्यो । तर, खै के भएर हो, त्योपनि मिलेन। त्यहाँ बस्न पैसाले नपुग्ने देखेपछि बुढि र म राती नै निस्क्याैँ। गाउँ फर्किनलाई बाँकी केही थिएन। गयो भनेपनि छोरीको यादले बस्न दिँदैन जस्तो लाग्यो। जहाँ गएपनि काम गरेरै खाने हो भनेर बुढि र म बाटैबाटो हिड्याैँ। यहाँ आएर अडिन लेखेको रहेछ।”
गाँउमा त्यतिबेलासम्म मोटर बाटो बनिसकेको थिएन। मान्छेहरू खेतका आली-आलीमा हिँड्थे। गाँउबाट पोखरा पुग्न ६ घण्टा हिँड्नुपर्थ्यो। त्यसैले पनि अति जरुरी काममा बाहेक खासै कोही बाहिर निस्किँदैनथे। दिलिपको कुरालाई कसैले शंका गरेनन्। त्यही वर्ष इराकमा मुखिया बाजेको छोरो सोमलाल मरेको थियो। यसकारण मुखिया बाजेले पनि उनीहरूलाई सहानुभूतिको नजरले हेरे।
नाम वीरमान गुरुङ्ग भएपनि उनलाई सबैले मुखिया भनेर चिन्थे। मुखिया बाजे पञ्चायतका बेला गाँउभरिका नाइके थिए रे। अन्नबालीको बिक्रीवितरण, सरकारी स्रोतको परिचालन, कुलो, चाैतारी लागायत पूर्वाधार बनाउने जिम्मा उनको हातमा पर्थ्यो भनेर बुवा सुनाइरहनुहुन्थ्यो। गाउँमा कसैलाई आर्थिक सहयोग गर्नसक्ने ल्याकत उनीसँग मात्रै थियो। पञ्चायत सकिएको धेरै वर्ष भइसकेपनि त्यसले दिएको नाम र सम्पन्नता उनीसँग यथावत नै थियो।
मुखियाको मन खाएपछि उनीहरूको भाग्य खुल्यो। दिलिपले त्यसपछि मुखियालाई छाडेन बरु शरणमै पर्यो। वीरमान मुखिया त्यसैपनि दानी स्वभावका थिए। झन सोमलालको मृत्युपछि उनको मन मैनजस्तो भएको थियो। कसैको दुःख देख्यो कि पग्लिहाल्थ्यो। उनले सोमलालका कपडाहरू दिलिपलाई लगाउन दिए। कोपिलालाई उसका सेता बाहेक सबै लुगा कलावतिलाई दिन लगाए। घरभन्दा अलि परको धन्सारलाई टालटुल पारेर उनीहरूको शिरमाथि छत ठड्याइदिए।
‘म तेरो बाउजस्तो मान्छे हुँ। तँलाई छोरोजस्तै ठानेर राखेको छु। केही चाहिए मलाई भनेस् तर भिख नमागेस्, बुझिस् ?’ मुखियाको यो कुरा दिलिप जहिलेपनि दोहोर्याइरहन्थ्यो।
सजिलै गरिखान पुगेपछि भिख माग्ने कुरै भएन। उनीहरू गाउँमा बस्न थाले। अरूबेला सानोतिनो काममा पनि मुखियाले गाँउलेलाई अह्राउँथे। मुखियाको काम लाग्न पाउँदा गाँउलेहरूपनि खुशी हुन्थे। प्रत्यक्ष-अप्रत्यक्ष त्यसको फल पाइरहन्थे। अब भने दिलिप हरेक समय मुखियाको अगाडि उपस्थित हुन थाल्यो। पुरानो प्रक्रिया रोकियो।
