पागल; एक सोच

सोच के हो ?
यस प्रश्नमा धेरै विचारहरु आउने गर्छन् । एक विचारले यसलाई एक प्रकारले व्याख्या गर्दछ भने ,अर्को भिन्नै विचारले यसलाई
फरक किसिमले व्याख्या गरेको पाइन्छ। सोच सम्बन्धी यस्ता विचारहरु थुप्रै पाइने गर्छन् । यसैबाट बुझ्न सकिन्छ कि सोच कति गहन विषय हो भनेर ।

मेरो सोचाइमा सोच भनेको,  हावा जस्तै हो । खुल्ला, स्वतन्त्र, जहिल्यै बहकिने, न कुनै बनोट छ न कुनै निश्चित आकार तर गहिरो चाहिँ पक्कै छ । सोचलाई लिएर नै धेरै सोचहरु आउने गर्छन् । यहीँबाट सोचको एक झलक देख्न सकिन्छ। एक सोचले नै अर्को नयाँ सोचलाई जन्माउने गर्छ । यस अर्थमा भन्न सकिन्छ कि, सोच नै सोच स्वयंको मुहान हो । जब कुनै व्यक्ति कुनै सोचमा डुब्दै जान्छ, तब त्यो सोच जटिल बन्दै जान्छ, डुब्दै जाँदा सोच गर्भवती बन्दै जान्छ र यसरी नै नयाँ सोचलाई जन्माउने गर्छ ।

यसैलाई यसरी पनि बुझ्न सकिन्छ, सोच्ने क्रममा अनेकौं बिन्दुमा पुग्दा सोच विस्फोट हुन पुग्छ, अनि नयाँ सोचहरुको आविष्कार हुन पुग्दछ । यो लगभग ब्रह्माण्डको उत्पतिको सिद्धान्तमा मेल खान पुग्दछ। जसरी ग्रहहरु विशाल सूर्यको परिक्रमा गर्दछन् त्यसरी नै नयाँ सोचहरु सोच्ने दौडानमा दिमागमा सलबलाइरहेका हुन्छ्न् । तर फरक के छ भने , ग्रहहरुबिच अनुशासन छ उनीहरु मिलेर बसिरहेका हुन्छ्न् तर सोचहरु भने छाडा हुन्छ्न् अनि झगडीया पनि ।

यो भन्दै गर्दा सबै सोचहरु नराम्रा हुन्छ्न् भन्न चाहिँ पक्कै खोजिएको हैन । यदि सबै सोचहरु एकैनासका हुने भए निकै सजिलो हुने थियो तर फरकफरक दृष्टान्तमा सोचहरु बनिरहेका हुन्छ्न् । त्यसैले त कुनैबेला यो मस्तिष्क निकै दोधारमा पर्ने गर्छ। कुन सही कुन गलत,  कुन ठिक कुन बेठीक जस्ता कुरामा अक्सर अल्झिने गर्छ, यतिबेला समय अवस्था अनुसार सही सोचलाई अगाडि बढाउनु पर्ने हुन्छ । तर हामी धेरैजसो यहि मोडमा आएर चिप्लिने गर्छौँ र पछि गएर पछुताउने गर्छौँ ।

खैर, यस्तै कुराले मस्तिष्कलाई बलियो बनाउँदै जाने गर्छ र अर्को पटक सजिलै यस्तो अवस्थाबाट पार लाउन सकिन्छ ।

रहन-सहन, वरिपरिको वातावरण, साथ-सङ्गत, खानपिनजस्ता अनेकौं कुराहरुले सोचमा प्रभाव जमाएको हुन्छ । उसले जे सुनेको हुन्छ त्यस्तै बोल्छ र जे जानेको हुन्छ त्यहि सिकाउँछ भनेझैं सोचपनि यसरी नै धेरै कुराहरुसँग जोडिएको हुन्छ । कसैको सोचबाटै उनीहरुको भौतिक आचरणदेखि मानसिक अवस्थासम्मलाई नियाल्न सकिन्छ । जस्तो कि, कुनै मानिसले सोच्ने खुबी गुमाएको छ भने हामी उसलाई सिधै पागल भन्ने गर्छौँ, वास्तवमा पागल मानिने जो कोहीको पनि सोच्ने खुबीचाहिँ गुमेको हुँदैन । यो त यिनलाई पागल सोच्ने मानिसको एक सोचाइ मात्र हो ।

कुनैपनि एक सोचमा ऊ हराइरहन्छ, वा एकै समयमा धेरै सोचमा उसले डुबुल्की मारिरहन्छ भने उसलाई पागल भन्न सकिन्छ। यो चाहिँ मेरो सोच हो । पागल भन्ने बित्तिकै सडकमा च्यात्तिएको लुगा र जुत्ताको माला लगाई हिँडिरहन आवश्यक छैन । मानिसले तब आफूलाई पागल ठान्ने गर्छ जब उसले सोच सम्बन्धि आफ्नै भिन्नै एक सोच बनाइसकेको हुन्छ । पागल बन्नु वा हुनु कुनै आपत्तिजनक विषय होइन तर हामी जसलाई पागल भनिरहेका छौँ, उनीहरुलाई हामीले नै पागल बनाएका हौँ । उनीहरु वास्तविक पागल होइनन् पागल त आफै बन्नु पर्दछ, अरुको सोचबाट जन्मिएका पागलहरु मात्र एक मानसिक रोगी हुन् । पागलहरु त आफ्नै सोचबाट जन्मिने गर्छ्न् र पागलपनलाई सजिलै स्वीकार्ने गर्छ्न् । जरुर साथी म पागल भन्दै कविता कोर्ने गर्छ्न् ।गित लेख्ने गर्छन्, कलम खियाउने गर्छन्, आफू पागल भएको कुरा दुनियाँलाई सुनाउने गर्छन्, किनकी उनीहरुको लागि यो निकै गर्वको कुरा हो ।