कुनै बाहिरको मान्छेले आएर यति छिटै प्रगति गरेको कस्ले रुचाँउथ्यो ? सुरुवातमा गाँउलेले देखाएको सहानुभुति धेरैदिन टिकेन। गाँइगुँइ हल्ला चल्न सुरु भयो। कतिले उनीहरूलाई मुखियालाई लुट्न आएका चोर भनेर कुरा काटे। कतिले आफ्नो भाग खोसिएको ठानेर मनमनै सरापे। हजुरआमाले पनि कहाँकहाँबाट आइपुगेका त्यस्ता कालाले त बच्चालाई अपहरण गर्छन् भनेर हामीलाई उनीहरूको नजिक पर्न दिनुहुन्थेन।
तर, दिलिपलाई यी कुराले केही असर गरेन। मुस्कुराइरह्यो। सबैलाई नमस्कार गरिरह्यो। मुखिया त उसका लागि भगवानै भएका थिए। उनैलाई प्रशन्न गरिरह्यो। ऊ बलियो थियो र काम पनि भनेकै समयमा गर्थ्यो। बिहानै घरबाट निस्कन्थ्यो र घाम अस्ताएपछि मात्र घर फर्कन्थ्यो। हलो जोत्ने, बाउसो खन्ने, भारी बोक्ने, गाईवस्तु चराउने, घाँस-दाउरा काट्ने, सोत्तर उठाउने, गोबर फाल्ने, दुध दुहुने, चाहे जे काम होस् मुखियाको एक आदेशमै गर्थ्यो। एक हिसाबले ऊ मुखियाको नोकर भएको थियो। तर, मुखियाले उसलाई कहिल्यै उपेक्षा गरेजस्तो लाग्दैन। सबैको अगाडि ‘बाबु’ भनेर बोलाउँथे। उनलाई दिलिपसँग कुनै किसिमको गुनासो थिएन।
उनलाई अलिकति गुनासो थियो भने कलावतीसँग थियो। ऊ कमजोर थिई र रोगी पनि। कहिलेकाहीँ नुन-चिनी सकिँदा छिमेकसम्म पुग्थी नत्र घरमै बसिरहन्थी। बेलाबेलामा खोक्थी। पछ्यौरामा रगतका दादहरू प्रशस्तै देखिन्थे। पानी ओसार्ने, लुगा धुनेसम्म गर्न सक्थी तर भान्छामा एकछिन टिक्न सक्दिनथी। मुखियालाई यही गुनासो थियो। कलावतीले घर-भान्छा सम्हाले बुहारीलाई कुनै केटा खोजेर बिहे गर्दिनुहुन्थ्यो भनिरहन्थे।
गाउँमा आएको एक वर्ष भइसक्दा पनि मलाई उनीहरूसँग डर लागिरह्यो। कलावतीलाई खासै देखिँदैनथ्यो। दिलिप भने हिँडडुल गरिरहन्थ्यो। उसलाई घर अगाडिको बाटोमा आँउदै गरेको देखेँ भने हतारहतार भित्र भाग्थेँ। ढोकाको कापबाट पर नपुग्दासम्म चिहाइरहन्थेँ। ऊ हाँस्दा खुट्टाहरू काँप्न थाल्थे। मलाई उसको मुस्कान डरको अर्को रूपजस्तो लाग्थ्यो।
तर कोही यस्तो पनि थियो गाउँमा जसलाई उसको त्यही मुस्कान मनपर्न थालेको थियो। ऊ पनि चिहाएर दिलिपलाई हेर्थी। मनमनै रहरहरू सजाउँथी। थाहाछैन कहिलेबाट तर कोपिलाले सेतो आवरणभित्र रङ्गिन फूलहरू फुलाउन थालिसकेकी रहिछ।
मेलापर्महरूमा कलावती जान सक्दिनथी र मुखिया जान खोज्दैनथे। त्यसैले, रोपाइँमा दिलिप र कोपिला सँगसँगै हुन्थे। उनीहरूको सामीप्यको छनक गाउँलेलाई परिसकेको थियो। विवाहित लोग्ने मान्छे र एउटी विधवीमाथि आरोप लाद्न सायद उनीहरूलाई आँट आएन। त्यसमाथि मुखियाले छोरो मानेको मान्छे थियो दिलिप। कुरा सतहमा आउन सकेन। भित्रभित्रै गाँउभरि कानेखुसी भने चलिरह्यो।
मंसिरको एक दिन,
स्कुलबाट फर्कँदा बेस्सरी पानी पर्यो। प्लास्टिक लगेको थिइनँ। बाटो छेउको पुरानो घरमा ओत लाग्न अडिएँ। त्यो घरका मान्छेहरू म जन्मिनुअघि नै पोखरा सरिसकेका थिए। उनीहरूसँग हाम्रो नाता लाग्छ भन्नुहुन्थ्यो हजुरआमा। तर, मैले कहिल्यै उनीहरूलाई देखिनँ। प्रायः खुल्लै रहने त्यो घरको झ्याल-ढोका त्यसदिन बन्द थियो। भित्रबाट आवाज आएजस्तो लागेपनि हेर्ने हिम्मत भने आएन। पिँढीमै बसिरहेँ।। लामो समयसम्म पानी बिदा नभएपछि झोला त्यहीँ छोडेर घर हिँडे।
घर पुगिकन लुगा फेरेर पिँढीमा बिरालो खेलाउँदै बसिरहेको थिएँ। म आएकै बाटो छाता ओढेर दिलिप र कोपिला आइपुगे। तगारो कटेपछि मात्र मैले उनीहरूलाई चिनेँ। भागिहाल्न सकिनँ। आँगनमा आइपुग्दा देखेँ; कोपिलाको हातमा मेरो झोला थियो।
“झोला छोडेर काँ भागेको रे बच्चे? अहिलेपनि भाग्छस् ?”, हाँस्दै दिलिपले हकार्यो। कोपिला मुस्कुराइरहि। मेरो छेउमा झोला राखेर उनीहरू फर्के। त्यो दिनलाई राम्ररी बुझ्न मलाई थप केही वर्ष लाग्यो। उनीहरू ओत लाग्न त्यो घरमा पुगेका थिएनन् भन्ने चाँही मैले त्यतिबेलै बुझेँको थिएँ।
त्यसपछिका घटनाहरू छिटोछिटो घटे। बेलाबेलामा हजुरबा मुखियाकोमा जानुहुन्थ्यो र ‘मदिसेले मुखियालाई कछुवो बनायो’ भन्दै फर्किनुहुन्थ्यो। हुनपनि, मुखिया बाजे घरबाहिर निस्किन छाडेका थिए। उनका सबै आवश्यकताहरू बसीबसी पूरा हुन्थे। दिलिपले उनका लागि घरमै सबै कुरा व्यवस्थित गरिदिएको थियो।
उसको आफ्नै घरका कुरा भने त्यति व्यवस्थित थिएनन्। ऊ राती ८-९ बजे मात्र घर फर्कन्थ्यो। सधैँजस्तो दिलिप र कलावतीको झगडा पर्थ्यो। कलावती दिलिपलाई उनीहरूकै भाषामा गाली गर्थी तर गालीको आसय गाँउलेहरू स्पष्ट बुझ्थे। आखिर, सबैले बुझ्ने भाषा प्रेमको मात्र हुँदैन। माघ महिनाको एकरात अरूबेलाभन्दा बेस्सरी उनीहरूको झगडा पर्यो। जोडजोडले कलावती रोइरहेको गाँउभरि सुन्न सकिन्थ्यो। मान्छेहरू ब्युँझिए तर उठेनन्। घरभित्रै बसिरहे। त्यो रात मैले पहिलोपटक दिलिपले चर्को बोलेको सुनेँ। ऊ एकचोटी बेस्सरी चिच्यायो। त्यसपछि मौनता। म झस्केँ। आमाले कसिलोसँग अंगालोमा कस्नुभयो।
“आमा! पिसाब लाग्यो,” मैले रुञ्चे स्वरमा भनेँ।
“उठ! जाम् बाहिर,” काखबाट उठाउँदै भन्नुभयो।