उनीहरुको सोच साधारण हुँदैन, पृथक हुने गर्छ ।
`एक तलाउमा थुप्रै माछाहरु पौडिरहेका छ्न् ।´
साधारण सोच्नेहरु यसलाई सुन्दरताको रुपमा स्वीकार्दै त्यसैमा आनन्दित हुन थाल्छ्न्,कोही विभिन्न स्वादमा माछालाई आफ्नो डाइनिङ टेबुलमा सजाउँछ्न् । यस्तै गरी अनेकौं सोचहरु एक दृश्यबाट उब्जिने गर्छ भने असाधारण यानि पागलको सोचलाई भने देखिरहेको दृश्य कहिल्यै अनुकुल लाग्ने गर्दैन । उनीहरु फरक दृश्यको आविष्कार गरी त्यहीँबाट सोच्न सुरुवात गर्छन् । उनीहरुले तलाउमा रहेका माछाहरुलाई नदीमा लैजान्छ्न् सायद माछाको स्वतन्त्रताको बारेमा सोच्छ्न्, केहीबेरपछि समुन्द्रमा लैजान्छ्न् यतिखेर माछालाई विशाल भएर बाँच्न सिकाउँछ्न् । यसरी नै सोचबाटै संसार घुम्ने गर्छन् । अन्त्यमा माछालाई तलाउमा नै छाडिदिन्छ्न्, सायद उनीहरु माछाको जीवनरक्षाको बारेमा सोचिदिन्छ्न् । यसरी सोच्नेहरुको मस्तिष्क निकै रङ्गिन हुने गर्छ, तर पनि कहिल्यै खुसी हुन सक्दैनन् । उनीहरु यसरी नै कुनै न कुनै सोचमा डुबिरहेका हुन्छ्न् ।

प्रख्यात मानिने साहित्यकारहरु पनि आफ्ना रचनामा कहिल्यै सन्तुष्ट नभएको बताउँछन्, तरपनि पाठकहरु गजब मानेरै त्यसलाई पढिरहेका हुन्छ्न् । यो सबै सोचको अन्तर हो, दृष्टान्तको मनभेद हो । उनीहरु भन्ने गर्छन् यसलाई थप चोटिलो र अझै राम्रो बनाउन सकिन्थ्यो तर जे छ ठिकै छ । उनीहरुको सोच अझैपनि त्यहि विषयमै कहीँकतै डुलिरहेको छ अनि भयानक सोचहरु जन्माइरहेको छ । यसैको दोस्रो संस्करण चाँडै निकाल्ने कुरा गर्छन् । यहाँबाट बुझ्न सकिन्छ कि सोचहरु कति जिद्दी हुन सक्छ्न् भनेर ।

यो कुरा गर्दैगर्दा एउटा कुरा जोडिहाल्छु, म निकै कमजोर हुने गर्थेँ पहिला, मेरा सोचहरु पनि कलिला थिए । सोचहरुले बच्चा सोचहरु जन्माउन सझम थिएनन् । निकै लाटा थिए । मलाई यो कुराले निकै पिरोल्न थाल्यो अनि यसैको बारेमा सोच्न थाले, यसरी सोच्दै म कैयौं शताब्दीको भ्रमण गर्न पुगेँ । तरपनि यी सोचहरु स्थिर छैनन् र अझैपनि कुनै न कुनै एक दौडमा होम्मिरहेका छ्न् ।

कुनै वस्तुबारे सोच्दिनँ भन्नु र कसैलाई बिर्सिदिन्छु भन्नु एउटै कुरा हो, इच्छा विपरित भइदिन्छ । त्यसैले, सोच हावा जस्तै हो, कसैको नियन्त्रणमा यो हुँदैन । मानिस सोचलाई नियन्त्रण गर्ने अनेकौं तरिका खोज्ने गर्छन्, साधारण बन्न कोसिस गर्छन् । जब सोचसँगै मानिस बहकिन सफल हुन्छ तब मात्र मानिस पागल बन्न सफल हुन्छ । असाधारण सोचाइको सिकारी हुन्छ्न्  । यसरी सोचले नै मानिसलाई पागल बनाउने गर्छ । यस्तै सोचाइले नै सोचहरु कुनै बिन्दुमा पुगेर पागलपन बन्ने गर्दछन् । सायद सोच आफैमा एक पागल तत्व हो । अझ भनौँ पागल तत्व नै केवल एक सोच हो ।

यो विषय नै आजको युगिक सोचमा एक सोचाइको विषय बन्न पुगेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!