ढोका खोलेर म बाटोआगाडि उभिएँ। आमा दैलोमा हुनुहन्थ्यो, लाज मानेर पछाडि फर्केँ। आमा ढोका पछाडि जानुभयो। पिसाब फेर्न थालेँ तर एकैछिनमा धारो रोकियो। दिलिपलाई देखेर मेरो पिसाब पनि डरायो। हरेकपटक जस्तै यो पटक पनि म निस्तब्ध भएँ। बिनाहलचल उभिइरहेँ। ऊ पहिलोचोटि जसरी नै मतिर हेरेर मुस्कुरायो र सरासर ओरालो लाग्यो। उसलाई आँखाले पछ्याइरहेँ। आमाले बोलाएपछि हतारहतार भित्र गएँ। केही नबोली सुतेँ।
त्यही नै बेला हो मैले दिलिपलाई अन्तिमपटक देखेको। गाँउमा उसलाई देख्ने अन्तिम मान्छे पनि सायद म नै थिएँ। ऊ हातमा सानो झोला लिएर हिँडेको थियो। मुखियाले पुलिसलाई बताए अनुसार उनको दराजबाट ५ तोला सुन र २ लाख नगद हराएको थियो। मुखियाकहाँबाट कोपिला पनि हराएकी थिई।
त्यसपछि गाँउमा सबैभन्दा दुःख कलावतीले पाई। न ऊ अरू कसैसँग त्यति घुलमिल भएकी थिई न काम गरेर खान सक्थी। दिलिप नहुँदा उसको खाने सुत्ने ठेगान पनि भएन। मुखियाले पनि यातना दिन उसलाई नै भेटे। बारम्बार ‘तेरो पोइलाई झिक!’ भन्दै थर्काउन थाले। उनमा अनाैठो फुर्ती देखिएको थियो। लामो शितनिन्द्राबाट ब्युँझिएको भालुजस्ता भएका थिए। कसैले चित्त नबुझ्ने कुरा गर्यो कि झम्टिँउला झैं गर्थे। दिलिपमाथिको रोश उनले कलावतीमाथि पोख्न थाले। उसलाई धन्सारबाट निकाले। आफैँ गएर भाँडा-कुँडा फालिदिए र ढोकामा ताल्चा लगाएर हिँडे।
कलावती त्यसपछि केही दिन अरू गाँउलेकहाँ बसी। एक बिहान हाम्रोमा पनि खाना खान आई। खानभन्दा बढी पिँढीमा बसेर रोई। खोकी। उसको रुवाइ र खोकाइ मैले दैलोमा बसेर हेरिरहेँ। बेलाबेलामा ऊ आँशु पुछ्दै आँगनमा थुक्थी। चोक्टा चोक्टा कफमा रगत मिसिएर निस्किन्थ्यो। पछि हजुरआमाले बताएअनुसार उसको औषधीपनि सकिएको रहेछ। कोपिलासँग भागेको रात दिलिप औषधी लिन जान्छु भन्दै झगडा गरेर निस्किएको रहेछ।
हजुरआमाले हेल्थपोस्टबाट उसको लागि औषधी मगाइदिनुभयो। पोख्रेली आफन्तको रित्तो घरमा केही दिन उसलाई बस्ने व्यवस्था मिलाइयो। तर, उसले एक्लै बिरानो गाँउमा बस्ने चासो देखाइन। जसलाई भेटेपनि माइत लगिदेऊ भनेर भन्थी। एकदिन छिमेकमा सरसापट गरेर बुवा र लामिछाने काकाले कलावतीलाई गाडी चढाउन जानुभयो। खै, किन हो यसपटक त मैले पनि जान मन गरेको थिएँ तर, धेरै हिँड्नुपर्छ भनेर लग्नुभएन। लग्नुभएको भए म साँच्चै जानेथेँ। उसको कालो रंगले मलाई यसपटक तर्साएको थिएन।
त्यसपछि गाँउमा कलावती कहिल्यै देखा परिन। ऊ माइत पुगी कि पुगिन पनि थाहा भएन। बाँची वा मरी पनि थाहा भएन। दिलिप र कोपिलाको बारेमा भने बेला बेलामा कुरा भइरहन्थे। गाउँकै अम्बिका दिदीले भागेको भोलिपल्ट उनीहरूलाई हेम्जाको चुरा पसलमा देखेकी थिइन् रे। कोपिलाले उनलाई माइत जान लागेको भनेकी थिई रे। कोही उनीहरूले विन्ध्यवासिनी मन्दिरमा बिहे गरेको कुरा गर्थे। कोही ऊ दुईज्यानकी भएकी छे भनेर भन्थे। कसैले दिलिपलाई अर्कै सहरमा अर्कै आईमाईसँग देखेको कुरा पनि गर्थे। कसैले उनीहरू इन्डिया गए पनि भन्थे।
केही वर्षपछि म क्याम्पस पढ्न पोखरा आएँ। बगरमा कोठा लिएर बस्न थालेँ। त्यतिबेलासम्म गाँउमा सिडिएमए फोन पुगिसकेको थियो। डोजरले कच्चीबाटो खनिसकेको थियो। त्यही बाटो दुधका गाडीहरू हिँड्थे। दिनमा एकपटक जिप पनि चल्थ्यो। एकदिन घरबेटीले कोठामा बोलाए। आमाले फोन गर्नुभएको रहेछ। समान्य सञ्चो बिसञ्चोका कुराहरू भइसकेपछि आमाले यस्तो कुरा सुनाउनुभयो जसले यो कथामा अर्को मोड थपिदियो।
त्यो दिन बिहानै दुधको गाडीमा चढेर कोपिला गाउँ फर्किछ। रातो सारी लगाएर मुस्कुराउँदै ओर्लेकी थिई रे। त्यो दिन मुखिया बाजेलाई भेटेर आफूसँग भएको गहना र केही पैसा फिर्ता गरिछ। एक्ला मुखिया त्यसबेलासम्म साह्रै कमजोर, जिर्ण भइसकेका थिए। उनले कोपिलालाई गाउँमै बस्न भनेछन्। तर साँझतिर पुगिने गरी ऊ दिउँसोसम्म बसेर दुधकै गाडीमा फर्किछ। मैले बच्चापनि थियो कि भनेर आमालाई सोधेँ। तर, आमाले ‘देखिनँ’ भन्नुभयो।
आज यतिका वर्षपछि, दिलिपको मृत्युको खबर सुन्दा मलाई एउटा कथाको अन्त्य भइरहेजस्तो लाग्दैछ। आशाको कथा, सपनाको कथा, धोकाको कथा, जीवन र मृत्युको कथा। यो कथाका वीरमान मुखिया अघिल्लो वर्ष हृदयघातले मरिसके। उनी पोखरा भाइको घरमा बस्थे। यो कथाकी कोपिला अझै माइतिमा बस्छे भन्ने सुनेको छु। कलावति माइत जान्छु भनेर हिँडेपछि उसको केही पनि खबर आएन। दिलिप पनि गाँउबाट निस्केपछि कता पुग्यो, के गर्यो, कसरी बाँच्यो, कसरी मर्यो कसैले यकीनसाथ भन्न सकेनन्।
उसले गाँउबाट जाँदा केही जिन्दगीहरूलाई बदलेर गएको थियो जो फेरि कहिल्यै उस्तै रहेनन्। उसको आफ्नै जिन्दगी कति बदलियो त्यो त मलाई थाहा छैन। यत्ति थाहा छ, एउटा मान्छेको जिन्दगी बदलिँदा त्यसले पूरै बस्तीलाई बदलेर जान्छ।
आजसम्मपनि कुनै नाैलो मान्छे आउँदा गाँउलेहरू तिनको अनुहारमा दिलिपको चित्र खोज्छन्। नमस्कारसम्म त फर्काउँछन् तर गुन्द्री ओछ्याउन हिच्किचाँउछन्।